आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

गण्डकी सुरक्षा समितिको बैठक : लुटपाट र तोडफोड गर्नेलाई कडा कारबाही, हतियार नबुझाए आपराधिक मुद्दा

मङ्गलबार, ३१ भदौ २०८२, १९ : २४
मङ्गलबार, ३१ भदौ २०८२

पोखरा । गण्डकीको प्रदेश स्तरीय सुरक्षा समितिको बैठकले तोडफोड र लुटपाटमा संलग्नलाई कडा कारबाही गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको बैठकले जेनजी आन्दोलनका क्रममा घुसपैठ गरी लुटपाट गर्ने र तोडफोडमा उत्रिनेलाई कानुन अनुसार कडा कारबाही गर्ने चेतावनी सहितको निर्णय गरेको हो । आन्दोलनका क्रममा सार्वजनिक र निजी सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाट भएको थियो ।

त्यसमा संलग्न व्यक्तिहरूलाई पहिचान गरी तत्काल कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाउने निर्णय सुरक्षा समन्वय समितिले गरेको छ । कारबाहीका लागि सबै जिल्ला सुरक्षा समिति र मातहतका सुरक्षा निकायहरूलाई निर्देशन दिइएको छ ।

प्रदेशभित्र शान्ति र अमनचयन कायम गर्न सबै सुरक्षा निकायलाई सजगताका साथ समन्वयात्मक ढङ्गले कार्य गर्न निर्देशन बैठकले दिएको छ ।

यस्तै सुरक्षाकर्मीबाट लुटिएका हतियार तत्काल फिर्ता गर्न सबैलाई आह्वान गरिएको छ । हतियार समयमा फिर्ता नगरे आपराधिक मुद्दा लगाएर कारबाही अघि बढाउन समितिको निर्णय छ ।

सुरुमा समितिले हतियार फिर्ता गर्न सञ्चार माध्यम मार्फत सार्वजनिक आह्वान गर्ने जनाएको छ । भदौ २३ र २४ गते भएका आन्दोलनका कारण उत्पन्न असामान्य स्थितिको समीक्षा गर्दै शान्ति सुरक्षा कायम गर्न कडाइका साथ प्रस्तुत हुने निर्णय गरिएको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताए ।

उक्त बैठकले आन्दोलनका क्रममा जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

बर्खा नसकिएका कारण विपद् जोखिमलाई दृष्टिगत गरी सबै जिल्ला विपद् व्यवस्थापन समितिहरू र सुरक्षा निकायले विपद् सुरक्षामा सजगता अपनाएर पूर्व तयारी तथा प्रतिकार्य गर्न निर्देशन दिइएको मुख्यमन्त्री पाण्डेले बताए ।

चाडपर्व लक्षित सुरक्षा योजनामा समेटी सुरक्षा व्यवस्थालाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न भनिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप