बिहीबार, २२ जेठ २०८२
ताजा लोकप्रिय
विकास निर्माण

बुटवल–गोरुसिङ्गे सडक विस्तार : शिलान्यास भएको ४ महिनामा ९ प्रतिशत भौतिक प्रगति

मङ्गलबार, २० जेठ २०८२, ०६ : ४९
मङ्गलबार, २० जेठ २०८२

समाचार सारांश

  • बुटवल-गोरुसिङ्गे सडकखण्ड विस्तारमा ९ प्रतिशत भौतिक प्रगति भएको छ, जसअन्तर्गत रुख कटान र पुल निर्माणको काम भइरहेको छ।
  • रुपन्देही र कपिलवस्तु खण्डमा सडक विस्तार भइरहेको छ, जसमा चिनियाँ कम्पनीले १३ अर्ब ५५ करोडमा ठेक्का लिएको छ र निर्माण कार्य भइरहेको छ।
  • सडक परियोजनाका अनुसार, विभिन्न स्थानमा पुल र कल्भर्ट निर्माणको काम भइरहेको छ, र ठेकेदार कम्पनीले १ अर्ब ३ करोड रुपैयाँ लगिसकेको छ।

बुटवल । माघ ११ गते शिलान्यास भएको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्ड विस्तारमा ९ प्रतिशत भौतिक प्रगति भएको छ ।

बुटवल–गोरुसिङ्गे सडक परियोजनाका सूचना अधिकारी राजेन्द्र आचार्यका अनुसार कपिलवस्तु र रुपन्देही गरी दुई खण्डमा विभाजन गरेर काम भइरहेको छ । रुपन्देहीको सैनमैना नगरपालिकादेखि कपिलवस्तु जिल्लामा पर्ने कोठी नदीसम्म बुटवल कार्यालयले हेर्ने र बाँकी खण्ड कपिलवस्तुले हेर्ने गरी छुट्टै इकाई निर्माण गरी काम भइरहेको जनाइएको छ ।

चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवन निर्माण सेवाले कुल १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रुपैयाँमा सो सडक विस्तारको जिम्मा लिएका हुन् ।

मोभिलाइजेसन खर्च पेस्की ५५ करोड ७७ लाख र बिलको ४७ करोड ४६ लाख गरी कुल १ अर्ब ३ करोड रुपैयाँ ठेकेदार कम्पनीले लगिसकेको सडक परियोजनाले जनाएको छ ।

परियोजनाका अनुसार सडक विस्तार क्षेत्रमा रुख कटान पूरै सकिएको छ भने विद्युत् पोल सार्ने काम सुरु भएको छ । सडकमा माटो फिलिङ्ग गर्ने, कल्भर्ट, पुल निर्माणको काम चलिरहेको छ ।

कपिलवस्तुतर्फ ३ हजार ३३४ र रुपन्देहीतर्फ ३ हजार ७७७ रुख कटान सम्पन्न भइसकेको छ ।

रुपन्देहीमा ३० किलोमिटर र कपिलवस्तुमा २० किलोमिटर सडक विस्तार गरिनेछ । १९ किलोमिटर दुरीको गोरुसिङ्गे–चन्द्रौटा खण्डमा दोस्रो चरण अन्तर्गत काम थालिने जनाइएको छ ।

3-555f4755-773d-490c-9b0b-f760bc796c3b

रुपन्देहीतर्फ निर्माण हुने २० वटा पुलमध्ये अहिले १२ वटा पुलको पाइल फाउन्डेसनको काम अन्तिम चरणमा रहेको तथा १७ वटा कल्भर्ट निर्माणको काम चलिरहेको इन्जिनियर अशोक पौडेलले रातोपाटीलाई बताए ।

१९  ठाउँमा आरसीसी र रिटेनिङ वालको काम चलिरहेको उनको भनाइ छ । सालझन्डी पश्चिम र सैनमैनाको सरौलीमा अहिले माटो फिलिङ्गको काम भइरहेको छ ।

कपिलवस्तु साइटका इन्जिनियर जीगेस प्रसाद चौधरीका अनुसार कपिलवस्तुमा ८ वटा पुलको पाइल फाउन्डेसनको काम अन्तिम चरणमा पुगेको छ ।

बुटवल–गोरुसिङ्गे सडकखण्डमा सबैभन्दा लामो पुल कपिलवस्तु वाणगंगामा छ । ३ सय मिटर लामो पुलको  ११ वटा फाउन्डेसन निर्माण गर्नुपर्नेमा ५ वटा निर्माण भइसकेको इन्जिनियर चौधरीले बताए ।

यस्तै १९ वटा कल्भर्ट निर्माण गर्नुपर्नेमा ९ वटा अन्तिम चरणमा रहेको उनले जानकारी दिए । अन्य १० वटामा पनि निर्माणको काम चलिरहेको उनको भनाइ छ । 

2-49c7bec5-8af6-4a20-9cce-a12148854f52

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप

छुटाउनुभयो कि ?