आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

भोटेकोसी र सुनकोसी किनार क्षेत्रमा उच्च सुरक्षा सतर्कता

बिहीबार, ०५ असार २०८२, १३ : १३
बिहीबार, ०५ असार २०८२

काठमाडौँ । चिनियाँ प्रहरीको सूचनालाई आधार मानेर काभ्रे र सिन्धुपाल्चोकस्थित भोटेकोसी र सुनकोसी नदी किनार क्षेत्रमा स्थानीय प्रशासनले उच्च सुरक्षा सतर्कता अपनाएको छ । 

असार ७ सम्म तिब्बत क्षेत्रमा भारी वर्षा हुनसक्ने भन्दै चिनियाँ प्रहरीले सतर्क रहन आग्रह गरेको हुनाले सो सूचनालाई आधार मानेर भोटेकोसी र सुनकोसी नदी किनारमा सतर्कता अपनाएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले रातोपाटीलाई बताए ।

तिब्बतमा अत्यधिक वर्षा भएमा भोटेकोसीमा बाढी आउनसक्ने र त्यसबाट नदी किनारका बस्ती र सडकमा क्षति पुग्ने आकलन गरिएको छ । चीनतर्फ भएका तालहरू फुट्नसक्ने आकलन गरेर नदी किनारका बासिन्दाहरूलाई सचेत गराइको प्रजिअ थापाले बताए । 

उनले भने, ‘हामीले नदी किनारमा माइकिङ  गरिरहेका छौँ, विपद् जुनबेला पनि आउन सक्ने हुनाले सचेतता अपनाएमा क्षति न्यूनीकरण गर्न सकिन्छ ।’

सिन्धुपाल्चोक स्थित बाह्रबिसे गाउँपालिका सहितका ६ वटा स्थानीय निकाय हुँदै भोटेकोसी र सुनकोसी बग्छ । सिन्धुपाल्चोक हुँदै ती नदी काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछापको सिमाना हुँदै बग्छन् । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चाकले पनि सुनकोसी नदी प्रभावित बस्तीहरूमा सुरक्षा सतर्कता बढाएको छ । भुम्लु गाउँपालिका, तेमाल र रोशी गाउँपालिकाको किनाराका बस्तीमा सुरक्षा सतर्कता अपनाइएको काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताए । उनले भने, ‘सुरक्षाकर्मी र स्वयंसेवकहरूलाई स्ट्याण्डबाई राखिएको छ ।’

काभ्रेमा क्रियाशील सबै निकायहरूलाई जिम्मेवार बनाएर मौसम प्रतिकार्य योजना लागु गरिएको प्रजिअ ढकालले जानकारी दिए । उनले भने, ‘विपद्लाई सामना गर्नेबारे अभ्यासहरु पनि गरेका छौँ, सबै निकायलाई जिम्मेवार बनाएर कार्य योजना लागु गरिएको छ ।’

सिन्धुपाल्चोकका प्रजिअ किरण थापाले अहिलेसम्म नदीको बहाव नबढेको बताए । उनले भने, ‘अहिलेसम्म बहाव बढेको अवस्था छैन् तर, आवश्यक पर्दा उद्धार प्रतिकार्य गर्न हामी तयार छौँ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप