आइतबार, ०४ जेठ २०८२
ताजा लोकप्रिय
इन्डियन प्रिमियर लिगमा आज

प्ले–अफ चरणमा पुग्न सङ्घर्षरत पञ्जाबलाई दबाबमुक्त राजस्थानको हुङ्कार

आइतबार, ०४ जेठ २०८२, १० : २३
आइतबार, ०४ जेठ २०८२

समाचार सारांश

  • आइतबार आईपीएलमा राजस्थान रोयल्स र पञ्जाब किङ्सबीच खेल हुँदै, जसमा पञ्जाब प्लेअफका लागि संघर्षरत छ भने राजस्थान बाहिरिसकेको छ।
  • पञ्जाब किङ्स हाल अंक तालिकामा तेस्रो स्थानमा छ, प्लेअफमा पुग्न दुई खेल जित्नुपर्नेछ। राजस्थान भने यस सिजन राम्रो प्रदर्शन गर्न सकेको छैन।
  • खेल जयपुरस्थित सवाई मानसिंह स्टेडियममा हुनेछ, जहाँ ब्याट्सम्यानलाई सहयोग पुग्ने सम्भावना छ। राजस्थान हेड-टु-हेडमा अगाडि छ।

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औँ संस्करणमा आइतबार दुईवटा खेल हुनेछ । पहिलो खेलमा राजस्थान रोयल्सले बलियो प्रतिद्वन्द्वी पञ्जाब किङ्सको सामना गर्दै छ । खेल जयपुरस्थित सवाई मानसिंह स्टेडियममा १५ः४५ बजे सुरु हुनेछ । 

जारी सिजनको आईपीएलमा खेल्न लागिएको यो ५९औँ खेल हो । यो सिजन पञ्जाब र राजस्थान दोस्रो पटक आपसमा भिड्न लागेका हुन् । अघिल्लो खेलमा भने राजस्थानले पञ्जाबलाई ५० रनले पराजित गरेको थियो । 

पञ्जाब र राजस्थान दुई फरक परिस्थितिमा रहेका टोली हुन् । पञ्जाब प्रतियोगिताको प्ले–अफ चरणमा पुग्न सङ्घर्षरत छ । अर्कोतिर, राजस्थान रोयल्स यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ । राजस्थानले आफ्नो १३औँ र पञ्जाबले आफ्नो १२औँ खेल खेल्न लागेका हुन् । 

पञ्जाब किङ्सले हालसम्म आईपीएलको उपाधि जित्न सकेको छैन । सन् २०१४ मा पञ्जाब किङ्स फाइनलमा पुगेको थियो । तर, उपाधि भने जित्न सकेन । उक्त संस्करणको फाइनलमा कोलकाता नाइट राइडर्सले पञ्जाब किङ्सलाई तीन विकेटले हराएको थियो । 

राजस्थान रोयल्सले भने एकपटक आईपीएलको उपाधि चुमेको छ । राजस्थानले सन् २००८ मा आयोजित पहिलो संस्करणकै उपाधि जितेको थियो । त्यतिबेला राजस्थानले फाइनलमा चेन्नई सुपर किङ्सलाई तीन विकेटले हराएको थियो । 

त्यसयता, राजस्थान रोयल्स एकपटकमात्र आईपीएलको फाइनलमा पुग्न सकेको छ । राजस्थान रोयल्स सन् २०२२ को फाइनलमा पुगेको थियो । उक्त संस्करणको फाइनलमा राजस्थानको टोली गुजरात टाइटन्ससँग सात विकेटले पराजित भएको थियो ।

प्ले–अफ चरणनजिक रहेको पञ्जाब


जारी सिजनको आईपीएलमा पञ्जाब किङ्सले उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । पञ्जाब प्ले–अफ चरणनजिक छ । हालसम्म ११ खेल खेलेको पञ्जाब किङ्स १५ अंकसहित तालिकाको तेस्रो स्थानमा आसीन छ । 

पञ्जाबले हालसम्म सात जित र तीन हारको नतिजा निकालेको छ । पञ्जाबको एक खेल भने वर्षाका कारण रद्द भएको थियो । लिग चरणमा अब पञ्जाबले तीन खेल खेल्न बाँकी छ । त्यसमध्ये दुई खेलमा जित हात पारे पञ्जाब प्रतियोगिताको प्ले–अफ चरणमा पुग्नेछ । 

पञ्जाबले अब राजस्थानका अतिरिक्त दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्ससँग खेल्न बाँकी छ । दिल्ली र मुम्बई दुबै बलिया प्रतिद्वन्द्वी हुन् । यी दुबै टोली प्ले–अफ चरणमा पुग्न सङ्घर्षरत छन् । त्यसैले पञ्जाबका लागि अबको यात्रा झनै चुनौतीपूर्ण छ ।

समीकरण बिगार्न सक्छ राजस्थानले 

rr
राजस्थान रोयल्सले जारी सिजनको आईपीएलमा सन्तोषनक प्रदर्शन गर्न सकेको छैन । एकपछि अर्को निराशाजनक प्रदर्शनपछि राजस्थान उपाधि होडबाट बाहिरिइसकेको छ । हालसम्म १२ खेल सकेको राजस्थान तालिकाको नवौँ स्थानमा आसीन छ । 

राजस्थानले हालसम्म केवल तीन जित हात पारेको छ । राजस्थानको टोली नौ खेलमा भने पराजित भएको छ । राजस्थानले अब दुई खेलमात्र खेल्न बाँकी छ । राजस्थानले पञ्जाबका अतिरिक्त चेन्नई सुपर किङ्ससँग खेल्न बाँकी छ । चेन्नई पनि उपाधि होडबाट बाहिरिएको टोली हो । 

आफू यसअघि नै उपाधि होडबाट बाहिरिएकाले आइतबारको खेलमा राजस्थान रोयल्स कुनै दबाबमा रहने छैन । त्यसैले पञ्जाबका लागि राजस्थान घातक बन्न सक्छ । राजस्थानको यो खेलले पञ्जाबको आगामी यात्रालाई कठिन बनाउन सक्छ । 

हेड टु हेटमा राजस्थान अगाडि 
आईपीएलमा हालसम्म राजस्थान रोयल्स र पञ्जाब किङ्सबिच कुल २९ खेल खेलिएको छ । त्यसमा राजस्थान केही बलियो देखिन्छ । राजस्थानले १७ खेलमा पञ्जाबलाई हराएको छ । पञ्जाबले भने १२ खेलमा मात्र राजस्थानलाई हराउन सकेको छ । 

सवाई मानसिंह स्टेडियममा हालसम्म यी दुई टोलीबिच ६ पटक भिडन्त भएको छ । त्यसमा पनि राजस्थान नै अगाडि देखिन्छ । यो स्टेडियममा राजस्थानले पाँच र पञ्जाबले केवल एक खेलमा सफलता हात पार्न सकेका छन् । 

यशस्वीको नाममा राजस्थानको सर्वाधिक रन


जारी सिजनको आईपीएलमा राजस्थान रोयल्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान यशस्वी जैसवाल हुन् । उनले हालसम्म खेलिएको १२ खेलमा कुल चार सय ७३ रन बनाइसकेका छन् । यस क्रममा उनले पाँचवटा अर्धशतक पनि प्रहार गरेका छन् । 


राजस्थानका लागि रियान परागले पनि १२ खेलमा कुल तीन सय ७७ रन बनाएका छन् । राजस्थानका लागि सर्वाधिक विकेट लिने बलर भने महिश तिक्षणा हुन् । उनले हालसम्म ११ खेल खेल्दै ११ विकेट लिएका छन् । 

लयमा छन् पञ्जाबका अर्शदीप र प्रभसिमनरन


यो सिजनको आईपीएलमा पञ्जाब किङ्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान प्रभसिमरन सिंह हुन् । उनी लयमा देखिन्छन् । उनले हालसम्म ११ खेल खेल्दै कुल चार सय ३७ रन बनाएका छन् । यस क्रममा युवा विकेटकिपर ब्याट्सम्यान प्रभसिमरनले चार अर्धशतक पनि प्रहार गरेका छन् । 


पञ्जाबका लागि दोस्रो सर्वाधिक रन बनाउने ब्याट्सम्यान भने कप्तान श्रेयष ऐयर हुन् । उनले ११ खेलमा कुल चार सय पाँच रन बनाएका छन् । पञ्जाबका लागि सर्वाधिक विकेट लिने बलर अर्शदीप सिंह हुन् । तिब्रगतिका बलर अर्शदीपले ११ खेलमा १६ विकेट लिइसकेका छन् । 

ब्याट्सम्यानलाई साथ दिने पिच
पञ्जाब किङ्स र राजस्थान रोयल्सबिच आइतबारको खेल हुने जयपुरस्थित सवाई मानसिंह स्टेडियमको पिच खासगरी ब्याट्सम्यानलाई सहयोग पु¥याउने प्रकृतिको रहेको छ । यो स्टेडियममा हालसम्म आईपीएलको कुल ६१ खेल खेलिएको छ ।


त्यसमध्ये पहिले ब्याटिङ गर्ने टोलीले २२ खेलमा जित हात पारेका छन् । जवाफी ब्याटिङ गर्ने टोलीले भने ३९ खेल जितेका छन् । यो स्टेडियममा बनेको उच्च स्कोर ६ विकेट गुमाएर दुई सय १७ रन हो । यो स्कोर सन् २०२३ को आईपीएलमा सनराइजर्स हैदराबादले राजस्थानविरुद्ध बनाएको थियो । 

वर्षाको निकै कम सम्भावना
राजस्थान रोयल्स र पञ्जाब किङ्सबिच खेल हुने दिन आइतबार जयपुरमा वर्षाको निकै कम सम्भावना रहेको बताइएको छ । त्यहाँको जल तथा मौसम विज्ञान विभागका अनुसार, वर्षाको सम्भावना चार प्रतिशतमात्र छ । तापक्रम ३१ देखि ४२ डिग्री सेल्सियसको बिचमा रहने अनुमान गरिएको छ । 

सम्भावित टोली 
राजस्थान रोयल्स :
रियान पराग (कप्तान), यशस्वी जैसवाल, वैभन सूर्यवंशी, कुणालसिंह राठौर, ध्रुव जुरेल (विकेटकिपर), शिमरन हेटमायर, वानिन्दु हसरंगा, जोफ्रा आर्चर, महिश तिक्षणा, युद्धवीर सिंह चरक, आकाश मधवाल र शुभम दुवे । 

पञ्जाब किङ्स : श्रेयष ऐयर (कप्तान), प्रभसिमरन सिंह, प्रियांश आर्या, जस इङ्लिस (विकेटकिपर), शशांक सिंह, नेहल बाधेरा, मार्कस स्टोइनिस, अजमतुल्लाह ओमरजाई, मार्को यानसन, युजवेन्द्र चहल, अर्शदीप सिंह र हरप्रत बरार ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप