इजरायली सैनिक र तालिमप्राप्त कुकुरद्वारा प्यालेस्टिनी बन्दीहरूमाथि योजनाबद्ध यौन हिंसा
सारांश
- इजरायली सेना र तालिमप्राप्त कुकुरहरूको प्रयोग गरी प्यालेस्टिनी बन्दीहरूमाथि योजनाबद्ध यौन हिंसा र बलात्कार हुने गरेको खुलासा भएको छ ।
- अल जजिराको वृत्तचित्रमा हिरासतमुक्त भएका प्यालेस्टिनी नागरिकहरूले आफूहरूमाथि भएको सामूहिक बलात्कार र कुकुरद्वारा यौन उत्पीडनको निकै बिझाउने विवरण सार्वजनिक गरेका छन् ।
- अन्तर्राष्ट्रिय फौजदारी अदालत, संयुक्त राष्ट्रसङ्घ र मानव अधिकारवादी संस्थाहरूले इजरायली सेनाद्वारा प्यालेस्टिनीहरूविरुद्ध बलात्कार र यौन यातनालाई व्यापक र व्यवस्थित हतियारको रूपमा प्रयोग भइरहेको पुष्टि गरेका छन् ।
तेल अभिभ । इजरायली सेनाको नियन्त्रणमा रहेका प्यालेस्टिनी बन्दीहरूमाथि संगठित र योजनाबद्ध रूपमा गम्भीर यौन हिंसा तथा बलात्कार हुने गरेको खुलासा भएको छ ।
अल जजिराले निर्माण गरेको ‘बडिज अफ एभिडेन्स: इजराएल्स डार्केस्ट वेपन’ नामक वृत्तचित्रमा अनुसन्धानका क्रममा हिरासतमुक्त भएका प्यालेस्टिनी नागरिकहरूले आफूहरूमाथि इजरायली सैनिक र तालिमप्राप्त कुकुरहरू प्रयोग गरेर बलात्कार गरिएको निकै बिझाउने विवरण सार्वजनिक गरेका हुन् ।
गाजाका सरकारी कर्मचारी मुहम्मद अल–बक्रीले आफूमाथि भएको सामूहिक बलात्कारको त्यो कालो दिनलाई कहिल्यै बिर्सन सक्दैनन् । सन् २०२४ अप्रिल १० तारिखका दिन इद उल फितरको विदा मनाइरहेका बेला उनलाई इजरायली सैनिकहरूले पक्राउ गरेका थिए ।
एक महिना लामो कुटपिट, यातना र हतकडीको सास्तीपछि त्यो दिन उनलाई ६–६ जना सैनिक र तिनीहरूका पहरेदार कुकुरहरूले घेरेका थिए । अल–बक्रीका अनुसार उनीसहित सातजना कैदीहरूलाई लुगा फुकाल्न लगाएर, आँखामा पट्टी र हातमा हतकडी बाँधेर भुइँमा पछारिएको थियो र इजरायली सैनिकहरूले हाँस्दै तथा भिडियो खिच्दै पालैपालो बलात्कार गरेका थिए ।
त्यति मात्र नभई, अधिकारीहरूको आदेशमा तालिमप्राप्त कुकुरहरूलाई समेत कैदीहरूको यौन उत्पीडनका लागि प्रयोग गरिएको उनले बताएका छन् । करिब आधा घण्टासम्म चलेको सो अमानवीय कृत्यपछि मात्र उनीहरूलाई कपडा लगाउन दिएर जेल फर्काइएको थियो ।
यो कारुणिक कथा अल–बक्रीको मात्र होइन । डकुमेन्ट्रीमा ‘जोब’ नाम दिइएका अर्का मध्ययम वर्गीय प्यालेस्टिनी मजदुरले पनि आफूमाथि महिला इजरायली सैनिकहरूले गरेको बलात्कारको घटना सुनाएका छन् । उनका अनुसार हातगोडा बाँधेर भुइँमा लडाएपछि महिला सैनिकहरूले कृत्रिम वस्तुहरूको प्रयोग गरी उनको बलात्कार गरेका थिए भने वरपरका अन्य सैनिकहरूले ताली बजाउँदै त्यसको भिडियो खिचेका थिए । सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणको बारेमा सोधपुछ गर्ने बहानामा आफूहरूलाई यस्तो यातना दिइएको पीडितहरूको भनाइ छ ।
अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) का न्यायाधीशहरू, संयुक्त राष्ट्रसङ्घ र प्यालेस्टिनी क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घकी विशेष प्रतिवेदक फ्रान्सेस्का अल्बानिजले इजरायली सेनाद्वारा प्यालेस्टिनीहरूविरुद्ध बलात्कार र यौन यातनालाई व्यापक र व्यवस्थित हतियारको रूपमा प्रयोग भइरहेको पुष्टि गरेका छन् । प्यालेस्टिनी सेन्टर फर ह्युमन राइट्स (पीसीएचआर) र यूरो–मेड ह्युमन राइट्स मनिटर जस्ता अधिकारवादी संस्थाहरूले पनि इजरायली जेलमा कुकुरको प्रयोग गरेर बन्दीहरूको बलात्कार गरिएका थुप्रै प्रमाण र गवाहीहरू सङ्कलन गरेका छन् ।
सन् २०२५ मार्चमा सार्वजनिक भएको संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनले अक्टोबर ७ को घटनायता इजरायलले व्यवस्थित रूपमा यौन र लैङ्गिक हिंसालाई बढावा दिएको औँल्याएको छ । सोही कारण इजरायललाई राष्ट्रसङ्घको ‘द्वन्द्वग्रस्त क्षेत्रमा यौन हिंसा फैलाउनेहरूको कालोसूची’ मा समेत थपिएको छ । ह्युमन राइट्स वाच, एम्नेस्टी इन्टरनेसनल र इजरायली मानवअधिकारवादी संस्था बिट्सेलेमले पनि इजरायली सुरक्षा बलभित्र प्यालेस्टिनी कैदीहरूमाथि यौन हिंसा गर्ने संस्कृति नै व्याप्त रहेको उल्लेख गरेका छन् ।
यति ठुला र गम्भीर आरोपहरू लाग्दा र प्रमाणहरू बाहिरिँदा समेत अहिलेसम्म कुनै पनि इजरायली सैनिक वा गार्डलाई यौन दुर्व्यवहारको मुद्दामा सजाय दिइएको छैन । सन् २०२४ जुलाईमा नेगेभ मरुभूमिमा रहेको सदे तेइमान हिरासत क्याम्पमा एक प्यालेस्टिनी कैदीलाई सामूहिक बलात्कार गरिएको भिडियो सार्वजनिक भएपछि १० जना इजरायली अधिकारीहरूलाई पक्राउ गरिएको थियो ।
तर, इजरायलका दक्षिणपन्थी प्रदर्शनकारी र सांसदहरूले नै उनीहरूलाई छुटाउन हिरासत केन्द्रमा आक्रमणको प्रयास गरेका थिए । अन्ततः गत जुलाईमा इजरायलले ती सबै बलात्कारी गार्डहरूमाथिको आरोप खारेज गरिदियो । उल्टो सो बलात्कारको भिडियो चुहाएको आरोपमा महिला सैन्य अधिकारी मेजर जनरल यिफात तोमेर–येरुशल्मीलाई पक्राउ गरियो । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले त सैन्य बलात्कारको भिडियो बाहिर ल्याउनुलाई देशको स्थापनापछिकै ‘सबैभन्दा गम्भीर पीआर आक्रमण’ को संज्ञा दिएका थिए ।
इजरायली संसद्मा सन् २०२४ जुलाईमा ‘के कैदीहरूलाई बलात्कार गर्नु जायज हो ?’ भनी सोधिएको प्रश्नमा नेतान्याहुको लिकुड पार्टीका सांसद हानोच मिल्विड्स्कीले चर्को स्वरमा ‘हो, यदि ऊ हमास लडाकु हो भने जे गर्न पनि छुट छ’ भन्दै खुला रूपमा बलात्कारको वकालत गरेका थिए ।
यस प्रकारको चरम क्रूरता र अमानवीयता पछाडि इजरायली समाजमा प्यालेस्टिनीहरूलाई ‘मान्छे’ कै रूपमा नहेरिने मानसिकताले काम गरेको समाजशास्त्रीहरूको विश्लेषण छ । इजरायलका तत्कालीन रक्षामन्त्री योआभ गालान्टले प्यालेस्टिनीहरूलाई ‘मानवरूपी जनावर’ भन्दै गज्जामा पूर्ण नाकाबन्दीको घोषणा गरेका थिए भने अर्थमन्त्री बेजालेल स्मोट्रिच र राष्ट्रिय सुरक्षा मन्त्री इतामार बेन–गभिरले निरन्तर रूपमा प्यालेस्टिनी समाजलाई अपराधी र आतंकवादीको रूपमा चित्रण गर्दै आएका छन् ।
लिभरपुल जोन मूर्स युनिभर्सिटीका प्राध्यापक एवं आईसीसीमा गज्जाका पीडितहरूको प्रतिनिधित्व गर्ने कानुनी टोलीका सदस्य ट्रिएस्टिनो मारिनिएलोका अनुसार अन्तर्राष्ट्रिय कानुनमा एक्लाएक्लै गरिने यौन हिंसा र राज्यको तर्फबाट योजनाबद्ध रूपमा गरिने हिंसामा ठुलो फरक हुन्छ । सैन्य र सरकारी हिरासत केन्द्रहरूमा यस्ता अपराधहरू हुनु र अपराधीहरूलाई कुनै सजाय नहुनुले यसको पछाडि संस्थागत नीति रहेको स्पष्ट पार्छ, जसलाई ‘मानवता विरुद्धको अपराध’ मानिन्छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अक्टोबर २०२५ मा लागू गराएको कागजी युद्धविरामका बाबजुद पनि गज्जा र वेस्ट बैंकमा प्यालेस्टिनीहरूमाथिको दमन, विस्थापन र कारागारभित्रको यौन यातनाको शृङ्खला अझै रोकिएको छैन । अल्बानिजका अनुसार सामूहिक र व्यवस्थित रूपमा गरिने यस्तो यौन हिंसाको उद्देश्य केवल पीडा दिनु मात्र नभई, पीडितको आत्मसम्मान र पहिचानलाई नै पूर्ण रूपमा नष्ट गरेर एउटा सिंगो मानव समुदायलाई नै समाप्त पार्नु हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीमा तातो कफी पिउनुको यस्ता छन् फाइदा
-
तीन कारण देखाउँदै रास्वपाले गर्यो बागमती प्रदेश अधिवेशन अस्थायी स्थगन
-
विभिन्न मागसहित नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाको धर्ना (तस्बिरहरू)
-
विश्वकप २०२६ को उद्घाटन समारोह : कहिले हुन्छ सुरु, को-को गर्दैछन् प्रस्तुति ?
-
संस्थापनले सहमतिका लागि कुनै प्रस्ताव पठाएको छैन : डा.शेखर कोइराला
-
‘धरौटी होइन, प्रभावकारी नियमन गर’ भन्दै फेकनद्वारा मन्त्रालय र दलका नेताहरूलाई ज्ञापनपत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण