कृषि कर्ममा लागेका पूर्वउपाध्यक्ष शाही बेरोजगार युवाका लागि प्रेरणा बन्दै
सारांश
- अछामका पूर्वउपाध्यक्ष धनबहादुर शाहीले राजनीतिबाट अवकाश लिएर कृषि कर्म सुरु गरेका छन्।
- उनले घाँस खेतीबाट राम्रो आम्दानी गर्दै युवाहरूलाई गाउँमै कृषिमा लाग्न प्रेरित गरेका छन्।
- शाहीले विभिन्न प्रकारका घाँस, तरकारी तथा बाख्रापालन गर्दै गाउँमा रोजगारी सिर्जना गरेका छन्।
धनगढी । नेता भएपछि गाउँमै बस्दैनन्, एक पटक पदमा पुगेपछि पुस्तौँसम्म पुग्ने सम्पत्ति कुम्ल्याउँछन् भन्ने भाष्य नेपाली समाजमा व्याप्त छ । यो भाष्यलाई अछाम जिल्लास्थित मेल्लेख गाउँपालिकाका पूर्वउपाध्यक्ष धनबहादुर शाहीले गलत साबित गरेका छन् ।
उनी जीविकोपार्जनका लागिमात्र नभएर आय आर्जन हुने गरी कृषि कर्ममा लागेर गाउँका बेरोजगार युवालाई खेतीमा प्रेरणा जगाउने काममात्र गरिरहेका छैनन्, राजनीति गर्नेहरूले त्यसैलाई कमाइ खाने भाँडो नबनाएर जीविकोपार्जनका लागि केही न केही पेसा गर्नुपर्छ भन्ने सन्देश दिइरहेका छन् ।
५५ वर्षीय शाही २०७४ सालको स्थानीय तह निर्वाचनमा पालिका उपाध्यक्षमा निर्वाचित भए । पाँच वर्षे कार्यकाल सकेर उनी खेतीपातीमा लागेका छन् । नयाँ र आधुनिक तरिका अपनाएर कृषि कर्ममा लागेका उनी गाउँ रित्तिँदै गएकोप्रति चिन्तित छन् । युवालाई गाउँमै रोक्न कृषिलाई विकल्पका रूपमा लिन सकिन्छ भन्ने उनलाई विश्वास छ । त्यही विश्वासलाई सार्थक पार्न उनी कृषिबाट मनग्य आर्जन गर्न सकिन्छ भन्ने प्रमाणित गर्न चाहन्छन् ।
गाउँपालिकाको उपाध्यक्ष भएर काम गर्दैगर्दा धनबहादुरले विभिन्न ठाउँमा कृषि क्षेत्रको अनुगमन गर्ने अवसर पाए । उपाध्यक्ष रहेकै अवस्थामा चार वर्षअघि उनले घाँस खेती सुरु गरे । धनगढीबाट ६ हजार रुपैयाँको घाँस किनेर आफ्नो बारीको डिलमा रोपे । त्यहीँबाट सुरू भयो उनको कृषि कर्म ।
मेल्लेख गाउँपालिका–८, जिमिताडामा उनको घर छ । परिवारमा उनका बाजेले खेती किसानीको काम गरे । बुवाले भने २० वर्ष भारतमा हुलाक सेवा कम्पनीमा काम गरेर परिवार पाले । बुवाको भारतमा जागिर भए पनि धनबहादुर गाउँघरमै हुर्किए, यतै पढे ।
गाउँकै पुरानाकोट पूूर्वप्राथमिक विद्यालयमा पाँच कक्षासम्म पढेका उनी त्यसपछिको पढाइका लागि मेल्लेख गए । एसएलसी परीक्षा दिने बित्तिकै उनले ६ महिना शिक्षकको जागिर गरे । ‘उतिवेला एसएलसी दिएको थाहा पाए शिक्षक बनाउन घरमै लिन पुग्थे,’ उनले सम्झिए ।
एसएलसीपछि भने उनले पढ्न पाएनन् । २०४९ देखि ०५४ सम्म उनी तत्कालीन हात्तीकोट गाविसको अध्यक्ष बने । उनी सर्वसम्मत रूपमा अध्यक्ष पदमा चयन भएका थिए ।
माओवादीले सशस्त्र संघर्ष सुरु गरेपछि उनले साँफेबगरमा हार्डवेयर पसलसमेत चलाए । योसँगै उनी सामाजिक काममा पनि सक्रिय थिए । ४ वर्ष उनले स्वास्थ्य कार्यकर्ता भएर मेल्लेख गाउँपालिकामा काम गरे ।
शाहीले केही समय साँफेबगरमा होटलसमेत चलाए । संघीयता कार्यान्वयन पश्चात् २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा उनी उपाध्यक्ष पदमा विजयी भए । पाँच वर्षको अवधिमा गाउँपालिकामा आफ्नो क्षेत्राधिकारभित्र हुने काममा अध्यक्ष लगायत जनप्रतिनिधिसँग सहकार्य गरेर उनले जनताको सेवा गरे । स्थानीय, प्रदेश र केन्द्र सरकारले गाउँबाट हुने बसाइसराइलाई रोक्नुपर्ने उनको भनाइ छ ।
चार वर्ष अघि उनले ६ हजार रुपैयाँमा धनगढीबाट किनेर लगी बारीको डिलमा रोपेको सुपर नेपियार घाँस ७५ प्रतिशत बिक्री भएको उनले सुनाए । ६ हजार रुपैयाँमा खरिद गरेर रोपेको घाँसले दोस्रो वर्षमै २ लाख रुपैयाँ आम्दानी गरायो । तेस्रो वर्ष उनले १० लाख रुपैयाँको घाँस बिक्री गरे । त्यो बेला उनलाई ८ लाख रुपैयाँ फाइदा भएको थियो ।
‘अहिले गाउँको जग्गा मूल्यहीन भएको छ । सहरका जसरी बैंकमा धितो राखेर व्यवसाय गर्न कर्जा निकाल्न पाउने व्यवस्था गाउँमा पनि हुनुपर्छ,’ पूर्वउपाध्यक्ष शाहीले भने, ‘यहाँ भएका बैंकले धितो राखेर कर्जा दिए व्यवसाय गर्न चाहनेलाई केही सहयोग पुग्थ्यो तर गाउँको जग्गा धितो राखेर कुनै पनि बैंकले अहिलेसम्म कर्जा दिएको छैन । गाउँमा केही छैन भन्दै युवा पलायन भएका छन् ।’
जीवनका पाँच दशकभन्दा बढी समयमा उनले अनेक क्षेत्रमा अनुभव बटुले । अब भने कृषि कर्ममै रम्ने आफ्नो योजना रहेको उनको भनाइ छ ।
‘कृषि गरे आम्दानी हुने, अर्ग्यानिक खाना पाइने, आनन्द र सन्तुष्टि पनि मिल्छ । बाँझो जमिन हराभरा हुँदा मनमा अलग्गै आनन्द आउँछ,’ शाहीले भने ।
चार वर्ष अघि उनले ६ हजार रुपैयाँमा धनगढीबाट किनेर लगी बारीको डिलमा रोपेको सुपर नेपियार घाँस ७५ प्रतिशत बिक्री भएको उनले सुनाए । ६ हजार रुपैयाँमा खरिद गरेर रोपेको घाँसले दोस्रो वर्षमै २ लाख रुपैयाँ आम्दानी गरायो । तेस्रो वर्ष उनले १० लाख रुपैयाँको घाँस बिक्री गरे । त्यो बेला उनलाई ८ लाख रुपैयाँ फाइदा भएको थियो ।
यो वर्ष शाहीले १५ लाख रुपैयाँको घाँस बिक्री गर्ने योजना बनाएका छन् । उनले उत्पादन गरेको घाँस गाउँकै किसानले पशुचौपायाका लागि खरिद गर्छन् । उनले अहिले इपिल–डाले, मेन्दोला, किम्बु, राई खनिउ, सुपर नेपियर लगायत ९ किसिमका घाँसको खेती गरेका छन् । अहिले घाँसको बेर्ना उनी आफैँ तयार पार्छन् ।
पाखो जमिनमा घाँस खेती गरे बाढी र पहिरो रोक्नमा समेत मद्दत पुग्ने शाहीले बताए । पाखो जमिनमा हरियाली पनि हुने, कमाई पनि हुने हुँदा कृषि व्यवसाय गर्नेहरूलाई घाँस खेती राम्रो हुने उनको बुझाइ छ ।

यही वर्षदेखि शाहीले बाख्रा पालन पनि सुरु गरेका छन् । उनले तरकारी खेती पनि गरेका छन् । मटर, काउली, टमाटर, चम्सुर, मेथी लगायतका तरकारी उनले बारीमा लगाएका छन् । ७० रोपनी जमिनमा उनले घाँस खेती गरेका छन् ।
शाहीले बाख्राको आधुनिक खोर बनाएका छन् । सुरुवातमा चार वटा बाख्रा पालेका उनले एक वर्षभित्र त्यो संख्या बढाएर ६० पुर्याउने योजना बनाएका थिए । अहिले उनको खोरमा ४० वटा बाख्रा छन् ।
शाहीले रिठा खेती पनि सुरु गरेका छन् । रिठाको सम्भावना देखेर खेती सुरु गरेको शाहीको भनाइ छ ।
उनको कृषि कर्म हेर्न र केही सिक्नका लागि गाउँका मानिसमात्र नभएर बाहिरबाट कैयौँ आउने गरेका छन् । आफूसँग भएकै पुँजीबाट काम सुरु गर्दै अहिले विस्तार गर्दै लगेको उनको भनाइ छ ।
तरकारी र घाँस खेतीमा सिँचाइका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट सहयोग भएको शाहीले बताए । पोखरीको पानी खेतसम्म लग्न उनलाई सानो नाली निर्माणमा प्रदेश सरकार र मेल्लेख गाउँपालिकाले पनि सहयोग गरेको छ ।
घाँस खेतीमा सिँचाइको खासै समस्या छैन । घाँसमा उनी कार्तिक, मंसिरमा सिँचाइ गर्छन् । असार–साउनमा घाँस रोप्ने गर्छन् । उनी आफ्नै खेतबारीमा फलेको अन्न र तरकारी खान पाइरहेको बताउँछन् ।
शाहीले अस्थायी रूपमा गाउँलेलाई रोजगारीसमेत दिएका छन् । गाउँमा अन्यलाई पनि कृषि कर्म गर्न उनी आवश्यक सल्लाह र सहयोग गर्छन् ।
उनकी बुहारीले कृषि विषय लिएरै पढेकी छन् । बुहारीले बीएससी एजी पढेको उनको भनाइ छ । कृषि विषयनै पढेका कारण बुहारीले व्यावसायिक कृषिलाई नै बढावा दिए हुन्थ्यो भन्ने उनको अपेक्षा छ । खेतीका लागि आवश्यक सल्लाह कहिलेकाहीँ बुहारीसँग पनि लिने गरेको उनको भनाइ छ ।

उनको कृषिप्रतिको लगावले गर्दा गाउँका अन्य युवालाई पनि प्रेरणा मिलेको मेल्लेख गाउँपालिकाका अध्यक्ष ज्वालासिंह साउदले जानकारी दिए ।
‘गाउँमा उहाँ उदाहरणका रूपमा चिनिनुहुन्छ । उहाँको सफलताबाट गाउँलेलाई कृषिबाटै आय आर्जनको राम्रो सम्भावना छ भन्ने आँट आउँछ,’ अध्यक्ष साउदले भने ।
नेताले पनि कृषि कर्म गर्न सक्छन् भन्ने उदाहरण बनेका धनबहादुर शाहीको खेतीपातीले मन नै लोभ्याएको बताउँछन् मेल्लेख–५ का मदन रोकाया ।
‘हाम्रो पूर्वउपाध्यक्षज्यूको जस्तो सबैले काम गर्ने हो भने गाउँ रित्तिदैन थियो होला । बेरोजगारीको समस्या पनि हट्थ्यो,’ रोकायाले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण