आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
विचार

जेनजी आन्दोलनपछिको राजनीतिक परिदृश्यमा कांग्रेसको भविष्य

आइतबार, २६ असोज २०८२, १३ : २८
आइतबार, २६ असोज २०८२

सारांश

  • जेनजी आन्दोलनले नेपालको राजनीतिक परिदृश्यमा चुनौती दिएको छ, जसले पुराना दलहरूलाई नैतिक दबाब दिएको छ।
  • आन्दोलन नेतृत्वविहीन र असंगठित थियो, तर यसले सरकारको असफलता, भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धको विरोध गरेको थियो।
  • नेपाली कांग्रेसमा नेतृत्व परिवर्तनको आवश्यकता औंल्याइएको छ, र डा. शेखर कोइराला र गगन थापाबीचको सहकार्यलाई नयाँ ऊर्जाको रूपमा हेरिएको छ।

भदौ २३ र २४ गते जेनजी आन्दोलनपछि बदलिएको नेपालको राजनीतिक परिदृश्यले मुलुकको राजनीतिक धाराप्रवाहलाई गहिरो चुनौती दिएको छ । हिजोआज राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नेपालबारे छलफल, विचारविमर्श, समाचार तथा विश्लेषणको केन्द्र यही आन्दोलन बनेको छ । 

जेनजी आन्दोलनले नेपालका पुराना दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रमाथि मात्र नभई वैकल्पिक शक्ति भनेर चिनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जस्ता दलहरूलाई समेत नैतिक दबाबमा ल्याइदिएको छ । तर मधेश केन्द्रित दलहरूको खेमामा भने तत्कालै ठुलो हलचल भएको छैन । बरु उनीहरूले सम्भावित भविष्यको राजनीतिक परिस्थितिलाई नियाल्दै आन्तरिक एकताको तयारी गरेका संकेतहरु देखिएका छन् । 

यो आन्दोलन राजनीतिक नेतृत्वविहीन र असंगठित रहेको थियो । अझैसम्म यसको आधिकारिक संरचना वा विचारधारागत प्रतिवद्धता सार्वजनिक हुन सकेको छैन । यद्यपि, सरकारको असफलता, पुराना दलका नेताहरूको अक्षमता, व्याप्त भ्रष्टाचार, बेथिति र विशेषगरी सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विरोध स्वरूप यो स्वतःस्फूर्त आन्दोलन भएको स्पष्ट छ । कुनै पनि आन्दोलन वा संगठन नेतृत्वविहीन रहँदा त्यसले लामो समयसम्म उपलब्धि कायम गर्न सक्दैन, बरु मानवीय तथा भौतिक संरचनामा ठुलो क्षति पुर्‍याउँदै अस्थिरता निम्त्याइरहन्छ । 

कुशल नेतृत्वसँग कार्यदिशा, कार्ययोजना र दूरदृष्टि हुन्छ । भिडसँग भने आक्रोश मात्र हुन्छ । त्यसैले नेतृत्वविहीन आन्दोलन कहिलेकाहीँ दुर्घटना र अराजकताको कारक बन्छ । हालको जेनजी आन्दोलन कहीँकतै यही अवस्थाबाट गुज्रिरहेको छ । यसले समस्याहरू उजागर गर्‍यो तर समाधान र भविष्यको स्पष्ट मार्गचित्र अझै दिन सकेको छैन । जेनजी आन्दोलनको नाममा आगजनी, कैदी भगाउने र मानवीय हिंसाको दृष्टान्त नै खरानीको परिदृश्य बनेको हो ।

अर्कोतर्फ, पुराना राजनीतिक दलहरू आफ्नो आन्तरिक संघर्ष र नेतृत्व संकटमै फसेका छन् । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीको विकल्प प्रस्तुत गर्न सक्ने व्यक्तित्व अझै देखा परेका छैनन् । एमाले नेताहरु ईश्वर पोखरेल, सुरेन्द्र पाण्डे, युवराज ज्ञवालीजस्ता नेताहरूले नेतृत्वलाई चुनौती दिने प्रयास त गरेका छन् तर विश्वसनीय वैकल्पिक नेतृत्व बन्न सक्ने स्तरमा पुग्न सकेका छैनन् । उही राष्ट्रवादी ‘ओली बा’ भन्दै दौडिने मात्र हो, ओली नै सर्वस्वीकार्य नेता हुन्, एमालेमा विकल्प खोज्नु भनेकै कारबाही भोग्नु हो । 

नेकपा माओवादी केन्द्रले त हालै दुई दिने बैठक गरेर केन्द्रीय समिति नै भंग गरी फेरि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा संयोजक तोक्ने निर्णय गरेको छ । यसलाई नेतृत्व परिवर्तन नभई केवल नाम परिवर्तन वा सतही सुधारको रूपमा बुझिन्छ । यो प्रचण्डले आफू सुप्रिम बन्ने देखावटी चालबाजी चलेको कदम हो, यसले परिणाम दिँदैन, साधुराम बन्ने हो । 

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाबिच सहकार्य गरेर एकजनाले पार्टीको नेतृत्व गर्ने र अर्कोले सरकारको नेतृत्व गर्ने खालको व्यवस्था गर्न सकिए कांग्रेसमा नयाँ ऊर्जा थपिने छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र पनि नेतृत्वको प्रश्न गम्भीर बनेको छ । यद्यपि पुनर्गठनको आवाज उठाइए पनि रवि लामिछानेको विकल्प देखा परेको छैन । उल्टै नेतृत्वमाथि आलोचना गर्नेहरूमाथि कारबाही गर्ने, मिडिया ट्रायल गर्ने प्रवृत्तिले नेतृ सुमना श्रेष्ठले पार्टी त्याग गर्नुपरेको दृष्टान्त देखाएको छ । यसले रास्वपामा वैचारिक सहिष्णुता र आन्तरिक लोकतन्त्रको अभाव उजागर गरेको छ भने दिशाहीन गतिमा पुगेको दृष्टान्त नै रविन लामिछाने पुनः जेल फर्किनुले बताउँछ । उनी निस्किएपछि जघन्य अपराधको सजाय भोगिरहेका हजारौँ कैदी भागेर देशमा उदण्ड मच्चाइरहेका छन् । 

आम नागरिकले यस घटनाबारे रवि लामिछानेमाथि प्रश्न उठाएका छन् भने रास्वपा छोप्न सक्ने अवस्थामा छैन । एउटा नेपाली उखान ‘चौक्टा खान गएकी बूढी झोलामा डुबेर मरी’ भने झैँ अवस्थामा रास्वपा पुगेको छ ।

मधेशी दलहरूको खेमामा भने तत्काल प्रभाव परेको छैन तर उनीहरूले जेनजी आन्दोलनले उत्पन्न गर्न सक्ने परिस्थिति पहिल्यै देखेर कार्यगत एकताको प्रयास थालेका छन् । उनीहरुले एउटै स्वरमा संघीयता, समानुपातिक समावेशी र गणतन्त्र जोगाउन एकजुट हुनुपर्छ भनी छलफल चलाएका छन् । अब विस्तारै मोर्चाबन्दी बन्ने अवस्थामा उनीहरु पुग्नेछन् । मधेशको राजनीतिक पहाडमा झैँ होहल्ला वा भ्रमित भन्दा पहिचानमा अडिग हुन सक्नेछ ।

नेपाली इतिहासमा नेपाली राजनीतिमा ऐतिहासिक पुरानो दल नेपाली कांग्रेसको अवस्थाबारे अझ विशेष चर्चाको विषय बनेको छ । सभापति शेरबहादुर देउवा स्वास्थ्यलाभमा रहेकाले अधिकारिक धारणा दिन सकिरहेका छैनन् । कांग्रेसमा आन्तरिक बहस बढ्दै गएको छ, विशेष वा नियमित महाधिवेशको पक्षमा हस्ताक्षर संकलन हुँदैछन् । तैपनि पार्टीको आधिकारिक धारणा असोज २६ गतेदेखि बस्ने केन्द्रीय कार्यसमितिको बैठकपछि मात्र स्पष्ट हुने देखिन्छ । 

नेपालको लोकतान्त्रिक इतिहाससँग कांग्रेसको इतिहास पर्यायवाची छ । २००७ सालको जनक्रान्तिदेखि २०३६ सालको जनमत संग्रह, २०४२ सालको सत्याग्रह आन्दोलन, २०४६ सालको जनआन्दोलन, २०६२/६३ सालको दोस्रो जनआन्दोलन, शान्ति प्रक्रिया हुँदै संविधान निर्माणसम्म हरेक निर्णायक मोडमा कांग्रेसले नै नेतृत्व गरेको छ । लोकतन्त्र र कांग्रेस एकअर्काका परिपूरक हुन् भन्ने भनाइ इतिहासकै सन्दर्भबाट पुष्टि हुन्छ । यत्रो लामो इतिहास बोकेको दलमाथि जेनजी आन्दोलनले चुनौती दिएको छ । संकटमा पनि पुर्‍याएको छ । 

कांग्रेस जस्तो ऐतिहासिक लोकतान्त्रिक दलले जेनजी आन्दोलनले दिएको सन्देशलाई अस्वीकार गर्‍यो भने कांग्रेसमाथि नै नैतिक, विवेक र संगठनिक दबाब मात्र नभई लोकतन्त्रको मर्ममाथि नै प्रहर हुनेछ । लोकतान्त्रिक पार्टीमा नेतृत्व परिवर्तनको अवस्था अपरिहार्य बनेको छ । अरु दलले नेतृत्व परिवर्तन गर्न सक्दैनन्, कांग्रेसमा नेतृत्व परिवर्तन हुनेछ भन्ने आधारले पनि फरक दृष्टिले हेरेका छन् । 

जेनजी आन्दोलनले पुराना दलहरूलाई झकझक्याएको छ । उनीहरूको आन्तरिक कमजोरी उजागर गरेको छ र नयाँ नेतृत्वको आवश्यकता औंल्याएको छ । नेपाली कांग्रेससहित सबै दलले यसलाई घृणाको दृष्टिले नभई आशाको दृष्टिले हेर्नुपर्छ ।

जेनजी आन्दोलनले नेपाली कांग्रेसमाथि गहिरो प्रश्नचिन्ह खडा गरिदिएको छ । समीक्षा र पार्टीलाई पुनर्गठन गरी पुनर्जीवन दिन नेतृत्वमाथि दबाब दिएको छ । यो आन्दोलन विगतका आन्दोलनभन्दा भिन्न थियो न कुनै पार्टीको नेतृत्वमा, न कुनै विचारधाराको नाममा, बरु पुराना दल र पुराना नेतृत्वविरुद्ध आम नागरिकको आक्रोशका रूपमा उठेको जमात थियो । यसले कांग्रेसलाई मात्र नभई सबै पुरानो राजनीतिक संरचनालाई नयाँ गन्तव्यतर्फ सोच्न बाध्य बनाएको छ । 

अहिलेको संकट कुनै प्राकृतिक विपत्ति नभई राजनीतिक असफलताको परिणाम भएकाले यसले नेपाली कांग्रेससहित सम्पूर्ण दलका नेतृत्वहरूलाई नैतिक दबाबमा ल्याइदिएको छ । 

कांग्रेसले अब नियमित वा विशेष महाधिवेशन बोलाएर नयाँ नेतृत्व रोज्नु अपरिहार्य भएको छ । वर्तमान सभापति शेरबहादुर देउवाको नेतृत्वमा पार्टी अघि बढ्ने अवस्था छैन भन्ने कुरामा प्रायः सहमति देखिएको छ । अब नयाँ निर्वाचन, नयाँ सन्देश र नयाँ नेतृत्व आवश्यक छ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाबिच सहकार्य गरेर एकजनाले पार्टीको नेतृत्व गर्ने र अर्कोले सरकारको नेतृत्व गर्ने खालको व्यवस्था गर्न सकिए कांग्रेसमा नयाँ ऊर्जा थपिने छ । इतिहास हेर्दा पनि कांग्रेसले हरेक असफलताको क्षणमा नयाँ नेतृत्वमार्फत पुनः उठ्न सफल भएको छ ।

२००७ सालको क्रान्तिपछि मातृकाप्रसाद कोइरालाको असफल भएपछि २००८ सालमा बीपी कोइरालाले नेतृत्व सम्हालेका थिए । २०१२ सालमा विशेष महाधिवेशन गरेर प्रजातान्त्रिक समाजवादको नीति अंगीकार गरियो र त्यसकै बलमा २०१५ सालको आम निर्वाचनमा कांग्रेसले दुई तिहाइ जनमत ल्यायो । २०५६ सालको निर्वाचनमा गिरिजाप्रसाद कोइरालाप्रति आलोचना बढेपछि सन्तनेता कृष्णप्रसाद भट्टराईले निर्वाचनको नेतृत्व सम्हाल्दै बहुमत ल्याएका थिए । यी सबै उदाहरणले देखाउँछन् कि कांग्रेसले नेतृत्व परिवर्तन गर्न सकेको खण्डमा हरेक संकटलाई अवसरमा रूपान्तरण गरेको छ भन्ने मार्ग दिएको हो । आगामी मङ्सिर र पुसभित्रको नियमित वा विशेष महाधिवेशनबाट डा. शेखर कोइरालाको नेतृत्वमा नेपाली कांग्रेस र महामन्त्री गगन थापाको नेतृत्वमा निर्वाचनमा गएको खण्डमा कांग्रेसले जनमत ल्याउन कुनै द्विविधा हुनुपर्दैन ।

अन्तरिम सरकारले प्रतिनिधिसभाको निर्वाचन तोकेको अवस्थामा कांग्रेसले यो अवसरलाई आत्मसुधार र पुनर्गठनको रूपमा लिनुपर्नेछ । गुटीय विवादमा समय खेर फालेर आत्मरक्षा गर्नुभन्दा पार्टी र देशलाई जोगाउन नयाँ नेतृत्व रोज्नु अपरिहार्य छ । जसले असफलता देखायो उसलाई बिदा गरेर नयाँ विचार र क्षमतावान व्यक्तिलाई नेतृत्वमा ल्याउनु पार्टी र लोकतन्त्रको लागि हितकर हुनेछ ।

जेनजी आन्दोलनले पुराना दलहरूलाई झकझक्याएको छ । उनीहरूको आन्तरिक कमजोरी उजागर गरेको छ र नयाँ नेतृत्वको आवश्यकता औंल्याएको छ । नेपाली कांग्रेससहित सबै दलले यसलाई घृणाको दृष्टिले नभई आशाको दृष्टिले हेर्नुपर्छ । कांग्रेसले तत्काल नियमित वा विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व रोजेमा यसले पुनः इतिहास रच्नेछ । तर यदि पुरानो जस्तै ढिलाइ र असफलता दोहोराइयो भने कांग्रेस कागजमै सीमित हुने खतरामा पुग्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सेतेमान तामाङ
सेतेमान तामाङ
लेखकबाट थप