राउटेमाथि किन भइरहेका छन् दुर्व्यवहारका घटना ?

समाचार सारांश
- दैलेख प्रहरीले राउटे युवतीमाथि दुर्व्यवहार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ।
- सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि प्रहरीले आरोपितलाई नियन्त्रणमा लिएको हो, जसमा युवतीमाथि दुर्व्यवहार देखिन्छ।
- राउटे समुदायमा बाहिरी व्यक्तिको हस्तक्षेप बढेसँगै उनीहरूको संस्कृति सङ्कटमा परेको र मदिरा सेवनका कारण यस्ता घटना बढेको बताइएको छ।
सुर्खेत । राउटे युवतीमाथि दुर्व्यवहार गरेको आरोपमा शनिबार दैलेख प्रहरीले आठबिस नगरपालिका–३, साइँगाउँका २८ वर्षीय टोपेन्द्र शाहीलाई पक्राउ गर्यो ।
सुर्खेत प्रहरीको अनुरोधमा दैलेख प्रहरीले कर्णाली राजमार्ग अन्तर्गतको टुनिबगर बजारबाट उनलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका शाहीलाई शनिबार बेलुका नै सुर्खेत ल्याइएको छ ।
सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा शाहीले राउटे समुदायका युवतीको बिचमा बसेर अनैतिक हर्कत गरेको देखिन्छ ।
ट्रकमा कतै जाँदै गरेको अवस्थामा शाहीले राउटे युवतीको सोझोपनाको फाइदा उठाउँदै अँगालो मारेको दृश्य १५ सेकेन्डको भिडियोमा देख्न सकिन्छ । भिडियोमा राउटे युवतीले असहज माने पनि शाही हाँस्दै केही बोलिरहेका छन् ।
राउटेका सम्बन्धमा काम गरिरहेको राउटे परियोजनाका कर्मचारी विनोद बिसीका अनुसार यो भिडियो एक वर्ष अघिको हो, जतिबेला राउटे समुदाय दैलेखको पादुका खोलामा बसोबास गर्थे ।
‘पादुकाबाट तल्लो डुङ्गेश्वर बसाइ सर्ने क्रममा राउटेले ट्रकमा सामान ल्याइरहेका थिए,’ बिसीले रातोपाटीसँग भने, ‘त्यही ट्रकमा त्यो मान्छे रहेछ, अनि भिडियो बनाएको रहेछ ।’
राउटे समुदायका महिलाहरू गैरराउटेसँग खासै बोल्दैनन् । पछिल्लो समय बाहिरी दुनियाँको हस्तक्षेप बढेपछि राउटेको संस्कृति सङ्कटमा पर्दै गएको छ ।
उक्त भिडियो सामाजिक सञ्जालमा आएपछि मात्रै आफूले थाहा पाएको बिसी बताउँछन् । ‘उनीहरू केही भन्दैनन्, बोल्दैनन्,’ उनले भने, ‘भिडियो आएपछि बुझ्दा पनि उनीहरू केही बोलेनन् ।’
यतिवेला राउटे समुदाय सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३, करेखोला र बराहताल गाउँपालिका–८, सोतखोलामा (आधा/आधा) बसिरहेका छन् ।
भिडियो भाइरल बन्दै गएपछि प्रहरीले खोजी कार्य थाल्यो । सुर्खेत प्रहरीको अनुरोधमा दैलेख प्रहरीले आरोपित शाहीलाई दुर्व्यवहारको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाले रातोपाटीलाई बताए ।
‘भिडियोमा दुर्व्यवहार गरेको देखिन्छ,’ उनले भने, ‘पक्राउ परेको केटा सामाजिक सञ्जालमा भ्लग बनाउने रहेछ ।’
राउटे समुदायमाथिको दुर्व्यवहार यो नै पहिलो भने होइन । केही अघि दैलेखकै छामघाट (जलजले) मा बसिरहेका वेला पनि राउटेमाथि यस्तै प्रकृतिको घटना भयो ।
राउटे परियोजनाका कर्मचारी बिसीका अनुसार मदिरा सेवन गरेपछि राउटेहरू आफ्नै धुनमा हुन्छन् । त्यसैको मौका छोपेर एक गैरराउटे युवाले राउटे युवतीको भिडियो लगातार बनाएर पोष्ट गर्थ्यो । ‘एउटै युवतीको भिडियो पोष्ट गरिरहेपछि प्रहरीले पक्राउ गर्यो,’ उनले भने ।
०७८ जेठ २३ राउटे युवतीलाई फकाएर होटेलमा लगेर यौन दुर्व्यवहार गरेका दुई जना यतिवेला कैद सजाय भोगिरहेका छन् । गुर्भाकोट नगरपालिका–९ का चौमन घर्ती मगर र भूपेन्द्र बुण मगरले मेहलकुना बजारको एक होटलमा लगेर राउटे युवतीमाथि यौन दुर्व्यवहार गरेका थिए । उनीहरूको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको थियो ।
त्यसको एक वर्षपछि जिल्ला अदालत सुर्खेतका न्यायाधीश राजेन्द्र कुमार आचार्यको एकल इजलासले दुवै आरोपितलाई ७/७ वर्ष कैद सजाय र जनही दुई लाखका दरले जरिबानाको फैसला गरेको थियो ।
होटलका सञ्चालक मनबहादुर पुनलाई पनि ३ वर्ष कैद र एक लाख रुपैयाँ जरिबाना तोकियो ।
बाहिरी दुनियाँभन्दा अलग हुन्छ राउटेको जनजीवन
राउटेहरू आफूलाई जङ्गलको राजा भन्दछन् । उनीहरू जङ्गलमै आश्रित हुन्छन् । उनीहरू काठका भाँडाकुँडा बनाएर तिनलाई बेचेर जीविकोपार्जन गर्दथे । स्थायी बसोबास, लेखपढ र खेतीपाती उनीहरूको जीवनबाट धेरै टाढाका विषय हुन् । यो समुदायको आफ्नै कानुन छ ।
कर्णाली र सुदूरपश्चिमका विभिन्न जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएका राउटेको आफ्नै परम्परा, संस्कृति छ । पछिल्लो समय राउटेलाई परिवर्तनका नाममा एनजीओ/आईएनजीओहरूले चामल, त्रिपाल दिन थाले ।
कुनै वेला ‘राउटे पत्रकार’ले परिचित भक्तबहादुर शाहीका अनुसार शान्ति प्रक्रियापछि राउटे समुदायमा एनजीओ/आईएनजीओको प्रवेश भएको हो । ‘पहिला गैरराउटेलाई उनीहरूको बस्तीमा प्रवेश निषेध थियो,’ शाहीले भने, ‘समुदायमा केही समस्या हुँदा मुखिया नै अघि आउँथे ।’
सुरुमा युएनडीपीले राउटेको सम्मान, संस्कार, सामाजिक सुरक्षा तथा भत्ताका लागि राष्ट्रपतिदेखि प्रधानमन्त्रीसँग कुरा राख्यो । विभिन्न सञ्चारमाध्यममा उक्त कुरा आयो । त्यसपछि राउटेको रुपान्तरण भन्दै थुप्रै सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले आवेदन पेस गरे ।
‘कसैले प्रधानमन्त्रीसँग भने, कसैले कोहीसँग,’ शाहीले भने, ‘राउटेकै नाममा अहिले पनि थुप्रै सङ्घसंस्था छन् । कोही सरसफाईका नाममा, कोही सामाजिक सुरक्षाका नाममा राउटे समुदायभित्र प्रवेश गरे ।’
जब एजजीओ/आईएनजीओहरू प्रवेश गरे, राउटेमाथि बाहिरी मान्छेको जबर्जस्त हस्तक्षेप बढ्यो, जसले गर्दा राउटेहरू कमजोर बन्दै गएको उनी बताउँछन् ।
‘आफ्नो स्वार्थका लागि उनीहरूलाई मदिरामा लिप्त बनाए, फोटो, भिडियो खिच्थे,’ शाहीले भने, ‘सुरुसुरुमा राउटे जुन कुरा चाहँदैन थिए, सामाजिक परिवर्तनका नाममा त्यही कुरा लिन बाध्य पारे ।’ उनका अनुसार अहिले पनि राउटे प्लाष्टिकको त्रिपाल हाल्दैनन् । यद्यपि, त्यही शीर्षकमा थुप्रै बजेट खर्च भएको छ ।
बरु युएनडीपीले राउटेले के चाहन्छन्, उनीहरूको संस्कार, संस्कति रहिरहोस् भन्ने चाहन्थ्यो । त्यसपछि प्रवेश पाएका संस्थाहरूले परिवर्तनका नाममा उनीहरूको संस्कार बिगारेको शाहीको आरोप छ ।
शाहीका अनुसार पहिला राउटे समुदाय अन्य समुदायसँग खासै बोल्न रुचाउँदैनथे, तर अहिले कोही आयो कि पैसा माग्ने र फोटो, टिकटक, भिडियो बनाउने जस्ता गतिविधिमा उनीहरू लोभिन थालेका छन् । परिणामस्वरुप राउटे असुरक्षित बन्दै गएको शाहीको तर्क छ ।
लामो समय राउटेको विषयमा अध्ययन गरेका शाहीको बुझाइमा ०७८ साल यता राउटेमाथि भएका घटना विगतमा कहिल्यै भएका छैनन् ।
बरु राउटे बस्तीमा महिला हिंसा नहुने उनले दाबी गरे । उनले थपे, ‘यो समुदायमा महिलालाई उच्च दर्जाका रूपमा राखिन्छ । राउटेमा बालहिंसा, महिला हिंसा मान्य हुँदैन ।’
तर बाहिरी समाजबाट उनीहरूमा असुरक्षा बढेको शाहीको तर्क छ । शाहीका अनुसार राउटेहरू आफ्नै परम्परा र प्रचलनमा रमाउन चाहन्छन् । राउटेको कानुन अलिखित छ । समुदायमा विवाह, मृत्यु सम्बन्धी पनि उनीहरूको आफ्नै परम्परा छ, जसलाई उनीहरू कानुनसरह मान्छन् ।
कसैले केही गल्ती गरेमा मुखियाको नेतृत्वमा अगुवाहरू बसेर दण्ड, जरिबानासम्बन्धी निर्णय लिने शाही बताउँछन् । यस अन्तर्गत जरिबाना तिराउने र माफी दिने प्रचलनसमेत रहेको उनले बताए ।
काठको झुमामा तीन महिनासम्म अन्न कुहाएर चाडपर्वमा जाँड बनाएर खाने राउटे समुदाय हिजोआज मदिरा पिउन थालेका छन् । राउटेलाई आवश्यकताभन्दा बढी सहयोग, सहयोगका नाममा अनावश्यक वस्तु दिँदा उनीहरूले त्यस्ता वस्तुलाई विक्री गरेर मदिरा पिउन थालेका हुन् । राउटे समुदायका स–साना बालबालिकादेखि गर्भवती महिलासमेतले मदिरा पिउने गरेका छन् ।
राउटे युवतीमाथि गैरराउटे युवाले दुर्व्यवहार गर्नुको एउटा कारण मदिरा पनि बनेको तर्क गर्दछन् राउटे परियोजनाका कर्मचारी विनोद बिसी ।
अधिवक्ता शेरबहादुर खत्रीका अनुसार राउटेलाई आधुनिक युगमा ढाल्नु, उनीहरूको मौलिक पहिचान र परम्परामा अतिक्रमण गर्नु भनेको उनीहरूलाई सखाप पार्नुजस्तै हो । बरु राउटे समुदायको संरक्षण राज्य आफैँले गर्नुपर्ने उनको तर्क छ ।
‘एनजीओ/आईएनजीओहरूले त रुपान्तरणमा नाममा फाइदा लिने काम गरिरहेको देखिन्छ,’ खत्रीले भने, ‘यदि साँच्चै रुपान्तरण गरेका हुन्थे भने अहिले किन उनीहरू परनिर्भर भए, किन जनसङ्ख्या घट्दै गयो ?’
राउटे परियोजनाका कर्मचारी विनोद बिसीका अनुसार अहिले राउटेको जनसङ्ख्या १३४ मा झरेको छ । राउटेमा विगतको भन्दा मदिराको लत बढ्दै गएको जिकिर गर्दै उनले यो समुदायका कतिपयको त अत्यधिक मदिरा सेवनकै कारण मृत्यु भएको प्रस्ट पारे ।
उनी पनि राउटेमाथि यस्ता घटना दोहोरिनुका पछाडि अन्धाधुन्ध सहयोग तथा बाहिरी दुनियाँको हस्तक्षेपलाई नै कारण ठान्दछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्दीपुरमा विदेशी चलचित्रको छायाङ्कनले पर्यटन व्यवसायी उत्साहित
-
निगुरो बेचेर घर खर्चको जोहो गर्दै कुमाल समुदाय
-
झापाका कृषकले पाएनन् चैते धानको समर्थन मूल्य
-
‘कञ्चनजङ्घा आरोहणले दुई देशबीचको सम्बन्ध थप बलियो’
-
निजामती अस्पतालमा नयाँ प्रविधिबाट घुँडाको जोर्नी प्रत्यारोपण सुरु
-
अयोध्या–धामको नाममा जग्गा नहुँदा समस्या