बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

शिक्षा क्षेत्रमा गीताको महत्त्व

आइतबार, ११ साउन २०८२, १७ : ५८
आइतबार, ११ साउन २०८२

हाल विज्ञान, प्रविधि, गणित र व्यावसायिक सीपमा शिक्षा प्रणाली बढी केन्द्रित भइरहेको छ । जीवनका मूल्य, नैतिकता, आध्यात्मिकता र व्यक्तित्व निर्माण सम्बन्धी शिक्षाले भने समाजमा महत्त्व पाउन छाडेको आभास हुन्छ । अचेल व्यक्तित्व निर्माण पनि भौतिक कुराहरूको प्राप्तिमा केन्द्रित देखिन्छ । यो खालको सन्तुलनहीन शिक्षा प्रणालीले विद्यार्थीलाई शून्यता, मानसिक अस्थिरता र सामाजिक कमजोरीतर्फ धकेल्ने खतरा बढाएको छ । 

यसै सन्दर्भमा श्रीमभद्भागवत गीता, उपनिषद्, योगदर्शन र पातञ्जल योगजस्ता वैदिक ग्रन्थलाई शिक्षामा समावेश गर्नु अत्यन्त जरुरी देखिन्छ । 
गीताले जीवनको उद्देश्य, कर्तव्य र नैतिकताको गहिरो पाठ सिकाउँछ । यसले मानव चरित्र निर्माण गर्न मद्दत पुर्‍याउँछ । शिक्षाको उद्देश्य मात्र ज्ञान आर्जन होइन, राम्रो चरित्र बनाउनु पनि हो । अर्जुनको द्विविधा र त्यसको समाधानमार्फत गीताले हामीलाई कर्तव्यबोध, आत्मनियन्त्रण र समर्पणको महत्त्व सिकाउँछ । विद्यार्थीले गीता पढेर आफ्नो मनोबल, आत्मबल र सहनशीलता विकास गर्न सक्छन् । हर परिस्थितिमा समभावमा रही कर्तव्य कर्म निरन्तर गरिरहन प्रेरित गर्छ गीताले ।

  • मानसिक शान्ति

विद्यार्थीहरू परीक्षाको तनाव, पारिवारिक दबाब र करिअरको अन्योलमा रुमलिरहेका छन् । योग, ध्यान, आत्मज्ञान र समभावको शिक्षाले उनीहरूमा मानसिक सन्तुलन ल्याउन सघाउँछ । ‘योगस्थः कुरु कर्माणि’ (गीता २.४८) अर्थात् ‘योगमा स्थित भएर कर्म गर’ भन्ने सन्देशले वर्तमानमा स्थिर रहने कला सिकाउँछ । विद्यार्थीलाई चिन्ता, भय र निराशाबाट जोगाउन गीता प्रभावकारी मनोवैज्ञानिक साधन बन्न सक्छ । 

कर्म गर्नुभन्दा अगाडि नै कर्मफलप्रतिको आशक्तिले गर्दा धेरै निराशाबाट हामी गुज्रिरहेका छौँ । गीता भन्छ, ‘निर्धारित आफ्नो कर्तव्य कर्म गर, फलको आशक्ति राखेर त्यसमा समय बर्बाद नगर, किनकि फल दिने मेरो हातमा छ’ (अध्याय २ को ४७औँ श्लोक) । 

हामीले समभावमा रहेर कार्य गर्‍यौँ, राम्रो र नराम्रो फल दुवैको इच्छा त्याग गर्‍यौँ भने जुनसुकै नतिजा प्राप्त भए पनि हामी हमेसा आनन्दित रहेर आफ्नो कर्म गरिरहन्छौँ ।

आजको शिक्षामा नैतिकताको अभावले भ्रष्टाचार, अनैतिकता र समाजमा असन्तुलन सिर्जना भएको छ । गीता पढ्दा विद्यार्थीमा सामाजिक उत्तरदायित्व, इमानदारी र करुणाको विकास हुन्छ ।
  • नैतिक शिक्षा र सामाजिक मूल्य

गीता एक चराचर जगत्को कल्याणका लागि सिर्जित ग्रन्थ हो । यसलाई कुनै वाद अथवा धर्मसँग जोडेर अलग्याउन जरुरी छैन । सबै धर्म सम्प्रदायका व्यक्तिले सहज रूपमा यसले दिन खोजेको ज्ञानलाई ग्रहण गरी आफ्नो जीवनलाई आनन्दित रूपमा बिताउन सक्छन् । त्यसैले गीताको शिक्षा सार्वभौमिक छ । यसले सत्य, अहिंसा, समर्पण, सेवाभाव, स्वधर्म र आत्मज्ञानजस्ता मूल्य सिकाउँछ । आजको शिक्षामा नैतिकताको अभावले भ्रष्टाचार, अनैतिकता र समाजमा असन्तुलन सिर्जना भएको छ । गीता पढ्दा विद्यार्थीमा सामाजिक उत्तरदायित्व, इमानदारी र करुणाको विकास हुन्छ ।

अर्जुनजस्ता योद्धा पनि जब युद्धभूमिमा निर्णय गर्न असमर्थ भए, तब श्रीकृष्णले गीता उपदेश दिए । विद्यार्थीलाई पनि जीवनमा अनेक निर्णय लिनुपर्छ । गीता पढ्दा उनीहरूमा विवेक, आत्मनिरीक्षण र सही निर्णय गर्ने क्षमता विकास हुन्छ । नेतृत्वको गुण (जस्तै ः धैर्य, समर्पण, दूरदृष्टि, निष्ठा आदि) सिक्न गीता अमूल्य छ । त्यसैले हामी सबै अर्जुन बनेर गीताको सन्देशलाई ग्रहण गर्न सक्छौँ । 

  • आध्यात्मिक शिक्षा र आत्मपहिचान

बाह्य संसार बुझ्नु मात्र शिक्षाको मुख्य उद्देश्य होइन आफ्नो आन्तरिक अस्तित्वको खोज गर्नु पनि हो । अजन्मा, अविनाशी र शाश्वत छ आत्मा भनी गीताले आत्मज्ञानको शिक्षा दिन्छ । विद्यार्थीले यो बुझ्दा उनीहरूको आत्मविश्वास बढ्छ, जीवनप्रतिको दृष्टिकोण सकारात्मक रहन्छ र मृत्युप्रतिको भय घट्छ । आध्यात्मिक चेतनाका माध्यमद्वारा गीताले शिक्षा प्रणालीलाई पूर्णता दिन्छ । इन्द्रीय सुखका लागि केवल यो भौतिक संसारमा रुमलिने मात्र नभएर योभन्दा परको संसारलाई पनि कल्पना गर्न सिकाउँछ गीताले । आखिर विज्ञानले पनि भन्छ, ऊर्जा न निर्माण गर्न सकिन्छ न त नष्ट गर्न, यो त एक रूपबाट अर्को रूपमा रूपान्तरण मात्र हुन्छ । गहिरिएर बुझ्ने हो भने गीतामा यही ऊर्जाको रूपान्तरणको कुरा बारबार कोट्याइएको छ ।

  • समावेशी र वैज्ञानिक दृष्टिकोण

कसैले सोच्न सक्छ, गीता धार्मिक ग्रन्थ भएकाले यसलाई धर्मनिरपेक्ष शिक्षामा जोड्न मिल्दैन तर गीता कुनै एक धर्मको प्रचार होइन, सार्वभौमिक सत्यको उद्घोष हो । यसमा प्रस्तुत तत्त्वज्ञान, कर्म सिद्धान्त, योग र ध्यान विज्ञानसम्मत छन् । गीता हिन्दुले मात्र होइन विश्वका अन्य दार्शनिक र वैज्ञानिकले पनि सम्मान गरेका छन् । उदाहरणका लागि— अर्नोल्ड टोयन्बी, अल्बर्ट आइन्स्टाइन, राल्फ वाल्डो इमर्सनजस्ता विचारकले गीता पढेर जीवन दर्शन बदलेको बताएका छन् । पढेलेखेका भनिनेहरू कहिलेकाहीँ संकोचमा बाँचेको देखिन्छ, हामी सबैले गीताले दिन खोजेको बृहत्तर सन्देशलाई बुझी नेपालको सम्पूर्ण तहको शिक्षा क्षेत्रमा यसलाई समावेश गर्न जरुरी देखिन्छ । 

  • सन्तुलित आहार र सन्तुलित क्रियाकलाप 

आधुनिक विज्ञानले पनि जीवनलाई सन्तुलित बनाउने हो भने हाम्रो खानपान र क्रियाकलापहरू सन्तुलित हुनुपर्छ भन्छ । जुन कुरा हजारौँ वर्षअगाडि गीताले स्पष्ट रूपमा बताइसकेको छ । जस्तै ः अध्याय ६ को श्लोक १६ मा भनिएको छ, ‘जो अत्यन्त धेरै खान्छ वा खाँदै खाँदैन र जो अत्यन्त धेरै सुत्छ वा सुत्दै सुत्दैन त्यो योगी हुन सक्दैन ।’ 

जो योगी हुन सक्दैन त्यो सही रूपमा सन्तुलित स्वस्थ रहन सक्दैन भन्ने गीताको निचोड हो । हुन पनि आज त्यही घटिरहेको छ । कोही खानै नपाएर मरिरहेका छन्, कोही पाएको कुरा धेरै खाएर मोटोपना लगायत कैयौँ रोगहरूको सिकार भएका छन् । त्यसैगरी गीताले खानाका पनि तीन प्रकार हुन्छन् भन्ने कुरा कोट्याइएको छ— सतोगुणी, रजोगुणी र तमोगुणी । त्यसैले हामीले जस्तो आहार ग्रहण गर्छौं हाम्रो स्वभावहरू बिस्तारै त्यस्तो बन्दै जान्छ । 

  • समभावमा रहेर कार्य गर्ने 

अध्याय १४ को श्लोक संख्या २२ देखि २५ मा भनिएको छ, ‘जसले प्रकाश, आशक्ति र मोहजस्ता कुरा उपस्थित हुँदा तिनीहरूप्रति द्वेष वा घृणा पनि गर्दैन । यी वस्तु लुप्त हुँदा यिनको चाहना पनि गर्दैन । भौतिक गुणहरूका यी सम्पूर्ण प्रक्रियाबाट जो अविचलित तथा निश्चल रहन्छ; केवल गुणहरू मात्रै क्रियाशील हुन्छन् भन्ने जानेर जो दिव्य र तटस्थ रहन्छ; सुख र दुःखलाई समान ठानेर जो आफैँमा स्थित छ; जसले माटोको डल्लो, ढुङ्गो र सुनलाई समान दृष्टिले हेर्छ; इच्छित र अनिश्चित अवस्था उपस्थित हुँदा जो समभावमा रहन्छ; जो धीर छ, जो निन्दा र प्रशंसा, मान र अपमानमा पनि समान रहन्छ; जसले शत्रु र मित्र दुवै पक्षप्रति समान व्यवहार गर्छ; जसले सम्पूर्ण भौतिक क्रियाकलापको परित्याग गरेको छ; त्यस्तो व्यक्तिलाई प्रकृतिका गुणहरूदेखि पर रहेको भनिन्छ ।’ 

यस्तो दिव्य चेतनामा अवस्थित रहेको मान्छे कसरी निराश भएर बाँच्न सक्छ ? कसरी आत्महत्या गर्ने भाव मनमा ल्याउन सक्छ ? के यस्तो बृहत्तर शिक्षाले समग्र समाजलाई सही दिशामा ल्याउन सक्दैन होला र ? 

निष्कर्ष

गीतालाई विद्यालय वा विश्वविद्यालयको पाठ्यक्रममा समावेश गरिन्छ भने विद्यार्थीको नैतिक र आध्यात्मिक विकास हुनेछ; मानसिक स्वास्थ्य सुदृढ हुनेछ; तनाव, आत्महत्या र नशालु प्रवृत्ति घट्नेछ; शिक्षक र विद्यार्थीबिचको सम्बन्ध सुधार हुनेछ; समग्र समाजमा शान्ति र समरसता कायम हुनेछ; केवल भौतिक कुराहरू प्राप्तिको दौडमा नलागेर शिक्षालाई समग्रतामा ग्रहण गर्नेछ ।

त्यसैले शिक्षा भनेको केवल डिग्री लिने प्रक्रिया होइन एक समग्र व्यक्तित्व निर्माण गर्ने साधन हो । गीता यस्तो शिक्षाको स्रोत हो जसले बाहिरी ज्ञान मात्र होइन भित्री शान्ति, विवेक र आत्म परिष्कारको मार्ग देखाउँछ । आजका युवा पुस्तालाई केवल सूचना होइन दर्शन चाहिएको छ । केवल सामान्य पढाउने शिक्षकले सूचनाहरूको आदानप्रदान गर्न सक्छन्, त्यो सूचना त आज विद्यार्थीले चाह्यो भने सहजै इन्टरनेटबाट ग्रहण गर्न सक्छन् तर हामीलाई मूल्ययुक्त शिक्षा दिने त्यो आचार्ययुक्त शिक्षाको जरुरी छ । जुन कुरा गीतामा भेटिन्छ ।  त्यसैले गीताको शिक्षालाई शिक्षा क्षेत्रमा समावेश गर्नु समयको माग हो । यसमा ढिलो नगरौँ, सबै जुटेर यो कार्यलाई सार्थक बनाऔँ र विश्वलाई एक सन्देश दिउँ । 

(औषधीय रसायन विज्ञानमा विद्यावारिधि र भाइरस विरुद्धको औषधि आविष्कारमा पोस्टडक्टरल फेलो जोशी हाल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपप्राध्यापकको रूपमा कार्यरत छन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. दीर्घराज जोशी
डा. दीर्घराज जोशी
लेखकबाट थप