शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
प्रेरणा

पोलियोको शिकार भएका किरणकिशोरको ‘हरित क्रान्ति’

शुक्रबार, १७ असोज २०८२, १० : ००
शुक्रबार, १७ असोज २०८२

सारांश

  • किरणकिशोर सापकोटाले देशभरका १०० विद्यालयमा हरित अभियान चलाएका छन्, अपाङ्गतालाई अवसरको रूपमा लिँदै।
  • उनले विद्यालयलाई हरियाली बनाउनुका साथै, बालबालिकालाई वातावरण संरक्षण र स्वच्छता सम्बन्धि शिक्षा दिन्छन्।
  • सापकोटाको हरित अभियानमा आमाको योगदान रहेको छ, र उनी हाल वीरेन्द्रनगरमा कक्षा ११ र १२ का विद्यार्थीलाई पढाउँछन्।

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४, भैरवस्थानका ३३ वर्षीय किरणकिशोर सापकोटा एक हरित अभियन्तामात्र होइनन्, प्रेरणाका स्रोत पनि हुन् । उनले देशभरका १०० सामुदायिक विद्यालयमा ‘हरित अभियान’ सञ्चालन गरेका छन् ।

उनी अपाङ्गता भएका व्यक्ति हुन् । उनका दुवै खुट्टा सुकेका र छोटा छन् । कमजोर शारीरिक अवस्थाका बाबजुद उनले उजाड र जीर्णप्रायः देखिएका सामुदायिक विद्यालयहरूलाई हरियालीमात्र होइन, सुन्दर, सफा र जीवनमय बनाइरहेका छन् ।

सापकोटा सानै छँदा अपाङ्गताको सिकार भएका थिए । उनका अनुसार, एक वर्षको उमेरमा पोलियोका कारण यो अवस्था भएको छ । यद्यपि उनकी आमाले पोलियोको थोपा खुवाएको बताउँथिन् रे ।

2

‘सुरुका दिनमा मलाई हिँड्न गाह्रो हुन्थ्यो । अरू साथीहरू खेल्दा, दगुर्दा वा पौडी खेल्न जाँदा मनमा पीडा हुन्थ्यो । साथीहरू पिकनिक जान्थे तर आफू जान नसकेर घरमै बस्नुपर्दा पीडा हुन्थ्यो,’ उनले भने ।

तीन कक्षामा पुग्दा उनले आफू अरुभन्दा फरक रहेछु भन्ने थाहा पाए । हातको सहारा लिएर हिँड्नुपर्थ्यो, अरूजस्तो सहज जीवन थिएन । यद्यपि उनका बुबाले टेबल टेनिस, ब्याडमिन्टनजस्ता खेल खेल्न उनलाई प्रोत्साहन दिन्थे, जसले उनीभित्र आत्मविश्वास बढाउँथ्यो । 

पढाइमा सधैँ अब्बल रहेका सापकोटाले उषा बालबाटिकामा पाँच कक्षासम्म पढेपछि भैरव माविबाट माध्यमिक शिक्षा पूरा गरे । उनले स्नातक तह पोखराको पृथ्वीनारायण क्याम्पसबाट सके ।

सुरुमा उनी काठमाडौँ गएर लोकसेवा तयारी गर्ने र सरकारी जागिरे बन्ने चाहना राख्थे । त्यही बिचमा उनकी आमाको निधन भयो । आमा बितेपछि काठमाडौँ बस्न मन लागेन उनलाई । उनी जन्मठाउँ सुर्खेत नै फर्के । मध्यपश्चिम विश्वविद्यालयमा अर्थशास्त्रमा स्नाकोत्तर गरे, तर लोकसेवाको तयारी बिचमै छाडे । सायद उनको मनलाई शान्ति मिल्ने कार्य कुनै अर्कै थियो । 

  • उजाड विद्यालयबाट हरित अभियानको बीजारोपण

०७२ सालतिरको कुरा हो, एकदिन सापकोटा वीरेन्द्रनगर नगरपालिका–१, बाङ्गेसिमलको सरस्वती प्राथमिक विद्यालयमा गएका थिए । त्यहाँ दन्त शिविर थियो, तर विद्यालय उजाड, जीर्ण र अव्यवस्थित थियो । झन्डै ४० वर्षअघि स्थापना भएको त्यो विद्यालयको अवस्था देख्दा उनको मन खिन्न भयो । ‘त्यसपछि मनमा लाग्यो, यो विद्यालयलाई सुन्दर र हराभरा बनाउनुपर्छ,’ उनले रातोपाटीसँग भने, ‘यताउता रुख काटिएको देखेँ र त्यसै क्षणबाट मभित्र हरित विद्यालय अभियानको सोच आयो ।’

सापकोटाले पहिलो पटक त्यही विद्यालयबाट ‘हरित अभियान’ सुरुवात गरे । अहिले उक्त विद्यालय सुन्दर, सफा र हराभरा छ । ‘अपाङ्गता भएका व्यक्तिलाई समाजमा हेर्ने दृष्टिकोण नै फरक हुन्छ,’ उनले भने, ‘यिनीहरू केही गर्न सक्दैनन् भन्ने सोचाइ हुन्छ ।’ आफूचाहिँ केही न केही गरेर उदाहरणीय बन्नुपर्छ भन्ने मान्यतामा रहेको उनको भनाइ छ ।

सापकोटालाई लाग्यो– अपाङ्गता भएका बालबालिकालाई शिक्षामा जोड्नुपर्छ र उनीहरूलाई सँगै राखेर वातावरण संरक्षणको काम गर्नुपर्छ । 

3

‘यो मेरो व्यक्तिगत अनुभव र आमाको आशीर्वादको फल थियो,’ उनले भने । त्यसपछि उनी ‘हरित अभियानकर्ता’ बनेर देशभर पुगे । बिरुवा रोप्नु सकारात्मक कार्य भए पनि जोगाउन मुस्किल हुने उनले अनुभव गरे । कसैले चुँडेर फालिदिने, कसैले चोरिदिने समस्या थियो । 

सरस्वती प्राविमै उनले १२ पटकसम्म धुपीको बिरुवा रोप्नु पर्‍यो । जति रोप्यो, उति चोरी भए पनि उनले हिम्मत हारेनन् । उनको दृढता र निरन्तरताले यो अभियानलाई केवल एउटा विद्यालयमा सीमित राखेन, १०० भन्दा बढी विद्यालयमा पुर्‍यायो ।

‘मैले लगाएको बुटा उखेलेर मान्छेहरू आफ्नो घरमा लैजान्थे । जति पटक चोरी हुन्छ, म बिरुवा ल्याएर रोप्दै गएँ,’ सापकोटाले थपे । 

उनले यो अभियानलाई अझ विस्तार गर्दै गए । सुरुमा सुर्खेतको वीरेन्द्रनगरबाट सिम्ता, बराहतालजस्ता ठाउँमा पुगे । त्यसपछि जिल्ला बाहिर गएर कर्णाली प्रदेशका सल्यान, रुकुम पश्चिम, जाजरकोट, दैलेखजस्ता जिल्लामा पनि यो अभियान पुर्‍याए ।

अहिलेसम्म १०० वटा विद्यालयमा लगभग ८ हजारभन्दा बढी बिरुवा रोपेका छन् उनले । यीमध्ये धेरै बिरुवा उनी आफ्नै पैसाले किन्छन् र केही जडीबुटीजन्य बिरुवा वन कार्यालयसँग समन्वय गरेर ल्याउँछन् ।

  • भारतसम्म हरित लहर

सापकोटाको यो अभियान नेपालमा मात्र सीमित रहेन, भारतसम्म पुग्यो । उत्तर प्रदेशको अयोध्या र राजस्थानको गान्धी माविजस्ता विद्यालयहरूमा पनि उनले उक्त अभियान चलाए, जहाँ विद्यार्थी र स्थानीयले निकै चासो देखाएका थिए । ‘मेरो यो कामले मलाई भित्रैदेखि आत्मसन्तुष्टि दिन्छ,’ उनले भने ।

photo (1)

  • आमाको ९ लाख रुपैयाँले बनेको हरित अभियानको जग

सापकोटाको हरित अभियानका पछाडि उनकी दिवङ्गत आमाको अतुलनीय योगदान लुकेको छ । उनका अनुसार, आमाले आफ्नो निधनअघि किरणको नाममा जनहितकारी सहकारीमा ९ लाख रकम राखिदिएकी रहिछन् । 

उनले भने, ‘त्यो पैसा आमाले पक्कै पनि यो बाबुले बिरुवा रोपण गरोस्, समाजसेवा गरोस् भनेर राखिदिएको होइन । छोरो अपाङ्ग छ, छोरोले भोलि दुःख नपाओस्, केही गरोस् भन्ने भावनाले राखिदिएको हुनुपर्छ ।’

अस्पतालमा आमाले अन्तिम समयमा पनि त्यो कुरा उनलाई भनेकी रहिछन् । आमाले राखिदिएको त्यही रकम किरणका लागि ‘हरित विद्यालय अभियान’ को बलियो जग बन्यो ।

सापकोटाका लागि हरित विद्यालय अभियान केवल बिरुवा रोप्ने कार्यमा मात्र सीमित छैन । उनले बालबालिकामा स्वच्छता, ऊर्जा बचत, पानीको सदुपयोग र पुनःप्रयोग, तथा वातावरणमैत्री व्यवहार सिकाउँछन् । यही विषयमा उनी अभियान चलाउँछन् । स्कुलमा जाने, ‘ग्रीन क्लब’ गठन गर्ने, अनि, उनीहरूलाई उक्त विषयमा जानकारी गराउने काम उनी गर्दछन् । विद्यालयहरूमा बिरुवा रोप्दा त्यहाँको माटो र इकोसिस्टम सुहाउँदो रैथाने बिरुवा रोप्ने कुरामा उनी ध्यान दिन्छन् । 

हरित विद्यालय अभियानबाहेक सापकोटा अन्य सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन् । उनी ०७९ सालको राष्ट्रिय खेलकुद परिषद्को पारा पावर लिफ्टिङमा स्वर्ण पदक विजेता हुन् । उनी कर्णाली प्रदेश पारा ओलम्पिक कमिटीको अध्यक्ष पनि हुन् । यसबाहेक रेडक्रस, नेपाल बाल सङ्गठन र सडक सुरक्षासँग सम्बन्धित कामहरू पनि उनी गर्छन् ।

photo (3)

उनले वीरेन्द्रनगरमा पहिलो पटक (०७४) जेब्रा क्रसिङ बनाउने र ब्यानररहित चोक अभियान चलाएका थिए । 

सापकोटा अहिले वीरेन्द्रनगरकै भैरव माविमा कक्षा ११ र १२ का विद्यार्थीहरूलाई अध्यापन गराउँछन् । यही उनको आर्थिक आम्दानीको मुख्य स्रोत हो, जसबाट उनी आफ्नो बुबा, श्रीमती र एउटा छोरासहितको परिवारको लालनपालन गर्छन् । त्यसबाट बचेको रकम लिएर उनी विद्यालयहरूमा पुगेर हरित अभियान चलाउँछन् । उनले कुनै पनि ठाउँबाट आर्थिक सहयोग माग्दैनन्, किनकि हरित अभियान उनको मनको सन्तुष्टिको लागि हो, न कि पैसाका लागि ।

  • ‘अपाङ्गता अवसर हो, अवरोध होइन’

सापकोटाले अपाङ्गतालाई कहिल्यै अवरोध ठानेनन्, बरु अवसरको रूपमा लिए । यसमै उनी दृढ छन् । उनको लक्ष्य छ– कार्बन उत्सर्जन कम गर्ने र हरेक विद्यालयलाई ‘रेजिलिएन्ट स्कुल’ मा परिणत गर्नु ।  यसको अर्थ विद्यालयहरू प्लास्टिकमुक्त हुन्, जलवायु परिवर्तन अनुकूलनका लागि तयार रहुन् ।

‘मेरो सपना छ, यो अभियान हरेक जिल्ला, हरेक विद्यालयमा फैलिएर हरित राष्ट्र र समावेशी समाज निर्माण होस्,’ उनले भने ‘आजको बच्चा भोलिको नेता र निर्माता हो । शिक्षा र वातावरण संरक्षणलाई सँगै जोडेर अघि बढ्नुपर्छ भन्ने मेरो दृढ विश्वास छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप