जुम्ली किसानलाई मार्सी धान काट्न चटारो
जुम्ला । खेतमा लटरम्मै पाकेको मार्सी धान काट्न जुम्लाका किसानलाई अहिले यहाँ भ्याइनभ्याइ भएको छ ।
देशभर तिहार पर्वको रौनककाबिच जुम्लाका किसान भने एकाबिहानै धान खेतमा पुगेर बेलुकी अबेरसम्म धान काटेर घर भित्र्याउन व्यस्त हुन परेको चन्दननाथ नगरपालिका–२ का स्थानीय लक्ष्मी कुमाईले बताइन् ।
यहाँका अधिकांश किसान दसैँ सकिएलगत्तै तिहार पर्व पनि नभनी धान काट्न व्यस्त देखिन्छन् ।
कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार जुम्लाको पहिचानका रूपमा रहेको मार्सी धानखेती गर्ने आफ्नै क्यालेन्डर छ, त्यही क्यालेन्डरका आधारमा जिल्लाका किसानहरू धान भित्र्याउन फाँटहरूमा व्यस्त छन् । किसानलाई मौसमले साथ दिएको छ ।
धान चैतमा बीउ राख्ने, जेठदेखि असारसम्म रोपाइँ गर्ने, साउन भदौमा गोड्ने र असोज–कात्तिकभित्र धान काटेर घरमा भित्र्याउने गरेको कार्यालय प्रमुख अधिकारीको भनाइ छ ।
किसानहरू बर्खेबाली धानसहित कोदो, सिमी र फापरलगायतका बालीनाली भित्र्याउने चटारोमा छन् । कृषि कार्यालयका अनुसार आव २०८०/८१ मा जुम्लामा तीन हजार मेट्रिकटन मार्सी धान उत्पादन भएकामा २५० मेट्रिकटन जिल्लाबाहिर निर्यात भएको थियो ।
जिल्लाभर दुई हजार ८५० हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेकामा पछिल्ला वर्षहरूमा क्रमशः मार्सी धान लगाउने क्षेत्रफल घट्दै गएको कार्यालयले जनाएको छ ।
गत वर्ष एक हजार ५०० हेक्टरमा रोपिएको मार्सी धान यस वर्ष भने एक हजार २०० हेक्टरमा मात्र खेती भएको कृषि विकास कार्यालयले जनाएको छ ।
अहिले यहाँका किसानले मार्सी धानसँगै कृषि अनुसन्धान केन्द्रले सिफारिस गरेको धानको जातमध्ये चन्दननाथ–एक र चन्दननाथ–तीन का साथै लेकाली–एक र लेकाली– तीन जातको धान रोप्ने गरेका छन् ।
जुम्ली मार्सी धान पहिचानसँग जोडिएको छ । अहिले मार्सी चामल सदरमुकाम खलङ्गामा प्रतिकेजी १८० रुपैयाँमा किनबेच भइरहेको छ ।
विशेष गरी जुम्ला घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले मार्सी चामल लिन गरेको सदरमुकामस्थित रारालिही अर्ग्यानिक पसलका सञ्चालक अर्जुन बुढाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण