आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

मकवानपुरमा ईभी गाडी दुर्घटना हुँदा ५ जना घाइते

शुक्रबार, २० असार २०८२, १६ : ००
शुक्रबार, २० असार २०८२

मकवानपुर । यहाँको ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ रातमाटेस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा ईभी गाडी दुर्घटना हुँदा पाँच जना यात्रु घाइते भएका छन् ।

शुक्रबार दिउँसो हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको म.प्र.०३–००१ ज ०५५१ नम्बरको ईभी गाडी घुम्तीमा ब्रेक हान्दा टायर चिप्लिएर करिब १५ मिटर तल खसेको मकवानपुर प्रहरीले जनाएको छ । 

दुर्घटनामा १० जना सवारमध्ये ५ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ ।घटनापछि प्रहरी टोली घटनास्थलमा खटिएको थियो। गम्भीर घाइतेलाई उद्धार गरी थप उपचारका लागि काठमाडौँ पठाइएको र गाडी चालक पर्साको परमानीपुर गाउँपालिका वडा नम्बर २ निवासी राजाराम साह प्रहरीले नियन्त्रणमा लिएको छ ।

मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर ३ का ३५वर्षीय चन्द्र सन्जु गौर, भारतको विहारका ३९ वर्षीय रिसाहद कुमार र भारत विहारकै ३५ वर्षीय उमा शंकर कुमारको अवस्था गम्भीर रहेको छ ।

यस्तै भारतको विहारका २७ वर्षीय जताशंकर कुमार र ५० वर्षीय राकेश कुमारको अवस्था सामान्य रहेको छ । उनीहरूलाई उपचारका लागि काठमाडौँ पठाइएको प्रवक्ता अर्यालले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप