बुधबार, २१ जेठ २०८२
ताजा लोकप्रिय

रोग पहिचान हुनासाथ विपन्नलाई उपचार खर्च दिनुपर्छ

सोमबार, १९ जेठ २०८२, १० : ५८
सोमबार, १९ जेठ २०८२

समाचार सारांश

  • सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक सहायता कार्यक्रम व्यावहारिक नभएको गुनासो छ, किनभने बिरामीले पहिले खर्च गरेपछि मात्रै रकम पाउँछन्।
  • प्रदेश सभा सदस्यले कार्यविधिमा सुधारको माग गर्दै, रोग पुष्टि भएपछि तुरुन्तै उपचार खर्च दिने व्यवस्था गर्नुपर्ने बताएकी छन्।
  • अस्पतालमा सेवा विस्तारको कुरा घोषणामा मात्र सीमित भएको र स्वास्थ्य क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता औंल्याइएको छ।

सुदूरपश्चिम प्रदेश सरकारले गम्भीर रोग लागेका बिरामीका लागि सामाजिक विकास मन्त्रालयमार्फत एक लाख रुपैयाँसम्मको आर्थिक सहायता दिने कार्यक्रम ल्याए पनि यसको व्यावहारिक पक्षमा कमजोरी रहेको भन्दै गुनासो आइरहेको छ । यस्तो आर्थिक सहायता बिरामीले आफ्नै खर्चबाट उपचार गरेपछि बिलका आधारमा दिइन्छ ।

त्यसैले सामाजिक विकास मन्त्रालयले सञ्चालन गरेको गम्भीर रोगीका लागि आर्थिक सहायता कार्यक्रमले जनतालाई सास्तीमात्र दिएको छ । बिरामीलाई उपचार गर्नका लागि आर्थिक सहायता हुनुपर्ने हो । आफ्ना घरजग्गा बेचेर उपचार गरिसकेपछि आर्थिक सहायता दिनु व्यावहारिक होइन । विपन्न नागरिकलाई सुरुमा पैसा नदिइ उपचार कसरी सम्भव हुन्छ ? यति गम्भीर विषयमा प्रदेश सरकार संवेदनशील हुन सकेको छैन । यस्तो कार्यविधि जनतामैत्री छैन ।

बिरामीले आफूलाई गम्भीर रोग लागेको हो भन्ने प्रमाणित गर्न आवश्यक कागजात जुटाउनु पर्छ तर वास्तविक बिरामीलाई यसले सास्ती हुन्छ ।

मैले अघिल्लो वर्ष प्रदेश सभामा स्पष्ट रूपमा भनेकी थिएँ— यदि सरकारले साँच्चै बिरामीको पक्षमा काम गर्न चाहन्छ भने कार्यविधिमा सुधार गर्नुपर्छ । अहिले पनि त्यो अवस्था उस्तै छ । मैले आग्रह गरेकी थिएँ कि रोग पुष्टि भएपछि नै उपचार खर्च दिनुपर्छ, तर अझै बिल ल्याएपछि मात्र उपचार खर्च दिने प्रणाली कायमै छ ।

मिर्गौला प्रत्यारोपण, मुटु शल्यक्रिया, क्यान्सरको किमोथेरापी लगायतका उपचार अत्यन्त महँगा छन् । मिर्गौला फेल भएका बिरामीले सातामा दुई पटक डायलाइसिस गर्नुपर्छ । निजी अस्पतालमा यो सेवा लिने हो भने एक लाख रुपैयाँले ६ महिनासम्म पनि नपुग्न सक्छ । त्यसैले एक लाख रकम पर्याप्त छैन । आर्थिक सहायता वितरण प्रणाली पनि सरल हुनुपर्छ ।

अस्पतालमा सेवा विस्तार भन्ने कुरा कतिपय ठाउँमा घोषणामा मात्र सीमित छन् । सेती प्रादेशिक अस्पताललाई स्तरोन्नति गर्ने भनिए पनि काम ठप्प छ । जनताले स्थानीयस्तरमै सुविधा चाहेको हो ।

नागरिकले उपचारमा सर्वस्व गुमाएका छन् । वास्तविक पीडितलाई सहयोग गर्नकै लागि राज्यले नीति बनाएको हो । त्यसमा पनि विपन्नलाई आर्थिक अभावमा उपचारबाट वञ्चित हुन नपरोस् भनेर सहयोग गर्ने नीति लिइएको हो । आर्थिक सहायताको रकम एक लाखमा केही थप्नुपर्छ भन्ने मेरो भनाइ हो । नागरिकको जिउ, ज्यान बचाउन प्रदेशले पनि आयस्रोत बढाउनु पर्छ । आयस्रोत, आम्दानी ठप्प छ । संघको अनुदानमा भर परेरमात्र कसरी हुन्छ ?

सुदूरपश्चिमको अवस्था अझै गम्भीर छ । धेरै जिल्ला अस्पतालहरू उपकरणविहीन छन् । म गत महिना बैतडी, बझाङ, टीकापुर र महाकाली अस्पताल पुगेँ । कतिपय अस्पतालले १५ शय्याको अनुमति लिएर ६० शय्याको सेवा दिइरहेका छन्, त्यो पनि न्यून स्रोतसाधनमा । औषधि छैन, दक्ष चिकित्सक छैनन् । बिरामीहरू रिफर गरेर भारत वा काठमाडौँ पठाइन्छ । बाटोमा मृत्यु हुने अवस्था पनि देखियो ।

अस्पतालमा सेवा विस्तार भन्ने कुरा कतिपय ठाउँमा घोषणामा मात्र सीमित छन् । सेती प्रादेशिक अस्पताललाई स्तरोन्नति गर्ने भनिए पनि काम ठप्प छ । जनताले स्थानीयस्तरमै सुविधा चाहेको हो । मुटु, क्यान्सर, मिर्गौलाजस्ता रोगका लागि प्रदेशमै विशेष उपचार केन्द्र बनाइनु पर्छ । राजधानी जाँदा लाग्ने यातायात खर्चमात्रै पनि धेरै हुन्छ, त्यो विपन्न जनताका लागि सम्भव हुँदैन ।

विपन्न नागरिककै लागि उपचार खर्चमा सहयोग गर्ने भनेर प्रदेश सरकारले नीति लिएको हो भने रोग पुष्टि भएलगत्तै उपचार खर्चबापत दिइने सहयोग रकम उपलब्ध गराइनुपर्छ । त्यो पनि सरल प्रक्रिया अपनाएर दिनुपर्छ । अनलाइन आवेदन प्रणाली, स्थानीय तहमार्फत सिफारिस, प्राथमिक उपचारको खर्च अग्रिम प्रदान गर्न सकिने व्यवस्था हुनुपर्छ । कार्यविधिलाई मानवताको आधारमा पुनरवलोकन आवश्यक छ ।

सरकारले स्वास्थ्य क्षेत्रमा लगानी बढाउनुपर्ने हो । तर, स्वास्थ्यभन्दा अरु विषयमा, विशेषगरी पूर्वाधार विकासमा खर्च बढी देखिन्छ ।

वास्तवमा समन्वयको अभाव नै सबैभन्दा ठुलो समस्या हो । स्वास्थ्य चौकीमा औषधि छैन । अस्पतालमा चिकित्सक छैनन् । प्रदेशले कार्यक्रम ल्याउँछ, तर स्थानीय तहलाई जानकारी नै हुँदैन । यस्तो अवस्थामा सेवा जनतासम्म पुग्दैन । योजना बनाउनेमात्रै होइन, कार्यान्वयन गर्न स्थानीय तहलाई सशक्त बनाउनु पर्छ ।

हामी जनप्रतिनिधिलाई नागरिकले बिरामी हुँदा उपचार गर्न नसकेर हेपिएका छौँ भन्ने गुनासो गर्नुहुन्छ । आफ्ना कुरा  सरकारले सुन्दैन भनेर उहाँहरू हामीलाई भन्नुहुन्छ । क्यान्सर उपचार केन्द्र, मुटु अस्पताल, डायलाइसिस सेवा उपलब्ध गराउनुपर्छ भनेर आवाज घन्किएको वर्षौं भइसक्यो, तर सरकार भने सडक उदघाटनमै व्यस्त छ । जनताको स्वास्थ्य जोगाउनु हाम्रो पहिलो दायित्व हो भन्ने भावना अझै सरकारमा देखिएन ।

सरकारले स्वास्थ्य क्षेत्रमा लगानी बढाउनुपर्ने हो । तर, स्वास्थ्यभन्दा अरु विषयमा, विशेषगरी पूर्वाधार विकासमा खर्च बढी देखिन्छ । स्वास्थ्य भनेको मानव अधिकारसँग जोडिएको विषय हो । सुदूरपश्चिमको भूगोल, गरिबी र पहुँचहीनताको सन्दर्भमा यहाँका जनतालाई स्वास्थ्य सेवा सुनिश्चित गर्नु अत्यावश्यक छ । शिक्षा र स्वास्थ्यलाई प्राथमिकता नदिएसम्म प्रदेशको विकास हुन सक्दैन ।

सरकारले नागरिकको पीडालाई सुन्नुपर्छ । रोग लागेपछि उपचार गर्न नसक्ने अवस्था अत्यन्त दुःखद् हो । बिल ल्याएपछि रकम दिने होइन, बिरामी हुँदा नै साथ दिने नीति सरकारले ल्याउनुपर्छ । म यो विषयमा निरन्तर आवाज उठाइरहेकी छु । यसमा सरकार गम्भीर होस् भन्ने आशा गरेकी छु ।

(राप्रपाकी सुदूरपश्चिम प्रदेश सभा सदस्य विष्टसँग रातोपाटीका लागि सविता बुढाले गरेको कुराकानीमा आधारित ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खेमा देवी विष्ट
खेमा देवी विष्ट
लेखकबाट थप