बुधबार, २८ जेठ २०८२
ताजा लोकप्रिय

पहिचानका लागि लडिरहेका जेन–जी पुस्ताका एलजीबीटी–आईक्यू

मङ्गलबार, २७ जेठ २०८२, १३ : ३०
मङ्गलबार, २७ जेठ २०८२

समाचार सारांश

  • एलजीबीटीआईक्यू समुदायका युवाहरूले समाजमा खुलेर आफ्नो पहिचान स्वीकार्न थालेका छन्, तर अझै पनि धेरैले समस्या भोगिरहेका छन्।
  • अनमोल राईले 'मिस पिंक' उपाधि जितेर एलजीबीटीआईक्यू समुदायका लागि काम गरिरहेकी छिन्, र प्रविधिको विकासले युवाहरूलाई आफ्नो कुरा राख्न सहज भएको बताइन्।
  • रोजन परियार र रुक्सना कपाली लगायतका युवाहरूले समुदायमा समानता र अधिकारका लागि संघर्ष गरिरहेका छन्, तर अझै पनि विभेद कायमै छ।

काठमाडौँ । यो जेन–जी पुस्ताका हजारौँ एलजीबीटी–आईक्यू युवाको साझा कथा हो । उनीहरू आफू अगाडि आइरहेका अनेक चुनौतीलाई सामना गर्दै अघि बढिरहेका छन् ।  उनीहरू लुकेर होइन, खुलेर समाजलाई आँखा जुधाउँदै भन्न चाहन्छन्, ‘म यही हुँ, जस्तो छु, उस्तै स्वीकार गर ।’

एलजीबीटी–आईक्यू समुदायका व्यक्तिहरूलाई नेपालको संविधानले समान व्यवहार गर्नुपर्ने व्यवस्था गरेको छ । तैपनि उनीहरूले आजका दिनसम्म पनि नागरिकता लिनेदेखि सामाजिक र अन्य सवालमा समस्या भोगिरहेका छन् । 

 २१ वर्षीय अनमोल राई एलजीबीटी–आईक्यू समुदायका युवा हुन् । अनमोल जन्मँदा छोरा मान्छेको शारीरिक बनावट लिएर जन्मिए पनि समयक्रमसँगै भावना छोरी मान्छेको जसरी विकास भयो । अहिले अनमोलले आफूले चाहे अनुसार छोरी मान्छे सरह जीवन जिइरहेकी छन् । 

शरीर एउटा र मन अर्को यो दोधारमा बाँच्नुपर्दा अनमोलको बाल्यकाल त्यति सहज भएन । तर, आफ्नो पहिचान खुलेर राखेसँगै अनमोल परिवार, समाज हुँदै सबै ठाउँमा खुल्न थालिन् । आफूले आफ्नो पहिचानलाई स्विकार्दै आत्मविश्वास बलियो बनाएकी अनमोलले २०२४ मा ‘मिस पिंक’को उपाधि जित्न सफल भइन् । उनै अनमोल नेपाल परिवार नियोजन संघमा एलजीबीटी–आईक्यू  समुदायकै लागि विगत ६ महिनादेखि काम गरिरहेकी छन् । 

जेन–जी पुस्ताकी अनमोल भन्छिन्, ‘म जस्ता नयाँ पुस्ताका धेरै एलजीबीटी–आईक्यू समुदायका युवा पछिल्लो समय समाजमा खुल्न थालेका छन् । अहिलेको अवस्था पहिलेको जस्तो छैन । हाम्रो अग्रजहरू हामीले तिमीहरूको उमेरमा हुँदा यसरी खुलेर बाहिर आउन पाएनौँ भन्नुहुन्छ ।’

प्रविधिको विकाससँगै नयाँ पुस्ताका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका युवाहरूलाई केही राहत भएको उनको भनाइ छ । अनलाइन माध्यमबाटै पनि विश्वभरिका एलजीबीटी–आईक्यू समुदायका व्यक्तिबारे जानकारी हुने भएकाले आफू जस्ता धेरै युवालाई आफ्नो कुरा राख्न र भावना पोख्न सहज भएको उनको भनाइ छ । 

साथीभाइ, परिवार र आफन्तबाट केही हदसम्म पहिचान स्वीकार हुने अवस्था सृजना भएकाले सहज वातावरण बन्दै गएको अनमोलको भनाइ छ । तर, पनि समस्या भने अझै रहेको उनको भनाइ छ । अनमोल भन्छिन् ‘मेरो घरपरिवारले पो मलाई स्वीकार गरेको छ, बुझिदिनुभएको छ । तर अझै पनि धेरै जना एलजीबीटी–आईक्यू समुदायका साथीहरू अन्धकारमा नै हुनुहुन्छ, चाहेजस्तो जीवन जिउन पाउनुभएको छैन । आफ्नो पहिचान खुलाउन सक्नुभएको छैन । यो दुखद् पक्ष हो ।’

उसो त अनेक चुनौतीका बिच नै पछिल्लो समय नयाँ पुस्ताका एलजीबीटी–आईक्यूले आफ्नो मनमा लागेको कुरा भन्न थालेका छन् । आफ्नो लागि अडान लिन थालेका छन् । जुन कुराले अनमोललाई धेरै खुसी बनाउँछ ।

कसैले आफ्नो पहिचानलाई नबुझेको खण्डमा अनमोललाई अहिले केही अनौठो लाग्दैन । किनभने अनमोललाई कसले के भन्छ भन्दा पनि अनावश्यक कुरामा आफ्नो समय खेर फाल्नुहुँदैन भन्ने कुरा राम्रोसँग थाहा भएको छ ।  आफ्नो मनको शान्ति, आफ्नो सुरक्षा नै अनमोलको लागि महत्त्वपूर्ण पाटो बनेको छ । अनमोलले आफूलाई बलियो बनाएकी छिन् । आजकाल आफ्नो पहिचानको विषयमा प्रश्न उठाउनेहरूलाई अनमोलको जवाफ ‘मुस्कान’ बनिदिन्छ । 

कतिपय अवस्थामा एलजीबीटी–आईक्यू समुदायका लागि अहिलेको समुदाय बाहिर प्रगतिशील देखिए पनि भित्र उही पुरानो सोच र विभेद लुकाएर राख्ने किसिमको रहेको अनमोलको बुझाइ छ । अनमोलको भनाइमा उनीहरूको व्यवहार हात्तीको देखाउने र चपाउने दाँत जस्तै फरक छ । यो विरोधाभास पूर्ण अवस्था अहिलेको जेन जी पुस्ताको लागि सबै भन्दा ठुलो चुनौती बनेको उनको भनाइ छ । 

 त्यसैले अनमोल जस्ता युवाहरूले पछिल्लो समय आफ्नो व्यक्तित्व आफैँ निर्माण गरिरहेका छन् अनि  आफ्नो लागि आफै लडिरहेका छन् । निरीह बनेर बस्ने होइन लड्नुपर्छ भन्ने मानसिकताको विकास गरेका छन् ।  

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको मानसिक स्वास्थ्यको क्षेत्रमा पैरवीको काम गरिरहेका व्यक्ति हुन्, २३ वर्षका रोजन परियार ।  रोजनको शारीरिक बनावट केटीको जस्तो छ तर मन भने छोरा मान्छेको जस्तो । यही कारण रोजनले धेरै विभेदको सामना गर्नुपर्‍यो । आफ्नो पहिचान कै कारण परिवार समाजबाट विभेद, अवहेलना खेप्नुपर्‍यो । 

आफूसँगैको साथीले आफ्नो पहिचान खुलेर भनेको देख्दा र आफूले खुलेर अरूलाई भन्न नसक्ने अवस्था हुँदा उनीहरू धेरै समस्यामा रहेको  पाएको रोजनको भनाइ छ । 

रोजनले भने, ‘परिवारले तैँले कमाउनु पर्छ भनेर आशा गरेको हुन्छ । परिवारको आशा, इज्जतका कारणले गर्दा पनि कतिपय गुम्सिएर बस्नुपर्ने अवस्था छ । फेरि हाम्रो समुदायका युवाले रोजगारी पाउन साह्रै गाह्रो छ । हरेक ठाउँमा विभेद भोग्नुपर्छ । ’

रोजन आफैसँग त्यस्ता तिता अनुभव धेरै छ ।  २०२२ मा बागमती प्रदेशले लिएको  लोक सेवा आयोगको परीक्षा दिन तयारी अवस्था थिए । परीक्षा हलमा पुगेपछि आफ्नो पहिचानकै कारण रोजनलाई परीक्षा दिन निकै असहज भयो । हाजिर कपिमा महिला र पुरुष भन्ने लिङ्ग लेखिएको थियो । सोही अनुसार रोजनले हाजिर कपिमा आफ्नो नागरिकताको आधारमा महिलामा चिन्ह लगाए । तर निरीक्षकले कक्षामा गन्दा केटी मान्छे एक जना कम भयो । अर्थात् रोजनको बाहिरी आवरण केटाको जस्तै थियो । रोजनले निरीक्षकलाई आफ्नो परिचयपत्र पनि देखाए, तर पनि निरीक्षकले रोजनलाई अरूलाई जसरी सहजै परीक्षामा सहभागी हुन दिएनन् । धेरै सोधपुछ गरेर घण्टौँ पछि मात्रै रोजनलाई परीक्षा दिने वातावरण बनाइएको उनको भनाइ छ । 

 यस्तो अवस्था सृजना भएपछि रोजनको परीक्षा दिन सक्ने अवस्था थिएन । धेरै पछि परीक्षा दिएपनि रोजनलाई समय थप गरिएन । त्यो दिन परीक्षा दिएसँगै रोजनले अहिलेसम्म पनि आफ्नो नाम निस्किएको, ननिस्किएकोबारे केही खोजी गर्नुभएको छैन । किनभने त्यो दिन रोजनलाई गरिएको दुर्व्यवहारले विक्षिप्त बनाएको छ । 

अहिलेका पुस्ता सामाजिक सञ्जालमा सक्रिय छन् । तर सामाजिक सञ्जालमा आउने विभिन्न किसिमको कमेन्ट, गाली गलौचका कारण पनि मनोबल गिर्ने गरेको रोजन बताउँछन् । 'प्रविधिले सहज त बनाएको छ तर हामी जस्ता युवाको जीवन कष्टकर समेत बनाएको छ', रोजन भन्छन् । 

‘आफ्नो कुरा खुलेर राख्न सक्ने वातावरण बनेकोमा  रोजनलाई पछिल्लो पुस्तालाई केही सहज भएको अनुभव हुन्छ । तर अहिलेपनि  कतिपय ठाउँमा  अपमानजनक शब्दको प्रयोग गरिन्छ’, रोजन भन्छन्, ‘कोही सेलिब्रेटीहरु नै अलिकति फरक बोली गर्नुभयो भने कस्तो बोली भनेर कमेन्टमा आएको हुन्छ । यस्ता कुराले हामीलाई धेरै नै असर गर्छ । यस्तो सानो सानो कुराले अहिलेको पुस्ताका हाम्रो समुदायका युवालाई प्रभाव परिरहेको छ । सूचना छ, सञ्चार सेवा छ । तर त्यसमा नकारात्मकता धेरै छ । जसले हामीलाई दुःखी बनाउँछ ।’

रोजनले प्रविधिकै प्रयोग गरेर आफ्नो शरीर महिलाको भए पनि  पुरुष जस्तै महसुस गर्छु भन्ने कुरा परिवारलाई भर्चुअल माध्यमबाटै जानकारी गराए ।  अहिलेको पुस्तालाई भर्चुअल माध्यमबाटै आफ्नो कुरा राख्न पाउने वातावरण बनेकोमा रोजन खुसी छन् । 

रुक्सना कपाली २८ वर्षको पुगिन् । उनी ट्रान्सजेन्डर महिला हुन् । रुक्सनाले क्वयर युथ ग्रुप गैरनाफामूलक संस्थाको सीइओका रूपमा कार्यरत छिन् । बीबीसीले सार्वजनिक गरेको सन् २०२३ का विश्वका प्रभावशाली १०० महिलाको सूचीमा समेत रुक्सनाको नाम समावेश भैसकेको छ । रुक्सनाले विगत लामो समयदेखि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायकै बिचमा रहेर काम गरिरहेकी छिन् । 

 रुक्सनाको धारणमा प्रविधिको विकास भएपछि अहिले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिहरू खुल्न थालेका छन् । रुक्सना हुर्किँदै गर्दा प्रविधिहरूको प्रयोग खासै हुन पाएको थिएन । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको विषयमा कतैबाट जानकारी पाइँदैनथ्यो । अहिले संसारका जुनसुकै कुनाको मान्छेसँग पनि एकदम सहजै पहुँच छ । जसले गर्दा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक  युवाहरूलाई यसको राम्रो असर परेको छ । 

रुक्सना भन्छिन् ‘पहिले धेरैलाई लाग्थ्यो म एक्लै छु, अनि यो समुदायका व्यक्तिले एक्लोपन महसुस गर्थे । तर अहिले आफ्नो समुदायसँग जोडिन सजिलो छ । सामाजिक सञ्जालको माध्यमबाट लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक भनेर सर्च गर्‍यो भने विभिन्न समूहहरू टन्नै भेटिन्छ । ग्रुप च्याटहरू पनि उत्तिकै आउँछ । धेरै जना आफू जस्तो मान्छे चिन्न पाउने वातावरण बनेको छ । जसले गर्दा सहज भएको छ । तर जब समाजमा निस्कने बेला हुन्छ त्यो अवस्थामा भने सजिलो छैन । फोन चलाएर एउटा कोठाभित्रबाट  एकैछिन आफ्नो समुदायसँग जोडिएपनि बाहिर समाजमा निस्कँदा समाजले हेर्ने दृष्टिकोण फरक छ । अहिलेको विभिन्नता यही भएको रुक्सनाको बुझाइ छ ।’

रुक्सना अगाडि भन्छिन्, ‘१० वर्ष अगाडिको तुलना गर्ने हो भने तुलनात्मक रूपमा अहिलेको पुस्ताका लागि अवस्था तुलनात्मक रूपमा राम्रो छ । तर आमूल परिवर्तन पनि आइसकेको अवस्था छैन ।’

सरकारले जनगणना गरेपनि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको यकिन तथ्यांक अहिलेसम्म नहुने सबै भन्दा दुखद भएको रुक्सनालाई लाग्छ । महिला, पुरुष वा अन्य भनेर विकल्प राख्ने र दुई हजार जति लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक छन् भन्ने तथ्यांक सार्वजनिक गरेको छ । यो कुरा रुक्सनालाई चित्त बुझेको छैन । 

रुक्सना आफू लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको मान्छे हो भन्दै हिँड्दिनन् । उनलाई आफ्नो पहिचान भन्दै हिँड्नुपर्छ भन्ने पनि लाग्दैन । पहिचान एउटा पाटो मात्रै हो भन्ने लाग्छ । ‘लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको व्यक्ति हो भन्यो भने पहिले नै विभिन्न धारण बनाइहाल्ने गरिन्छ त्यसैले चिनजान भएपछि, घुलमिल भएपछि  लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको हो भन्ने थाहा पाउनेहरुले आफ्नो धारण यो समुदायप्रति गलत भएको भन्दै रियलाइज गर्ने गरेका छन्’, उनको भनाइ छ । 

रुक्सनाका अनुसार अहिलेको आवश्यकता भनेको दृढता हो । परिवर्तनहरू रातारात सम्भव छैन । ‘मैले आफ्नो नागरिकताको मुद्दा १० वर्षभन्दा बढी लडेँ । २०७२ सालमा नागरिकता लिन मुद्दा गरेको ०७७ सालमा सर्वोच्च अदालतमा पुग्यो, ०८० सालमा फैसला भयो ८१ सालमा फैसलाको पूर्ण पाठ आयो । अनि ०८२ सालमा कार्यान्वयन भयो । त्यसैले धैर्यता पनि चाहिन्छ’, उनको भनाइ छ।  

उसो त रुक्सनाहरुले अधिकारका लागि पहलकदमी जारी राखेका छन् । अब सरकारी सेवामा कोटा हुनुपर्छ र यसको लागि पनि रुक्सना लगायतका युवाले मुद्दा हालिसकेका छन् । सरकारी क्षेत्रमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्ति पुगे भने संस्थाहरूले यो समुदायका लागि आवाज उठाइरहनु नपर्ने बुझाई रुक्सनाको छ । 

२८ वर्षीय विराट विजय ओझा लेखक तथा कलाकार हुन् । उनी क्वेयर भित्र पर्छन् ।  विजयका अनुसार लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको आन्दोलनमा अहिले ज्येष्ठ नागरिक भन्दा पनि युवाहरूले नेतृत्व गरिरहेका छन् । 

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय भित्र प्राइड परेडको आयोजना गर्नेहरु पनि जेनजी पुस्ताकै छन् । जेनजी पुस्ताले नै यस्ता कामहरू गरेको देख्दा विराटलाई व्यक्तिगत रूपमा नै खुसी लाग्छ । किनभने विराट १६–१७ को हुँदा खुल्ने अवस्था थिएन । विराट भन्छन् ‘अहिलेका भाइबहिनीहरू खुलेर आउँदा एकदमै प्रेरणा मिल्छ र गर्व महसुस हुन्छ । ’

आजको अवस्थासम्म आइपुग्दा एजीबीटी आईक्यूका युवालाई जीवनयापन गर्न सहज भएको हो भन्ने प्रश्नमा भने विराट भन्छन्, ‘यो कुरा मान्छे र ठाउँ अनुसार फरक पर्छ । जस्तै, काठमाडौंमा जन्मे–हुर्केको मान्छेलाई सायद अलिकति सजिलो हुन्छ होला, किनभने यहाँ पहुँच बढी छ । मेरो घर इटहरी हो, म त्यहीँ जन्मे–हुर्केको त्यहाँ मलाई खुल्न सजिलो थिएन ।’ तर प्रविधिले गर्दा धेरै सहज भएको उनको बुझाइ छ । 

बिराज जस्ता युवाहरूले आफ्नो पहिचान समाज, परिवार, राष्ट्रले सहजै स्विकारोस् भन्ने चाहन्छन् । तर अझै यस्तो अवस्था सहज नभइसक्दा विराट जस्ता जेन जी लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका युवा निराश छन् । 

विराट भन्छन्, ‘अहिलेको जेनरेशन अलि बढी एक्सेप्टिङ जस्तो लाग्छ मलाई । किनभने यो जेनेरेसनमा मार्जिनालाइज्ड कम्युनिटीज छ, वमनको, जेन्ड इस्यु छ, दलितको कुरा छ, त्यसैले एलजीबीटि आइक्यू समुदायको कुरा पनि अहिले भइरहेको छ । त्यसैले अहिलेको पुस्ताले हाम्रो समुदायको बारेमा जान्न खोजेको बुझ्न खोजेको जस्तो लाग्छ मलाई ।’ 

उनका अनुसार अहिलेको पुस्ता फराकिलो विचार र आफूलाई चित्त नबुझेको कुराहरू बोलिहाल्ने खालको भएकाले पुरानो सोचलाई चुनौती दिने खालका छन् । जसले गर्दा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक युवाहरूलाई केही भए पनि सहज भएको छ । 

विराटका धेरै साथीहरू एलजीविटी आइक्यु समुदाय बाहिरका छन् । उनीहरूलाई विराटको यौनिकता, लैङ्गिकता फरक पार्दैन । यसरी अहिलेका युवा पुस्ताले एलजीविटि आइक्यु समुदायलाई लिएर अन्य व्यक्तिको जस्तै धारण राख्ने हो भने निक्कै सहज हुने विराटको धारणा छ । 

विराट, रुक्सना, अनमोल, रोजन जस्ता युवाहरु आशावादी छन् । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले भोगिरहेको पिडामा अहिलेका जेनजी पुस्ताले केहि न केहि काम गर्नेछन् । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले भोगिरहेको लैङ्गिक विभेददेखि अनेक किसिमका विभेदहरू विरुद्ध आवाज उठाउने छन् । र समाजले खुलेर स्विकार्न नसकेको यो समुदायलाई बाटो बनाइदिने छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सिर्जना बराल
सिर्जना बराल
लेखकबाट थप