आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अवैध रूपमा नेपाल छिर्दै गरेका एक बङ्गलादेशी नागरिक पक्राउ

आइतबार, ३१ जेठ २०८३, ०९ : २६
आइतबार, ३१ जेठ २०८३

सारांश

  • भारतको बाटो हुँदै गैरकानुनी रूपमा नेपाल प्रवेश गर्न खोज्ने एक जना बङ्गलादेशी नागरिकलाई झापामा प्रहरीले नियन्त्रणमा लिएको छ।
  • ३३ वर्षीय एमडी सैफुल इस्लामलाई मेचीनगर नगरपालिका वडा नम्बर ६ स्थित गैरीगाउँ इलाकाबाट नियन्त्रणमा लिइएको हो।
  • पक्राउ परेका इस्लामलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि काठमाडौँस्थित अध्यागमन विभाग पठाइएको छ।

काँकरभिट्टा । भारतको बाटो हुँदै गैरकानुनी रूपमा नेपाल प्रवेश गर्न खोज्ने एक जना बङ्गलादेशी नागरिकलाई झापामा प्रहरीले नियन्त्रणमा लिएको छ।

बङ्गलादेशको राहादानी बोकेर अनाधिकृत रूपमा सीमा पार गरिरहेका ३३ वर्षीय एमडी सैफुल इस्लामलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शनिबार दिउँसो १२:४५ बजेको समयमा मेचीनगर नगरपालिका वडा नम्बर ६ स्थित गैरीगाउँ इलाकाबाट उनलाई नियन्त्रणमा लिइएको हो। बङ्गलादेशको चाँदपुर अन्तर्गत पर्ने तुलातोली कचुवा मनोहरपुर-३६३० स्थायी ठेगाना भएका इस्लाम, एमडी ताजुल इस्लामका छोरा हुन्।

उनी भारतको पानीट्याङ्की क्षेत्र हुँदै मेची खोलाको बगरको बाटो प्रयोग गरेर अवैध रूपमा नेपालतर्फ आउँदै गरेको अवस्थामा फेला परेका थिए। सीमा क्षेत्रमा निगरानी गरिरहेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरी टोलीले शङ्का लागेर जाँच गर्दा उनले गैरकानुनी रूपमा सीमा पार गर्न लागेको खुलेको हो।

पक्राउ परेका इस्लामको साथबाट बङ्गलादेशी राहदानी समेत बरामद भएको प्रहरीले जनाएको छ। उनलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि काठमाडौँस्थित अध्यागमन विभाग पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय चौहानले जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप