कर्णाली प्रदेश सभाः देवेन्द्रबहादुर शाही कांग्रेसका सांसद कि स्वतन्त्र ?

समाचार सारांश
- कर्णाली प्रदेशका स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाही कांग्रेसका गतिविधिमा सहभागी भइरहेका छन्, तर प्रदेश सभाले उनलाई अझै स्वतन्त्र सांसदकै रूपमा मान्यता दिएको छ।
- कांग्रेसले शाहीमाथिको कारबाही फुकुवा गरे पनि प्रदेश सभालाई औपचारिक जानकारी नगराउँदा कानुनी रूपमा उनी अझै स्वतन्त्र छन्।
- शाहीले मुख्यमन्त्रीलाई विश्वासको मत दिँदा कांग्रेसको तर्फबाट मत दिएका थिए, तर निर्वाचन आयोगको प्रक्रिया पूरा नभएकाले उनी आधिकारिक रूपमा कांग्रेस सांसद बनेका छैनन्।
- निर्वाचन आयोगका अनुसार, शाहीले कांग्रेसको सांसद बन्न दल र आयोगलाई औपचारिक जानकारी गराउनुपर्ने हुन्छ, जुन प्रक्रिया पूरा भएको छैन।
सुर्खेत । ०७९ को प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेसमा विद्रोह गरी निर्वाचित भएका कर्णालीका एक मात्र स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाही अहिले कांग्रेसका हरेकजसो गतिविधिमा सहभागी हुन्छन् ।
०८० असारमै कांग्रेसको केन्द्रीय कार्यसमितिले उनीमाथिको कारबाही फुकुवा गरेको थियो । त्यस पश्चात् उनी कांग्रेस कर्णाली प्रदेश सभा संसदीय दलको बैठकमा सहभागी हुनेदेखि पार्टीका गतिविधिमा उपस्थित हुन्छन् ।
कांग्रेसले पनि अहिले शाहीलाई आफ्नै सांसद मान्छ, तर कर्णाली प्रदेश सभाको नजरमा भने शाही अझै पनि स्वतन्त्र सांसदकै हैसियतमा छन् ।
प्रदेश सभा सचिवालयका सूचना अधिकारी राजेन्द्र पौडेलका अनुसार शाही ‘कांग्रेसको सांसद’ भएकोबारे अहिलेसम्म प्रदेश सभालाई औपचारिक जानकारी छैन । ‘उहाँ अहिले दलका हरेक गतिविधिमा सहभागी हुनुहुन्छ, दलको बैठकमा पनि उपस्थित हुनुहुन्छ । सभाको बैठकमा पनि उहाँ कांग्रेस सांसदहरूसँगै बस्नुहुन्छ,’ पौडेलले रातोपाटीसँग भने, ‘तर उहाँ कांग्रेसको सांसद भएको कुरा अहिलेसम्म प्रदेश सभालाई आधिकारिक जानकारीमा आएको छैन ।’
प्रदेश सभाको वेबसाइटमा पनि शाहीलाई स्वतन्त्र सांसदकै रूपमा उल्लेख गरिएको छ । प्रदेश सभाले अहिले पनि कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, राप्रपा १, नेकपा एकीकृत समाजवादीका १ र स्वतन्त्र १ गरी ४० सदस्य रहेको उल्लेख गरेको छ ।
एमाले–कांग्रेस गठबन्धन पश्चात् मुख्यमन्त्री यामलाल कँडेलले ०८१ साउन २१ गते संसद्बाट दोस्रो पटक विश्वासको मत लिँदै गर्दा स्वतन्त्र सांसद शाहीले कांग्रेसकै तर्फबाट मत दिएका थिए ।
कँडेलले कांग्रेसबाट १४ मत पाएका थिए । त्यो वेला कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही निलम्बित थिए । स्वतन्त्र सांसद शाहीसहित गणना गरेर कांग्रेसले मुख्यमन्त्री कँडेललाई १४ मत दिएको थियो । त्यस अघि ०८१ वैशाखमा कँडेलले पहिलो पटक विश्वासको मत लिँदै गर्दा कांग्रेसकै तर्फबाट शाहीले कँडेलको विपक्षमा मतदान गरेका थिए ।
