प्रहरीमा ११ एसएसपी पद रिक्त, ‘हाम्रा’लाई छान्ने कि ‘राम्रा’ ल्याउने ?

समाचार सारांश
- प्रहरीमा एसएसपी पद रिक्त हुँदा ३३ जना अधिकृत बढुवाको प्रतिस्पर्धामा, जसमा राष्ट्रिय अनुसन्धान र विभिन्न मितिमा सेवा प्रवेश गरेका अधिकृतहरू छन्।
- बढुवाका लागि सत्ताधारी दलका सांसदहरूमार्फत लबिङ भइरहेको छ भने केही 'विवादित' पात्रहरू पनि प्रतिस्पर्धामा छन्, जसलाई विभिन्न आरोप लागेका छन्।
- गृह मन्त्रालयका अधिकारीहरूले 'हाम्रा' र 'राम्रा' बीचको प्रतिस्पर्धाको रूपमा हेर्दै, शक्तिकेन्द्रको प्रभाव र कार्यक्षमतालाई लिएर बहस भइरहेको छ।
काठमाडौँ । प्रहरीको जनपद समूहतर्फ ११ जना वरिष्ठ उपरीक्षक (एसएसपी)को पद रिक्त भएको छ । सो सिटमा योग्यता पुगेका ३३ जना अधिकृत अहिले बढुवाको दौडमा छन् ।
बढुवा प्रतिस्पर्धामा तीन प्रकारका अधिकृत छन् । राष्ट्रिय अनुसन्धानबाट आएका, २०५६ मा प्रहरी सेवामा प्रवेश गरेका र २०५८ मा भर्ना भएकाहरू प्रतिस्पर्धामा छन् । राष्ट्रिय अनुसन्धान विभागबाट विमल बस्नेत, केदार खनाल र राम प्रकाश शाह गरी तीन जना छन् ।
२०५६ मा सेवा प्रवेश गरेका तुल बहादुर कार्की, राजीव बहादुर बस्नेत र राकेश सिंह गरी तीन जना बढुवाको दौडमा छन् । उनीहरूबाहेक २०५८ साउन १८ मा इन्स्पेक्टरमा नाम निकालेर फरक मितिमा बढुवा हुँदै आएका अधिकृतहरू एसएसपी हुँदैछन् ।
२०५८ साउन १८ मा सेवा प्रवेश गरेका प्रकाश रानाभाट, कमल थापा, दिपक पोखरेल, ज्ञानेन्द्र फुयाँल, दिपेन्द्र शाही, प्रविण धिताल, दयानिधि ज्ञवाली, भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, सुरेश प्रसाद काफ्ले, अमरेन्द्र बहादुर सिंह, श्याम सिंह चौधरी, नकुल पोखरेल, पदम बहादुर विष्ट, सुवास चन्द्र बोहरा, वासुदेव खतिवडा, प्रजित केसी, राजकुमार सिलवाल, योगेन्द्र सिंह थापा, महेन्द्र कुमार श्रेष्ठ, दिलिप घिमिरे र वीरेन्द्र बहादुर शाही एसएसपीको प्रतिस्पर्धी हुन् ।
उनीहरूसँगै भर्ना भएका तर, उनीहरूभन्दा पछि प्रहरी उपरीक्षकमा बढुवा भएका चक्रराज जोशी, अर्जुन तिमिल्सिना, रमेश पण्डित र जनक शाही लगायतका अधिकृत पनि प्रतिस्पर्धामा छन् । अधिकृतहरू सत्ताधारी पार्टी कांग्रेस र एमालेका सांसदहरूमार्फत बढुवाका लागि लबिङ गरिरहेका छन् ।
२०८१ पुस २९ मा २५ जना एसएसपी बढुवा हुँदा अहिले प्रतिस्पर्धा गर्नेहरूसँगै सेवा प्रवेश गरेकामध्येबाट पनि बढुवा भएका थिए । त्यसबेला २०५८ मा सेवा प्रवेश गरेका र दोस्रो लटमा एसपी भएकाहरूसम्म एसएसपीको सूचीमा अटाए । त्यतिवेला गृहमन्त्री रमेश लेखक, तत्कालीन आईजीपी बसन्त कुँवर र गृहसचिव गोकर्णमणि दुवाडीका आ–आफ्नै उम्मेदवार थिए । गत पुसमा गृहमन्त्री रमेश लेखकले पदम बहादुर विष्ट, चक्रराज जोशी र श्याम सिंह चौधरीलाई बढुवा गर्ने प्रयास गरेका थिए, तर आफ्नो ब्याचमा पछिल्लो लटमा बढुवा भएका कारण उनीहरू छुटे । त्यसबेलाका आईजीपी बसन्त कुँवरले भुवनेश्वर तिवारी र ऋषिराम कँडेललाई बढुवा गर्ने प्रयास गरे पनि सफल भएनन् ।
प्रहरीमा शक्तिकेन्द्र निकट हुनेहरू र ‘काविल’ अफिसरको बिचमा सधैँ बढुवाका लागि प्रतिस्पर्धा हुँदै आएको छ । गृह मन्त्रालयका अधिकृतहरू सो प्रतिस्पर्धालाई ‘हाम्रा’ र ‘राम्रा’ बिचको प्रतिस्पर्धा भन्छन् ।
शक्तिकेन्द्रले रुचाउँदा प्रहरी संगठनमा कमजोर कार्यक्षमता र ‘भ्रष्ट’ आचरण भएकाहरू पनि बढुवामा माथि आउने गरेका छन् ।
अहिले बढुवा प्रतिस्पर्धामा रहेकामध्येमा केही ‘विवादित’ पात्र छन् । २०७७ मा अनियमितताको आरोपमा निलम्बनमा परेका विमल बस्नेतलाई प्रधान कार्यालयले ५ वर्ष बढुवा रोक्का गर्ने निर्णय गरेको थियो । उनको सो समयसीमा अझै पूरा भएको छ्रैन । उनी २०५३ पुस ५ मा राष्ट्रिय अनुसन्धान विभागमा सेवा प्रवेश गरेर प्रहरीमा आएका हुन् ।
धनुषाको प्रहरी प्रमुख हुँदा प्रकाश रानाभाटले लागुऔषध खैरोहेरोइनसहित पक्राउ परेका आरोपितको मुचुल्का परिवर्तन गराएको आरोप छ । त्यतिबेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक जना आयुक्तको दबाबमा तत्कालीन आईजीपी बसन्त कुँवरले उनलाई कारबाही गरेनन् । मुचुल्का परिवर्तन गरेको फाइल हाल महान्यायाधिवक्ताको कार्यालयमा विचाराधीन छ ।
प्रहरी उपरीक्षक राजीव बहादुर बस्नेतविरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा फौजदारी कसुरमा जाहेरी नै दर्ता भएको छ । बस्नेत जिल्ला प्रहरी कार्यालय खोटाङको प्रहरी प्रमुख हुँदा भागेका थुनुवा पक्राउ गर्न गएका प्रहरीको कुटाइबाट थुनुवाको मृत्यु भएको थियो । थुनुवाको मृत्यु भएपछि पीडितको परिवारले जाहेरी लिएर आए । बस्नेतभन्दा पछि गएका डीएसपीले बस्नेतलाई समेत आरोपित किटान गरिएको जाहेरी दर्ता गरेका थिए । सो मुद्दाको टुङ्गो लागेको छ्रैन ।
अर्को घटनामा मृत्यु नभएका मानिसको हत्या भएको भनेर आरोपित पक्राउ गरे, तर केही महिनापछि मृत्यु भएका भनिएका व्यक्ति फर्केर आएको घटना प्रहरीमा चर्चित छ । सो घटनामा बस्नेतले ‘लापरबाही’ गरेको प्रहरी प्रधान कार्यालयको निष्कर्ष छ ।
बढुवामा शक्तिकेन्द्र निकट भनेर चिनिएका ‘हाम्रा’ लाई छान्ने वा ‘राम्रा’लाई ल्याउने भन्नेबारे लबिङ भइरहेको छ । गृह मन्त्रालयका एक जना उच्च अधिकृत भन्छन्, ‘एकै समूहमा सेवा प्रवेश गरेकामध्ये काबिलहरूलाई ल्याउँदा काम गर्नेहरूको मनोबल उच्च हुन्छ र प्रहरी व्यावसायिक बन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: कोशीमा बाढीको वितण्डा, काठमाडौंमा आन्दोलन, पेट्रोलियम पदार्थको मूल्य बढ्यो
-
गाजामा करिब ११ हजार क्यान्सर रोगीलाई उपचारको अभाव
-
मध्यविन्दु अस्पताललाई एक सय शय्यामा स्तरोन्नति गर्ने निर्णय
-
थाइल्यान्डकी ओपलले पहिरिइन् मिस वर्ल्ड- २०२५ को ताज
-
डाइभर्सन बनाएर ‘एसियन हाइवे’ सञ्चालनमा
-
रुससँग सीमा जोडिएका युक्रेनका ११ गाउँ खाली गर्न आदेश