बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

आहा ! फुतफुते झरना

मङ्गलबार, ०४ कात्तिक २०८२, ०८ : ०२
मङ्गलबार, ०४ कात्तिक २०८२

सारांश

  • म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा रहेको फुतफुते झरना मौरिस हर्जोग पदमार्गको एक महत्वपूर्ण गन्तव्य हो।
  • फुतफुते झरनाले पर्यटकलाई यात्राको थकान मेटाउने र प्रकृतिसँग रमाउने अवसर प्रदान गर्दछ, जहाँ दैनिक तीन सय आन्तरिक पर्यटक आउने गर्छन्।
  • अन्नपूर्ण गाउँपालिकाले झरना नजिकै आश्रय स्थल र सार्वजनिक शौचालय बनाएको छ, र यसको पूर्वाधार निर्माण र प्रवर्द्धनका लागि पहल भइरहेको छ।

म्याग्दी । दायाँ र बायाँ अग्ला पहाड । अन्नपूर्ण र निलगिरि हिमालबाट पहाडलाई दायाँ बायाँ बनाएर बगेको मिस्त्री खोला । खोलाको जलप्रवाहले खिइएर बनेको कृतिम नाली जस्तै देखिने साँघुरो खोच । फेदीमा गोलो आकारको निलो ताल । 

झट्ट हेर्दा ढुङ्गेधारा जस्तै देखिने म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको फुतफुते झरना मनमोहक र आकर्षक छ । अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्गको प्रवेश बिन्दुमै पर्ने फुतफुते झरनाको सौन्दर्यमा नरमाउने कमै हुन्छन् ।  

कडा चट्टानलाई बीचमा पानीको बहावले काटेर झर्ने झरनाको पानीको दृश्यले यात्रालाई रोमाञ्चक बनाएको काठमाडौका सुझाव आचार्यले बताए । “अलौकिक र प्राकृतिक फुतफुते झरनामा आउँदा यात्राको थकान मेटियो,” उनले भने “फुतफुते झरना अवलोकन गर्दा प्रकृतिको दाइने आँखाको मोती खसेझै महसुस भयो ।”

काठमाडौँका लक्ष्मण मर्हजनले फुतफुतेलाई अमेरिकाको ‘नाग्रा फल्स’सँग तुलना गरे।  फुतफुते झरनाको वेसान आवाजमा रमाउँदा जलको मोतीमा डुबेको उनले अनुभव सुनाए । ‘मौरिस हर्जोग’ पदमार्गको भ्रमणमा आउने पर्यटकका लागि फुतफुते झरना थकान मेटाउने र प्रकृतिसँग रमाउने थलो बनेको छ । 

“सबै झरना पहाडबाटै बग्ने हुन्, तर यो झरनाले पहाडलाई छेडेर निस्किएजस्तो देखिन्छ,” काभ्रेकी अनुषा तामाङले भने “झरनाको फेदीमा रहेको निलो रङको पानीको तलाउ नियालेर धित नै नमर्ने रहेछ ।” अग्लो पहाडबाट सेतो रंगमा खस्ने झरनाको फेदीमा बनेको निलो रंगको सफा तलाउ मनमोहक छ ।

करिब ५० मिटर उचाइको झरनाको फेदीमा गोलो आकारको तलाउ छ । वनजंगल, एकान्त वातावरण र पहाडको फेदीमा रहेको फुतफुते झरनाको सुन्दरताले यात्राको थकान मेटाउने र मनलाई शान्त बनाएको छ । नीलगिरि र अन्नपूर्ण हिमालबाट आउने मिस्त्रीखोलाको पानी यसै झरना भएर बग्नेगर्छ । 

झरना र फेदीमा रहेको पानीको तलाउमा तस्बिर र भिडियो खिचेर पदयात्रीहरु घण्टौ रमाउने गर्छन् । अन्नपूर्ण हिमालका प्रथम आरोही फ्रान्सका मौरिस हर्जोगले हिमाल आरोहण गर्दा प्रयोग गरेकै बाटो समेटेर तयार भएको यो पदमार्ग नयाँ गन्तब्यको रुपमा विकास भएको छ । दसै यता दैनिक तीन सय जनाको अनुपातमा आन्तरिक पर्यटक भित्रिएका मौरिस हर्जोग पदमार्गका अभियान्त तेज गुरुङले बताए । 

“सामाजिक सञ्जाल ‘फेसबुक’, ‘टिकटक’को फोटो भिडियो र सञ्चार माध्यमहरु मार्फत फुतफुते झरनाको राम्रो प्रचार भएको छ,” उनले भने “दुई वर्षअघि सम्म सुनसान फुतफुते झरनामा अहिले दिनभर पर्यटकको चहलपहल हुन्छ ।” छन् । फुतफुते झरना मौरिस हर्जोग पदमार्गको एक गन्तब्य बनेको छ । 

नारच्याङदेखि हुमखोलासम्म दुई घण्टा गाडी र हुमखोलादेखि एक घण्टा ३० मिनेट पैदल हिँडेपछि फुतफुते झरनामा पुग्न सकिन्छ । धेरै जसो पर्यटकहरु फुतफुते झरना अवलोकन गरेर साँधीखर्क, गुफाफाँट, भुसकेट हुदै अन्नपूर्ण आधार शिविर तर्फ लाग्छन् । हिड्न नसक्नेहरु भने फुतफुते झरना हेरेर फर्कन्छन् ।   

अन्नपूर्ण गाउँपालिकाले गत वर्ष झरना नजिकै आश्रय स्थल र शार्वजनिक शौचालय बनाएको अध्यक्ष भारतकुमार पुनले बताए । फुतफुते झरना लगायत मौरिस हर्जोग पदमार्गको गुरुयोजना बनाएर पूर्वाधार निर्माण र प्रर्वद्धनका लागि प्रदेश र संघीय सरकारसँग पहल गरेको अध्यक्ष पुनले बताए । 

नारच्याङ्का बासिन्दाले त्यहाँ अस्थायी संरचना बनाएर होटल सञ्चालन गरेका छन् । झरनाको फेदीमा रहेको पोखरी मुनी काठको झोलुङ्गे पुल छ । पुलको पारी अर्को सानो झरना छ । दायाँ र बायाँ झरना हेर्दै पुल तर्न सकिन्छ । 

झरनाको नजिकै पोखरीको छेउमै पुगेर र पुल नजिकको ढुङ्गा माथि बसेर अवलोकन गर्नेहरुको भिड लाग्ने गरेको छ । दुर्घटनाको जोखिम भएकाले तलाउको नजिकै नजान र पौडी नखेल्न पर्यटकहरुलाई आग्रह गरिएको छ । 

झरना अवलोकन स्थललाई सुरक्षित र झोलुङ्गे पुलको स्तरोन्नतिको आवश्यकता देखिएको गतहप्ता मौरिस हर्जोग पदमार्गको भ्रमण गरे गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले बताए । 

“गुराँसे डाडादेखि फुतफुते झरनासम्म पुग्ने पदमार्ग निर्माण, झोलुङ्गे पुल स्तरोन्नति र सुरक्षित दृष्य अवलोकन गर्ने ठाउँको आवश्यकता देखियो,” उनले भने “फुतफुते लगायत मौरिस हर्जोग पदमार्गको समग्र पूर्वाधार निर्माण र प्रर्वद्धनमा सरकारसँग समन्वय गर्नेछु ।” 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप