राप्रपाको असन्तुष्ट समूहले केन्द्रीय समितिबाट लिङ्देनको निर्णय उल्ट्याउन प्रयास गर्ने
सारांश
- राप्रपाभित्रको असन्तुष्ट पक्षले पार्टी नेतृत्वका विधानविपरीतका निर्णय उल्टाउने रणनीति बनायो।
- असन्तुष्ट पक्षले आगामी केन्द्रीय कमिटी बैठकबाट निर्णय उल्ट्याउन प्रयास गर्ने निर्णय गरेको छ।
- अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई एकलौटी चलाएको असन्तुष्ट पक्षको आरोप छ।
काठमाडौँ । राप्रपाभित्रको असन्तुष्ट पक्षले पार्टी नेतृत्वबाट भएका पछिल्ला निर्णयहरू विधान विपरीत भएको दाबी गर्दै त्यसलाई उल्टाउने रणनीति बनाएको छ ।
सोमबार राजधानीको हात्तीसारमा बसेको राप्रपाको असन्तुष्ट पक्षको बैठकले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनबाट विधान विपरीत र एकलौटी निर्णयहरू भएको निष्कर्षसहित आगामी केन्द्रीय कमिटीको बैठकबाट उल्ट्याउन प्रयास गर्ने निर्णय गरेको हो ।
‘अहिलेसम्मका विधान विरीतका निर्णयहरूलाई उल्टाउने हिसाबले तयारी गर्ने निष्कर्ष आजको बैठकले निकालेको छ’, बैठकपछि एक नेताले भने । यसका लागि केन्द्रीय कमिटीअघि देशैभरिका केन्द्रीय कमिटीका सदस्यहरूलाई छलफलका लागि आह्वान गरिने उनको भनाइ छ ।
सबै सदस्यहरूसँग परामर्श गरी केन्द्रीय कमिटीको बैठकमा बहुमतमार्फत निर्णयहरू उल्टाउने उनको भनाइ छ । केन्द्रीय समिति बैठक आउँदो भदौ महिनाको दोस्रो हप्तामा राख्ने राप्रपाको तयारी छ ।
राप्रपाको असन्तुष्ट पक्षले अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई एकलौटी ढङ्गले चलाइरहेको बताउँदै आएको छ । सो समूहका एक नेताले आजको बैठकमा केही पदाधिकारीसहित ७० जनाको हाराहारीमा नेताहरू छलफलमा सहभागी भएको बताए ।
बैठकमा वरिष्ठ उपाध्यक्ष तथा पूर्वमन्त्री विक्रम पाण्डे, उपाध्यक्ष (पदमुक्त भएका) मुकुन्द श्याम गिरी, महामन्त्रीद्वय डा धवलशमशेर राणा र कुन्ती कुमारी शाही सहभागी थिए ।
यस्तै बागमती प्रदेश अध्यक्ष विक्रम बहादुर थापा, कर्णाली प्रदेश अध्यक्ष दिपबहादुर शाही, पूर्वमन्त्री तथा केन्द्रीय सदस्य जगत गौचन, प्रवक्ता (पदमुक्त भएका) सगुन सुन्दर लावती, सहमहामन्त्री रवीन्द्र प्रताप शाह, सहायक प्रवक्ता प्रबिन कुमार थोकर तामाङ, सहायक महामन्त्री प्रेम बलायर, ऋषिराज देवकोटा र सौरेन्द्र बहादुर शाहलगायत ७० जना सहभागी थिए ।
अध्यक्ष लिङ्देनले अनुशासन समितिका अध्यक्ष नवराज सुवेदीलगायतलाई पदमुक्त गरेपछि इतर समूहका नेताहरूले लिङ्देनविरुद्ध मोर्चाबन्दी गर्दै आएका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण