अस्थिर कर्मचारी नेतृत्वले कामको गतिमा गम्भीर असर पर्यो : मन्त्री भण्डारी
सारांश
- कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले एक वर्षे कार्यकालमा प्रशासनिक अस्थिरताको मार खेपेको बताए।
- मन्त्री भण्डारीले तीन जना सचिव फेरिएका कारण मन्त्रालयको कार्यसम्पादनमा असर परेको अनुभव सुनाए।
- उनले अस्थिर राजनीतिको मार जनसेवामूलक निकायमा परेको र सीमित स्रोत साधनका बाबजुद पनि काम गरेको दाबी गरे।
सुर्खेत। कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले आफ्नो एक वर्षे कार्यकालमा प्रशासनिक अस्थिरताको सबैभन्दा ठुलो मार बेहोर्नुपरेको अनुभव सुनाएका छन्।
मन्त्रीको जिम्मेवारी सम्हालेको एक वर्ष पुगेको अवसरमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले अस्थिर राजनीतिले सरकारको कार्यसम्पादनमा पार्ने बहुआयामिक प्रभावलाई आफूले नजिकबाट अनुभव गरेको बताए।
आफ्नो एक वर्षे कार्यकालमा मन्त्रालयले तीन जना सचिव पाएको र यसले समग्र कामको गतिमा गम्भीर असर पारेको उनको भनाइ थियो।
'अस्थिर राजनीतिको सबैभन्दा ठुलो मार जनसेवामूलक निकायमा पर्दो रहेछ,' उनले भने, 'मेरो एक वर्षे कार्यकालमा तीन जना सचिव फेरिनुभयो। यसले राजनीतिक-प्रशासनिक सहकार्यमा जटिलता ल्याउनुका साथै प्रशासनिक अनिश्चितता बढाएको मैले महसुस गरेँ।'
सचिवहरूको छिटो-छिटो हुने फेरबदलले मन्त्रालयको कार्यसम्पादनमा संरचनागत, नीतिगत, व्यवस्थापकीय र मनोवैज्ञानिक तहमा समेत नकारात्मक असर पारेको मन्त्री भण्डारीले बताए।
निजामती सेवालाई स्थायी सरकारको रूपमा अपेक्षा गरिए पनि प्रमुख प्रशासनिक नेतृत्वकर्ता सचिवहरूको अस्थायी र अस्थिर प्रवृत्तिले काम गर्न निकै चुनौतीपूर्ण रहेको उनको अनुभव छ।
उनले थप भने, 'निजामती सेवाको स्थायी प्रकृतिको अपेक्षा गरिए पनि सचिवहरूको अस्थायी प्रवृत्तिले काम गर्न निकै चुनौतीपूर्ण रह्यो ।'
यद्यपि, यस्ता चुनौतीका बिच पनि आफ्नो कार्यकालमा मन्त्रालयलाई जनउत्तरदायी बनाउन र केही राम्रा तथा रचनात्मक कामको सुरुवात गर्न आफूले सक्दो प्रयास गरेको उनले बताए।
सीमित स्रोतसाधन र जनशक्तिका बिच पनि उल्लेख्य काम गर्ने प्रयास गरेको उनको दाबी छ ।
मन्त्री भण्डारीले थपे, 'समृद्ध नेपाल, सुखी नेपाली'को राष्ट्रिय लक्ष्य हासिल गर्न कर्णालीको सामाजिक-आर्थिक रूपान्तरण गर्ने मन्त्रालयको गहन जिम्मेवारीलाई मैले गम्भीरतापूर्वक लिएँ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण