शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
प्रदेश सरकार

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तारको तयारी, नाउपाबाट आजै मन्त्री थप्ने सम्भावना

मङ्गलबार, १८ वैशाख २०८१, ०९ : ३५
मङ्गलबार, १८ वैशाख २०८१

कैलाली । बझाङ उपनिर्वाचनको मत परिणाम सार्वजनिक भएसँगै सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारी मन्त्री मण्डल विस्तारको तयारीमा जुटेका छन् । उपनिर्वाचनको मत परिणामपछि मात्र निर्णय गर्ने अडानमा बसेको नेकपा एमालेले निर्वाचन जितेसँगै मुख्यमन्त्री सोडारी मन्त्रिपरिषद् विस्तारको तयारीमा जुटेका हुन् ।

यसअघि एमालेले बझाङ उपनिर्वाचनमा जितेमा सरकारमा जाने नभए बाहिरबाट सहयोग गर्ने बताएको थियो । निर्वाचनमा एमालेका दमनबहादुर भण्डारी जितेसँगै मुख्यमन्त्री सोडारीले आज सत्ता गठबन्धनको बैठक बोलाएका हुन् ।

बैठक ११ बजे बस्ने भनिएको छ । बैठकमा सरकार विस्तार, भागबण्डा र विश्वासको मत लिने विषयमा छलफल हुने माओवादी केन्द्रको संसदीय दलका उपनेता अक्कल रावलले रातोपाटीलाई जानकारी दिए ।

त्यस्तै, नागरिक उन्मुक्ति पार्टीबाट आज नै एक मन्त्री थप्ने सम्भावना रहेको उपनेता रावलको भनाइ छ । नाउपाबाट टीका थापालाई मन्त्री बनाइने सम्भावना छ । तर मन्त्रालय भने गठबन्धनको बैठकबाट मात्र तय हुने उनले बताए । 

यसअघि थापालाई विना विभागीय मन्त्री बनाउन लागिएको थियो । तर उनी विना विभागीय मन्त्रीको शपथ लिन अस्वीकार गरेकी थिइन् ।

सोडारी गत वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले हालसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका थिएनन् ।

नेकपा (एकीकृत समाजवादी)पार्टीबाट मुख्यमन्त्री बनेका सोडारीले हालसम्म नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई मात्रै भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त गरेका छन् । प्रदेशमा ७ वटा मन्त्रालय रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप