शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
व्यक्तिचित्र

सुकेश्वर पाठकको नजरमा उहिले र अहिलेको पत्रकारिता

शनिबार, ०८ कात्तिक २०८२, ११ : ००
शनिबार, ०८ कात्तिक २०८२

सारांश

  • न्यूरोडको पिपलबोटबाट सूचना गएपछि पत्रकार सुकेश्वर पाठकलाई तत्कालीन अञ्चलाधीशले बोलाएका थिए, र उनलाई एक हप्तासम्म तारेख लिनुपर्‍यो।
  • सुकेश्वर पाठकले पत्रकारितामा भोग्नुपरेका दुःख र उनलाई लागेका आरोपबारे चर्चा गरिएको छ, जसमा उनलाई भारतीय 'रअ' को एजेन्ट समेत भनियो।
  • २०४६ सालपछिको प्रेस स्वतन्त्रताको ग्यारेन्टी भए पनि मानसिकता पञ्चायतकालीन नै रहेको र पत्रकारितामा देखिएका परिवर्तनबारे बताइएको छ।

विश्लेषण साप्ताहिकमा जिलेटिन विस्फोटक पदार्थसम्बन्धी एउटा समाचार छापिएको थियो, न्युरोडको पिपलबोटमा त्यो पत्रिका पुग्नेबित्तिकै सुकेश्वर पाठकलाई तत्कालीन अञ्चलाधीश बबन ठाकुरबाट बोलावट आयो ।

राजा वीरेन्द्रको कार्यकालमा लेखिएको त्यो सामान्य समाचारका कारण सुकेश्वर पाठकले एक हप्तासम्म अञ्चलाधीशको कार्यालयमा गएर तारेख लिनुपर्‍यो, जबकि त्यो समाचार जिल्लाको कुनै पत्रिकाबाट साभार गरिएको थियो । कुन पत्रिकाबाट लिइएको थियो भन्ने कुरा पनि त्यहाँ उल्लेख थियो, तर त्यो समाचार लेख्ने जिल्लाका पत्रिकालाई केही भएन, सुकेश्वर पाठकलाई भने तत्कालीन सरकारले अनावश्यक दुःख दियो ।

महोत्तरी, पिपराका ७४ वर्षीय सुकेश्वर पाठकले भने, ‘त्यतिबेलाका शासकको सूचनाको मुख्य स्रोत नै न्युरोडको पिपलबोट हुन्थ्यो । त्यहाँ पत्रिका बेच्नेहरू नै सरकारका जासुस हुन्थे । बिहान पत्रिका आउनेबित्तिकै कुन पत्रिकामा के–के लेखिएका छन्, ती सबै पढेर उनीहरूले रिपोर्ट गर्थे र त्यही आधारमा पत्रकारलाई कारबाही हुन्थ्यो । मेरो हकमा पनि त्यही भएको थियो, जिलेटिनसम्बन्धी छापिएको समाचारको सूचना न्युरोडको पिपलबोटबाट गयो र तत्कालै अञ्चलाधीश कार्यालयबाट मलाई बोलावट भयो ।’

त्यतिबेलाका शासकले पत्रिका बेच्नेहरूलाई आफ्नो जासुसमात्र होइन, आफ्ना जासुसलाई समेत पत्रकार बनाएका थिए । सुकेश्वर पाठक भन्छन्, ‘त्यतिबेलाका अधिकांश पत्रकार राज्यका जासुस नै हुन्थे । विभिन्न नामका पत्रिका दर्ता गराएर कार्ड बोकेर हिँड्ने गरेको पाइन्थ्यो र यसको झलक न्युरोडमा देख्न पाइन्थ्यो ।’

काठमाडौँ उपत्यकामा प्रकाशन हुने हरेक पत्रिका न्युरोडको पिपलबोटमा पुग्थे । त्यहाँ पत्रिका किन्न तथा पढ्नका लागि हरेक क्षेत्रका मान्छे भेला हुन्थे ।

त्यहाँ काठमाडौँभरका हरेक खालका व्यक्ति साँझ–बिहान पुग्थे । पत्रकारदेखि लिएर जासुससम्मले देशभरका सबै समाचार त्यहाँ पाउँथे । पत्रकारका लागि सबैभन्दा ठुलो सूचनाको स्रोत नै पिपलबोट थियो ।

काठमाडौँ उपत्यकामा प्रकाशन हुने हरेक पत्रिका न्युरोडको पिपलबोटमा पुग्थे । त्यहाँ पत्रिका किन्न तथा पढ्नका लागि हरेक क्षेत्रका मान्छे भेला हुन्थे । देशभरको खबर त्यहीँ पाइन्थ्यो । पत्रिकामा समाचार छापेको आधारमा कैयौँ पटक न्युरोडबाट हिँडेका पत्रकार बाटैमा समातिन्थे ।

  • उच्च शिक्षाका लागि काठमाडौँ

उच्च शिक्षाका लागि काठमाडौँ आएका सुकेश्वर २०२७–२८ सालदेखि पत्रकारितामा संलग्न भएका थिए । उनलाई पत्रकारिता गर्ने रहर वा बाध्यता केही पनि थिएन, तर पत्रकार इन्द्रकान्त मिश्रको संगतका कारण लहलहैमा उनी पत्रकारितामा लागेका थिए । ‘दैनिक नेपाल’ (हिन्दी भाषा) प्रकाशन गरिरहेका इन्द्रकान्त मिश्रको घरमा सुकेश्वर बस्थे ।

पत्रकारितामा रुचि नभए पनि बेलाबेलामा उनले दैनिक नेपाल पत्रिकामा लेख्ने गर्थे, तर बिस्तारै बानी बन्दै गएपछि अरू सबै छाडेर उनी पत्रकारितामै लागे ।

sukeshwer pathak1

सुकेश्वरले भने, ‘ड्रग्सको जस्तै पत्रकारिताको नसा मलाई कतिखेर लाग्यो, थाहै भएन । त्यसमा म यसरी डुबेँ कि सारा संसार नै छाडेँ ।’ आइए सकाएर जागिरका लागि कतै एउटा फाराम पनि भरेका थिएनन् । जागिर गर्नुपर्छ भन्ने कुरा आफ्नो मनमा समेत नआएको उनी बताउँछन् । सुकेश्वरले त्यतिबेला दैनिक नेपाल, नेपाल टाइम्स र नवीन खबरमा एकसाथ काम गर्थे ।

त्यसबाहेक उनी जिल्लाका केही पत्रिकाहरूमा पनि काठमाडौँबाट समाचार पठाउँथे । उनले भने, ‘समाचार लेखनमा जिल्लाभन्दा काठमाडौँमा जोखिम थियो । जिल्लामा जुनसुकै समाचार लेखे पनि खासै मतलब हुँदैनथ्यो, तर छपाइमा प्राविधिक कारणले कुनै शब्द तलमाथि भयो भने त्यसलाई कारबाही हुन्थ्यो ।’

सुकेश्वरका अनुसार त्यतिबेला पत्रिकामा राज्यविरुद्ध केही लेखिएको छ भने त्यो पत्रकारलाई मात्र होइन, पूरै टिमलाई कारबाही हुन्थ्यो ।

विगत स्मरण गर्दै सुकेश्वरले भने, ‘अहिलेको जस्तो सजिलो पत्रकारिता त्यतिबेलाको थिएन । राज्यले कुनबेला समातेर थुनिदिन्छ कि भन्ने भय सधैँ हुन्थ्यो । पत्रिका प्रकाशन भएपछि सबैभन्दा पहिले हतार–हतारमा पत्रकारले पत्रिका पढ्थेँ, एक–एक लाइन पढ्थेँ । कहीँ कतै राज्यविरुद्ध कुनै शब्द वा लाइन प्रयोग भएको छ कि भनी सबै पढिसकेपछि कुनै शङ्का लागेमा वकिललाई सोधेर त्यसको कानुनी आधारहरूमा यकिन गर्थें । कुनै गल्ती भेटिएमा दुई–चार दिन डराई–डराई हिँड्नुपर्थ्यो ।’

  • भयभीत पत्रकारिता

सुकेश्वरका अनुसार त्यतिबेला पत्रिकामा राज्यविरुद्ध केही लेखिएको छ भने त्यो पत्रकारलाई मात्र होइन, पूरै टिमलाई कारबाही हुन्थ्यो । यहाँसम्म कि; कहिलेकाहीँ पत्रिका छाप्ने प्रेसलाई पनि कारबाही हुन्थ्यो । प्रुफ हेर्ने प्रुफ रिडरलाई समेत कारबाही हुन्थ्यो । त्यतिबेलाका पत्रकार शासकबाट निकै त्रसित हुन्थे ।

तर अहिले त्यस्तो अवस्था नरहेको सुकेश्वरले बताए । ‘अहिले पत्रकारहरू शासकभन्दा पनि अन्य तत्त्वबाट बढी असुरक्षित छन् । विगतको भन्दा अहिले पत्रकारहरूको हत्या बढी भएको देखिन्छ,’ उनले भने, ‘तर राज्यभन्दा बढी अन्य क्षेत्रबाट हत्या भएको देखिन्छ । अहिले राज्यबाट पत्रकार त्रसित छैनन् । अन्य क्षेत्रबाट पत्रकारलाई खतरा छ ।’

उतिबेला पञ्चायत पक्षधर पत्रकारहरूले जे गरे पनि हुन्थ्यो, तर प्रजातान्त्रिक र वामपन्थी विचारका पत्रकारहरू जतिबेला पनि शासकको नजरमा हुने गरेको सुकेश्वरले बताए । सामान्य कुनै गल्ती हुनासाथ बोलाएर स्पष्टीकरण सोध्ने गरेको उनले सुनाए ।

एकपटक राष्ट्रिय पञ्चायतका सदस्य विश्वनाथ जयसवालसँग हिन्दी भाषाबारे सुकेश्वरले आफ्नो पत्रिकामा अन्तर्वार्ता छापेका थिए । ‘त्यसको आधारमा तत्कालीन अञ्चलाधीश नरेन्द्र चौधरीले आफ्नो कार्यालयमा बोलाएर स्पष्टीकरण सोध्नुभयो,’ उनले भने, ‘उहाँको कार्यालयमा एक महिनासम्म उपस्थित भएर हाजिर (तारेख) गर्नुपर्‍यो, तर अञ्चलाधीश चौधरीसँग अलिअलि चिनजान भएको कारणले गर्दा तारेखमात्र लिन लगाउनुभयो । यदि अरू कोही भएको भए सायद मलाई जेल नै हाल्थे ।’

सुकेश्वर प्रजातान्त्रिक विचारधाराका पक्षधर पत्रकार थिए । राजावादी पक्षधरका पत्रिकाले उनलाई भारतीय ‘रअ’ को एजेन्ट भनेर समाचार नै बनाएका थिए ।

त्यतिमात्र होइन, राजावादी इतरका पत्रिका छाप्न पनि प्रेसहरू डराउँथे । प्रेसहरूले पत्रिकामा सरकारविरोधी कुनै समाचार छ कि छैन भनी बुझेर मात्र छाप्थे, त्यो पनि डराई–डराई । राजसंस्थाविरोधी पत्रिका फलानो प्रेसले छाप्यो भन्ने थाहा पाएपछि बोलाएर स्पष्टीकरण सोधिन्थ्यो र त्यसलाई कारबाही हुन्थ्यो, प्रेस बन्दसम्मको अवस्था आउँथ्यो ।

  • ‘रअ’को आरोप

सुकेश्वर प्रजातान्त्रिक विचारधाराका पक्षधर पत्रकार थिए । राजावादी पक्षधरका पत्रिकाले उनलाई भारतीय ‘रअ’ को एजेन्ट भनेर समाचार नै बनाएका थिए । त्यतिबेलाको ‘करेन्ट साप्ताहिक’ले पत्रकार सुकेश्वर पाठकसँगै चन्द्रलाल झा र विचित्रबहादुर देवकोटा भारतीय ‘रअ’ का एजेन्ट हुन् भनी समाचार छापेका थिए ।

त्यो समाचार छापेपछि तत्कालीन सरकारले झा र देवकोटालाई पक्राउ गरेको थियो । सुकेश्वर सम्झन्छन्, ‘यसरी समाचार छापेको सूचना न्युरोडको पिपलबोटबाटै गएको थियो । म पिपलबोटमै थिएँ । चन्द्रलाल र विचित्रबहादुरजी न्युरोडबाट हिँड्नुभएको थियो । उहाँहरूलाई बाटैमा पक्राउ गरेको थियो । त्यहाँका साथीहरूले मलाई पनि कतै लुकिहाल्नुस् वा गाउँतिर गइहाल्नुस् भनी सल्लाह दिनुभएको थियो, तर मैले यो पूरै गलत समाचार हो, त्यसमा कुनै सत्यता छैन भने म किन भाग्ने भनी जवाफ दिएँ । तैपनि दुई–चार दिन लुकेर बसेँ ।’

sukeshwer pathak5

सादा पोसाकका प्रहरीहरू त्यतिबेला सुकेश्वरलाई खोज्न उनको डेरामा पटक–पटक गएका थिए, तर भेटिरहेका थिएनन् । सुकेश्वरले भने, ‘मेरो परिवार तथा बच्चाहरूलाई सोधपुछ गर्थे, तर मेरो डेराको अवस्था हेरेर माथि रिपोर्ट गरेछन्– पाठकजी रअको मान्छे हुनै सक्दैन, घरको अवस्था बेहाल छ । त्यसपछि मलाई खोजबिन गर्न छाडेका थिए ।’

२०४६ सालको आन्दोलनताका सुकेश्वरको घरमा धेरैपटक सादा पोसाकका प्रहरीहरू गएका थिए । खासगरी मधेसीमूलका प्रहरीहरू उनको घरमा पठाइएको थियो । विभिन्न केरकार सोधपुछ हुन्थ्यो । ‘मेरो कोठामा उनीहरू विभिन्न बहानामा आउँथे, आउँदा मैले भन्ने गर्थें – तपाईंहरू बेकारमा आफ्नो समय खेर फाल्नुहुन्छ, मेरो कोठामा तपाईंहरू केही पाउनुहुन्न । यति भन्दा पनि उनीहरू आउन छाडेका थिएनन्,’ ती दिनहरूबारे सुकेश्वरले भने ।

  • २०४६ पछिको अवस्था

आन्दोलन सफल भएपछि मात्र राज्य आतङ्कबाट मुक्ति पाएको उनले बताए । पञ्चायतअघि राज्यको प्रत्यक्ष आतङ्क थियो भने २०४६ को आन्दोलनपछि अप्रत्यक्ष र राजनीतिक परिवर्तन भएर ऐन–कानुन बनाएर प्रेस स्वतन्त्रताको ग्यारेन्टी भए पनि मानसिकता त्यही पञ्चायतकालीन थियो ।

पुराना पत्रकारमध्ये सुकेश्वर मात्र मधेसका पत्रकार थिए । मधेसका कुनै गतिविधि हुँदा उनलाई नै सम्झन्थे । त्यतिबेला नेपाल सद्भावना पार्टी मात्र सक्रिय थियो ।

त्यतिबेला राजवादी र प्रजातान्त्रिक विचारधाराका पत्रकार दुई कित्तामा थिए । तर २०४६ को परिवर्तनपछि मधेसी–पहाडीबिच विभेद चरम थियो । सुकेश्वरले भने, ‘म डेमोक्रेट तथा नेपाल–भारत सम्बन्धको विषयमा कलम चलाउँथे । मधेसी भएकै कारण मधेसका केही कुरा आउनु स्वाभाविक थियो, यति कुराले ममाथि विभेद हुन्थ्यो ।’

पुराना पत्रकारमध्ये सुकेश्वर मात्र मधेसका पत्रकार थिए । मधेसका कुनै गतिविधि हुँदा उनलाई नै सम्झन्थे । त्यतिबेला नेपाल सद्भावना पार्टी मात्र सक्रिय थियो । सुकेश्वर गजेन्द्रनारायण सिंहको सम्पर्कमा थिए । पछि उनी त्यो पार्टीमै आबद्ध भए, तर उनी पार्टीमा कहिल्यै सक्रिय भएनन् । उनी गजेन्द्रनारायण सिंहलाई भन्ने गर्थे, ‘म पत्रकार हुँ । मलाई पत्रकार नै रहन दिनुहोस्, मलाई नेता नबनाउनुहोस् । कहिलेकाहीँ तपाईंहरूका विरुद्धमा पनि मैले समाचार लेख्नुपर्छ ।’

पाठकको कुरा सुनेर गजेन्द्रनारायण सिंह हाँसेर जबाफ दिन्थे, ‘तपाईंलाई समाचार लेख्न कसले रोकेको छ र ? तपाईंलाई लागेको समाचार लेखिरहनुभएको छ ।’ सुकेश्वरले कहिलेकाहीँ नेपाल सद्भावना पार्टीविरुद्ध पनि समाचार लेख्थे । त्यसले गर्दा पार्टीमा त्यसको विरोध हुन्थ्यो । ‘विश्लेषण साप्ताहिक नेपाल सद्भावना पार्टीको पत्रिका हो भन्छन्, तर विरोधमा पनि समाचारहरू आइरहेका छन्’ भनेर सुकेश्वरको आलोचना पनि हुन्थ्यो ।

सुकेश्वर नवीन खबरमा काम गरिरहँदा २०४० मा विश्लेषण साप्ताहिक दर्ता गराएका थिए । नवीन खबरको आफ्नै प्रेस थियो, त्यही प्रेसमा विश्लेषण पत्रिका पनि छापिन्थ्यो । नवीन खबरमा काम गरेका कारण सुकेश्वरलाई पत्रिका छापेबापतको रकम तिर्नु पर्दैनथ्यो ।

पत्रिका दर्ता गराउनुको कारणबारे उनले भने, ‘आफूलाई लागेको कुरा दिल खोलेर राजेश्वर नेपालको लोकमत पत्रिकामा लेखिन्थ्यो, तर राज्यले त्यसलाई बन्द गराएपछि मैले विश्लेषण साप्ताहिक पत्रिका दर्ता गराएको थिएँ ।’

सुकेश्वर २०७६ सालसम्म लगातार पत्रकारितामा सक्रिय रहे । उनले आफैँ रिपोर्टिङ गर्नेदेखि लिएर पत्रिकाको डिजाइनसम्मको काम गरेका थिए ।

२०४६ को परिवर्तनपछि सुकेश्वरले विश्लेषणलाई हिन्दी भाषामा प्रकाशन गर्न थालेका थिए । त्यसरी हिन्दीमा पत्रिका प्रकाशन गर्न थालेपछि उनलाई विभिन्न आरोप लागिरहेको थियो, तर ती सबैको सामना गर्दै पाँच–छ वर्ष त्यही भाषामा चलाए । तर एकदिन गजेन्द्रनारायण सिंहले विश्लेषण साप्ताहिक पत्रिका आफूले सञ्चालन गरेको भनेका थिए । हिन्दीमा प्रकाशन भइरहेका कारण गजेन्द्रनारायणको दाबी थियो ।

त्यो कुरा पार्टीकै एक जनाले सुकेश्वरलाई सुनाएपछि त्यही दिनदेखि उनले नेपाली भाषामा पत्रिका प्रकाशन गर्न थालेका थिए ।

सुकेश्वर २०७६ सालसम्म लगातार पत्रकारितामा सक्रिय रहे । उनले आफैँ रिपोर्टिङ गर्नेदेखि लिएर पत्रिकाको डिजाइनसम्मको काम गरेका थिए । तर कोरोनाका कारण बन्द भएको पत्रिका उनले पुनः प्रकाशन गर्न सकेनन् ।

सुकेश्वरले भने, ‘कोरोनामा एक–दुई महिना नै पत्रिका बन्द भयो । फेरि प्रकाशन गर्छु भन्ने विचार गरेँ, त्यसपछि म आफैँ अस्वस्थ भएँ । अनि पत्रिका प्रकाशन गर्ने आँट आएन ।’

घुँडासम्बन्धी समस्याले घरमै बसेका उनी सामान्य हिँडडुलबाहेक कतै जान सकेका छैनन् । कहिलेकाहीँ त पत्रिका प्रकाशन गरौँ भनी जोश उनलाई नआएको पनि होइन, तर हिँडडुल नै गर्न नपाएपछि पत्रिका निकालेर के काम ? नेपालको पत्रकारिताको अवस्था झन्–झन् बिग्रँदै गएकोमा भने उनी चिन्ता गरिरहन्छन् । उनले भने, ‘पञ्चायतकालमा राज्यले दमन गरे पनि पत्रकारले सत्य लेख्न डराउँदैनथे, तर अहिलेको पत्रकारितामा सत्यको सौदाबाजी हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एसके यादव
एसके यादव

एसके यादव रातोपाटीमा राजनीतिक तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप