शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

विद्याको राजनीतिक गतिविधिमा खुले ओलीका तीन पदाधिकारी

बिहीबार, ०५ भदौ २०८२, १५ : १५
बिहीबार, ०५ भदौ २०८२

सारांश

  • पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेका तीन पदाधिकारीले साथ दिएका छन्।
  • एमालेको केन्द्रीय कमिटीले भण्डारी सक्रिय राजनीतिमा फर्कन नमिल्ने निर्णय गरेको थियो।
  • ज्ञवाली र पाण्डेले अन्तरपार्टी निर्देशनमा फरक मत समावेश नगरेकोमा आपत्ति जनाएका छन्।

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको असहयोगका बिच पार्टीभित्र राजनीतिक गतिविधि सञ्चालन गरिरहेका बेला उनलाई तीन जना पदाधिकारीले साथ दिएका छन् । 

अध्यक्ष केपी ओलीको मातहतको कमिटीका तीन पदाधिकारीहरू वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले साथ दिएका हुन् । भण्डारीले बिहीबार सम्पर्क कार्यालय उद्घाटन गर्न राजधानीको थापागाउँमा आयोजना गरेको कार्यक्रममा पोखरेल, ज्ञवाली र पाण्डे सहभागी भएर पूर्वराष्ट्रपति सँगै भएको सन्देश प्रवाह गरेका छन् । 

नेता ज्ञवाली र पाण्डेले केन्द्रीय कमिटी बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीति गर्न रोक लगाउन नहुने धारणा राखेका थिए । तर, साउन ६ गते सकिएको एमाले केन्द्रीय कमिटीको बैठकले पूर्वराष्ट्रपति भण्डारी देशको अभिभावक भएर बस्नुपर्ने संवैधानिक व्यवस्था रहेको भन्दै सक्रिय राजनीतिमा फर्कन नमिल्ने भएकाले उनको सदस्यता समेत कायम हुन नसक्ने निर्णय गरेको थियो ।

तर निर्णयअनुसार पार्टीको अन्तरपार्टी निर्देशन जारी आफूहरूको फरक मत समावेश नभएपछि उपाध्यक्षद्वय  ज्ञवाली र पाण्डेले पार्टीको ध्यानाकर्षण गराएका थिए । निवेदनमा नेताद्वयले अन्तरपार्टी निर्देशनमा आफूहरूको फरक मत समावेश नगरेकोमा आपत्ति प्रकट गर्दै आगामी बैठकमा छलफल गर्न माग राखेका थिए । 

एमालेको संस्थागत विरोधका बिच सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी पूर्व राष्ट्रपति भण्डारीले सोहीअनुसार आफ्नो गतिविधिलाई तीव्र बनाउँदै लगेकी छन् । भण्डारीको कार्यालय ‘मदन भण्डारी ७५ औँ जन्म जयन्ती मूल व्यवस्थापन समिति’को नाममा सञ्चालन हुने बताइएको छ । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप