आइतबार, १८ जेठ २०८२
ताजा लोकप्रिय
साहित्य विमर्श

आख्यान र समालोचनाका आयाम

शनिबार, १७ जेठ २०८२, ०९ : ००
शनिबार, १७ जेठ २०८२

समाचार सारांश

  • आख्यान विमर्शको महत्व र यसका विभिन्न पक्षबारे छलफल गरिएको छ, जसमा स्रष्टा, समालोचक र पाठकको भूमिकालाई जोड दिइएको छ।
  • समकालीन नेपाली साहित्यमा समालोचनाको अवस्था, यसका चुनौती र समाधानका उपायहरू प्रस्तुत गरिएको छ, जसमा सैद्धान्तिक र व्यावहारिक पक्षलाई समेटिएको छ।
  • आख्यान लेखनमा देखिएका प्रवृत्ति, जस्तै बजारमुखी अतिवाद, उपभोक्तावाद र गुटबन्दीका समस्याहरू औंल्याइएको छ, साथै भविष्यको मार्गचित्रबारे छलफल गरिएको छ।

आख्यान विमर्शको प्रसङ्ग उठाइरहँदा यससँग तीन पक्ष अन्तर्सम्बन्धित देखिन्छन्— क) आख्यान स्रष्टा र सिर्जना  । ख) समालोचक र समालोचना । ग) पाठक । 

यी तीन पक्षविना आख्यान विमर्श पूर्ण हुन सक्दैन । यही त्रिकोणात्मक अन्तर्सम्बन्ध, अन्तक्र्रिया र अन्तर्मन्थनका क्रियात्मक संवादबाटै आख्यान विमर्श सम्भव हुन्छ । विमर्श, बहस वा छलफल एकल हुँदैन; दुई वा सोभन्दा बढी पक्षहरू यस प्रक्रियामा संलग्न हुन्छन् । यस तात्पर्यमा आख्यान विषयक विमर्शले आख्यानकार, समालोचक र पाठकका बिचमा जीवन्त सम्बन्ध स्थापित त गर्छ नै थप सिर्जन, समीक्षण र पठन संस्कृतिलाई पनि व्यवस्थित गर्छ; तिनमा ऊर्जा सञ्चालन गर्छ । यस प्रक्रियाबाट साहित्य सिर्जना किन गर्ने, कसका लागि गर्ने र कसरी गर्ने भन्ने जिज्ञासाको उत्तर पनि प्राप्त हुनुसँगै साहित्य र मानव समाजका बिचको सम्बन्ध पनि स्पष्ट हुन्छ । वस्तुतः यही विधिका माध्यमबाट सम्पन्न गरिने विमर्शले आख्यान लेखनलाई गतिशील बनाउँछ ।

प्रस्तुत आलेखमा आख्यान र समालोचना विषयक जुन विमर्श गर्ने चेष्टा गरिएको छ, त्यसले त्रिकोणात्मक सम्मिलनको अपेक्षा गर्दछ । यस प्रकृतिको बहसका माध्यमबाट आख्यान (कथा, उपन्यास, लघुकथा) सिर्जन तथा त्यसलाई तिखार्न र निर्खानका लागि अपेक्षा गरिने समालोचना र पाठकीय अन्तर्संवादले नै हामी बिचमा विद्यमान कमी–कमजोरीलाई न्यूनीकरण गर्न सकिन्छ । हामीले अपेक्षा गर्ने मूल पक्ष भनेको सिर्जनात्मक समृद्धि हो, त्यस निम्ति स्वस्थ प्रकृतिका छलफल तथा बहसका माध्यमबाट सिर्जनात्मक ऊर्जा एवं वैचारिक निष्ठा प्राप्त गर्न सकिन्छ । समालोचना विधाको आरम्भ र विकाससँगै साहित्य लेखनका बारेमा प्रशस्त छलफल तथा विमर्श हुँदै आएका छन्, त्यो क्रम चलिरहन्छ । 

हामी बाँचेको समाज वर्गमा विभक्त छ, समाजमा वर्गीय संरचना विद्यमान रहेसम्म वर्गसङ्घर्ष अपरिहार्य छ, हामीलाई मार्क्सवादले दिएको शिक्षा यही हो । हामी वर्गसङ्घर्ष वा समाज रूपान्तरणको प्रक्रियाबाट सुन्दर समाज निर्माण गर्ने ध्याउन्नमा छौँ, अर्थात् हामी सुन्दर भविष्यको पक्षमा छौँ, कला–साहित्यमार्फत सुन्दर भविष्यको आमन्त्रण गर्दै छौँ ।

यस तात्पर्यमा साहित्यिक विमर्श वा आख्यान विमर्शका प्रसङ्गमा हाम्रासामु उपस्थित गुदी कुरा भनेको समालोचना नै हो । समालोचना भन्नु स्रष्टा र उसको सिर्जनालाई भुत्ते बनाउने हतियार नभई सबैजसो स्रष्टा र सिर्जनालाई तिखार्ने र पाइनदार बनाउने हतियार हो । त्यसैले सिर्जनारूपी बिरुवामा मलजल गर्ने, गोडमेल गर्ने, झारपात पन्छाउने र हराभरा बनाउने सहयोगी अस्त्र हो समालोचना । यहाँ आख्यानात्मक विधाका बारेमा जुन बहस गर्न खोजिएको छ त्यस्तो बहसलाई सार्थक एवं फलदायी बनाउने साधन नै समालोचना हो । आख्यानात्मक विधा (उपन्यास, कथा, लघुकथा) सिर्जना गर्ने स्रष्टा, सिर्जनाको सबलीकरणका लागि उत्प्रेरित गर्ने समालोचक तथा आख्यानात्मक विधा (कृतिको) को पठन वा आस्वादन गर्ने पाठकका बिचको आपसी संवादबाटै साहित्यमा गति प्रदान गर्छ ।

यस आलेखमा आख्यान सिर्जना र समालोचनाका बारेमा जुन विमर्श/बहस गर्न खोजिँदै छ त्यो मूलतः समकालकै बहस हो, तात्तातो वर्तमानमा हामीले अनुभूत गरेकै विषय प्रसङ्ग हो; अर्थात् आख्यान विमर्शसम्बन्धी समयगत वा कालगत आधार भनेको समकालीनता हो, हामीले चलखेल गर्दै गरेको वर्तमान हो । त्यसैले समकालीन नेपाली समाज, सामाजिक गतिविधि, राजनीतिक परिवेश, आर्थिक अवस्था र आधारमा टेकेर गर्ने वा गरिने बहसले मात्र सार्थक परिणाम दिन सक्ने हुनाले समकालीन आख्यान लेखनलाई यस बहसको केन्द्रमा राखिएको छ । समकालीनताको तात्पर्य हामीले यात्रा गरिरहेको तात्तातो वर्तमान हो, वर्तमान बोधको क्रियात्मक अवस्था हो । अर्काे अर्थमा समकालीनता भनेको समयको निरन्तर गतिशील प्रवाह हो; क्रियाशील साहित्यिक एवं सिर्जनात्मक गतिविधि, साहित्य लेखनका प्रवृत्ति र स्वरूपको स्पष्ट पहिचान भइनसकेको अवस्था हो ।

समालोचना भन्नु स्रष्टा र उसको सिर्जनालाई भुत्ते बनाउने हतियार नभई सबैजसो स्रष्टा र सिर्जनालाई तिखार्ने र पाइनदार बनाउने हतियार हो । त्यसैले सिर्जनारूपी बिरुवामा मलजल गर्ने, गोडमेल गर्ने, झारपात पन्छाउने र हराभरा बनाउने सहयोगी अस्त्र हो समालोचना ।

सामान्यतया एक दशकको समयावधिलाई समकालीनताभित्र समेट्नु वाञ्छनीय भए पनि हाम्रो सन्दर्भमा वर्तमानको अविच्छिन्न समय प्रवाह तथा यस अन्तर्गतका घटना र पृष्ठभूमिले पारेको प्रभावलाई आकलन गर्दा तत्काल हामीले अभ्यास गर्दै गरेको गणतन्त्र र त्यसको प्राप्तिका लागि गरेको सङ्घर्ष पनि वर्तमानको अविच्छिन्न प्रवाहबाट पृथक् हुनु सम्भव छैन । यस तात्पर्यमा २०५२ सालदेखि थालिएको माओवादी जनयुद्ध र २०६२/६३ को जनआन्दोलनसम्मका परिघटना र पृष्ठभूमि पनि समकालीनताभित्र समेटिन सक्छन् ।

वस्तुतः समकालीनको समयसीमालाई पचासको दशकको आरम्भसम्म तन्क्याउन सकिने स्थिति विद्यमान देखिन्छ । तसर्थ पचासको दशकयताको आख्यान लेखनको स्थितिका बारेमा बहस गर्नु उपयुक्त हुन्छ । यस सन्दर्भमा कुनै स्रष्टा र कृतिको समीक्षण नगरेर मूलतः सैद्धान्तिक बहस मात्र यहाँ गरिएको छ ।

समग्र साहित्य वा समाख्यानात्मक कला मानवीय संवेदनाको उपज हो । त्यो भनेको स्रष्टाका अनुभूतिमूलक आवेग र शब्दविम्बमूलक संवगेको समीकरणका माध्यमबाट कलाविम्बमा रूपान्तरणको प्रक्रिया हो । स्रष्टाका आवेगात्मक अनुभूति र संवेगात्मक जगत्का बिचमा स्रष्टा हृदयमा विद्यमान प्रातिभ भट्टीले समीकरण क्रिया सञ्चालन गर्दा तेस्रो वस्तुका रूपमा कलाकृति निर्माण हुन्छ । वस्तुतः आख्यानात्मक कृति (उपन्यास, कथा, लघुकथा)को रचना वस्तु, पात्र, परिवेशको एकान्विति स्वरूप विम्बात्मक रूपमा हुने गर्छ, त्यो भनेको कोरा वस्तुको कला विम्बमा हुने रूपान्तरण हो । साहित्यका अन्य विधामा जस्तो छरितोपनको अभिव्यक्ति आख्यानात्मक विधामा हुँदैन । आख्यानात्मक विधामा यसका उपकरणहरूको व्यवस्थित विन्यास आवश्यक पर्ने हुँदा संयम, सीप र साधना अपरिहार्य मानिन्छ । 

आख्यानात्मक विधा सिर्जनाका सन्दर्भमा महत्त्वपूर्ण पक्ष भनेको पात्र, घटना र परिवेशको चयन, उपस्थापन र प्रारूपीकरण तथा पात्रको चारित्रीकरण नै हो । यो भनेको आख्यान सिर्जनामा सफलता वा असफलताको सूचक समेत हो । आख्यान लेखनका दृष्टिले अहिलेसम्म भएका अभ्यास र प्रयोगमा आएका विधा उपन्यास, कथा र लघुकथा नै हुन् । यद्यपि समकालीन सन्दर्भमा चर्चामा आउन चाहने केही स्रष्टाले लघुकथाको सीमालाई नाघेर चुट्किला, सूत्रकथा, हाइकु कथा, ट्विटर कथाको प्रयोग पनि यदाकदा गरेको पाइन्छ, त्यो प्रयोगका लागि प्रयोग हो; विधागत मूल्यलाई भुत्ते बनाउने प्रयास मात्र हो । लहड र सनकका भरमा गरिने त्यस्तो अति सूक्ष्म प्रयोगले आख्यान साहित्यको विधागत मूल्य र मर्मलाई आत्मसात् गर्न सक्दैन र त्यस प्रकृतिको लेखनलाई स्वीकार्न पनि सकिन्न । 

विगतको जनयुद्धका समयमा र त्यसपछि साठीको दशकभर आख्यानमार्फत केही जनयुद्धविरोधी स्वर अभिव्यक्त भए पनि मूलतः आख्यानमार्फत वीरता, साहस र बलिदानी भावनाको अभिव्यञ्जना प्रशस्त मात्रामा भएकै हो, आख्यान लेखनमा युद्ध उत्सर्गको प्रतिविम्बन भएकै हो ।


जहाँसम्म आख्यानात्मक विधा (उपन्यास, कथा र लघुकथा) सिर्जनाको सवाल छ समकालीन सन्दर्भमा उपन्यास लेखन निकै उर्वर बनेको छ । यसो भए पनि प्रगतिवादी वृत्तमा भने उपन्यास लेखनले तुलनात्मक रूपमा गति लिन सकेको पाइन्न । समानान्तर धारामा उपन्यास लेखन र प्रकाशनमा निकै तीव्रता आएको छ । त्यसो हुनुको मूल कारण भनेको बजारमुखी एवं प्रचारमुखी चिन्तन र रवाफ नै हो । खास गरी सञ्चारका साधनमा आफ्नो बलियो पकड बनाएका र प्रचार–प्रसारका माध्यमबाट बजारमा समेत पकड जमाउन सफल बुर्जुवा लेखकहरूको उपस्थिति अलि बाक्लो नै देखिन्छ, तर समकालीन मूल्यबोध र जीवनबोधलाई आत्मसात् गर्न नसक्दा तिनको प्रभाव भने तलाउमा उठेको पानीको फोकाजस्तै हो ।

उपन्यासका तुलनामा कथा लेखनले गति लिन सकेको छैन । कथाका तुलनामा लघुकथा लेखनले फस्टाउने अवसर त पाएको छ तर उन्नत चेतनाको सम्प्रेषणका दृष्टिले लघुकथालेखन कुहिराको कागजस्तै बनेको छ । लेखनमा विद्यमान छरितोपन, लेखन र पठनमा किफायतीपन, विद्युतीय मिडियामार्फत दू्रत गतिमा पाठकमाझ पुग्नु, व्यङ्ग्यात्मक एवं प्रतीकात्मक शैलीका कारण पाठकमा बढ्दो रुचि जस्ता कारणले लघुकथाले फस्टाउने अवसर पाएको छ । त्यसो भए पनि समकालको लघुकथाले स्पष्ट दिशाबोध गर्न नसकेर प्रचारप्रसारमै अलमलिएको पाइन्छ ।

साहित्य सिर्जनाका सन्दर्भमा समालोचना विधाको पनि महत्त्वपूर्ण भूमिका हुने गर्दछ । यहाँ आख्यान विमर्शको चर्चा गरिरहँदा समालोचना विधाको भूमिकालाई न्यूनीकरण गर्न सकिन्न । आख्यान विधालाई तिखार्न, परिणाममुखी एवं उद्देश्यमूलक बनाउन समालोचकीय विमर्श पनि अपरिहार्य मानिन्छ । समालोचनाको प्रसङ्ग उठाउँदा दृष्टिकोणगत समस्या प्रशस्तै रहेका छन् । समानान्तर धाराको समालोचना लेखनमा लेखक, कृति र समाजलाई पृथक् गरेर हेर्ने तथा पाठकेन्द्रित समालोचनामा अलमलिने प्रवृत्तिको विकास भएको छ । समानान्तर धारामा मात्र होइन प्रगतिवादी तथा प्रगतिशील धाराका समालोचकमा पनि यस्तो प्रवृत्ति देख्न सकिन्छ । मार्क्सवादी समालोचना विधिको अवलम्बन नगरिएसम्म कृतिको ठोस मूल्याङ्कन हुन सक्दैन । त्यस निम्ति कृति, लेखक र समाजको त्रिकोणात्मक अन्तर्सम्बन्धका आधारमा गरिने समालोचनाले मात्र वस्तुपरक समीक्षण र मूल्य निरूपण गर्न सकिन्छ । 

समकालीन सन्दर्भमा आख्यान विषयक समालोचनाका सैद्धान्तिक एवं व्यावहारिक दुवै पक्षमा प्रशस्त चिन्तन र विमर्श भएका छन्, तर वैचारिक पक्ष कमजोर हुँदा समालोचना विधाले गन्तव्य पछ्याउन सकेको छैन । यसको तात्पर्य समालोचना विधा सम्पूर्णतः दिशाहीन छ भन्ने होइन बरु आशातीत रूपमा यसले विकास गर्न नसकेको मात्र हो ।

समालोचकहरूमा सैद्धान्तिक चासो बढ्दै गएको छ र यसमा विषयगत आयाम विस्तार पनि भएको छ तर उत्तरआधुनिकतावाद र यसका हाँगाबिँगास्वरूप देखिएका डायस्पोरिक समालोचना, सबाल्र्टन समालोचना, साइबर समालोचना, सांस्कृतिक समालोचना, अभिघात समालोचना, अन्तर्विषयक समालोचना, वातावरणीय समालोचना आदिमा रमाउने, यिनका बारेमा वस्तु तथ्यात्मक अनुशीलन नगर्ने, आलोचनात्मक दृष्टिसम्म प्रस्तुत नगर्ने प्रवृत्ति मौलाउँदो छ । नवीन समालोचनाका नाममा विभ्रममा रमाउने अनि आत्मरति प्राप्त गर्ने प्रवृत्तिले गर्दा समालोचना विधा दिशाहीन बन्ने खतरा बढ्दो छ । समालोचकहरूमा समाजबोध, वर्गबोध र इतिहासबोध अपरिहार्य हुन्छ जुन मार्क्सवादी दर्शन चिन्तनमा आधारित समालोचना प्रणालीबाट मात्र सम्भव छ । 

हिजोका दिनमा प्रायः साहित्यिक गतिविधि काठमाडौँ केन्द्रित हुने गर्थे भने आज भौतिक पूर्वाधार विकास, सञ्चार सुविधा तथा विद्युतीय साधनको उपलब्धताका कारण मोफसलमा पनि विभिन्न साहित्यिक उत्सव (लिटरेचर फेस्टिभल) भइरहेका छन्; यो सकारात्मक पाटो हो तर त्यस्ता गतिविधि आवश्यकताभन्दा बढी प्रचारमुखी वा सेलीबे्रटी बन्ने गरेका पनि छन् । 

विद्यमान द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोणकै कारण मार्क्सवादी समालोचकहरूमा सैद्धान्तिक तथा व्यावहारिक समालोचनामा यथार्थवादी चिन्तन र उन्नत चेतनाको अभिव्यञ्जना हुन्छ, हुने गरेको छ । उन्नत विचार, आलोचनात्मक चेत, निर्णयात्मक क्षमता तथा वर्गीय पक्षधरताविनाको समालोचना कोरा बकवाद मात्र हो ।

आलोचनालाई ठिक ढङ्गले बुझ्न नसक्दा हामीकहाँ स्रष्टा र समालोचक दुवैमा असहिष्णु प्रवृत्ति पनि देखिन्छन् । त्यस्तो प्रवृत्तिले स्वच्छ प्रकृतिको बहसलाई आत्मसात् गर्दैन । स्रष्टाको मनोविज्ञान र समालोचकको वस्तुगत ज्ञानका बिचमा ठुलो दरार छ । जहाँ स्रष्टाको मनोविज्ञानले प्रशस्ति र आत्मसम्मान खोज्छ, समालोचकबाट त्यो पूरा नभएपछि बिस्तारै दरार पैदा हुँदै जाने स्थिति बनेको छ । अहिलेको अवस्थामा समालोचकहरूको दायरा साँघुरो छ, गुटगत सङ्कीर्ण चिन्तनमा आधारित छ । समालोचकका आँखामा आमप्रवृत्ति भन्दा पनि केही सीमित स्रष्टा मात्र दृष्टिगोचर हुन्छन् । त्यसले स्वस्थ प्रकृतिको बहसलाई आत्मासात् गर्दैन ।

समालोचनामा मात्र होइन पठन संस्कृतिका पनि केही समस्या छन्, पठन संस्कृतिमा ह्रास आएको छ, त्यसले स्रष्टालाई निरास एवं उदासिन बनाउँछ । स्रष्टा, समालोचक र पाठकका बिचमा त्रिकोणात्मक विमर्श आवश्यक छ जुन हामीकहाँ कमै मात्रामा देखिन्छ । सबै पाठक समालोचक हुँदैनन् तर कृति, समालोचक र समाजका बिचको अन्तर्सम्बन्धलाई ठम्याउने चेत प्रायः पाठकमा विद्यमान हुने गर्छ । वस्तुतः विमर्शका लागि स्वतन्त्र पाठक (जो समालोचना क्रममा सहभागी त हँुदैनन् तर कृतिको पठन वा आस्वादन गरेर प्रतिक्रिया व्यक्त गर्न सक्छन्) को पनि सहभागिता आवश्यक पर्छ । अतः समालोचना विधालाई समग्रमै गतिशीलन एवं समृद्ध तुल्याउन तल उल्लिखित समस्यालाई न्यूनीकरण गर्नु आवश्यक छ । अहिलेका चुनौती हुन् :

(१) समकालीन समालोचनामा वर्णनात्मकता, विश्लेषणात्मकता, प्रभावपरकता, उदारता र प्रशंसाको मात्रा बढी हुनु तथा वैचारिक स्पष्टता र निर्णयात्मकताको मात्रा न्यून हुनु ।
(२) हामीकहाँ धेरैजसो समालोचक विश्वविद्यालयका प्राध्यापक हुनु, तिनका समालोचना पाठ्यक्रममुखी एवं पेसामुखी हुनु र तिनले निष्ठापूर्वक समालोचकीय धर्म पूरा गर्न नसक्नु ।
(३) समालोचनाका क्षेत्रमा गुटगत सङ्कीर्णता, प्रभावपरकता र कित्ताकाट प्रवृत्ति हाबी हुनुका कारण समालोचकहरू साँघुरो वृत्तमा फन्का मार्नु, समालोचनासम्बन्धी सर्वस्वीकार्य मान्यता र प्रवृत्तिप्रति उदासिनु हुनु ।
(४) समालोचकहरूमा विद्यमान लेखक निरपेक्ष, समाज निरपेक्ष अनि वर्ग निरपेक्ष चिन्तनका कारण कृतिको वस्तुपरक मूल्याङ्कन हुनु नसक्नु । 
(५) साहित्यको ध्येय समाज रूपान्तरणको प्रक्रियामा सहयोग पुर्‍याउनु हो, समालोचकको ध्येय त्यसलाई प्रोत्साहन गर्नु हो तर समालोचक नै साहित्यको समाज रूपान्तरणकारी भूमिकाप्रति उदासीन बन्नु रुचि नदेखाउनु ।
(६) समालोचनाको महत्त्वपूर्ण पाटो अन्तर्वस्तु र रूपको द्वन्द्वात्मक सम्बन्धलाई पर्गेल्न नसक्नु, चासो नदेखाउनु ।
(७) समालोचना गर्दा समालोचकीय प्रतिमानहरूको तर्कसङ्गत, वस्तुनिष्ठ एवं व्यावहारिक प्रयोग हुन नसक्नु, चासो नदेखाउनु ।
(८) कृतिमा विन्यस्त रूप पक्षमा विशेष चासो देखाउनु या त वैचारिक आग्रह मात्र राख्नु तर विचार र कलाको उचित संयोजनमा रुचि नदेखाउनु ।
(९) कृतिमा भएका त्रुटि आँैल्याउनु तर के कस्तो हुनुपर्ने भन्नेबारे स्रष्टालाई दिशानिर्देश नगर्नु ।
(१०) समालोचकहरू (विशेषतः समानान्तर वृत्तका) उत्तरआधुनिकतावादी चिन्तन र सिर्जनविधिको मायाजालमा फस्नु, विभ्रममा लट्ठिनु ।

अहिलेको आख्यान लेखनमा वर्गीय चिन्तन, वर्गीय पक्षधरता तथा वर्गसङ्घर्षको प्रतिविम्बन प्रक्रिया ओझेलमा परेको छ । बरु समकालीन आख्यान लेखन समावेशी मूल्यमा आधारित छ, त्यो भविष्य पछ्याउने प्रक्रिया नभई विषयान्तर हुने प्रवृत्ति मात्र हो । यसको तात्पर्य समावेशी मूल्यलाई आत्मसात् गर्नु सर्वथा गलत नभए पनि प्रधान पक्ष भने होइन । वर्ग सङ्घर्षबाहेकका चिन्तन तथा सिर्जन विधिको हुबहु अनुशरण भनेको वर्गीय चिन्तन र वर्ग सङ्घर्षको विधिबाट पलायन हुनु हो । 

अहिलेको आख्यान लेखनमा सीमान्तीकृत वर्ग, महिला, दलित, जनजाति लगायतलाई विषयालम्बन बनाउने प्रवृत्तिमा बढोत्तरी आएको छ । त्यसो त राजनीतिक बेथिति र वितण्डा प्रवृत्ति, युद्धोपरान्त मनस्थिति, बिदेसिनु पर्दाका पीडा, राजनीतिक तथा सांस्कृतिक विचलनको स्थिति, मुलुकमा विद्यमान विसङ्गति र विद्रूपताप्रति पनि आख्यान लेखकको चासो र चिन्ता व्यक्त भएको छ, तर वर्तमानका समग्र समस्याबाट उन्मुक्ति पहिल्याउने र त्यसका निम्ति वर्ग सङ्घर्ष मात्र अन्तिम सत्य हो भन्ने क्रान्तिकारी आदर्शलाई पछ्याउनेतर्फ प्रगतिवादी आख्यान लेखनमै पनि एक खालको उदासीनता र अलमल देखिन्छ । 

चरम प्रकृतिको गुटबन्दीका कारण एकले अर्काको अस्तित्वलाई अस्वीकार गर्ने मात्र होइन समाप्त पार्ने नीच हर्कत पनि देख्न सकिन्छ । फरक विचार राख्ने सङ्घ–संस्था तथा व्यक्तिका बिचमा त्यस्तो हुनु स्वाभाविकै भए पनि समान विचार र एउटै सङ्घ–सङ्गठनमा आबद्ध सर्जकका बिचमा समेत पानी बाराबारको स्थिति देखिन्छ

विगतको जनयुद्धका समयमा र त्यसपछि साठीको दशकभर आख्यानमार्फत केही जनयुद्धविरोधी स्वर अभिव्यक्त भए पनि मूलतः आख्यानमार्फत वीरता, साहस र बलिदानी भावनाको अभिव्यञ्जना प्रशस्त मात्रामा भएकै हो, आख्यान लेखनमा युद्ध उत्सर्गको प्रतिविम्बन भएकै हो । त्यस समयमा जनयुद्धप्रति वैचारिक समर्थन जनाउने लेखक मात्र होइन विमति राख्ने लेखकहरूबाट समेत जनहत्या र राज्यआतङ्कविरोधी स्वर अभिव्यञ्जित भए । आख्यान लेखन र समालोचनामा समेत जनयुद्धको प्रक्रियालाई आतङ्क र आनन्द दुवै रूपमा प्रस्तुत गरियो, तापनि जनयुद्धको प्रक्रियालाई निरपरेक्ष रूपमा आतङ्क मात्र ठान्ने प्रवृत्तिका तुलना वर्ग सङ्घर्षको विधि र प्रक्रियाका सापेक्षतामा जनयुद्धको प्रक्रियालाई आनन्द ठान्ने चिन्तन तथा सिर्जन विधि निकै प्रभावशाली देखियो । यस सन्दर्भमा हामीले बुझ्नुपर्ने र बहसकेन्द्रित गर्नुपर्ने विषय भनेको अपरिहार्य बनेको वर्ग सङ्घर्ष नै हो, यसको विधि र प्रक्रियासम्बन्धी हो । यथार्थतः के बुझ्नु जरुरी छ भने हामीले यात्रा गर्दै गरेको मानव सभ्यताको इतिहास भनेको वर्ग सङ्घर्षको इतिहास हो । त्यसैले यसै तथ्यलाई अनुशरण गर्दै आख्यानकला सिर्जना गर्नु आवश्यक छ । खासमा साहित्य लेखनको ध्येयअनुरूप समाज रूपान्तरणको विधि र प्रक्रियामा सहयोग पुर्‍याउनु आजको आवश्यकता हो ।

समकालमा साहित्यसम्बन्धी विमर्शका क्रममा साहित्यिक गतिविधि निकै बाक्लिएका छन् । यद्यपि एक डेढ वर्षको कोभिडको महामारीले केही असर गरे पनि । हिजोका दिनमा प्रायः साहित्यिक गतिविधि काठमाडौँ केन्द्रित हुने गर्थे भने आज भौतिक पूर्वाधार विकास, सञ्चार सुविधा तथा विद्युतीय साधनको उपलब्धताका कारण मोफसलमा पनि विभिन्न साहित्यिक उत्सव (लिटरेचर फेस्टिभल) भइरहेका छन्; यो सकारात्मक पाटो हो तर त्यस्ता गतिविधि आवश्यकताभन्दा बढी प्रचारमुखी वा सेलीबे्रटी बन्ने गरेका पनि छन्; वस्तुगत आवश्यकता तथा उपादेयताका आधारमा तिनको मूल्याङ्कन हुनु आवश्यक छ ।

समकालीन आख्यान लेखनमा सकारात्मक पक्षसँगै नकारात्मक प्रवृत्तिले स्थान पाएका छन् । आजको आख्यान लेखनमा बजारमुखी अतिवाद र उपभोक्तावाद हाबी छ, यो प्रवृत्ति उपन्यास लेखनमा अझ बढी देखिन्छ । कृति प्रकाशन नहुँदै आफ्नो पकड र पहुँचमा रहेका मिडिया प्रयोग गरेर होहल्ला मच्चाइनु अनि पाठकमा भ्रम छरेर किन्न बाध्य पारिनुजस्ता प्रवृत्ति उपन्यास लेखनमा देखिन्छन् । त्यसै गरी सबै सीमान्तीकृत लेखन उत्तरआधुनिकतावादी सिर्जनाभित्र पर्दैनन् भन्ने यथार्थबोध हुँदाहुँदै पनि उत्तर आधुनिकतावादको हवाला दिएर विदू्रपीकृत गर्ने चेष्टा पनि समकालीन साहित्य लेखनमा भएका छन् । अन्तर्वस्तु र रूपको सन्तुलित विन्यास नहुँदा समकालको आख्यान लेखन विचारशून्य रूपवादको दलदलमा फस्ने खतरा एकातिर छ भने अर्काेतिर गफ र गन्थनले सौन्दर्य मूल्यमा समेत ह्रास आएको छ । यथार्थको पहिचान गर्न नसक्नु वा रुचि नदेखाउनु, यथार्थप्रति आँखा चिम्लनु वा विमति जनाउनु तथा यथार्थको प्रतिविम्बनका नाममा जडवत् यथार्थको अनुशरण गर्नु भनेको यथास्थितिमा फन्का मार्नु हो; अर्थात् आख्यानमार्फत भविष्य पछ्याउने चेष्टा नगर्नु पनि यथास्थितिलाई नै आत्मसात् गर्नु हो । साहित्यको प्रयोजन समाज रूपान्तरणमा सहयोग पुर्‍याउनु हो भने आख्यानकारलाई त्यसको हेक्का हुनु आवश्यक छ । वस्तुतः अहिलेको आख्यान लेखन र समालोचनामा समेत मुख्यतया पाँचवटा प्रवृत्ति प्रभावी देखिन्छन् । ती हुन्ः 

(१) मार्क्सवादी दर्शन र सौन्दर्य चिन्तनसम्बन्धी मान्यताअनुरूप आख्यान सिर्जना र समालोचना लेखनमा क्रियाशील हुने प्रवृत्ति । 
(२) उत्तर आधुनिकतावादी चिन्तन तथा सिर्जना–समीक्षण विधि अनुरूप यथार्थको विद्रूपीकरण गर्दै यथास्थितिमा फन्का मार्ने वा परिवर्तनधर्मी चेतनाको निषेध गर्ने प्रवृत्ति । 
(३) वर्गनिरपेक्ष चिन्तन अनुरूप महिला, दलित, जनजाति लगायत सीमान्तीकृत समुदायका समस्याको उठान आख्यानमार्फत गर्ने तर परिर्वतन र उन्मुक्तिका खातिर ठोस दिशानिर्देश नगर्ने वा गर्न नचाहने प्रवृत्ति । 
(४) यथार्थको प्रत्यङ्कनका माध्यमबाट राजनीतिक, सामाजिक, सांस्कृतिक विचलन र वितण्डा प्रवृत्तिको आलोचना गर्ने आलोचनात्मक यथार्थवादी वा जनपक्षीय लेखनको प्रवृत्ति । 
(५) विसङ्गतिवादी अस्तित्ववादी एवं निस्सारतावादी लेखनको प्रवृत्ति ।

नेपाली साहित्यको उन्नयनका खातिर संस्थागत गतिविधि र क्रियाशीलतामा बढोत्तरी आएको छ, तर वैचारिक एवं गुणात्मक प्राप्तिभन्दा पनि मिडियामार्फत चर्चामा आउने र होहल्लामा रमाउने प्रवृत्ति नै बलशाली देखिन्छ । संस्थागत सहकार्य र विमर्श आजको आवश्यकता भए पनि त्यस्तो प्रवृत्ति हामीकहाँ मौलाउन सकेको छैन । चरम प्रकृतिको गुटबन्दीका कारण एकले अर्काको अस्तित्वलाई अस्वीकार गर्ने मात्र होइन समाप्त पार्ने नीच हर्कत पनि देख्न सकिन्छ । फरक विचार राख्ने सङ्घ–संस्था तथा व्यक्तिका बिचमा त्यस्तो हुनु स्वाभाविकै भए पनि समान विचार र एउटै सङ्घ–सङ्गठनमा आबद्ध सर्जकका बिचमा समेत पानी बाराबारको स्थिति देखिन्छ जुन साहित्य सिर्जना र आन्दोलनका लागि प्रयुत्पादक बन्ने गर्छ ।

वस्तुतः समकालीन सन्दर्भमा आख्यान सिर्जना र विचारधारात्मक आन्दोलनलाई समेत परिणाममुखी बनाउन विचार मन्थन, विमर्श र बहस चलाउनु अपरिहार्य छ, त्यसकै माध्यमबाट गन्तव्य पछ्याउन सकिन्छ । यस निम्ति तल उल्लिखित जिज्ञासाका बारेमा गम्भीर चिन्तन र मन्थन हुनु आवश्यक छ । ती जिज्ञासा हुन् :

१) आख्यान सिर्जनाको उद्देश्य समाज रूपान्तरण हो वा सेलिबे्रेटीका माध्यमबाट आत्मरति प्राप्त गर्दै यथास्थितिमै गोलचक्कर लगाउनु हो ? 
२) समकालीन सन्दर्भमा हाम्रा सिर्जना बजारमुखी अतिवाद र उपभोक्तावादको फन्दामा फस्दै छन् कि समाजमुखी बन्दै छन् ? के बजार अतिवाद र उपभोक्तावाद समकालीन स्रष्टाको रोजाइ हो ?
३) आख्यानमा र समग्र साहित्य लेखनमै विचारको केन्द्रीय महत्त्व हुन्छ तर समानान्तर धाराका कतिपय स्रष्टा एवं समालोचकलाई विचारको कुरा गर्दा कतै मार्क्सवादी पो भइन्छ कि भन्ने त्रास छ, के साहित्य विचारशून्य आत्मालाप वा प्रलाप मात्र हो ?
४) प्रगतिवादको ध्येय साहित्यमार्फत समाज रूपान्तरणको प्रक्रियामा सहयोग पुर्‍याउनु हो भने उत्तर आधुनिकतावादको ध्येय नयाँ प्रयोगका नाममा पुरातन वृत्ति र यथाथस्थितिमै फन्का मार्नु हो, यस सन्दर्भमा हाम्रो साहित्यिक कर्म केकस्तो हुनुपर्ने हो ?
५) उत्तर आधुनिकतावादी लेखनको थप अभीष्ट भनेको कृति, लेखक र मानव समाजलाई एकअर्काबाट पृथक गर्नु हो, त्यसो गर्दा कृतिको वस्तुपरक मूल्याङ्कन हुन्छ कि हुँदैन ?
६) नेपाली साहित्यमा २० को दशकदेखि नबुझिने हुनु र नअर्थिने हुनु नै साहित्य हो भन्ने मान्यता भित्रियो । ३० को दशकदेखि भित्रिएको उत्तर आधुनिकतावादी चिन्तनले त्यसलाई बढावा दिँदै छ, के हाम्रो साहित्य नबुझिने वा नअर्थिने वा अर्थ भ्रान्तिमा रुमलिनुपर्ने हो ।
७) समालोचकीय प्रतिमानहरूको प्रयोग गर्दा उत्तर आधुनिकतावादी समीक्षकले व्यावहारिक समालोचनाका क्रममा प्रगतिवादी सर्जक र तिनका सिर्जनालाई पनि दृष्टान्तका रूपमा प्रस्तुत गरेको पाइन्छ, के त्यस्तो प्रयोग मानक हुन सक्छ ?
८) नेपाली समालोचकहरू निर्णयात्मक समीक्षा विधिका माध्यमबाट भविष्य पछ्याउने दिशातिर स्रष्टालाई उत्प्रेरित गर्ने कि पाठ्यक्रममुखी वा पेसामुखी समालोचनामा रमाउने ?
९) आजको पुँजीवाद बहुराष्ट्रिय कम्पनीमार्फत भूमण्डलीकृत सांस्कृतिक साम्राज्यवादको दिशातिर वेगवान् रहेको अवस्थामा हामीले त्यसको अन्धानुकरण गर्ने वा त्यसका विरुद्ध आफ्नै मौलिक स्वरूपको सिर्जन–समीक्षण विधिको अवलम्बन गर्ने ?

माथि उल्लिखित जिज्ञासाहरू समकालीन साहित्य लेखनको सार रूपमा प्रस्तुत भएका छन्; ती आफैँमा महत्त्वपूर्ण छन् । हामीले साहित्यमार्फत उदात्तको प्रस्तुतिमा सक्दो प्रयत्न गरौँ; सक्दैनौ भने पनि राष्ट्रिय गौरव र स्वाभिमान कायम राख्ने प्रकृतिका सिर्जनामा प्रवृत्त बनौँ; साझा सवालमा एकै ठाउँमा उभिएर राष्ट्रिय स्तरका बहस चलाउने प्रयत्न गरौँ । नियमित रूपमा गरिने विमर्श हाम्रा लागि फलदायी हुन सक्छ र हामी भविष्य पछ्याउने दिशातिर उन्मुख हुन सक्छौँ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रा.डा.गोपीन्द्र पौडेल
प्रा.डा.गोपीन्द्र पौडेल
लेखकबाट थप