फाइनल पुग्ने लक्ष्यसहित आपसमा भिड्दै दुई महारथी मुम्बई र गुजरात

समाचार सारांश
- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको एलिमिनेटर खेलमा गुजरात टाइटन्स र मुम्बई इन्डियन्स भिड्दै छन्।
- खेल मुल्लनपुरस्थित महाराजा यादवेन्द्र सिंह इन्टरनेशनल क्रिकेट स्टेडियममा हुनेछ, जहाँ विजेता दोस्रो क्वालिफायरमा प्रवेश गर्नेछ।
- मुम्बई इन्डियन्स र गुजरात टाइटन्सबीच यसअघि भएको खेलमा गुजरातले मुम्बईलाई हराएको थियो, र मुम्बईको एलिमिनेटरमा राम्रो रेकर्ड छैन।
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औँ संस्करणमा शुक्रबार एलिमिनेटर खेल हुँदैछ । एलिमिनेटर खेलमा गुजरात टाइटन्सले बलियो प्रतिद्वन्द्वी मुम्बई इन्डियन्सको सामना गर्नेछ ।
मुम्बई र गुजरातबिचको खेल मुल्लनपुरस्थित महाराजा यादवेन्द्र सिंह इन्टरनेशनल क्रिकेट स्टेडियममा नेपाली समय अनुसार, राति १९ः ४५ बजे सुरु हुनेछ । ३८ हजार दर्शक क्षमताको यो स्टेडियम पञ्जाब किङ्सको अर्को घरेलु मैदान हो ।
एलिमिनेटर खेलमा विजयी हुने टोली प्रतियोगिताको दोस्रो क्वालिफायरमा प्रवेश गर्नेछ । पराजित हुने टोली भने उपाधि होडबाट बाहिरिने छ । एलिमिनेटर खेलमा विजयी हुने टोलीले दोस्रो क्वालिफायरमा पञ्जाब किङ्सको सामना गर्नेछ ।
दोस्रो क्वालिफायर खेलमा विजयी हुने टोलीले फाइनलमा रोयल च्यालेन्जर्स बेंगलुरुसँग उपाधिका लागि भिडन्त गर्नेछ । बेंगलुरु पहिलो क्वालिफायर खेलमा पञ्जाब किङ्सलाई हराउँदै प्रतियोगिताको फाइनलमा पुगेको हो । गुजरात टाइटन्स लिग चरणको खेलमा तेस्रो हुँदै प्ले–अफ चरणमा पुगेको हो । मुम्बई इन्डियन्स भने लिग चरणको खेलमा चौथो भएको थियो । यी दुई टोली आईपीएलको प्ले–अफ चरणमा दोस्रो पटक आपसमा भिड्न लागेका हुन् ।
यसअघि सन् २०२३ को दोस्रो क्वालिफायरमा यी दुई टोलीबिच भिडन्त भएको थियो । उक्त खेलमा गुजरातले मुम्बईलाई ६२ रनले हराएको थियो । लिग चरणमा उत्कृष्ट प्रदर्शन गरेको यी दुई टोलीबिचको शुक्रबारको भिडन्त निकै रोमाञ्चक हुने अनुमान गरिएको छ ।
छैटौँ र दोस्रो उपाधिको खोजी
आईपीएलको इतिहासमा मुम्बई इन्डियन्स सर्वाधिक सफल टोलीमध्ये एक हो । मुम्बईले हालसम्म पाँचपटक आईपीएलको उपाधि चुमिसकेको छ । मुम्बईले सन् २०१३ मा पहिलो पटक उपाधि जितेको थियो । फाइनलमा मुम्बईले चेन्नई सुपर किङ्सलाई २३ रनले पराजित गरेको थियो ।
सन् २०१५ मा मुम्बईले दोस्रोपटक उपाधि जितेको थियो । फाइनलमा मुम्बईले चेन्नईलाई नै ४१ रनले हराएको थियो । त्यसपछि मुम्बई इन्डियन्सले सन् २०१७ मा उपाधि जितेको थियो । उक्त संस्करणको फाइनलमा मुम्बईले राइजिङ पुणे सुपरजायन्ट्सलाई एक रनले पराजित गरेको थियो ।
मुम्बईले सन् २०१९ मा चौथो पटक उपाधि उचालेको थियो । उक्त संस्करणको फाइनलमा पनि मुम्बईले चेन्नईलाई एक रनले नै हराएको थियो । मुम्बईले अन्तिम पटक सन् २०२० मा उपाधि जितेको थियो । मुम्बईले फाइनलमा दिल्ली क्यापिटल्सलाई पाँच विकेटले हराएको थियो ।
गुजरात टाइटन्सले भने हालसम्म एकपटक मात्र आईपीएलको उपाधि चुमेको छ । गुजरातले सन् २०२२ मा उपाधि जितेको थियो । त्यतिबेला फाइनलमा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई सात विकेटले हराएको थियो ।
मुम्बईमाथि गुजरात हाबी
आईपीएलको इतिहासमा हालसम्म मुम्बई इन्डियन्स र गुजरात टाइटन्सबिच कुल सात खेल खेलिएको छ । त्यसमा गुजरात निकै बलियो देखिन्छ । गुजरातले सातमध्ये पाँच खेलमा मुम्बईलाई हराएको छ । मुम्बईले भने दुई खेलमा मात्र गुजरातलाई हराउन सकेको छ ।
जारी सिजनको आईपीएलमा गुजरात र मुम्बई तेस्रो पटक आपसमा भिड्न लागेका हुन् । १८औँ संस्करणको आईपीएलमा यसअघि खेलिएको दुबै खेलमा गुजरातले मुम्बईलाई हराएको थियो । महाराज यादवेन्द्र सिंह स्टेडियममा भने यी दुई टोली पहिलो पटक आपसमा भिड्न लागेका हुन् ।
मुम्बईलाई नफाप्ने एलिमिनेटर भिडन्त
आईपीएलको इतिहासमा मुम्बई इन्डियन्सले पाचौँ पटक एलिमिनेटर चरणमा भिडन्त गर्न लागेको हो । यसअघि मुम्बईले सन् २०११, सन् २०१२, सन् २०१४ र सन् २०२३ मा एलिमिनेटर चरणमा भिडन्त गरेको थियो ।
यसअघि चारैपटक एलिमिनेटर चरणमा भिडन्त गर्दा मुम्बई फाइनलसम्म पनि पुग्न सकेको थिएन । मुम्बईले सन् २०११ र सन् २०२३ मा एलिमिनेटर चरणको खेल जितेको थियो । तर, मुम्बई त्यो सिजनको दोस्रो क्वालिफायरमा पराजित भएको थियो ।
सन् २०१२ र सन् २०१४ मा भने मुम्बई इन्डियन्स एलिमिनेटर चरणमै पराजित भएको थियो । हालसम्मको तथ्याङ्कलाई हेर्दा मुम्बई इन्डियन्सका लागि एलिमिनेटर चरणको भिडन्त खासै उपलब्धिमूलक देखिँदैन । गुजरातले भने पहिलो पटक एलिमिनेटर खेल्न लागेको हो ।
लयमा छन् मुम्बईका रोहित र सूर्य
जारी संस्करणको आईपीएलमा मुम्बई इन्डियन्सको माथिल्लो क्रमका ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्दै आएका छन् । पूर्वकप्तान रोहित शर्माले हालसम्म तीनवटा अर्धशतक प्रहार गरिसकेका छन् । उनले १४७.५३ को स्ट्राइक रेटमा कुल तीन सय २९ रन बनाएका छन् ।
मुम्बई इन्डियन्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान भने सूर्यकुमार यादव हुन् । उनले १४ खेलमा कुल ६ सय ४० रन बनाएका छन् । यस क्रममा सूर्यकुमारले पाँचवटा अर्धशतक पनि प्रहार गरेका छन् ।
मुम्बई इन्डियन्सका लागि सर्वाधिक विकेट लिने बलर भने ट्रेन्ट बोल्ट हुन् । उनले १४ खेलमा १९ विकेट लिएका छन् । यो सूचिमा दोस्रो स्थानमा रहेका जसप्रित बुमराहले पनि १० खेलमा १७ विकेट लिइसकेका छन् ।
गुजरातलाई साई र प्रसिद्धको आश
जारी सिजनको आईपीएलमा गुजरात टाइटन्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान साई सुदर्शन हुन् । बायाँहाते ब्याट्सम्यान साई सुदर्शनले १५५.३७ को स्ट्राइक रेटमा कुल ६ सय ७९ रन बनाएका छन् । उनी यो सिजन सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा पनि पहिलो स्थानमा छन् ।
यस क्रममा उनले एक शतक र पाँचवटा अर्धशतक प्रहार गरेका छन् । गुजरातका लागि दोस्रो सर्वाधिक रन बनाउने ब्याट्सम्यान भने शुभमन गिल हुन् । कप्तान शुभमनले कुल ६ सय ४९ रन बनाएका छन् । उनले ६ अर्धशतक प्रहार गरेका छन् ।
उनी यो सिजन सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा दोस्रो स्थानमा छन् । गुजरातका लागि सर्वाधिक विकेट लिने बलर भने प्रसिद्ध कृष्णा हुन् । तिब्रगतिका बलर प्रसिद्धले १४ खेलमा २३ विकेट लिएका छन् । टोलीमा मोहम्मद सिराज र ईशान्त शर्माजस्ता अनुभवी बलर पनि छन् ।
ब्याट्सम्यानका लागि उपयुक्त पिच
मुम्बई इन्यिन्स र गुजरात टाइटन्सबिच शुक्रबार एलिमिनेटर खेल खेलिने मुल्लनपुरस्थित महाराजा यादवेन्द्र सिंह स्टेडियमको पिच ब्याट्सम्यानका लागि उपयुक्त मानिन्छ । त्यसैले यो स्टेडियममा बढी नै रन बन्ने गरेको छ ।
यो स्टेडियममा हालसम्म आईपीएलको कुल १० खेल खेलिएको छ । त्यसमध्ये पाँच खेलमा पहिले ब्याटिङ गर्ने टोली विजयी भएका छन् । बाँकी पाँच खेलमा भने जवाफी ब्याटिङ गर्ने टोलीले सफलता हात पारेका छन् ।
यो स्टेडियममा खेलिएको आईपीएलमा बनेको उच्च स्कोर ६ विकेट गुमाएर दुई सय १९ रन हो । यो स्कोर यसै सिजनको आईपीएलमा पञ्जाब किङ्सले चेन्नई सुपर किङसविरुद्ध बनाएको थियो ।
वर्षाको निकै कम सम्भावना
गुजरात टाइटन्स र मुम्बई इन्यिन्सबिच खेल हुने दिन शुक्रबार मुल्लनपुरमा वर्षाको निकै कम सम्भावना रहेको बताइएको छ । त्यहाँको जल तथा मौसम विज्ञान विभागका अनुसार, वर्षाको सम्भावना दुई प्रतिशत मात्र छ । तापक्रम २६ देखि ३७ डिग्री सेल्सियसको बिचमा रहने छ ।
सम्भावित टोली
मुम्बई इन्डियन्स : हार्दिक पाण्ड्या (कप्तान), जोनी बेयरस्टो (विकेटकिपर), रोहित शर्मा, सूर्यकुमार यादव, चरिथ असलंका, तिलक वर्मा, नमन धीर, मिचेल सान्टनर, दीपक चाहर, ट्रेन्ट बोल्ट र जसप्रित बुमराह । इम्प्याक्ट प्लेयर : कर्ण शर्मा ।
गुजरात टाइटन्स : शुभमन गिल (कप्तान), साई सुदर्शन, कुशल मेन्डिस (विकेटकिपर), शेरफन रदरफोर्ड, शाहरुख खान, राहुल तेवतिया, राशिद खान, मोहम्मद सिराज, जेराल्ड कुएट्नी, साई किशोर र प्रसिद्ध कृष्णा । इम्प्याक्ट प्लेयर : अरशद खान ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५ करोड ५० लाखमा बन्ने भयो दिखुवा खोलामा पुल
-
‘ठुला दलका शीर्ष नेताहरूले विश्राम लिएको दिनदेखि नै अहिलेका आन्दोलन हराउँछन्’
-
पहिलो दिन दान दिएर केही मान्छे ल्याइए, दोस्रो र तेस्रो दिन मान्छेहरू घट्दै गए : प्रधानमन्त्री
-
थिएटरमा ‘मञ्जिरा’देखि ‘मीरा’सम्म, बढे ‘जेन–जी’ पुस्ताका दर्शक
-
‘जात, धर्म, क्षेत्रीयता र भाषाका आधारमा मात्र गुटबन्दी भइरह्यो भने साहित्यको उन्नयन हुँदैन’
-
पार्टीहरूको पञ्चायतीकरण र नेताहरूको राजतन्त्र कायम छ : महासचिव भुसाल