त्यस बाहेक प्रदेश सभामा बोल्नेदेखि संसदीय समितिमा पनि शाही कांग्रेसकै तर्फबाट बोल्ने र सहभागी हुने गरेका छन् । कांग्रेसले गरेका निर्णयमा हस्ताक्षर गर्नेदेखि दलको ‘ह्वीप’ मान्दै आएका उनी अहिलेसम्म विधिसम्मत रूपमा कांग्रेसको सांसद भइसकेका भने छैनन् ।
उनीमाथिको कारबाही फुकुवा भएको र आफ्नो पार्टीको सांसद रहेकोबारे कांग्रेसले अहिलेसम्म प्रदेश सभालाई जानकारी गराएको छैन । स्वयं शाहीले पनि आधिकारिक रूपमा आफू कांग्रेसमा रहेकोबारे सभालाई जानकारी नगराएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
स्वतन्त्र सांसद दलमा गएको विषयमा दल वा स्वयं व्यक्तिले प्रदेश सभालाई जानकारी गराउनुपर्ने प्रदेश सभा सचिवालयको भनाइ छ ।
‘उहाँले दलको सदस्यता लिनु भएको विषयबारे कांग्रेस संसदीय दलबाट प्रदेश सभा सचिवालयलाई पत्र आएको छैन,’ प्रदेश सभा सचिवालयका सूचना अधिकारी राजेन्द्र पौडेलले भने, ‘निर्वाचन आयोगबाट पनि आएको छैन । प्रक्रियागत हिसाबले पत्र आउनुपर्छ ।’
व्यावहारिक रूपमा कांग्रेस भए पनि कानुनी अर्थात् प्रक्रियागत रूपमा शाही अझै स्वतन्त्र सांसद नै रहेको पौडेल बताउँछन् ।
कांग्रेसले कारबाही फुकुवा गर्नुअघि शाहीलाई प्रदेश सभामा बोल्न समय दिँदा स्वतन्त्र सांसदका रूपमा समय दिइन्थ्यो भने कार्यव्यवस्था परामर्श समितिमा उनी सदस्य थिए ।
अहिले उनी कार्यव्यवस्था समितिमा पनि जाँदैनन् भने पहिलेजस्तो दलगत रूपमा बोल्ने पालोमा पनि उनी स्वतन्त्र सांसदका रूपमा बोल्दैनन् ।
‘म कांग्रेस दलको बैठकदेखि सबैमा सहभागी हुन्छु,’ शाहीले भने, ‘यदि मलाई सभाले स्वतन्त्र मान्छ भने मेरो सिट किन हटाएको ?’
प्रदेश सभाका सूचना अधिकारी पौडेल प्रदेश सभाभित्र सिट दलगत रूपमा नरहने बताउँछन् । ‘सभाभित्र सत्ता र प्रतिपक्ष भन्ने हुन्छ । यो दल, ऊ दल, स्वतन्त्र भन्ने हुँदैन,’ उनले भने, ‘बोल्ने विषयमा उहाँले नाम टिपाउने हो, पहिलाजस्तो स्वतन्त्र सांसद भनेर टिपाउनुहुन्न । उहाँ कार्य व्यवस्था परामर्श समितिको बैठकमा पनि आउनुहुन्न ।’
कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्ट प्रक्रियागत रूपमा शाही अझै स्वतन्त्र सांसद नै रहेको बताउँछन् । ‘प्रदेश सभाले उहाँलाई अहिले पनि स्वतन्त्र नै मान्छ, पार्टीगत रूपमा कांग्रेसमा आइसक्नु भएको छ,’ कानुनका ज्ञातासमेत रहेका विष्टले भने, ‘तर उहाँले प्रक्रिया पूरा गर्नु भएको छैन । निर्वाचन आयोगमा पुगेर पनि म स्वतन्त्रबाट कांग्रेसका आइसकेँ भनेर हस्ताक्षर गरेमात्रै आयोगले पार्टीको मान्दो रहेछ ।’
दलले पनि प्रदेश सभालाई पत्र नलेखेको हो ? भन्ने प्रश्नमा विष्टले थपे, ‘निर्वाचन आयोगबाट हस्ताक्षर भएर आइसकेपछि हामीले पत्र लेख्ने हो, आयोगबाट केही नआएकाले नलेखेको हो ।’
सरकारी प्रक्रिया बाँकी रहेको तर दलगत प्रक्रिया पूरा भइसकेको उनको भनाइ छ ।
निर्वाचन आयोगका सहायक प्रवक्ता दुर्गा चालिसे सांसद शाहीले कांग्रेसको सांसद हुन अझै प्रक्रिया पूरा नगरेको बताउँछन् । ‘म प्रदेश निर्वाचन कार्यालय (सुर्खेत)मा हुँदा यो कुरा आएको थियो । मैले प्रक्रियाबारे जानकारी गराएको थिएँ,’ चालिसेले भने, ‘सबैभन्दा पहिला उहाँले दललाई जानकारी गराउनुपर्छ, अनि कांग्रेस संसदीय दलले निर्वाचन आयोगलाई यो हाम्रो सांसद हो भन्ने कुराको जानकारी गराउनुपर्छ ।’
लिखित जानकारी नगरासम्म मौखिम रूपमा भनेको मान्य नहुने उनको भनाइ छ । उनको बुझाइमा सांसद शाही अहिलेसम्म औपचारिक रूपमा कांग्रेसको सांसद भइसकेका छैनन् ।
‘उहाँलाई वैध रूपमा कांग्रेसको सांसद हो भनेर निर्वाचन आयोगले चिन्दैन,’ चालिसेले भने, ‘आयोगको रेकर्डमा त जुम्ला (क) बाट स्वतन्त्र निर्वाचित सांसद भनेर छ नि, त्यो रेकर्ड त चेञ्ज हुनुपर्यो नि ! त्यसका लागि औपचारिक रूपमा प्रक्रिया पूरा गर्नुपर्छ । उहाँलाई त जनताले स्वतन्त्र रूपमा जिताएको हो ।’
शाही ०७९ को प्रदेश सभा निर्वाचनमा जुम्ला (क) बाट ९ हजार ६५४ मतसहित स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएका थिए । कांग्रेस पार्टीले उम्मेदवार नबनाएपछि उनले विद्रोह गरेर प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दर्ता गराए ।
उनले कांग्रेसका प्रदेश सभापति ललितजंग शाहीलाई १ हजार ८९९ मतान्तरले पराजित गरेका थिए ।
स्वतन्त्र निर्वाचित शाही, उनका समर्थक र प्रस्तावकलाई कांग्रेसले कारबाही गरेको थियो । यद्यपि उनी आफूलाई जुम्लाको सक्कली कांग्रेस भनेर दाबी गर्दथे ।
उनी प्रदेश सभामा पनि पटक–पटक आफ्नो रगत–रगतमा कांग्रेस भएको बताउँदै आएका थिए । उनले कारबाही फुकुवाका लागि पार्टी केन्द्रमा पत्र लेखे । सोही अनुसार उनको कारबाही ०८० असारमै फुकुवा भइसकेको थियो ।
कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाही दलले कारबाही फुकुवा गरिसकेको र बाँकी प्रक्रिया सांसद शाहीमै निर्भर रहने बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनलाइनबाट नागरिकताको सिफारिस दिँदै सिमकोट गाउँपालिका
-
धनगढी उपमहानगरद्वारा विषादी प्रयोग गरिएका आँप नष्ट
-
पश्चिमी, स्थानीय र मनसुनी वायुको प्रभाव : आज यी प्रदेशमा हुनेछ वर्षा
-
बिजुली र सिँचाइ सेवामा सुधार गर्न विश्व बैंकको सहयोग
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
हेर्नुहाेस् आजकाे राशिफल