आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
खानपान

कसरी ‘राष्ट्रिय रोग’ बन्यो ग्यास्ट्रिक ?

लामो समयसम्म ग्यास्ट्रिकको औषधि खाँदा झनै समस्या आउन सक्छ : नबिना फैजु, डाइटिसियन
शनिबार, २२ कात्तिक २०८२

नेपाली समाजमा ग्यास्ट्रिक लगभग ‘राष्ट्रिय रोग’ जस्तै बनेको छ। धेरै मानिसहरू यस समस्याबाट पीडित छन्, तर यसको सही व्यवस्थापन कसरी गर्ने भन्नेबारेमा अझै पनि धेरै अलमल देखिन्छ। 

ग्यास्ट्रिक र यससँग सम्बन्धित खानपानका बारेमा जानकारी दिनका लागि बीएन्डबी अस्पतालमा कार्यरत डाइटिसियन नबिना फैजुसँग गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ।

ग्यास्ट्रिक के हो र यो यति सामान्य किन छ?

ग्यास्ट्रिक हुनुको मुख्य कारण हाम्रो पेटमा उत्पादन हुने हाइड्रोक्लोरिक एसिडको मात्रा बढ्नु हो। सामान्यतया, यो एसिडले हाम्रो खानालाई टुक्र्याउन, पचाउन र हानिकारक ब्याक्टेरियालाई मार्न मद्दत गर्छ। तर जब कुनै कारणवश यसको उत्पादन आवश्यकभन्दा बढी हुन थाल्छ, पेटको भित्री तहमा जलन र इन्फ्लेमेसन हुन्छ, जसलाई हामी ‘ग्यास्ट्राइटिस’ वा सामान्य भाषामा ‘ग्यास्ट्रिक’ भन्छौँ।

पछिल्लो समय नेपालीहरूको जीवनशैलीमा आएको ठुलो परिवर्तन, बढ्दो तनाव, औषधिको जथाभाबी प्रयोग र सबैभन्दा महत्त्वपूर्ण, खानपानमा आएको गडबडीका कारण यो समस्या घरघरमा देखिन थालेको हो।

हाम्रो खानपान र ग्यास्ट्रिकको सम्बन्ध के छ ?

ग्यास्ट्रिक हुनुमा हाम्रो आहारको सबैभन्दा ठुलो भूमिका हुन्छ। हामी के खान्छौँ, कतिबेला खान्छौँ र कसरी खान्छौँ भन्ने कुराले पेटको स्वास्थ्यमा प्रत्यक्ष असर पार्छ। ग्यास्ट्रिक भएका व्यक्तिले उच्च फाइबरयुक्त र पेटलाई हलुका हुने खानेकुरामा जोड दिनुपर्छ। 

तर हाम्रो बानी उल्टो छ। बिहान उठ्ने बित्तिकै खाली पेटमा दूध-चिया पिउने बानी धेरैको हुन्छ। चियामा हुने क्याफिनले पेटमा एसिड उत्पादनलाई बढाउँछ भने दूधमा भएको प्रोटिन र फ्याटलाई खाली पेटले पचाउन गाह्रो मान्छ। यसले पेटमा जलन बढाउने काम गर्छ।

त्यस्तै, लामो समयसम्म भोकै बस्ने र एकैपटक धेरै खाने बानीले पनि पाचन प्रणालीमा अतिरिक्त भार पार्छ। यसले खाना राम्ररी नपच्ने, ग्यास उत्पादन हुने र पेट गडबड हुने समस्या निम्त्याउँछ।

बिहान दूध-चिया र कागती पानी खानु कति सही, कति गलत हो ?

धेरैको धारणा छ कि ग्यास्ट्रिक दूध चियाले नै गर्दा हुन्छ। खाली पेटमा पिउँदा यसले समस्या बढाउने कुरा सत्य हो। तर, चिया पिउनैपर्ने बानी छ भने बिहान मनतातो पानी पिएर केही हलुका नास्ता (जस्तै: ओट्स, गहुँको सातु, उसिनेको अण्डा) खाएको केही समयपछि मात्र पिउन सकिन्छ। धेरै तातो चियाले पनि पेटलाई असर गर्ने भएकाले मनतातो मात्र पिउनु राम्रो हुन्छ।

त्यसैगरी, तौल घटाउन भन्दै बिहान खाली पेटमा कागती पानी पिउने चलन पनि छ। कागतीमा हुने साइट्रस एसिडले पहिलेदेखि ग्यास्ट्रिकको समस्या भएका व्यक्तिको पेटमा एसिडिटी र जलनलाई झनै बढाउन सक्छ। त्यसैले, ग्यास्ट्रिकका बिरामीले खाली पेटमा कागती पानी नपिउनु नै बेस हुन्छ।

ग्यास्ट्रिक व्यवस्थापनका लागि खाने तालिका कस्तो हुनुपर्छ ?

ग्यास्ट्रिक भएका व्यक्तिले आफ्नो खाना तालिकालाई विशेष ध्यान दिनुपर्छ। खानाको तालिका बनाउँदा केही कुरामा ख्याल राख्नुपर्छ । जस्तै :

  • बिहानको सुरुवात: दिनको सुरुवात मनतातो पानीबाट गर्नुहोस्। यसले पाचन प्रणालीलाई सक्रिय बनाउन मद्दत गर्छ। उठेलगत्तै चिया वा कफी पिउने बानी त्याग्नुहोस्।
  • हलुका नास्ता: बिहान उठेको एक घण्टाभित्रमा फाइबरयुक्त हलुका नास्ता, जस्तै: ओट्स, जौ वा गहुँको सातु, उसिनेको अण्डा (पहेँलो भागबाहेक), वा चिल्लो नहालेको दाल खान सकिन्छ।
  • थोरै-थोरै, धेरै पटक: एकैपटक धेरै खानुको सट्टा दिनमा २-३ घण्टाको फरकमा थोरै-थोरै खाने बानी बसाल्नुहोस्। यसले पाचन प्रणालीलाई भार पर्न दिँदैन।
  • दिउँसोको खाना: खानामा भातको मात्रा कम गरी हरियो सागसब्जी, सलाद र दालको मात्रा बढाउनुहोस्। यदि मासु खाँदै हुनुहुन्छ भने गेडागुडी नखानुहोस्, किनभने दुवै उच्च प्रोटिनयुक्त खानेकुरा एकैपटक पचाउन गाह्रो हुन्छ। सेतो मासु (कुखुरा, माछा) रातो मासुभन्दा पचाउन सहज हुन्छ।
  • खाजा: दिउँसोको खाजामा फलफूल (केरा, मेवा, खरबुजा) वा चिल्लो कम भएको रोटी-तरकारी खान सकिन्छ।
  • बेलुकाको खाना: बेलुकाको खाना सकेसम्म हलुका र सुत्नुभन्दा कम्तीमा २-३ घण्टा अगाडि नै खानुपर्छ। हाम्रो पाचन शक्ति रातमा कमजोर हुने भएकाले हलुका खानाले पेटलाई आराम दिन्छ।
  • पानीको सेवन: खाना खानेबित्तिकै धेरै पानी नपिउनुहोस्। खाना खानुभन्दा १५-२० मिनेट अगाडि वा खाएको ४५ मिनेटपछि मात्र पानी पिउनु राम्रो हुन्छ। खानाको बीचमा पिउनैपरेमा थोरै मात्रामा पिउन सकिन्छ।

दीर्घ रोगीले ग्यास्ट्रिकबारे कति सचेत हुनुपर्छ ?

मधुमेह, उच्च रक्तचाप जस्ता दीर्घ रोग भएका बिरामीहरूले ग्यास्ट्रिकको समस्यामा झनै सचेत हुनुपर्छ। कतिपय मधुमेहका बिरामीले सुगर नियन्त्रण गर्न वा तौल घटाउन खाना छाड्ने गल्ती गर्छन्, जसले ग्यास्ट्रिकको समस्या निम्त्याउँछ। उनीहरूले नियमित समयमा पौष्टिक र सन्तुलित आहार खानु झनै जरुरी हुन्छ।

धेरै मानिसहरू ग्यास्ट्रिकको समस्या हुँदा चिकित्सकको सल्लाहबिना नै औषधि किनेर खाने गर्छन्। बिहान खाली पेटमा औषधि खाएपछि जे खाए पनि हुन्छ भन्ने सोचाइ गलत हो। औषधिले केही समयका लागि राहत देला, तर जबसम्म खानपान र जीवनशैली सुधारिँदैन, समस्या जस्ताको तस्तै रहन्छ ।

लामो समयसम्म ग्यास्ट्रिकको औषधि खाँदा शरीरमा भिटामिन बी-१२, म्याग्नेसियम, जिङ्क जस्ता आवश्यक पोषक तत्त्वहरूको अवशोषणमा कमी आउन सक्छ। त्यसैले, औषधिको भर पर्नुको सट्टा आफ्नो जीवनशैली र खानपानलाई सन्तुलित बनाउनु नै यसको दिगो समाधान हो। सन्तुलित आहारले ग्यास्ट्रिक मात्र नभई तनाव व्यवस्थापनमा समेत मद्दत गर्छ, जसले स्वस्थ र ऊर्जावान् जीवन जिउन सघाउँछ।

विस्तृत अन्तर्वार्ता भिडियोमा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया