आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

जेनजी आन्दोलन : चोरी भएका सामान फिर्ता दिन सुरु, शिक्षक नै परे कारबाहीमा

शनिबार, २८ भदौ २०८२, १८ : ४७
शनिबार, २८ भदौ २०८२

बुटवल । जेनजी आन्दोलनको नाममा रुपन्देहीका विभिन्न स्थानबाट चोरिएका सामानहरू स्थानीयले धमाधम फिर्ता दिन थालेका छन् । 

चोरी गरिएको भिडियो नै सार्वजनिक भएपछि उनीहरूले बाध्य भएर फिर्ता गर्न थालेका रुपन्देही प्रहरी प्रमुख एसपी प्रदीप बहादुर क्षत्रीले बताए । प्रहरीले आग्रह गरेपछि केही व्यक्तिहरूले सामान फिर्ता ल्याउन थालेका उनले रातोपार्टीलाई बताए । देवदहमा चोरी भएका सुन, भैरहवाको मेरिया होटलबाट चोरी भएका सामानहरू क्रमशः फिर्ता भइरहेका उनले जानकारी दिए ।

सामाजिक सञ्जालमा चोरी गर्दै गरेको अवस्थाको भिडियोहरू आउन थालेको र सामान फिर्ता नगरे अनुसन्धान गरिने प्रहरीले चेतावनी दिएपछि स्थानीयहरूले फिर्ता गर्न थालेका हुन् । चोरीमा शिक्षक–विधार्थीसमेत संलग्न रहेको बुझिएको छ ।

बुटवलको भाटभटेनीमा आइसक्रिम चोरेको भिडियो सार्वजनिक भएपछि कालिका मानविज्ञान स्कुलका एक शिक्षकलाई कारबाहीसमेत गरिएको छ । शिक्षक शिवशंकर शुक्लालाई विद्यालयले निष्काशन नै गरेको हो । शुक्रबार चोरी संलग्न भएको उनको भिडियो सार्वजनिक भएको थियो । विद्यालयका प्राचार्य दिनेश थापाले भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आफ्ना शिक्षक शुक्ला सहभागी भई बुटवलको सुख्खानगरस्थित भाटभटेनी सुपरमार्केटमा चोरीमा संलग्न भएको देखिएको बताए । 

विद्यालयको आचरणसंहिता तथा नियमविपरीत कार्य गरेको ठहरिएकाले आजैका मिति (शनिबार) बाट लागु हुनेगरी शिक्षक शुक्लालाई हटाइएको उनले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप