आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ

आइतबार, ३१ जेठ २०८३, १० : ५७
आइतबार, ३१ जेठ २०८३

बाँके । जेठ महिनाको अन्त्य हुँदा पनि पर्याप्त पानी नपर्दा बाँकेमा धानको ब्याड राख्न ढिलाइ भएको छ । आकाशे पानीको भरमा धानखेती गर्दै आएका जिल्लाका अधिकांश किसानले धानको ब्याड राख्न नपाएको नेपालगञ्ज–१९ सुइयागाउँका किसान ललवा माहुतले बताए । 

सिँचाइको व्यवस्था नभएकाले किसानले धान रोप्न आकाश हेरेर बस्नु पर्ने बाध्यता रहेको उनको भनाइ छ । “धान खेतीका लागि आवश्यक सिँचाइ, बीउ र मल नपाउँदा बर्सेनि गरिखाने किसानले दुःखमाथि दुःख झेल्नुपर्ने बाध्यता छ,” उनले भने । 

बाँकेमा सिँचाइ सुविधा नपुगेको क्षेत्रमा घरायसी प्रयोजनका लागि राखिएका मोटर र कतिपय क्षेत्रमा खानेपानीको धाराको पानी प्रयोग गरेर पनि बीउको ब्याड राखिएको छ ।

जानकी गाउँपालिकाको साइगाउँ, बेलभार क्षेत्रमा पर्याप्त बर्सात नभएका कारण किसानले अहिलेसम्म धान रोप्न नसकेको जानकी गाउँपालिका वडा नं १ का अध्यक्ष मोहम्मद रजा राईले बताए । 

बाँकेमा सिँचाइको सुविधा पुगेको र वैकल्पिक उपाय गरेर हालसम्म करिब ४० प्रतिशत किसानले मात्रै धानको बीउ ब्याड राखेको कृषि ज्ञान केन्द्र बाँकेकी सूचना अधिकारी सुजिता शर्माले जानकारी दिइन् । जिल्लामा करिब ३६ हजार ५०० हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ ।

यहाँ सिक्टा सिँचाइ आयोजनाको नहरबाट कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिकाका र राप्तीसोनारी गाउँपालिकाका केही वडामा सिँचाइको व्यवस्था भए पनि अधिकांश किसान अहिले पनि आकाशे पानीको भरमा धानखेती गर्न बाध्य छन् ।

धानको बीउ राख्ने समयलाई दृष्टिगत गरेर पूर्वी र पश्चिमी दुवै नहरमा नियमित रूपमा पानी छोडिएको सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी मनोज शाहले जानकारी दिए । उनका अनुसार राप्तीसोनारी गाउँपालिका–२ अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी सञ्चालन गरिएको आयोजनाले जिल्लाको ४२ हजार ७६६ हेक्टर जमिनमा सिँचाइको लक्ष्य लिएकामा हालसम्म २४ हजार हेक्टर जमिनमा प्रत्यक्ष सिँचाइ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप