शनिबार, ३१ जेठ २०८२
ताजा लोकप्रिय
विश्व राजनीति

लस एन्जलस प्रदर्शनको नालीबेली

शनिबार, ३१ जेठ २०८२, ०६ : २८
शनिबार, ३१ जेठ २०८२

समाचार सारांश

  • अमेरिकामा ट्रम्पको आप्रवासन नीतिका विरुद्ध लस एन्जलसमा विरोध प्रदर्शनहरू भइरहेका छन्, जसलाई नियन्त्रण गर्न कर्फ्यु लगाइएको छ।
  • ट्रम्प प्रशासनले लस एन्जलसमा सेना परिचालन गरेपछि क्यालिफोर्नियाका अधिकारीहरूले आपत्ति जनाएका छन्, तर सरकारले सुरक्षाको लागि सेना पठाएको बतायो।
  • प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा सयौँ पक्राउ परे, र प्रदर्शनहरू अन्य शहरहरूमा पनि फैलिन थालेका छन्।

वासिङ्टन । अमेरिकामा राष्ट्रपति डाेनाल्ड ट्रम्पको आप्रवासन सम्बन्धी नीतिविरुद्ध दैनिक रूपमा विरोध प्रदर्शनहरू हुन थालेका छन् । त्यसलाई नियन्त्रण गर्नका लागि अमेरिकी सहर लस एन्जलसका मेयरले गत मंगलबार सहरको मध्ये क्षेत्रमा रातभर लागू हुने गरी कर्फ्यु घोषणा गरे । तर, त्यहाँको प्रदर्शन अमेरिकाको अन्य सहरहरूमा फैलिन थाल्यो ।

सङ्घीय सरकारले व्यावसायिक कार्यक्षेत्रहरूमा आप्रवासीहरू विरुद्ध छापा मार्न थालेपछि सङ्घीय सरकारको गतिविधि विरुद्ध आक्रोश बढ्दै गएको छ । यसैबिच ट्रम्प प्रशासनले लस एन्जलसमा विशेष प्रकारको सेना अर्थात् मरिन फोर्स तथा नेसनल गार्ड तैनाथ गरेको छ । इतिहासमा यसरी अमेरिकाले आफ्नै भूमिमा सक्रिय सैन्य बल तैनाथ गरिएको यो दुर्लभ परिघटना हो ।

यसरी सेना परिचालन गर्ने ट्रम्पको कदमप्रति क्यालिफोर्निया र लस एन्जलसका अधिकारीहरूले कडा आपत्ति जनाइरहेका छन् । यद्यपि सरकारी अधिकारीहरूले भने सङ्घीय सरकारको सम्पत्ति र प्रतिनिधिहरूको सुरक्षा गर्ने उद्देश्यले सेना परिचालन गरिएको बताएका छन् ।

धेरै जसो प्रदर्शनहरू शान्तिपूर्ण रूपमा चलिरहेका थिए । तर, शुक्रबारदेखि प्रशासनका अधिकारीहरू तथा विरोधमा उत्रिएका प्रदर्शनकारीहरू बिचको झडप पश्चात् लस एन्जलस क्षेत्रबाट सयौँ प्रदर्शनकारी पक्राउ परेका छन् । स्थानीय कानुन लागू गराउने अधिकारीहरूले प्रदर्शनमा गोली चलाएका छन् । जसका कारण केही प्रदर्शनकारी र पत्रकार घाइते भएका छन् ।

कसरी सुरु भयो विरोध प्रदर्शन ?

ट्रम्प प्रशासनको कार्यस्थलमा छापा मार्ने नयाँ अभियान स्वरूप सङ्घीय एजेन्टहरूले शुक्रबार अमेरिकाको दोस्रो ठुलो सहर लस एन्जलसको गार्मेन्ट जिल्लामा कागजात नभएका आप्रवासी भएको शङ्का लागेका कामदारहरूको खोजी गर्दा विरोध प्रदर्शन सुरु भयो ।

ट्रम्प प्रशासनले विभिन्न कार्यस्थलहरूमा वैधानिक कागजात नभएका आप्रवासीहरू विरुद्ध खोजी कार्य बढाउने नीति लिएको छ । यसै अन्तर्गत सङ्घीय सरकारका प्रतिनिधिहरूले गत शुक्रबार अमेरिकाको लस एन्जलसको गार्मेन्ट उद्योगमा अवैध आप्रवासीहरू खोज्ने क्रममा छापा मारेका थिए । त्यहाँ उक्त कदम विरुद्ध विरोध सुरु भयो ।2  

यस क्रममा आम मानिसले सङ्घीय सरकारका प्रतिनिधिहरू विरुद्ध नाराबाजी गरेका थिए । उनीहरू ती प्रतिनिधि माथि अण्डा फ्याँकेर प्रतिकार गरिरहेका थिए । प्रदर्शनकारीमाथि अश्रुग्याँस तथा रबरका गोली प्रहार गरेर तितर बितर पारिएको थियो ।

त्यसको भोलिपल्ट शनिबार पनि प्रदर्शनहरू जारी नै रहे । सहरको मुख्य भाग तथा करिब १५ माइल दक्षिणमा रहेको प्रायः ल्याटिन श्रमिकहरूको प्रधानता रहेको पारामाउन्टमा प्रदर्शनहरू चलिरहे । प्रशासनिक अधिकारीहरूले प्रदर्शनकारीलाई  पक्राउ गर्न थाले । तथा विभिन्न ठाउँमा अश्रुग्याँस र ‘फ्ल्यास–ब्याङ ग्रिनेड’ जस्ता भीड–नियन्त्रणका हतियार प्रयोग गर्न थाले ।

ट्रम्पको आदेशमा आइतबार क्यालिफोर्निया राष्ट्रिय गार्डका लगभग तीन सय सदस्यहरू सहरमा तैनाथ हुन थाले । सुरुवातमा सहरको बन्दी गृह नजिकै प्रदर्शनहरू प्रायः शान्तिपूर्ण रूपमै हुँदै थिए । तर, केही प्रदर्शनकारीहरूले भने ‘फ्रिवे ओभरपास’ मुनि रहेका प्रहरी अधिकारीहरूमाथि पटाका प्रहार गरिदिए । साथै सडकमा रहेका केही चालकविहीन ‘वेमो कार’ हरूमा आगजनी गरिदिए ।

‘नेसनल गार्ड’ र ‘मरिन फोर्स’

क्यालिफोर्नियाका प्रादेशिक अधिकारीहरूको विरोधका बाबजुद राष्ट्रपति ट्रम्पले शनिबार आप्रवासीहरूको छापा मार्न जाने सङ्घीय सरकारका प्रतिनिधिहरूको सुरक्षाका लागि २ हजार ‘नेसनल गार्ड’ का सदस्यहरू लस एन्जलसमा तैनाथ गर्ने आदेशमा हस्ताक्षर गरे । क्यालिफोर्निया सरकारका प्रतिनिधिका अनुसार हाल कानुन तथा शान्ति सुरक्षाको अवस्था नियन्त्रणमै रहेको हुनाले नेसनल गार्डको तैनात आवश्यक थिएन ।

त्यसको दुई दिनपछि लस एन्जलसमा विरोध प्रदर्शनहरू तुलनात्मक रूपमा कम भए जस्तो देखियो । तर पनि ट्रम्पले भने हाल तैनाथ सेनाको सङ्ख्या दोब्बर गरेर चार हजार पुर्‍याए । साथै  सहरमा सात सय मरिनहरूको एउटा बटालियन पनि परिचालन गरे ।

मंगलबार लस एन्जलसमा छापा मार्ने क्रममा सशस्त्र राष्ट्रिय गार्ड सेनाहरू तथा सङ्घीय आप्रवासन विभागका अधिकारीहरू सँगै गएका थिए । यस्तो फौजी प्रकारको गतिविधिलाई क्यालिफोर्निया राज्य सरकारले गैर कानुनी तथा भड्काऊ पूर्ण भएको आरोप लगाएको छ ।

3

अमेरिकामा राष्ट्रिय गार्ड भनेको राज्यका गभर्नरहरू तथा राष्ट्रपति दुवैले सञ्चालन गर्न सक्ने सेनाको एक मात्र शाखा हो । गभर्नरहरूले आफ्नो राज्यमा यस्तो गार्डको तैनाथ लगभग सधैँ रोक्ने गर्छन्। यस्तो गार्डको परिचालन विरलै मात्र हुने गर्छ । धेरैजसो गार्ड सदस्यहरूले अन्य काम गरिरहेका हुन्छन् । धेरै जना त पूर्णकालीन रूपमा समेत काममा संलग्न हुँदैनन् । उनीहरूलाई कहिलेकाहीँ मात्रै सक्रिय सेवामा बोलाउने गरिन्छ । प्रायः आँधीबेहरी, बाढी, डढेलो जस्ता प्राकृतिक प्रकोपहरूको समयमा यस्ता नेसनल गार्ड परिचालन गर्ने गरिन्छ ।

गभर्नरको अनुरोध बिना राष्ट्रपतिले नेसनल गार्डका सेनाको परिचालन एकदमै कम मात्रै गरेका उदाहरण छन् । पछिल्लो समय त्यस्तो घटना सन् १९६५मा भएको थियो । त्यसबेला अलाबामा राज्यमा ‘सिभिल राइट्स मुभमेन्ट’ का प्रदर्शनकारीहरूसँग सुरक्षाका लागि भनेर तत्कालीन राष्ट्रपति लिन्डन बी। जोन्सनले गार्डका सेना प्रयोग गरेका थिए ।

मंगलबार मध्यान्हपछि टेक्सासका गभर्नर ग्रेग एबोटले पनि आफ्नो राज्यमा नेसनल गार्ड परिचालन गर्ने घोषणा गरे ।  लस एन्जलसमा भइरहेका विरोधहरू प्रति ऐक्यबद्धता जनाउँदै टेक्सासका विभिन्न सहरहरूमा पनि  विरोध प्रदर्शनहरू सुरु भएका थिए।

लस एन्जलसमा कर्फ्यु कसरी लाग्यो ?

सहरमा भएको लुटपाट तथा तोडफोडपछि मंगलबार करिब २ सय जना जति पक्राउ परेका छन् । यो सङ्ख्या विरोध प्रदर्शन सुरु भएपछि एकै दिनमा गिरफ्तार भएको सबैभन्दा ठुलो सङ्ख्या हो । लस एन्जलसकी मेयर करेन बासले रात्रिकालीन कर्फ्युको घोषणा गरेकी छिन । साथै कर्फ्यु अझै देखि दिन लम्बिन सक्ने पनि सङ्केत गरेकी छन् ।

विरोध प्रदर्शनका क्रममा मेयरले लस एन्जलसमा ठुलो अशान्ति नभएको बताएकी छिन । कर्फ्युबारे बोल्दै मंगलबार उनले  लगभग ५०० वर्ग माइलको सहरमा कर्फ्यु केवल एक वर्ग माइल क्षेत्रमा मात्रै लागेको बताएकी छिन ।

4

उनका अनुसार कर्फ्यु आवास क्षेत्र, घरबारविहीन नागरिक भएको क्षेत्र, सञ्चारकर्मीहरू भएको क्षेत्र तथा सार्वजनिक हेरचाहकर्मी भएको क्षेत्रमा लगेको छैन । केवल लुटपाटका गतिविधिहरू अन्यत्र फैलिन नपाउन तथा व्यवसायमा हानि नपुर्‍याउन भनेर मात्रै लगाइएको हो ।

सेना परिचालनबारे ट्रम्पको तर्क ?

ट्रम्पले लस एन्जलसका प्रदर्शनकारीहरूलाई ‘विद्रोहकर्ता’ का रूपमा प्रस्तुत गरेका छन् । साथै यस्ता विद्रोहीहरुबाट सहरलाई ‘मुक्त’ गराउने समेत बताएका छन् ।उनले यही बहानामा सन १८०७ मा बनेको ’विद्रोह ऐन’ लागू गर्न तथा त्यसका लागी  सक्रिय अमेरिकी सैन्य कर्मचारीहरू प्रयोग गर्न अनुमति पाइने सजिलो तर्क अपनाउन खोजेको जस्तो देखिन्छ ।

क्यालिफोर्नियाका गभर्नर न्युसम डेमोक्र्याटिक पार्टीबाट जितेका व्यक्ति हुन । उनी ट्रम्पको यस्तो कदमको सशक्त विरोधमा छन् । उनले एक टेलिभिजन सम्बोधन मार्फत मुलुकभर आफ्नो सन्देश प्रस्ट पारेका छन् । जसमा उनले क्यालिफोर्नियामा सेना पठाएर ट्रम्पले ‘शक्तिको खुलेआम दुरुपयोग’ गरेको आरोप लगाएका छन् । साथै ‘परिस्थितिलाई थप भड्काएको’ समेत बताएका छन् । 

उनले सबै अमेरिकीहरूलाई राष्ट्रपतिको विरुद्धमा उभिन आग्रह गर्दै ट्रम्पको कदमलाई लोकतन्त्रका लागि ‘खतरनाक घडी’ समेत भनेका छन् ।

क्यालिफोर्निया राज्यले सेना परिचालनलाई राज्य शक्तिको गैर कानुनी सञ्चालनको आरोप लगाउँदै ट्रम्प प्रशासन विरुद्ध  मुद्दा समेत दायर गरेको छ । गभर्नर न्यूसमले ‘मरिन’ र ‘नेसनल गार्ड सेना’ लाई केवल सङ्घीय भवनहरूको रक्षा गर्नका लागी मात्र अनुमति दिन आग्रह गर्दै सङ्घीय अदालतमा आपत्कालीन प्रस्ताव पनि पेस गरेका छन् । क्यालिफोर्नियाका सङ्घीय न्यायाधीशले उक्त अनुरोधमा सुनुवाइको लागि बिहीबारको समय तय गरेका छन् ।

के विरोध प्रदर्शन फैलिँदै छ ?

मंगलबारसम्म आइपुग्दा आप्रवासीहरूमाथि भएका खानतलासी विरुद्धको विरोधको आकार र घनत्व अमेरिकाभर बढ्दै गएको छ । 

सिकागो सहरमा केही प्रदर्शनकारीहरूले प्रहरीहरू माथि पानीका बोतल प्रहार गरेका छन् । साथै दुई वटा सवारी साधन समेत तोडफोड गरेका छन् । न्युयोर्कमा तल्लो म्यानह्याटनको सङ्घीय भवन अगाडी दर्जनौँ प्रदर्शनकारीहरू गिरफ्तार भएका छन् । एटलान्टामा पनि प्रहरीले राजमार्गमा भेला भएर विरोध गरिरहेका प्रदर्शनकारीहरू विरुद्ध रासायनिक मिश्रण तथा भौतिक शक्ति दुवै प्रयोग गरेर बाटो खालि गराएको छ ।

6

बुधबारका लागि विभिन्न सहरहरूमा विरोध प्रदर्शनका योजना सार्वजनिक भएका थिए । जसमा सान आन्टोनियो, सिएटल, सेन्ट लुइस, राले, एन।सी जस्ता ठाउँ पनि परेका छन् । केही प्रदर्शनकारीहरू शनिबार अझै ठुलो विरोध कार्यक्रम गर्ने बताइरहेका छन् । सो दिन अमेरिकाको राजधानी वासिङ्टन डिसीमा ठुलो सैन्य परेड समेत आयोजना गरिँदै छ ।

(न्युयोर्क टाइम्सका लागि यान चुआङ, अनुश्का पाटिल, रेमी टुमिन र जोन युनले तयार पारेको रिपोर्ट)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप