मनसुनजन्य विपद्: काभ्रेमा छ हजारभन्दा बढी घरपरिवार उच्च जोखिममा
सारांश
- काभ्रेपलान्चोकका १३ स्थानीय तहका ३९५ बस्ती मनसुनजन्य विपद्को उच्च जोखिममा छन्।
- यस वर्षको मनसुनमा बाढीपहिरोबाट २३ हजारभन्दा बढी नागरिक प्रभावित हुने अनुमान गरिएको छ।
- विपद व्यवस्थापन समितिले उद्धार, राहत र सुरक्षित स्थानमा बसोबासको व्यवस्थापन गर्न आग्रह गरेको छ।
काभ्रेपलान्चोक । मनसुनजन्य विपद्मा काभ्रेपलान्चोकको १३ स्थानीय तहमा तीन सय ९५ बस्ती उच्च जोखिममा रहेको पाइएको छ । स्थानीय स्तरबाट जिल्लास्थित विपद् व्यवस्थापन समितिलाई प्राप्त प्रतिवेदनमा यस वर्षको मनसुनजन्य विपद्मा उक्त सङ्ख्याको बस्तीका छ हजार तीन सय ७५ घरपरिवार उच्च जोखिममा रहेको जनाइएको हो ।
समितिका अनुसार ती बस्तीको परिवारका २३ हजार ४५ नागरिक मनसुनजन्य विपद्बाट प्रभावित हुनसक्ने आङ्कलन गरिएको हो । समितिले स्थानीय तहका विपद् व्यवस्थापन समिति तथा जनप्रतिनिधि र सुरक्षाकर्मीको तथ्याङ्कका आधारमा उक्त जनसङ्ख्या यस वर्षको मनसुनजन्य विपद्बाट प्रभावित हुनसक्ने प्रक्षेपण गरेको जनाइएको छ । “विशेष गरी यस वर्षको बाढी पहिराले जिल्लाका रोशी, सुनकोशी, इन्द्रावती, पुण्यमाता, झिकुखोला, दाप्चाखोलालगायत तटीय क्षेत्र आसपास बसोबास गर्ने नागरिक प्रभावित हुने अनुमान गरिएको छ, यसबाट सतर्कता अपनाउन आग्रह पनि गर्दै आएका छौँ”, समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेश ढकालले भने ।
ढकालका अनुसार काभ्रेपलान्चोकका १३ वटै स्थानीय तहमा बाढी पहिराको उच्च जोखिम देखिएको छ । समितिलाई प्राप्त तथ्याङ्कअनुसार जिल्लामा सबैभन्दा बढी रोशी गाउँपालिकामा ५६ बस्ती र सबैभन्दा कम खानीखोला गाउँपालिकामा नौ बस्ती उच्च जोखिममा रहेको जनाइएको छ । रोशीमा एक हजार चार सय ३८ घरपरिवारका तीन हजार छ सय ६२ नागरिक उच्च जोखिममा रहेको पाइएको हो ।
नमोबुद्ध नगरपालिकाकोमा एक हजार एक सय ४२ घरपरिवारका चार हजार चार सय ११ नागरिक प्रभावित हुने आङ्कलन गरिएको छ । यस्तै पाँचखाल नगरका ४१ बस्तीमा आठ सय ६९ घरपरिवारका पाँच हजार छ सय ६८ नागरिक प्रभावित हुने देखिएको हो । मण्डदेउपुर नगरमा २४ बस्तीका दुई सय ४३ घरका नौ सय ४७ जना नागरिक प्रभावित हुने जनाइएको हो ।
सहरी क्षेत्रमा पर्ने बनेपामा २७ स्थान जोखिममा रहेकोमा आठ सय ११ घरपरिवारका दुई हजार दुई सय ६१ नागरिक प्रभावित हुने आकलन गरिएको छ भने पनौतीमा १६ बस्तीका दुई सय ८६ घरका एक हजार तीन सय ९५ परिवार प्रभावित हुनसक्ने देखिएको समितिले जनाएको छ । समितिका अनुसार अर्को सहरी क्षेत्र अर्थात् सदरमुकाम धुलिखेलका २५ बस्ती उच्च जोखिममा रहेकोमा त्यस क्षेत्रका पाँच सय २१ घरपरिवारका एक हजार तीन सय ५१ नागरिक प्रभावित हुने प्रक्षेपण गरिएको छ ।
यसैगरि तेमालको ४६ बस्तीमा तीन सय आठ घरपरिवारका आठ सय ५०, बेचानचोकमा १३ बस्ती उच्च जोखिममा रहेकोमा त्यस क्षेत्रका ७७ घरका २ सय ८८ नागरिक सदस्य जोखिममा रहेका छन् । डाँडापारी क्षेत्रका महाभारतमा १३ जोखिमयुक्त बस्तीमा एक सय ३६ घरपरिवारका पाँच सय ६९, खानीखोलामा नौ उच्च जोखिम बस्तीमा ४७ परिवारका दुई सय ३३ नागरिक उच्च जोखिममा रहेको जनाइएको छ । कोशीपूर्व क्षेत्रस्थित चौँरीदेउरालीको उच्च जोखिममा रहेको ३६ बस्तीका दुई सय ७६ घरपरिवारका छ सय १९, भुम्लुमा उच्च जोखिममा रहेको ३९ बस्तीमा दुई सय २१ घरका सात सय ९१ नागरिक प्रभावित हुने आकलन गरिएको छ ।
गत वर्ष असोज ११ र १२ गतेको अविरल वर्षामा बाढी पहिराका कारण काभ्रेपलान्चोक ७८ को निधन भएको थियो भने छ जना बेपत्ता भएकाको अवस्थामा रहे । उक्त घटनामा ७५ जना घाइते भएका थिए । बाढी पहिरोमा मृत्यु हुनेमा सबैभन्दा बढी पनौती नगरका १७ जना रहेका थिए । काभ्रेपलान्चोकको १३ स्थानीय तहमध्ये पाँचखाल, खानीखोला र महाभारतमा भने मानवीय क्षति हुन पाएन ।
बाढीपहिरोबाट अन्य जिल्लाभन्दा काभ्रेपलान्चोकमा ठूलो सङ्ख्यामा मानवीय क्षति भएको हो । मृतकको सङ्ख्या देशभर मृत्यु भएकामध्ये ३१ दशमलव ५६ प्रतिशत रहेको थियो । काभ्रेपलान्चोकमा बाढी पहिरामा परी ३३ महिला, २९ पुरुष, नौ बालक र सात बालिकाको मृत्यु भएको छ । यसमध्ये २१ विद्यार्थी थिए ।
समितिले मनसुनजन्य विपद् न्यूनीकरणका लागि स्थानीय तह, विभिन्न सुरक्षा निकाय, संस्थालगायतका सरोकारवालासँग उद्धार, राहत तथा सुरक्षित स्थानमा बसोबास गराउने प्रबन्ध तयारी अवस्थामा राख्न अनुरोध गरेको छ । यस्तै विपद्को समयमा तत्कालै प्रयोग गर्न मिल्ने गरी जिल्लाका एक सय ३५ वटा वडामा कम्तीमा प्रत्येक वडामा अथवा नजिकको वडालाई समेटेर हेलिप्याड तयार गरिएको, विभिन्न विद्यालय, क्लब, सामुदायिक भवन तथा खुला स्थानलाई प्रयोग गर्न मिल्ने गरी व्यवस्थापन गरिएको समितिले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाउँपालिकाले बनाइदियो भेडापालक किसानलाई खोर
-
बन्द हुँदै चिया उद्योग, समस्यामा किसान
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आइतबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण