भाजपाका नेता जोलीले भने– नेपालका ८१ प्रतिशत जनताले हिन्दु राष्ट्र चाहन्छन्

समाचार सारांश
- भारतीय जनता पार्टी (भाजपा) का नेता विजय जोलीले नेपालमा हिन्दु राष्ट्रका लागि नेपाली जनताको गहिरो भावना रहेको बताए।
- जोलीले राष्ट्रपति रामचन्द्र पौडेल र विभिन्न दलका नेताहरूसँग भेटघाट गरे, जहाँ उनले नेपाली जनताको भावना बुझेको बताए।
- उनले नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्ध र भूकम्पको बेला भारतले गरेको सहयोगको स्मरण गरे।
काठमाडौँ । नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता विजय जोलीले हिन्दु राष्ट्रका लागि नेपाली जनतामा गहिरो भावना रहेको बताएका छन् । बुधवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेता जोलीले सो कुरा बताएका हुन् ।
इन्स्टिच्युट फर पब्लिक पोलिसी एन्ड पार्टनरसिपको निमन्त्रणामा चार दिने भ्रमणमा रहेका जोलीले राष्ट्रपति रामचन्द्र पौडेल, विभिन्न दलका शीर्ष नेताहरूसँग भेटघाट गरेका छन् । उनले आफ्नो भ्रमणको क्रममा नेपाली जनताको भावनालाई बुझ्ने मौका पाएको भन्दै भने– ‘नेपालका ८१.२ प्रतिशत हिन्दु जनताले हिन्दु राष्ट्र चाहन्छन् भने म त्यसमा साथ दिन तयार छु ।’’
नेपालका ८१ प्रतिशत हिन्दु जनताले नेपालमा हिन्दु राष्ट्र चाहने बताउँदै उनले हिन्दु राष्ट्रका लागि प्रयास गर्छन् भने त्यसमा आफ्नो साथ रहने बताए । उनले जनताको यो मूल भावनालाई ध्यानमा राखेमा देशको लोकतन्त्र झन् बलियो हुने बताए ।
यो चार दिनको भ्रमणमा नेपाली जनताको भावना थाहा पाएको बताउँदै उनले यसमा यहाँका राजनीतिक दलले पुनःविचार गर्ने हो कि भन्ने आशा आफूमा रहेको बताए ।
उनले सन् २०२१ मा प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनमा प्रभु रामको जन्म भएको भन्ने अभिव्यक्तिलाई स्मरण गर्दै भने, ‘राम मन्दिर निर्माणको सन्दर्भमा ओलीले दिएको निर्देशन मेरो मस्तिष्कमा अझै ताजै छ । नेपाल–भारतको साझा सांस्कृतिक मूल्यमान्यता गहिरो छ ।’
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि हिन्दु राष्ट्रको पक्षमा अभिव्यक्ति दिइसकेको बताउँदै उनले नेपालको लोकतन्त्र जनताको भावना अनुरूप हिँड्न सके अझ सुदृढ हुने विश्वास व्यक्त गरे । राजनीतिक दलहरूले यसमा पुनः विचार गर्नुपर्ने सुझाव पनि उनले दिए ।
नेपाल–भारत सम्बन्धबारे कुरा गर्दै उनले विगतका घटनाहरूलाई स्मरण गरे । ‘भूकम्पको बेला भारतले सबैभन्दा पहिला सहयोग गर्यो । नेपालले भारतलाई पीडा पर्दा साथ दिएको छ,’ उनले भने । पहालगाममा भएको आतङ्कवादी हमलापछि नेपालले भारतप्रति ऐक्यबद्धता जनाएको घटनाको चर्चा गर्दै जोलीले प्रधानमन्त्री केपी शर्मा ओलीले १२ घण्टाभित्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरी समर्थन जनाएको कदम महत्त्वपूर्ण रहेको बताए ।
भारतको अयोध्यामा राम मन्दिर बनेपछि स्थानीय आर्थिक विकासमा सहयोग पुगेको बताउँदै उनले भने, ‘त्यस्तो विकास नेपालमा पनि सम्भव छ, यदि सांस्कृतिक आत्मपहिचानलाई सम्मान गरियो भने ।’ पहलगाम आतङ्कवादी हमलाबारे टिप्पणी गर्दै उनले भने, ‘२६ निर्दोष व्यक्तिलाई धर्मको आधारमा मारिएको थियो । ओसामा बिन लादेनलाई अमेरिकाले खोजेर समाप्त पारेजस्तै नरेन्द्र मोदीले पहलगाम आक्रमणमा संलग्न आतंककारीहरूलाई समाप्त पार्नुहुन्छ ।’
नेपालसँगको आत्मीय सम्बन्धप्रति गहिरो सम्मान व्यक्त गर्दै उनले भने, ‘मैले २० वर्षमा २२ पटक नेपाल भ्रमण गरिसकेको छु । नेपाल आएपछि यहाँको माटोको टिका लगाउँछु । मभित्र नेपालसँगको पुरानो सम्बन्धको आभास हुन्छ ।’