शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

घ्याँसीखर्क र लुलाङ जोड्ने सडक चार महिनापछि सञ्चालन

बिहीबार, ०६ कात्तिक २०८२, ०९ : ११
बिहीबार, ०६ कात्तिक २०८२

सारांश

  • म्याग्दीको घ्याँसीखर्क र लुलाङ जोड्ने सडक चार महिनापछि यातायातका लागि सञ्चालनमा आएको छ।
  • असारमा पहिरो र बाढीले अवरुद्ध सडक धवलागिरि गाउँपालिकाले मर्मत गरेपछि खुलेको हो।
  • स्थानीय तहको पहलमा सडक खुलेपछि स्थानीय बासिन्दालाई आवतजावतमा सहज भएको छ।

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-८ घ्याँसीखर्क र धवलागिरि गाउँपालिका-२ लुलाङ जोड्ने सडक चार महिनापछि यातायातका लागि सञ्चालनमा आएको छ।

गत असार महिनादेखि रघुगङ्गा-७ चिमखोलाको मलाङ पहिरो र धवलागिरि-२ मा रहेको दरखोलामा बाढीको सतह बढेपछि यो सडक खण्ड अवरुद्ध भएको थियो। धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरका अनुसार, दरखोलामा वर्षा रोकिएपछि पानीको सतह घटेकोले ह्युमपाइप राखेर लुलाङ जोड्ने सडकमा यातायात सञ्चालन गरिएको हो। दरखोलामा मोटरेबल पुल नभएकाले बर्खायाममा सडक अवरुद्ध हुने गरेको छ।

त्यसैगरी, राहुघाट नदीमा रहेका जलविद्युत् आयोजनाहरूको सहयोगमा मलाङको पहिरो डोजर प्रयोग गरी पन्छाएपछि चिमखोला हुँदै घ्याँसीखर्क जोड्ने सडकमा पनि यातायात सञ्चालन भएको छ।

स्थानीय तहहरूले विकट क्षेत्रमा पर्ने घ्याँसीखर्क र लुलाङसहित बर्खामा अवरुद्ध भएका सबै सडक मर्मत गरेर यातायात सञ्चालनमा ल्याएका छन्। सडक सञ्चालन भएपछि स्थानीय बासिन्दालाई आवतजावत, निर्माण सामग्री, खाद्यान्न तथा कृषि र पशुजन्य वस्तु ढुवानीमा सहज भएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप