शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

संविधानको दशक र शोकले भरिएको दिवस

शुक्रबार, ०३ असोज २०८२, १२ : ५६
शुक्रबार, ०३ असोज २०८२

देशको संविधानले पहिलो दशक पार गरेको यो दिनमा सामान्यतया राष्ट्रिय गौरवको उत्सव मनाइनुपर्ने हो । इतिहासका थुप्रै मोड पार गर्दै जनताको त्याग, बलिदान र सङ्घर्षले लेखिएको संविधानले एक दशक पूरा गर्नु हाम्रो साझा यात्राको एउटा महत्त्वपूर्ण अध्याय हो । विडम्बना, यसपटक हामी त्यो उत्सव मनाउन सक्ने अवस्थामा छैनौँ । संविधान दिवस आउनुअघि नै मुलुक शोकमा डुब्यो, सडक र चोकहरू रगतले रञ्जित भए, निर्दोष नागरिकका शवले राष्ट्रको विवेक हल्लायो । 

नेपालमा आन्दोलनहरू दशक–दशकमा किन दोहोरिन्छन् ? यसको उत्तर गहिरो छ । परिवर्तनको अपेक्षा बोकेका जनताले फेरि–फेरि आफ्नै नेताबाट धोका पाउँछन् । भ्रष्टाचारको अन्त्य, सुशासन, समावेशिता र न्यायको माग बोकेर जनआन्दोलनहरू उब्जिन्छन् तर दुर्भाग्यवश आन्दोलनको अगुवाइ फेरि त्यसै पुरानो शक्ति केन्द्रमा फर्किन्छ— जहाँ सत्ता, स्वार्थ र सत्तालिप्सा जरा गाडेर बसेका हुन्छन् । 

योपटक आन्दोलनमा उत्रिएको थियो हाम्रो जेन–जेड पुस्ता— नयाँ युगको प्रतिनिधि, प्रविधिसँग चल्ने, सामाजिक न्यायको गहिरो चेत बोकेको जागरुक पुस्ता । उनीहरूको माग सादा थियो— सोसल मिडियाको स्वतन्त्रता, शिक्षा र रोजगारीको समान अवसर, भ्रष्टाचारको अन्त्य तर सरकारले आफ्नै नागरिकलाई संवादको भाषामा होइन, गोलीको भाषामा जवाफ दियो । 

विद्यालयको पोसाकमै रहेका बालबालिकालाई टाउकामा गोली हानेर हत्या गरिनु यो केवल मानव अधिकारको उल्लङ्घन होइन, संवेदनशीलताको पूर्ण पतन हो । निर्दोष र निर्मम हत्याहरूले यो संविधान दिवसलाई मात्र होइन, मुलुककै चेतनालाई झस्काएको छ । 

संविधान दिवसको यस चोटिलो घडीमा सहिदहरूलाई श्रद्धासहित सम्झौँ, मुलुकलाई संविधान र न्यायको मार्गमा अगाडि बढाउने सामूहिक सङ्कल्प गरौँ । यस संविधान दिवसमा शोकलाई चेतनामा र पीडालाई परिवर्तनको सङ्कल्पमा रूपान्तरण गरौँ ।

 

२०७२ असोज ३ गते जननिर्वाचित संविधानसभाबाट जारी गरिएको संविधानको औपचारिक घोषणा भएको थियो । देशले पहिलोपटक बहुजाति, बहुभाषा, बहुधर्मको समावेशी संरचना स्विकारेको थियो । त्यो दिन नेपाली इतिहासमा जनताले आफ्नै हातले बनाएको संविधानको पहिलो पन्ना पल्टाएका थिए । 

आज जब त्यो संविधानमाथि प्रश्न उठ्न थालेका छन्, जब उसैको रक्षा गर्नुपर्ने सरकार जनताको हत्या गर्दै छ, हामीले आत्मनिरीक्षण गर्नुपर्ने हो । संविधानका राम्रा पक्ष भए पनि प्रणालीमा सुधारको अत्यावश्यकता छ । 

शान्तिपूर्ण आन्दोलनमा अराजक तत्त्वहरूको घुसपैठ हुनु, सरकारी सम्पत्ति जलाइनु, प्रहरी कार्यालयहरूमा आक्रमण हुनु— यी सबै घटनाले आन्दोलनको मूल भावनालाई बदनाम बनायो । यो सत्य पनि स्पष्ट छ— आन्दोलनकारी सबै अराजक होइनन्, तिनका बिचमा निष्कलङ्क, देशभक्त, भावुक युवा थिए, जो लोकतन्त्रप्रति आस्थावान् थिए । 
यस्ता संवेदनशील घडीमा सरकारको पहिलो उत्तरदायित्व हुन्छ— संयमता, संवाद र विवेक । गोली होइन । 

सहिद घोषणा, १५ लाखको राहत, घाइतेको उपचार खर्च, सहादत दिवस घोषणाजस्ता निर्णय स्वागतयोग्य छन् तर केवल राहत र घोषणाले पुग्दैन, दोषीहरू पहिचान गरेर कानुनी कारबाही नगरेसम्म न्याय अधुरो रहन्छ । 

आज राजनीतिक दलहरूबाट निराश जनता फेरि निर्दलीयताको मोहमा तानिन थालेका छन् । दलहरूप्रति घृणा चुलिँदै छ तर हामीले बिर्सन हुँदैन— बहुदलीय लोकतन्त्र आफैँमा समस्या होइन, समस्या त त्यसभित्रको अनैतिक चरित्र, भ्रष्ट प्रवृत्ति र अवसरवादिता हो । 

हामी सबै दलहरूलाई एउटै तराजुमा तौल्छौँ भने इमानदार र जनपक्षीय नेताहरूको अपमान हुन्छ । जसले जीवनभरि सिद्धान्त र जनताको पक्षमा लडे, तिनीहरूलाई पनि सत्तालोलुपहरूकै साथ उभ्याउने गल्ती नगरौँ । संविधानको रक्षा हाम्रो साझा दायित्व हो । त्यसमा भएका कमी–कमजोरीलाई सुधार्ने वातावरण सिर्जना गरौँ । आन्दोलनमा सहिद भएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै यो शोकलाई शक्तिमा बदलौँ । भ्रष्टाचारको अन्त्य, शान्तिपूर्ण आन्दोलनको सम्मान र दोषीमाथि कारबाहीको सुनिश्चितता गरौँ । युवा पुस्तालाई विश्वास, सम्मान र मार्गदर्शन दिऔँ । 

प्रिय जेन–जेड पुस्ता ! तपाईंको ऊर्जा, तपाईंको विवेक र तपाईंको साहसले नै नयाँ नेपाल निर्माण हुनेछ । इतिहास बुझौँ, वर्तमान चिनौँ र भविष्य निर्माण गरौँ । बाउबाजेहरूको रगतले आर्जेको यो संविधान केवल कागजको दस्ताबेज होइन, यो हाम्रो पहिचान हो, रक्षात्मक अवस्थाबाट निकालेर अगाडि बढाउनुपर्ने हाम्रो दायित्व हो । 
संविधान दिवसको यस चोटिलो घडीमा सहिदहरूलाई श्रद्धासहित सम्झौँ, मुलुकलाई संविधान र न्यायको मार्गमा अगाडि बढाउने सामूहिक सङ्कल्प गरौँ । यस संविधान दिवसमा शोकलाई चेतनामा र पीडालाई परिवर्तनको सङ्कल्पमा रूपान्तरण गरौँ । 

संविधानप्रति निष्ठा, न्यायप्रति आग्रह, लोकतन्त्रप्रति आस्था र गणतन्त्रप्रतिको सम्मानसहित अगाडि बढ्ने दृढ प्रण गरौँ । सहिदहरूको सपना अधुरो नहोस्— उनीहरूले देखेको समावेशी, समान र न्यायपूर्ण नेपालको निर्माणमा हामी सबै लागिपरौँ । 

सङ्कल्पसहित सम्पूर्णमा संविधान दिवसको गहिरो र जागरुक शुभकामना व्यक्त गर्छु । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना पौडेल ‘जिज्ञासु’
कल्पना पौडेल ‘जिज्ञासु’
लेखकबाट थप