शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न एलएलडिसी सम्मेलन फलदायी हुने विश्वास

आइतबार, १८ साउन २०८२, १३ : ०२
आइतबार, १८ साउन २०८२

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानमा हुने एलएलडिसी सम्मेलनमा भाग लिन जाँदै हुनुहुन्छ।
  • उहाँ फ्लाई दुबईको उडानबाट दुबई हुँदै साउन २० देखि २३ गतेसम्म सम्मेलनमा सहभागी हुनुहुनेछ।
  • सम्मेलनले भूपरिवेष्टित राष्ट्रहरूको दिगो विकास र चुनौती समाधानका लागि रणनीतिक साझेदारी गर्नेछ।

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तुर्कमेनिस्तानमा हुने तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन त्यसतर्फ जाँदै छन् । 
 
प्रधानमन्त्री ओली नेपाली प्रनिनिधिमण्डलको नेतृत्व गर्दै आज राति ११ः५५ बजे ‘फ्लाई दुबई’को उडानबाट दुबई हुँदै तुर्कमेनिस्तान जाने कार्यक्रम छ । सो भ्रमणको आवश्यक तयारी एवं व्यवस्थापनसँग सम्बन्धित सम्पूर्ण काम पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
 
यही साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगस्ट) तुर्कमेनिस्तानको ‘अवाजा’ सहरमा सम्मेलन आयोजना हुनेछ ।
 
 प्रत्यक्ष पहुँचका अभावमा विश्वव्यापी बजारबाट उल्लेखनीय लाभ लिन नसकेको, यातायातको विश्वव्यापी सहज सञ्जाल नभएको र खाद्य पूर्वाधार विकास गर्न कठिन रहेको अवस्थामा दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न सम्मेलन फलदायी हुने विश्वास गरिएको छ ।  
 
 सम्मेलनले सदस्य राष्ट्रहरूले झेल्नुपरिरहेको समस्या समाधानका लागि रणनीतिक साझेदारीसहित लगानी वृद्धि गरी चुनौतीहरू सम्बोधन गर्न र यी राष्ट्रहरूको पूर्ण क्षमतालाई आँकलन गर्न सहयोग पुर्‍याउने ठानिएको छ । यसैगरी यी देशहरूलाई सहयोग गरेर आपसी समान र समृद्ध भविष्य निर्माण गर्न सम्मेलनको महत्वपूर्ण भूमिका रहने छ ।  

 यसअघि भूपरिवेष्ठित विकासशील देशहरूको दोस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलन सन् २०१४ को नेभेम्बर ३ देखि ५ सम्म अस्ट्रियाको भियनामा भएको थियो । करिब १० वर्षअघि भएको सो सम्मेलनमा ‘अल्माटी कार्ययोजना कार्यान्वयनको समीक्षासहित नयाँ र उदीयमान चुनौतीको सामना गर्न साझेदारी र अवसरका सन्दर्भमा अन्तरराष्ट्रिय, क्षेत्रीय, उपक्षेत्रीय र राष्ट्रिय तथा अन्तरराष्ट्रिय व्यापार र पारवहन यातायात सहयोग नीतिहरू पहिचान गर्नु र पारवहन यातायात प्रणालीहरू’का विषयमा छलफल भएको थियो । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप