बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

एकताका लागि मधेसी दलबिच शीर्ष तहमै गृहकार्य

बिहीबार, २३ असोज २०८२, १५ : ३८
बिहीबार, २३ असोज २०८२

सारांश

  • तराई मधेसमा रहेका दलहरू निर्वाचनअघि एकताका लागि गृहकार्य गर्दैछन्।
  • संघीय लोकतान्त्रिक मोर्चाले एकताका लागि निर्णय गरिसकेको छ, र दोस्रो तहका नेताहरूलाई जिम्मेवारी दिइएको छ।
  • जसपा नेपालका नेताहरूले रूपान्तरणसहितको एकताको पहल गरिरहेका छन्, र शीर्ष नेताहरूबीच छलफल भइरहेको छ।

काठमाडौँ । तराई मधेसमा रहेका दलहरूबिच एकताका लागि तीव्र रूपमा गृहकार्य भइरहेको छ । फागुन २१ गते हुने निर्वाचनअघि नै मधेसवादी दलहरूको बिचमा एकता हुने गरी गृहकार्य भइरहेको हो ।  

तराई मधेसको छ वटा दलको संघीय लोकतान्त्रिक मोर्चाले एकताका लागि निर्णय गरिसकेको छ । मोर्चामा जसपा नेपाल, लोसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, तमलोपा, जनता प्रगतिशील पार्टी, राष्ट्रिय मुक्ति पार्टी नेपाल रहेका छन् । 

दलहरूको बिचमा एकताको लागि माहौल बनाउन दोस्रो तहका नेताहरूलाई जिम्मेवारी दिएको छ । ती नेताहरूले पार्टीका शीर्ष नेताहरूसँग भेटेर एकताका लागि अगाडि बढ्न वातावरण बनाइरहेका छन् । 

जसपा नेपालका महासचिव रामकुमार शर्माले बदलिँदो  परिस्थितिमा एकता अपरिहार्य छ, रूपान्तरणसहितको एकता हुनुपर्छ र त्यसका लागि आफूहरूले पहल गरिरहेको बताए । उनले तराई मधेसका दलहरूको शीर्ष नेताहरूलाई भेटेर एकताका लागि पहल भइरहेको छ, नेताहरू सकारात्मक देखिएको बताए । 

शीर्ष नेताहरूको बिचमा पनि एकताका लागि आन्तरिक छलफल पनि भइरहेको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरसँग पटक पटक छलफल गरिसकेका छन् । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोसँग पनि कुराकानी भएको स्रोतले जनाएको छ । 

लोसपा नेपालका महासचिव डा.सुरेन्द्र झाले एकताका लागि दलहरूको बिचमा तीव्र रूपमा गृहकार्य कार्य अगाडि बढेको बताए । उनले एकताको विषय शीर्ष तहमा पनि छलफल सुरु भएको बताउँदै मधेस राजनीतिका लागि एकता अपरिहार्य भइसकेको छ, र कुरा पार्टीका अध्यक्षहरू पनि बुझेर नै छलफलमा जुटेको बताए । 

मधेशवादीहरुमा रूपान्तरणसहितको एकता हुनुपर्ने चर्चा पनि सुरु भएको छ । दलमा रहेका दोस्रो तहका नेताहरू दैनिक जस्तो छलफल गरिरहेका छन् । तर हालसम्म पार्टीका कुनै पनि अध्यक्षले आफूले पार्टी नेतृत्व छाड्छु भनी कसैले भनेका छैनन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप