बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
उपनिर्वाचनको सन्देश

उपनिर्वाचन : एमालेलाई फलिफाप, कांग्रेसलाई झट्का !

रास्वपाको बेगमा ब्रेक
सोमबार, १७ वैशाख २०८१, २१ : ५०
सोमबार, १७ वैशाख २०८१

विराटनगर । ‘वैशाख १५ गते हुने उपनिर्वाचनले संसदमा कसको सङ्ख्या बढ्छ भन्ने कुरा महत्त्वपूर्ण होइन, कस्तो सन्देश दिन्छ भन्ने कुरा महत्त्वपूर्ण हो । ...इलाम प्रतिनिधि सभा क्षेत्र नं. २ र बझाङ प्रदेशसभा १ बाट नेपाली कांग्रेस निर्वाचित भएर आउँदै गर्दा समन्वयकारी शक्ति बलियो हुन्छ । हामीलाई थप ताकत मिल्छ, बल पुग्छ,’ कांग्रेस महामन्त्री गगन थापाले उपनिर्वाचनको मौन अवधिभन्दा अगाडि सामाजिक सञ्जालमा एक अपिल जारी गरेका थिए ।

उपनिर्वाचन हुनुभन्दा केही दिन अगाडि इलाममै आयोजित चुनावी सभामा गगन थापाले गठबन्धनको विरुद्धमा वकालत गर्दै भनेका थिए, ‘चुनावको अगाडि गठबन्धन जनताको लागि धोका हो । मतदाताको स्वतन्त्रताको अपहरण हो । मतदाताको अवमूल्यन हो । त्यसैले चुनाव अगाडि गरिने गठबन्धनलाई हाइ–हाइ होइन, बाइ–बाइ गर्नुपर्छ । ....इलामले सिङ्गो देशलाई गुन लगाउनु पर्छ । नेपाली राजनीतिमा गठबन्धनको संस्कृति केही वर्ष अगाडि सुरु भयो । अब इलामबाट अन्त्य हुन्छ ।’

संस्थापनबाट टिकट लिएका डम्बर खड्काले जिते गठबन्धन नगरी जितेको सन्देश जाने र हार्दा गठबन्धन गर्नुपर्छ भन्नेलाई बल पुग्ने भएका कारण कांग्रेसको देउवा पक्षभन्दा इतरपक्षका नेताहरू चुनावमा बढी खटिएका थिए ।

कांग्रेस नेता शेखर कोइराला इलामको चुनाव लक्षित कार्यक्रममा पटकपटक पुगेका थिए । महामन्त्री गगन थापा घरदैलो अभियानमा समेत सहभागी भएका थिए । अर्का महामन्त्री विश्वप्रकाश शर्मा त चुनावी कमाण्डर भएर इलाममै बसेका थिए ।

तर, परिणाम २०७९ सालमा गठबन्धन गरेर चुनावमा होमिएको बेलाको भन्दा कमजोर निस्किने देखिएको छ ।

हालसम्मको मतपरिणाम अनुसार एमालेका उम्मेदवार सुहाङ नेम्वाङभन्दा कांग्रेसका उम्मेदवार खड्का झण्डै ६ हजार मत अन्तरले पछि छन् । खड्का अहिले दोस्रो स्थानका लागि पहिचानवादी उम्मेदवार डकेन्द्रसिंह लिम्बूसँग प्रतिस्पर्धामा छन् । पहिलो स्थानमा कांग्रेस आउने सम्भावना लगभग अन्त्य जस्तै भएको छ ।

प्रारम्भिक मत परिणाम अनुसार इलामको फाकफोकथुम कांग्रेसकै एरिया भए पनि एमालेले मनग्य भोट ल्याएको छ । एमालेले आफ्नो मतदाताको मत सुरक्षित पनि गरेको देखिएको छ ।

तुलनात्मक रूपमा यसअघिको निर्वाचनमा कांग्रेसले मनग्य मत पाएको पालिका फाकफोकथुम हो । तर यस पटक उक्त पालिकामा पनि कांग्रेस १ हजारभन्दा बढी मतले पछि प¥यो । उक्त पालिकामा १६ हजार ३०२ जना मतदाता थिए । जसमा ९ हजार ६०४ (५८.९१ प्रतिशत)ले मतदान गरे । उक्त पालिकाको वडा नम्बर ३, ५ र ६ गरी ३ वडा एमालेले जित्दा १, २, ४ र ७ गरी ४ वडाअध्यक्ष कांग्रेसले जितेको थियो ।

अध्यक्ष र उपाध्यक्षमा एमालेले जिते पनि समग्र भोट कांग्रेसको बढी छ । २०७९ सालको आम निर्वाचनमा पनि एमाले उम्मेदवार नेम्वाङको भन्दा कांग्रेस उम्मेदवार डम्बर खड्काको बढी मत थियो । यस पटक भने १ नम्बर वडामा बाहेक अन्य वडामा एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई नै बढी मत गएको छ । फाकफोकथुममा एमाले उम्मेदवार नेम्वाङले ४ हजार ४१३ मत पाउँदा कांग्रेसका खड्काले ३ हजार २५८ मतमात्रै पाए । उता, यो वडामा पहिचानवादी नेता डकेन्द्रसिंहले भने ९६३ मत पाएका छन् ।

यस्तै चुलाचुली गाउँपालिकामा निर्वाचन अगाडि पनि दलहरूको ध्यान केन्द्रित थियो । निर्वाचनको मौन अवधि सुरु हुनुभन्दा अघिल्ला दुई दिन चुलाचुली गाउँपालिकामा एमाले, कांग्रेस, रास्वपा र पहिचानवादी शीर्षस्थ नेताहरू केन्द्रित भएका थिए ।

१८ हजार ५४५ मतदाता रहेको चुलाचुलीलाई कांग्रेसले आफ्नो गढ मान्थ्यो । १८ हजार ५४५ मतदातामध्ये ११ हजार १९८ (६०.३८ प्रतिशत) मत खसेको चुलाचुलीमा मतदाताले भने कांग्रेसलाई भन्दा बढी मत पहिचानवादी नेता डकेन्द्र सिंह लिम्बूलाई दिएको देखियो ।

स्थानीय निर्वाचनमा यहाँका ६ मध्ये ५ वटा कांग्रेस एक्लैले जितेको थियो । जसमा २, ३, ४, ५ र ६  वडाध्यक्ष कांग्रेसले जित्दा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले वडा नम्बर १ मा जितेको थियो । तर, उपनिर्वाचनमा भने एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ४ हजार ७४ मत ल्याउँदा कांग्रेसले जम्मा २ हजार ५८६ मतमात्रै पायो । बरु पहिचानवादी नेता लिम्बू (मुढा)लाई ३ हजार २९९ मत दिएको पाइयो । स्थानीय तहको मतका आधारमा ३ हजारले अगाडि कांग्रेस आम निर्वाचनमा ३ सयले पछाडि परेको थियो । कांग्रेसमा संस्थापन इतर पक्षको बाहुल्य भएको चुलाचुलीमा रणनीतिक रूपमा शेखरलाई बोलाइएको देखिन्थ्यो । तर, शेखरको प्रचार अभियान पनि कामयाव हुन सकेन ।

उता, १२ हजार ५३६ मतदाता रहेको माङ्सेबुङमा ६ वटा वडा छन् । उपनिर्वाचनका क्रममा यहाँ ७ हजार २०३ (५७.४८ प्रतिशत)ले मतदान गरे । उक्त पालिकाको वडा नम्बर १, २, ४ र ६ को वडाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका थिए । यस्तै यहाँ माओवादी केन्द्रले १ र राष्ट्रिय जनमुक्ति पार्टीले १ वडा जितेको थियो । माङ्सेबुङ गाउँपालिका–५ को लारुम्बामा धर्मगुरुको ठुलो प्रभाव छ । सोही प्रभाव स्वरुप माङ्सेबुङको उक्त वडामा पहिचानवादी नेता डकेन्द्रसिंह लिम्बूलाई मतदान भएको देखिएको छ । मतगणना अनुसार यहाँ ठुला पार्टी एमाले र कांग्रेसलाई पहिचानवादी स्वतन्त्र उम्मेदवार लिम्बूले उछिनेका छन् । यहाँ एमालेले २ हजार ६०१ मत पाउँदा कांग्रेसले १ हजार ४७९ मतमात्रै पायो । यहीँ पहिचानवादी लिम्बूले भने २ हजार ६३९ मत पाएका छन् ।

यस्तै इलाम २ मा माई नगरपालिकाका तीन वटा वडा पनि पर्छन् । यसअघिको स्थानीय निर्वाचनमा वडा नम्बर ६ मा कांग्रेसले जित्दा ७ र ८ मा एमालेले जितेको थियो । यी तीन वडामा कुल ८ हजार ९६ मतदाता छन् । उपनिर्वाचनमा भने ४ हजार ६३४ (५७.२४ प्रतिशत)ले मतदान गरेका छन् । मतदान गरेकामध्ये यहाँ पनि धेरैले एमाले रोजेका छन् । तीन वडाको जम्मा मतमा भने पहिचानवादी उम्मेदवार दोस्रो भएका छन् भने कांग्रेस तेस्रो स्थानमा छ । प्राप्त मतअनुसार एमालेले तीन वडामा १ हजार ९९१, डकेन्द्रसिंहले १ हजार १९७ र कांग्रेसले १ हजार ६२ मत मात्रै पाएको छ ।

उक्त निर्वाचन क्षेत्रमा पर्ने देउमाई नगरपालिकामा २७ हजार ९६९ मतदातामध्ये १५ हजार ९८० जनाले अर्थात् ५७.१३ प्रतिशतले मतदान गरे । देउमाइका ९ वडामध्ये १, २, ४, ५ र ८ गरी एमालेले ५ वडामा जितेको थियो । त्यस्तै, ३, ६, ७ र ९ मा गरी ४ वटा वडामा कांग्रेसले जितेको थियो । मेयरसमेत जितेको एमाले उक्त पालिकामा कांग्रेसभन्दा बलियो मानिन्थ्यो । मत पनि त्यस्तै आएको छ । कांग्रेसले झिनो मतले वडा नम्बर ६ मा अगाडि छ । तर, एमाले भने १, २, ३, ४, ५, ७ र ८ नम्बर वडामा अगाडि देखिएको छ । ९ नम्बर वडाको मत परिणाम भने यो समाचार तयार पार्दासम्म आइसकेको छैन ।

यस्तै इलाम नगरपालिका ११ वडामा कुल मतदाता ३२ हजार ४११ जना छन् । उक्त मतदातामध्ये उपनिर्वाचनमा २० हजार ६६५ अर्थात् ६३.७० प्रतिशतले मतदान गरेका छन् । इलाम नगरपालिकाको भने मतगणना सुरु भइसकेको छैन । स्थानीय तह निर्वाचनमा यस क्षेत्रमा पर्ने ११ मध्ये कांग्रेसले ८ र एमालेले ३ वटा वडामा जितेको छ । कांग्रेसले १, ४, ५, ६, ७, ८, ९ र १२ मा वडाध्यक्ष जितेको थियो भने २, ३ र ११ वडामा एमाले जितेको छ । पालिका प्रमुख पनि जितेको कांग्रेसको इलाम नगरपालिकामा सांगठनिक मत बलियो छ । तर, इलाम नगरपालिकामै राष्ट्रिय स्वतन्त्र पार्टीले पनि मत आउने अपेक्षा गरेको छ । अन्य स्थानको मतगणना सकिसक्दा एमाले उम्मेदवार ६ हजार मतान्तरले अगाडि गइसकेका छन् ।

निष्कर्षमा भन्नुपर्दा इलामको यो उपनिर्वाचनले एमालेलाई उत्साहित बनाएको छ । कांग्रेस दोस्रो स्थानमा सीमित भएको छ । नयाँ पार्टीको रूपमा उदाएको रास्वपाको बेग रोकिएको छ भने पहिचानको नारा लगाउने पहिचानवादीले जित ननिकाले पनि मनग्य मत बढाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप