लोपोन्मुख अवस्थामा रैथाने अनदी धान, हाइब्रिडको खेतीले रैथाने बाली विस्थापित
सारांश
- कञ्चनपुरमा स्वादिलो र सांस्कृतिक महत्व बोकेको अनदी धान लोपोन्मुख अवस्थामा पुगेको छ, जसको मुख्य कारण उन्नत जातका धानको बढ्दो प्रयोग हो।
- किसानहरूले अनदी धानको सट्टामा बढी उत्पादन दिने हाइब्रिड धान रोप्न थालेपछि पुरानो धान लोप हुने अवस्थामा पुगेको छ।
- कृषि विज्ञहरूका अनुसार रैथाने धान जलवायु परिवर्तनका लागि उपयोगी हुन सक्छ, यसको संरक्षण आवश्यक छ।
कञ्चनपुर । रैथाने धानका जातमध्येकै स्वादिलो र सांस्कृतिक मूल्य बोकेको अनदी धान यहाँ लोपोन्मुख अवस्थामा पुगेको छ । बढी फल्ने वर्णशङ्कर (हाइव्रिड) र उन्नत जातका धानको खेतीलाई किसानले बढावा दिन थालेपछि रैथाने अनदी धान लोपोन्मुख अवस्थामा पुगेको हो ।
सिमलफाँटाका किसान धनबहादुर चौधरी ढिकीमा कुटेको अनदी धानको चिउराको मिठो स्वाद अझै बिर्सन नसकिने बताउँछन् । उनी भन्छन्, “सानो उमेरमा चुलोमा अनदीको धान भुटेर ढिकीमा कुटेर तयार गरिएको चिउरा खाएको सम्झना अझै ताजा छ । अनदीको चिउरा निकै मिठो हुन्थ्यो, स्कुल जाँदा खल्तीभरी त्यही चिउरा भरेर खाँदै पुग्ने गर्थ्यौँ, ती दिन अब सम्झनामा मात्रै बाँकी रहे ।” अहिले अनदी धान पाउनै मुस्किल हुन थालेको उनी बताउँछन् । बढी उत्पादन दिने हाइब्रिड र उन्नत जातका धानको आकर्षणमा परेर किसानले अहिले अनदी धानको खेती छाडेको उनी बताउँछन् ।
परदेशी डगौराका अनुसार थारु समुदायमा अटवारी पर्वका बेला भगवानलाई अर्पण गरिने रोटी प्रायः अनदी धानकै चामलबाट बनाइन्थ्यो । “मिसौला, चिउरा, रोटी जस्ता परिकारमा यसको प्रयोग हुने गर्दथ्यो,” उनले भने, “अनदीको चामलको जाँड निकै मिठो हुने भएकाले सबै भन्दा बढी रुचाइन्थ्यो, अब यो धानको बीउ पाउनसमेत मुस्किल भइसक्योे ।” भात लसिलो र स्वादिलो हुने भएकाले बाफमा पकाएर खाने चलन रहेको उनको भनाइ छ । “यसको चामलको खिर निकै स्वादिलो हुने भएकाले महिनामा एक पटक बनाइन्थ्यो, परिवारका सबैजना बसेर खान्थ्यौँ,” उनले भने । अहिलेका धानको चामलको खिर अनदीको चामलको जस्तो नहुने गरेको उनको अनुभव छ ।
जोनापुरका किसान रामप्रसाद चौधरीका अनुसार अनदी धान थोरै पानीमा पनि सुख्खा क्षेत्रमा राम्रो उत्पादन दिने जात हो । उनी भन्छन्, “यो धान हामीले बीउको रूपमा जोगाउन सके, अहिलेको जलवायु परिवर्तनका चुनौतीबिच पनि खेतीका लागि उपयुक्त हुनसक्छ ।”
किसान रामकिसान रानाका अनुसार “पहिले अनदी धान कम्तीमा एक–दुई क्यारीमा अनिवार्य रूपमा लगाउने गर्थ्यौँ, अहिले त हाइब्रिड धानका कारण बीउ नै पाउन गाह्रो भएको छ ।” उनीका अनुसार यो धान किसानले लगाउन छाड्दै जान थालेको झन्डै एक दशक बढी नै बित्न लागेको छ ।
अनदीसहित थुप्रै रैथाने प्रजातिका धान हराउँदै गएका छन् । रैथाने प्रजातिका निमै, सिमटारी, राइमनुवा, अञ्जना, मन्सुली, थापाचिनी, चाइना लगायतका थुप्रै धान हराउँदै गएका छन् । यी जातहरू माटो, हावापानी र वातावरणसँग अनुकूलित भएकाले उत्पादन स्थिर, स्वादिलो र जैविक दृष्टिले मूल्यवान् रहेको किसानहरूको भनाइ छ ।
कृषि अगुवा पल्टु डगौराका अनुसार, नयाँ धानका जात तयार गर्दा रैथाने धानको प्रयोग गर्न सके उत्पादन बढाउनेसँगै वातावरणीय सहनशिलतामा पनि सुधार ल्याउन सकिन्छ । रैथाने जातका धान खडेरी, सुख्खा र डुबानमा पनि हुर्कन सक्ने भएकाले दिगो कृषि प्रणालीका लागि महत्वपूर्ण स्रोतका रूपमा रहने उनले उल्लेख गरे ।
पछिल्ला वर्षमा बजारमुखी कृषि प्रणाली र उच्च उत्पादनमुखी प्रवृत्तिले मौलिक बीउहरूलाई विस्थापित गरेको कृष्णपुर नगरपालिकाको कृषि शाखाका प्रमुख लालबहादुर धामी बताउँछन् । “यसले जैविक विविधता मात्र होइन, नेपाली समाजको परम्परागत खानपान र संस्कृतिलाईसमेत प्रभावित बनाएको छ,” उनी भन्छन्, “रैथाने बीउको संरक्षणमा जोड नदिए यो जात सधैँका लागि हराउने खतरा छ, स्थानीय तह, कृषि अनुसन्धान केन्द्र र समुदायबिच सहकार्य गरी बीउ सङ्कलन, संरक्षण र पुनःउत्पादनको अभियान चलाउनुपर्ने देखिन्छ ।” अनदीलगायत रैथाने धानको बीउ खोजी, सङ्कलन गरी किसानलाई पुनःखेती सुरु गर्न उत्प्रेरित गर्नुपर्नेमा उनको जोड छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तराईलाई गर्मीबाट केही राहत : काठमाडौँसहित यी सहरमा मध्यम वर्षा
-
जनशक्तिको अभाव झेल्दै औषधि व्यवस्था विभाग : गुनासो आउँछन्, कारबाही हुँदैन
-
बसुन्धारामा रहेको गार्मेन्टमा आगलागी, ८ करोड बराबरको क्षति
-
दल त्याग गरेपछि एमालेबाट निर्वाचित ८ वडाध्यक्षको पद रिक्त (सूचीसहित)
-
प्रतिनिधिसभाको बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे विपक्षी दलहरू छलफलमा
-
मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाको रवाफ : परिवर्तित खेलाडीका रूपमा मैदान छिरेका मेस्सीको सनसनीपूर्ण प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण