बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

चलचित्र ‘धागो’ आगामी कात्तिक २८ गतेदेखि प्रदर्शनमा आउने

शुक्रबार, १३ भदौ २०८२, १७ : २९
शुक्रबार, १३ भदौ २०८२

काठमाडौँ । अभिनेत्री सुरक्षा पन्तको मूख्य भूमिकामा रहेको चलचित्र ‘धागो’ आगामी कात्तिक २८ गते (नोभेम्बर १४) देखि नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउने भएको छ । 

निर्माणपक्षले शुक्रबार चलचित्रको पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी दिएको हो । चलचित्रको निर्देशन उदिप राणा थापाले गरेका हुन् । थापाको यो निर्देशनमा डेब्यु चलचित्र हो ।

चलचित्रले नेपाल–भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारहरूको जीवन, उनीहरूको आपसी भावनात्मक सम्बन्ध र सांस्कृतिक धागोलाई केन्द्रमा राखेर चलचित्र निर्माण गरिएको निर्देशक थापाले बताए ।

चलचित्रमा सुरक्षा पन्तसँगै भारतको वेस्ट बङ्गाल डुवर्सका प्रभात थापा र मिस दार्जिलिङ तथा मिस नर्थ इस्ट भारत विजेता सुरभि थापा प्रमुख भूमिकामा देखिनेछन् । 

चलचित्रमा बुद्धि तामाङ, सुनिल थापा, रबिन सान्संकर, दीप क्षेत्री, प्रज्ञा थापा, बाबु प्रधान, सेवन विश्वकर्मा, राजीव भुसाल, आइशा तामाङ, पप्पु विश्वकर्मा लगायतका कलाकारको अभिनय छ । 

अभिनेत्री वर्षा राउतले चलचित्रमा केमियो भूमिका निर्वाह गरेकी छन् । चलचित्रको छायाङ्कन बलिउडका अनिकेर एम.घोघले हुन् । सम्पादनमा अखिलेश राय, कोरियोग्राफिमा कविराज गहतराज र बसन दर्जी, कन्सल्टेन्ट एडिटरमा कमलेश पराउ तथा ब्याकग्राउण्ड स्कोरमा निर्मल पन्याले योगदान दिएका छन् ।

चलचित्रका सङ्गीतकार तथा गीतकार चर्चित गायक पुष्पन प्रधान हुन् । चलचित्रलाई फिल्म म्याग्नेट इन्टरटेन्मेन्ट इन्डियाले निर्माण गरेको हो । यसको निर्मातामा उमा थापा, उत्तम थापा र उदिप थापा रहेका छन् भने सह–निर्मातामा प्रभात थापा, समीर तामाङ र राजेश क्षेत्री छन् । चलचित्र आरआर फिल्मसले वितरण गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप