आइतबार, २५ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
दशजगाको दृश्य

सीमा छुट्टिए पनि छुट्टिएको छैन मन

आइतबार, २५ जेठ २०८२, १५ : ४९
आइतबार, २५ जेठ २०८२

समाचार सारांश

  • बाराको विश्रामपुर गाउँपालिकामा नेपाल र भारतका नागरिकबीचको सद्भाव र प्रेम दर्शाउँदै, उनीहरूले चाडपर्व र बिहेमा मिलेर रमाइलो गर्छन्।
  • भारत सरकारले खानेपानी धारा भत्काएपछि नेपाली छिमेकीको घरबाट पानी लिने भारतीय नागरिकको बाध्यता छ, तर दुवै देशका नागरिकबीचको सम्बन्ध राम्रो छ।
  • दशगजा क्षेत्र खाली गराउन भारत सरकारको दबाब छ, तर स्थानीय बासिन्दाहरूले सीमा क्षेत्रमा मिलेर बसोबास गर्दै आएका छन्।

बारा । छिमेकी मुलुक भारतसँग सीमा जोडिएको बाराको विश्रामपुर गाउँपालिका–२, घोडासनमा दुई देशका नागरिकबीचको सद्भाव र प्रेम निकै विशेष प्रकारको देखिन्छ।

दशगजामा रहेको पाँच मिटरको सडक र नागरिकताले छुट्याएको भूगोललाई यहाँका स्थानीयको आपसी सद्भावले जोडेर राखेको छ।

विश्रामपुर गाउँपालिकाको सीमावर्ती क्षेत्रको नेपालतर्फको भूभागलाई घोडासन र भारततर्फको भूभागलाई छतवा भनेर चिनिन्छ। उक्त क्षेत्रमा वल्लो घर नेपालीको छ भने पल्लो घर भारतीय नागरिकको छ।

दुई फरक देशका नागरिकबीच नुन–तेलको ऐँचोपैँचोदेखि पानीसम्मको ओसारपसार नियमित हुन्छ। बिहार सरकारले सीमाको दशगजा क्षेत्र खाली गराउन भारततर्फका नागरिकको खानेपानीको धारा भत्काइदिएको छ, जसका कारण अधिकांश भारतीय नागरिक खानेपानी लिन नेपाली छिमेकीको घरमा आउँछन्।

विश्रामपुर घोडासनका स्थानीय शिक्षक पवनप्रसाद साह तेलीले गाउँमा कुनै पनि चाडपर्व वा बिहेमा दुवै देशका स्थानीयले सँगै बसेर मनाउने गरेको बताउँछन्।
'हामी अत्यन्तै मिलेर बसेका छौँ। गाउँमा बिहे भयो वा कुनै चाडपर्व पर्‍यो भने सबैजना सँगै रमाइलो गर्छौँ,' शिक्षक साहले भने, 'यहाँ भारततर्फका मान्छे नेपालमा कमाउन आउँछन्, नेपालतर्फका मान्छे भारतमा कमाउन जान्छन्।'

विश्रामपुर वडा नं. १ का अब्दुल गनी (६५) चार पुस्तादेखि दशगजा क्षेत्रमा बस्दै आएका छन्। उनले दशगजाको बस्तीमा दशकौं बित्दासमेत खासै परिवर्तन नभएको बताउँछन्।
'यहाँ आजभन्दा ५० वर्षअघि जस्तो थियो, अहिले पनि उस्तै छ। दुई देशका स्थानीयहरू मिलेर बसेका छौँ, भोजबिवाह सबैमा सँगै रमाइलो गर्छौँ, विवाद केही छैन,' अब्दुल गनीले भने, 'हामीबीच बिहेबारीसमेत हुन्छ।'

छतवाका नेपालीहरू किनमेलका लागि भारतको आधापुर पुग्ने गरेका छन्।
'शादीका लागि, घरको लागि जे सामान चाहिन्छ, हामी आधापुरबाटै ल्याउँछौँ,' उनले भने।

b8

सीमावर्ती क्षेत्रमा पाँच मिटर चौडाइको अन्तर्राष्ट्रिय सडक रहेको छ। जसमा वल्लो घर नेपालीको र पल्लो घर भारतीयको हो।

भारतीय नागरिक हरिनारायण ठाकुरले दशगजा क्षेत्र खाली गराउन बेलाबेला प्रहरीको बल प्रयोगले दुःख दिने गरेको गुनासो गरे। उनले दशगजा क्षेत्रका घर हटाउने क्रममा गरिब, विपन्न नागरिकहरू समस्यामा परेको बताए।
'यहाँका सबै घरमा चिन्ह लगाइसकिएको छ। कहिले हटाउन आउँछन् भन्ने टुंगो छैन,' ठाकुरले भने।

दशगजाको यो बस्ती कति पुरानो हो भन्ने यकिन गर्न सजिलो छैन। तर ८० वर्षीय राम एकवाल प्रसाद चौरासियाले आफ्नो चार पुस्तादेखि दशगजामै बस्दै आएको बताउँछन्।
'यो बस्ती कति वर्ष पुरानो हो थाहा छैन, हाम्रा पुर्खाहरू यहाँ बसेको धेरै भइसक्यो,' चौरासियाले भने, 'हाम्रो गाउँ बोर्डरमै भए पनि कहिल्यै झगडा हुँदैन। यो अन्तर्राष्ट्रिय सीमा हो तर हामीलाई सामान्य गाउँको बाटोजस्तै लाग्छ।'

शनिबार मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईदको अवसरमा दशगजामा रहेका दुवै देशका नागरिकहरूले आपसमा रमाइलो गरी पर्व मनाएका थिए।

साथै सीमावर्ती क्षेत्रका स्थानीय बालबालिका अध्ययनका लागि नेपालतर्फका विद्यालयमा जाने गर्छन् भने नेपालीहरू बिरामी पर्दा स्वास्थ्य उपचारका लागि भारततर्फ जान्छन्।

स्थानीय वृद्ध महिलाले सीमावर्ती क्षेत्रमा खानेपानी र सडकको समस्या रहेको बताउँछिन्।

b10
'निजी जमिन छैन, कहाँ जाने? भारत सरकारले सबै धारा भत्काइदियो, गरिब मान्छे किनेर खान सक्दैन। हामी नेपालबाट पानी ल्याएर खान्छौं,' उनले भनिन्।

अन्तर्राष्ट्रिय कानुनअनुसार सीमाक्षेत्रको करिब ३० फिट वरिपरि केही निर्माण कार्य गर्न पाइँदैन। तर यहाँ दशगजा क्षेत्रमै स्थानीयहरूले घर, गोठ र खेतीपाती गर्दै आएका छन्।

विश्रामपुर गाउँपालिकाका प्रमुख जुल्फकार अली भुटोले दशगजामा दुई देशका नागरिकबीचको सद्भाव उदाहरणीय रहेको बताएका छन्।
'यहाँ भारततर्फको बिवाहमा हामी पनि निम्त्याइन्छौँ, हाम्रो चाडपर्वमा उहाँहरू पनि आउनुहुन्छ,' गाउँपालिका प्रमुख भुटोले भने, 'छिमेकीबीच कहिल्यै झगडा हुँदैन।'

उनले भारत सरकारले दशगजा क्षेत्रमा बसोबास गरिरहेका आफ्ना नागरिकलाई हटाएकाले नेपालतर्फ पनि खाली गराउन दबाब दिइरहेको जानकारी दिए।
'हाम्रोतर्फ दशगजा खाली गर्न भारत पक्षबाट निरन्तर दबाब आइरहेको छ। यसबारे हामीले संघीय सरकारलाई पनि जानकारी गराइसकेका छौँ,' उनले भने।

उनका अनुसार नेपालतर्फको दशगजा क्षेत्रमा दुई दर्जनभन्दा बढी घर र टहरा रहेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप