आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी साताको कविता

सिजन श्रेष्ठका तीन कविता

शनिबार, २४ साउन २०८२, १८ : ३०
शनिबार, २४ साउन २०८२

१) ईश्वर भएँ भने

मैले अभिनय गर्नुप¥यो भने कुनै दिन
ईश्वरको जति गतिलो अभिनय
केहीको पनि गर्न सक्ने छुइनँ ।

त्यो दिन    
तेत्तीस करोड किरणहरूको खुट्किला
उक्लिँदै–उक्लिँदै
सबभन्दा उचाइमा पुगेपछि
सबभन्दा पहिले
आकाश खसाल्नेछु म आकाशबाट
र, मलाई सधैँ आफ्नो हत्केलाले छेकिहिँड्ने
त्यो दुस्मन बादललाई
फाँसीको सजाय सुनाएर
झुन्ड्याउनेछु म
कैदीलाई झैँ झुन्ड्याउनेछु—
पङ्क्तिबद्ध ताराहरूको लहरोमा

त्यसपछि म हिँड्नेछु एक्लै–एक्लै
कोही नहिँड्ने— हावाका एकएक गल्लीहरूमा

म हिँड्नेछु–
आफ्नै छायाँलाई चोरझैँ लखेटिहिँड्ने
हुरीका सप्पै–सप्पै गल्छेडाहरूमा

यसरी अभिनय गर्दागर्दै कुनै दिन
यदि म साँच्चिकै ईश्वर भएँ भने
उल्कापिण्डहरूको भ¥याङ टेक्दै–टेक्दै
ओराल्नेछु म आफूसँगै ओराल्नेछु–
असीमित उज्यालोको सङ्ग्रह बोकेको
एक अद्भुत विमान
जुन उड्नेछ–
एकै सेकेन्डमा तीस करोड मिटरको चम्किलो दूरी ।
००

२) प्रेयसी जाडोलाई

शेर्पादाइ !
ठ्याक्कै पाँच वर्षअघि
म यहीँ थिएँ– मिल्केको काखमा
    
जसरी छु यहीँ आज पनि
    
शेर्पादाइ !
आज बेढङ्ग बेढङ्गमै
यो बेसोमती जाडो
किन इत्रिन्छ हँ ?
मसँग यसरी

जाडोकै मौसम लडाइँ हुँदा
चौँरी चराउँदा चराउँदै हराएकी हुन्
मेरी प्रेमिका
यहीँ मुन्तिरको जङ्गलमा

र, भेटिएकी हुन् धेरैपछि
यतैकतैको चिहानघारीमा
    
सायद यो शीतलहर
हराएकी मेरै प्रेयसीको आँसु हुनुपर्छ

सायद यो जाडो
हराएकी मेरै प्रेमिकाको सन्देश हुनुपर्छ

र, नै इत्रिँदै छ
यो बेसोमती जाडो
निर्धक्क मसँग यसरी

म त फेरि छाडेर जानेछु यो ठाउँ

बिन्ती छ शेर्पादाइ !
लगेर ओढाइदिनू–
रातो गुराँसे सिरक
बेरिदिनू–
एक हुल किरणको फरिया
र, कोरिदिनू–
निगालोको एक काँटी सलाई
प्रेयसी जाडोलाई !
००

३) उड्ने खोलो

बालक जो थिएँ
सोचेका सम्पूर्ण हरकतहरू गर्न सक्दिनथेँ ।

बाल्यकाल यसरी उड्थ्यो
कि उड्थ्यो मेरो कल्पना–
धर्तीमा किन खस्नुप¥यो हँ यो झरी ?
निथ्रुक्कै भिजाएर किन चुम्नुप¥यो ?
मेरो कलिलो गाला
हावामाथि तैरिँदै तैरिँदै
सागरसम्म पुग्ने बाटो 
हिँडे के बिग्रन्थ्यो यो झरीको ?
आकाशमा चराझैँ उडिदिए
हुन्थ्यो नि यो डुम्रे खोलो पनि ? 
आखिर किन छेक्छ हँ यसले सधैँ
मेरो मामाघर जाने बाटो । 
के यिनीहरूको चाहिँ मामाघर हुँदैन ?

बुइँगलका प्रत्येक घैँटाभित्र
एक–एक वटा स्वर्ग लुकेको हुन्थ्यो
जतिबेला म पुतलीझैँ फूलको पछिपछि दौडन्थेँ
कपासझैँ हावा–हावा उडिहिँड्थें
घैँटोको स्वर्गमा पस्दै गर्दा–
यस्तो लाग्थ्यो
कि मेरी आमाले जाँतो घुमाउँदा मात्र
घुम्दो हो पृथ्वी ।

दर्सिनढुङ्गोको झिल्को देख्दा लाग्थ्यो
उस्तै उस्तै हुँदो हो—
हामीले खेल्ने गट्टा
र ईश्वरको चम्किलो आँखा ।

यस्तो पनि लाग्थ्यो
कि मैले खल्र्याङखुट्टी खेल्ने मैदान
आफ्नै छातीमा मुटुझैँ टाँस्न पाए
कस्तो हुँदो हो ?

मानिसले
पाइला चाल्न सुरु मात्र गर्नु परोस्
आफैँ हिँडुन् बाटाहरू
र पु¥याउन् गन्तव्यसम्म लाग्थ्यो ।

सोच्थेँ– भैँसे खोलाको लेउमुनि
ढुङ्गा, बालुवा र झिक्राले बारेर
किन बनाउँदैनन् ?
मान्छेले जस्तो सुरक्षित घर
माछा, गँगटा र चेपागाँडाहरू ?

विशाल गङ्गा नदी समेट्न सक्ने महादेवले 
किन समेट्दैन—
सम्पूर्ण मानव जातिको आँसु
आफ्नो जटामा ?
र, लाग्थ्यो–
प्रार्थना गरेर होइन भगीरथले झैँ
कि आफ्नै पसिनाका बीउहरू छरेर
आँसुका यावत् झरनाहरू समेट्ने
आधुनिक महादेवको जटा
किन नउमारुँ म आफ्नै बारीमा ?

बालक जो थिएँ
कल्पनाको गल्ली–गल्ली चहार्दै
हिँड्न मात्र सक्थेँ ।
०००

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सिजन श्रेष्ठ
सिजन श्रेष्ठ
लेखकबाट थप