आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

विगत २४ घण्टामा धनकुटामा १९५ मिलिमिटर वर्षा, मधेसको खडेरी हट्ने

आइतबार, ०४ साउन २०८२, १३ : ५३
आइतबार, ०४ साउन २०८२

सारांश

  • मौसमविद्हरूले कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको बताएका छन्, सावधानी अपनाउन आग्रह गरेका छन्।
  • गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने सम्भावना रहेको र नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
  • विगत २४ घण्टामा धनकुटामा १९५ मिलिमिटर र कास्कीको लुम्लेमा १९४ मिलिमिटर वर्षा मापन भएको छ।

काठमाडौँ । आज कोशी, बागमती, गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको भन्दै मौसमविद्हरूले सावधानी अपनाउन आग्रह गरेका छन् । आज राति गण्डकी प्रदेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारीदेखि धेरै वर्षा देखिएको वरिष्ठ मौसमविद् शान्ति कँडेलले बताइन् । 

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले आगामी दिन दिन देशव्यापी रूपमा नै सबै प्रदेशहरूमा वर्षा हुने बताइन् । उनले भनिन्, ‘विगत २४ घण्टामा कोशी, गण्डकी प्रदेशमा थोरै स्थानहरूमा धेरै भारीदेखि अति भारी वर्षा मापन भएको अवस्था छ । बाँकी कोशी  प्रदेश, मधेस, बागमती, गण्डकी प्रदेशमा भारीदेखि धेरै भारी वर्षा मापन भएको अवस्था छ । आगामी तीन दिनको मौसमको कुरा गर्ने हो भने देशव्यापी रूपमा नै सबै प्रदेशहरूमा आजको लागि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश र पहाडी भूभागमा भारी वर्षाको सम्भावना देखिएको छ । आज राति गण्डकी प्रदेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारीदेखि धेरै वर्षा देखिएको छ । हल्कादेखि मध्यम वर्षा सबै प्रदेशमा नै हुन्छ ।’

विगत २४ घण्टामा धनकुटामा १९५ मिलिमिटर वर्षा मापन भएको छ । कास्कीको लुम्लेमा १९४ मिलिमिटर वर्षा भएको छ । विगत २४ घण्टामा सय मिलिमिटर भन्दा बढी वर्षा मापन कोशी प्रदेशकै केही स्थान र गण्डकी प्रदेशका केही स्थानहरू रहेको उनले बताइन् । 

उनले दैनिक जसो आफू बसेको स्थानमा वर्षा भइरहेको भए थोरै वर्षाले पनि प्रभावित बनाउनसक्ने बताइन् । नदीमा पानीको बहाव बढ्ने भएकाले तटीय क्षेत्रका बासिन्दाहरूले थप सावधानी अपनाउनुपर्ने जरुरी रहेको उनको भनाई छ । 

उनले सडक यातायात गर्दा विशेष सावधानी अपनाउन जरुरी रहेको बताइन् । आफू बसेको स्थानमा बाढी र पहिरोको जोखिम छ की छैन ? भनेर ध्यान दिन जरुरी रहेको उनले जिकिर गरिन् । 

  • मधेस प्रदेशमा आगामी दिनमा सुख्खा हुने अवस्था छैन

धनुषास्थित जल तथा मौसम विज्ञान विभागको तुल्सी केन्द्रमा भारी वर्षा मापन भएको छ । विगत २४ घण्टामा तुल्सीकेन्द्रमा ६६ मिलिमिटर वर्षा भएको छ । ६६ मिलिमिटर भारी वर्षा नै भएकाले मधेस प्रदेशमा धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ ।  

मधेस प्रदेशमा आगामी दिनमा पनि सुख्खा हुने अवस्था नरहेको उहाँको भनाइ छ । आगामी केही दिनसम्मै मधेस प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने र (आज) आइतबार राति भारी वर्षा हुने सम्भावना छ । तराईमा खडेरी नै लाग्ने अवस्था नरहेको तर पर्याप्त पानी भने नपर्ने उनले जिकिर गरिन् । 

  • देशव्यापी रूपमा मज्जाले झरी पर्दैन

मौसमविद् शान्ति कँडेलले मनसुन भित्रिँदा पनि भित्रिने बित्तिकै मज्जाले वर्षा हुने कुरा नरहेको बताइन् । मनसुन भित्रिँदा प्रिमनसुन फिचर पनि देखिन्छ, मनसुन फिचर पनि देखिन्छ । जसले पूर्वतिर बढी वर्षा हुने स्थिति रहेको बताइन् । 

उनले भनिन्, ‘मनसुनी रेखा नेपाल नजिकै आएको कारणले मधेसमा वर्षा भइरहेको अवस्था छ । मनसुनी वर्षा विशेष गरी पहाडी क्षेत्रमा केन्द्रित हुनु भनेको नेपालको भूगोलको कारणले हो । जलवाष्पयुक्ता हावा आउँछ, त्यो पहाडमा ठोक्किइसकेपछि माथिल्लो वायुमण्डलमा जाँदा बादल बन्छ र जहाँ बन्यो त्यहीँ पानी पर्दछ ।’

काठमाडौँमा पनि साधरणतया दिनभर मौसम बदली नै हुने अवस्था छ । वर्षाको सम्भावना प्रबल रहेको उनले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप