मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

इङ्ग्ल्याण्ड भर्सेस स्वीडेन : घर फर्किएला विश्वकप ?

शनिबार, २३ असार २०७५, १४ : ४२
शनिबार, २३ असार २०७५

काठमाडौँ । इङ्ग्ल्याण्ड र स्वीडेन तेस्रो क्वाटरफाइनलमा भिड्दैछन् । विश्वकपमा यी दुई टोलीबीच तेस्रो भिडन्त हुनेछ ।

दुवै अनौठो टोली

इङ्ग्ल्याण्ड विश्वकपको एउटा मात्र यस्तो टोली हो जसमा सबै खेलाडी घरेलु लिगमा खेल्छन् । जसको अर्थ टोलीका सबै २३ खेलाडी इङ्ग्ल्याण्डमा नै व्यवसायीक फुटबल खेल्छन् ।

उता, स्वीडेनको टोली ठीक उल्टो छ । सेनेगलपछि स्वीडेनमात्र यस्तो टोली हो जसका सबै खेलाडी देशबाहिरको लिगमा खेल्ने गरेका छन् । टोलीका कुनै पनि खेलाडी स्वीडिस लिगमा खेल्दैनन् ।

भूमण्डलीकरणको जमानामा अझै पनि इङ्ग्लिस खेलाडीहरु देशबाहिर खेल्न अनिच्छुक देखिएका छन् । यो उनीहरुको लागि फाइदाजनक पक्ष हुन सक्छ किनभने उनीहरुले एकअर्काको खेललाई राम्रोसँग चिन्दछन् । उदाहरणको लागि हाल इङ्ग्ल्याण्डको टोलीमा रहेका पाँच खेलाडी टोटनहम हटस्पर्सबाट खेल्छन् ।

तर, स्वीडेनलाई हराउन सजिलो छैन 

आजको खेलमा इङ्ग्ल्याण्डले जित्नेमा धेरैको विश्वास छ तर स्वीडेन यसबाट कत्ति पनि आत्तिने छैन । जर्मनी, मेक्सिको र दक्षिण कोरिया भएको समूह एफबाट यो टोली नकआउट चरणमा पुग्छ भन्ने धेरैले विश्वास गरेका थिएनन् ।

जब टोनी क्रुसले खेलको अन्तिम मिनेटमा उत्कृष्ट फ्रिकिक गर्दै स्वीडेनविरुद्ध जर्मनीलाई जीत दिलाए, सबैलाई लागेको थियो मेक्सिको र जर्मनी अर्को चरणमा पुग्छन् । तर, ठीक उल्टो भयो ।

स्वीडनेले मेक्सिकोलाई ३–० ले हरायो भने जर्मनी दक्षिण कोरियासँग पराजित हुनपुग्यो । स्वीडेन समूह विजेता बन्यो ।

उनीहरुको विश्वकप यात्रा पनि उत्कृष्ट थियो । छनौटमा नेदरल्याण्डलाई पछि पार्यो भने प्लेअफमा इटालीलाई स्तब्ध बनायो । जबकी इटालियन टोलीले दुवै लेगमा गोल गर्न सकेन ।

स्वीडेन भलै अन्डरडग हो तर विश्वकपमा उनीहरुको पछिल्लो प्रदर्शन हेर्ने हो भने त्यो उत्तिकै राम्रो छ । सन् १९९० देखि यो टोली सधैँ नकआउट चरणमा पुगेको छ भने सन् १९९४ मा तेस्रो भएको थियो ।

इङ्ग्ल्याण्डलाई पेनाल्टी मनपर्छ
यो विश्वकप अघि कुनै पनि इङ्ग्ल्याण्डको समर्थकले यो भनाईमा सहमति जनाउँदैनन् थिए होला । इङ्ग्ल्याण्ड सन् १९९०, १९९८ र २००६ मा पेनाल्टीमा हार्दै विश्वकपबाट बाहिरिएको थियो । युरोपियन च्याम्पियनसीपमा पनि हालत उस्तै छ । इङ्ग्ल्याण्ड सन् १९९६, २००४ र २०१२ मा पेनाल्टीमा पराजित भएरै बाहिरिएको थियो । इटालीमात्र यस्तो टोली हो जसले ती प्रतियोगितामा इङ्ग्ल्याण्ड जतिकै पेनाल्टीमा हार बेहोरेको छ । तर, उनीहरुले इङ्ग्ल्याण्डभन्दा बढी खेल जितेका पनि छन् ।

यद्यपि, अन्तिम १६ मा कोलम्बियालाई हराएपछि इङ्ग्ल्याण्डलाई त्यो ‘श्राप’ तोडिएको लागिरहेको होला । इङ्ग्ल्याण्डले विश्वकपमा पहिलो पटक पेनाल्टी मात्र जितेको छैन चार खेलमा तीनवटा पेनाल्टी पाएको छ । कप्तान तथा स्टार खेलाडी ह्यारी केनले सबैलाई गोलमा परिणत गरेका छन् ।

स्वीडेनसँग स्टार पावरको कमी

यो टोलीसँग धेरै घरेलु स्टार छैनन् । यसमा एलए ग्यालेक्सीका स्टार ज्लाटान इब्राहिमोवीच पनि रहेका छन् । उनले अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिइसकेका छन् । उनीहरुको टोलीका धेरै खेलाडी युरोपका धेरै लिगमा खेल्छन् तर युरोपका उत्कृष्ट टिमका लागि कमै खेल्छन् ।

उनीहरुको शक्ति भनेको उनीहरुको एकताबद्ध भएर खेल्ने शैली नै हो । उनीहरु निकै व्यवस्थित छन् र उनीहरुलाई हराउन गाह्रो हुनेछ । स्टार पावर नभएपनि उनीहरुसँग कप्तान आन्द्रेस ग्राङ्कभिस्ट र एमिल फ्रोसबर्गजस्ता राम्रा खेलाडी छन् ।

होम कमिङ ?
समाजिक सञ्जाल र इङ्ग्ल्याण्डका समर्थकबीच चर्चा छ, विश्वकप यसपटक ‘घर आउँदैछ’ । यो सुन्दर खेलको आविस्कारकर्ताले पछिल्ला प्रतियोगिताहरुमा राम्रो प्रदर्शन गर्न सकेको छैन । सन् २००६ को विश्वकपपछि  इङ्ग्ल्याण्डले जितेको पहिलो नकआउट खेल कोलम्बिया बिरुद्धकै थियो ।

यता, ड्रमा इङ्ग्ल्याण्ड भाग्यमानी पनि देखिएको छ । तेस्रो वरियताको बेल्जियमसँगको खेल बाहेक इङ्ग्ल्याण्डको फाइनलसम्मको यात्रा तुलनात्मकरुपमा सजिलो देखिएको छ । 

तथ्याङ्क के भन्छ ?
 

हेड टु हेड
– स्वीडेन र इङ्ग्ल्याण्डबीच यो २५ खेल हुनेछ भने विश्वकपमा तेस्रो भिडन्छ हुनेछ ।
– यसअघिका २४ खेलमध्ये स्वीडेनले ७ र इङ्ग्ल्याण्डले ८ खेल जीतका छन् भने ९ खेल बराबरीमा सकिएको छ ।
– यसअघिका दुवै विश्वकपका खेल बराबरीमा सकिएको छ । सन् २००२ मा १–१ को बराबरी भएको थियो भने सन् २००६ मा २–२ को बराबरी भएको थियो । यी सबै खेलमा इङ्ग्ल्याण्डले शुरुमा अग्रता लिएको थियो ।
– आठ प्रतिस्पर्धात्मक खेलमा, छनौट खेलसहित, स्वीडेनले दुई तथा इङ्ग्ल्याण्डले एक खेल जितेको छ । ५ खेल बराबरी भएको छ । सन् २०१२ मा इङ्ग्ल्याण्डले स्वीडेनलाई ३–२ ले हराएको थियो ।
– पछिल्लो पटक दुई टोली सन् २०१२ मा मैत्रिपूर्ण खेलमा भिडेका थिए जसमा ज्लाटान इब्राहिमोविचको चार गोलको मद्दतले स्वीडेन ४–२ ले विजयी भएको थियो ।

स्वीडेन
– सन् १९९४ पछि स्वीडेन क्वाटरफाइनलमा पहिलोपटक पुगेको हो ।

– यसअघिका चारमध्ये तीन क्वाटरफाइनल खेल स्वीडनेले जितेको छ । सन् १९३८, १९५८ र १९९४ तर सन् १९३४ मा जर्मनीसँग पराजित भएको थियो ।

– पछिल्लो चार प्रतियोगितामा स्वीडेन समूह चरण पार गर्न सफल भएको छ ।

– स्वीडेनले विश्वकपका आफ्नो पछिल्ला दुई खेल जितेको छ । स्वीडेनले लगातार तीन खेल सन् १९५० र १९५८ मा मात्र जितेको थियो ।

– स्वीडेनले यो विश्वकपमा ६ गोल गरेको छ । इङ्ग्ल्याण्डका ह्यारी केन एक्लैले यति गोल गरेका छन् ।

– विश्वकपमा उनीहरुले गरेका ११ मध्ये १४ गोल दोस्रो हाफमा गरेका छन् । यो विश्वकपमा उनीहरुको ६ मध्ये ५ गोल दोस्रो हाफमा गरेका छन् ।

– रोबिन ओल्सनले विश्वकपमा तीन क्लिन सिट राखेका छन् ।

इङ्ग्ल्याण्ड
– इङ्ग्ल्याण्डको यो नवौँ क्वाटरफाइनल खेल हो ।

– यसअघिका आठ मध्ये दुईवटा प्रतियोगितामा मात्र उनीहरुले यो चरण पार गरेका छन् । सन् १९६६ र १९९० मा ।

– यसअघि इङ्ग्ल्याण्ड सन् २००२ र २००६ मा विश्वकपको क्वाटरफाइनलमा पुगेको थियो । त्यतिबेला उनीहरुको स्वीडिस प्रशिक्षक स्भन गोरान एरिक्सन थिए ।

– इङ्ग्ल्याण्डले सन् २००६ को अन्तिम १६ मा इक्वेडरलाई हराए यता कुनै पनि नकआउट खेल्न जित्न सकेन ।

– विश्वकपमा एउटै पनि क्लिन सिट नराखेर नकआउटमा बाँकी रहेको इङ्ग्ल्याण्ड एउटा मात्र टोली हो ।

– ह्यारी केनले यो विश्वकपमा सर्वाधिक ६ गोल गरेका छन् । यसअघि ग्यारी लिङ्करले सन् १९८६ मा ६ गोल गरेका थिए र गोल्डन बुट जितेका थिए ।

– सन् १९९४ मा बुल्गेरियाका हृस्तो स्टोइचकोभपछि एउटा विश्वकपमा तीनवाट पेनाल्टी गोल गर्ने उनी पहिलो खेलाडी बनेका छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप