शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
आन्दोलनको असर

घाइतेका बुबाको पीडा : अब कुनै सन्तानले गोली खानु नपरोस्

शुक्रबार, ०३ असोज २०८२, ०७ : ३४
शुक्रबार, ०३ असोज २०८२

सारांश

  • जेनजी आन्दोलनमा प्रहरीको गोली लागेर घाइते भएका १९ वर्षीय सन्तानु ढकालको उपचार भइरहेको छ।
  • घाइते सन्तानुका बुबा महेश ढकालले छोराको अवस्थाप्रति पीडा व्यक्त गर्दै देशको व्यवस्थाप्रति प्रश्न उठाएका छन्।
  • महेश ढकालले छोराको उपचारमा स्थानीय जनप्रतिनिधिहरूको उदासिनता र राजनीतिक अस्थिरताप्रति असन्तुष्टि जनाए।

विराटनगर । गत भदौ २३ गते देशव्यापी रूपमा फैलिएको जेनजी आन्दोलनका क्रममा इटहरीमा प्रहरीको गोली लागेर १९ वर्षीय सन्तानु ढकाल गम्भीर घाइते भए । 

मोरङ सुन्दरहरैंचाको सुकुना माध्यमिक विद्यालयमा कक्षा १२ मा विज्ञान विषय लिएर पढिरहेका बुढीगंगा ७ का उनी अहिले बुढीगंगाकै विराट टिचिङ अस्पतालको शय्यामा जीवनसँगको लडाइँमा छन् । उनको अनुहारमा गोली लागेको छ । छोराको हेरचाहमा नियमित खटिएका बुबा महेश ढकाल पीडा, आक्रोश र देशको व्यवस्थाप्रति गम्भीर प्रश्न उठाउँछन् । 

महेश ढकालका लागि फागुन २३ गतेको बिहान अरू दिनजस्तै सामान्य थियो । छोरा सन्तानु सुकुना माविमा पढ्न गए, पानी परिरहेको थियो । सन्तानु दिउँसो घर फर्किए, खाना खाए र साइकल लिएर साथीहरूसँग निस्किए । ‘उ त्यही आन्दोलनमा निस्किएको थियो,’ महेश सम्झिन्छन्, ‘उनीहरूको नेटवर्क के–के थियो होला, साथीभाइसँगै इटहरीको प्रदर्शनमा गएछ ।’

बुबा महेशलाई लागेको थियो, ‘यो सामान्य प्रदर्शन हुन्छ । छोरा फर्किन्छ ।’तर, समाचारहरु नियमित पढ्ने महेशले काठमाडौँको झडपमा गोली लागेर विद्यार्थीहरूको मृत्यु भएको कुरा पढे । त्यसपछि दिउँसो ३ बजेतिर छोरा सन्तानुलाई फोन गरे र भने, ‘अब घर आउनु ।’

तर, केही समयमै महेशलाई कलब्याक आयो र भनियो ‘तपाईंको छोरा घाइते छ आउनुहोला’ । इटहरी चोकमा भएको झडपमा सन्तानुको देब्रे गालामा गोली लागेछ । त्यसपछि उनी अत्तालिए । इटहरी पुगे । इटहरी पुग्दा उनलाई उपचारका लागि विराट टिचिङ लगिएको जानकारी आयो । त्यसपछि उनी फेरि विराट टिचिङ आए । आएर हेर्दा सन्तानुको देब्रे गालामा गोली लागेको रहेछ । उक्त गालाको तल्लो बंगाराको हड्डी पूर्ण रूपमा टुटेको छ । दाँतहरू टुटेका छन्, छाला र मासुको नामोनिसान छैन । उनको दुई पटक शल्यक्रिया भएको छ, तर बोल्न सक्दैनन् । सङ्केत र लेखेर कुरा गर्छन् । ‘उसको होस त सुरुदेखि नै थियो, तर बोल्न डाक्टरहरूले नै बन्द गराएका छन्,’ महेश भन्छन् । स्वास्थ्य उपचार भने अस्पतालले अहिलेसम्म निःशुल्क गरिदिएको महेशले सुनाए । 

Santanu (1)

तर उनको आक्रोश जनप्रतिनिधिहरूसँग छ । उनको छोरा जुन व्यवस्था, जुन बेथिति र जुन चाकडीतन्त्रको विरुद्ध सडकमा गएको थियो, त्यही व्यवस्थाको अनुहार उनले अस्पतालमा पनि देखिरहेका छन् । 

‘मेरो वडाको वडाध्यक्षले अहिलेसम्म एक फोन गरेर सोधेको छैन,’ उनी भन्छन्, ‘यदि कुनै दलको कार्यकर्ता भएको भए ओइरो लाग्थ्यो होला । तर एउटा सामान्य नागरिकको छोरा पर्दा कसैलाई मतलब भएन ।’ स्थानीय तहका प्रमुखको घर नजिकै भए पनि कुनै सहानुभूति नपाउँदा उनलाई यो व्यवस्था नागरिकप्रति नभई केवल आफ्ना कार्यकर्ताप्रति मात्रै उत्तरदायी भएको महसुस भएको छ । 

जेनजी आन्दोलनपछिको घटनाक्रमलाई महेश केवल एउटा दुर्घटना मान्दैनन् । उनी यसलाई नेपालको राजनीतिको निरन्तर असफलताको परिणामका रूपमा हेर्छन् । ‘४६ सालमा पनि ढुङ्गामुढा भयो, ६२/६३ मा पनि त्यस्तै भयो, अहिले हाम्रो छोराहरूको पालामा पनि रगत बगिरहेको छ,’ उनी भन्छन्, ‘के परिवर्तनका लागि हरेक पुस्ताले रगत बगाउनैपर्ने हो ?।’

एउटा बाबुका लागि घाइते छोराको अवस्था हेर्नु जति पीडादायी अरू केही हुँदैन । तर यो पीडाको बिचमा पनि महेश एउटा सन्देश दिन चाहन्छन् । ‘यो अन्तिम होस्,’ उनी भन्छन्, ‘अब कुनै पनि बाबु–आमाले आफ्नो छोराछोरीले परिवर्तनका लागि रगत बगाएको देख्नु नपरोस् । नागरिकले आफ्नो अधिकार पाउन कुनै दल वा नेताको कार्यकर्ता हुनुपर्ने अवस्थाको अन्त्य होस् ।’

उनको विचारमा शान्तिपूर्ण र वैधानिक बाटोबाट परिवर्तन हुनुपथ्र्यो, तर दलहरूले नागरिकलाई सधैँ निराशा मात्र दिए । ‘हामीले पञ्चायतकालमा राजाको चाकडी गर्‍यौँ, बहुदल आएपछि दलको चाकडी गर्नुपर्‍यो, माओवादी थपिएपछि पनि चाकडी गर्नुपर्ने भयो,’ उनी थप्छन्, ‘यो चाकडी गर्ने संस्था मात्रै फेरिने तर प्रवृत्ति नफेरिने हो भने परिवर्तनको के अर्थ ? ।’

उनको छोरा सन्तानुले पनि यही कुरा बुझेको हुनुपर्छ भन्ने उनको अनुमान छ । देशको अवस्था, नेताहरूको व्यवहार र भविष्यको अनिश्चितताले उसलाई सडकमा पुर्या्याएको थियो । ‘उसले पनि केही विश्लेषण गरेरै गएको होला नि,’ महेश भन्छन् । यद्यपि उनको छोराले आफूसँग राजनीतिक कुराकानी नगरेको बताए ।

एउटा बाबुका लागि घाइते छोराको अवस्था हेर्नु जति पीडादायी अरू केही हुँदैन । तर यो पीडाको बिचमा पनि महेश एउटा सन्देश दिन चाहन्छन् । ‘यो अन्तिम होस्,’ उनी भन्छन्, ‘अब कुनै पनि बाबु–आमाले आफ्नो छोराछोरीले परिवर्तनका लागि रगत बगाएको देख्नु नपरोस् । नागरिकले आफ्नो अधिकार पाउन कुनै दल वा नेताको कार्यकर्ता हुनुपर्ने अवस्थाको अन्त्य होस् ।’

सन्तानु ढकालको अनुहारको घाउ समयसँगै निको होला । तर महेश ढकालको मनमा लागेको घाउले यो देशको राजनीतिलाई झस्काइरहनेछ । ‘जबसम्म एउटा नागरिकले आफ्नो हक पाउन दलको झण्डा बोक्नुपर्छ वा नेताको दैलो चहार्नुपर्छ, तबसम्म सन्तानुजस्ता युवाहरूको विद्रोह र रगत खेर गइरहनेछ,’ महेशले भने, ‘यो विद्रोहको आवाजलाई सत्ताले हिंसाले होइन, सुशासन र जिम्मेवारीले सम्बोधन गर्नुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप