शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
समाचार

ओलीप्रति खनिए प्रचण्ड, नेपाल र रावल : कसले के भने ?

बुधबार, २६ कात्तिक २०८२, १९ : ०९
बुधबार, २६ कात्तिक २०८२

सारांश

  • पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमालेका इमान्दार नेताहरूलाई विद्रोह गर्न आग्रह गरे।
  • प्रचण्डले ओलीले मदन भण्डारीको अपमान गरेको आरोप लगाए, र एमाले दम्भ र अहंकारले ध्वस्त भएको टिप्पणी गरे।
  • माधवकुमार नेपालले ओलीलाई ५३ वर्षदेखि चिनेको र भीम रावलले ओलीको अहंकारका कारण नेकपा एकता दुर्घटनामा परेको आरोप लगाए।

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेकपा एमालेभित्रका इमानदार र क्रान्तिकारी नेताहरूलाई विद्रोह गर्न अपिल गरे ।

बुधबार एमालेका पूर्वउपाध्यक्ष भीम रावल, केन्द्रीय सदस्य प्रकाशबहादुर शाह लगायतलाई एकता समायोजन कार्यक्रममा प्रचण्डले एमालेभित्रका नेताहरूलाई विद्राहका लागि अपिल गरेका हुन् ।

‘एमालेभित्रका इमानदार, क्रान्तिकारी नेताहरूलाई अपिल गर्न चाहन्छु । इतिहासको यति ठुलो धोखा, यति ठुलो घात पक्कै तपाईंले महसुस गर्नुभएको होला । त्यसकारण १२ वटा वामपन्थी दलसँग मात्र होइन, तपाईंहरू समेतको विशाल कम्युनिस्ट पार्टी बनाउने उद्देश्यले एकता भएको हो,’ उनले भने ।

कार्यक्रममा प्रचण्डले ओलीले एमालेका तत्कालीन महासचिव मदन भण्डारीप्रति निकै ठुलो अपमान गरेको आरोप लगाए । मदनपत्नी विद्या भण्डारी समूहका नेता तथा कार्यकर्ताका भावनालाई आफूप्रति आकर्षित गर्ने उद्देश्यले प्रचण्डले ओलीको आलोचना गरेका थिए ।

उनले भने, ‘कम्युनिस्ट आन्दोलनलाई लोकप्रिय बनाउन लागेका मदन भण्डारी अब एमालेमा अवहेलित भएका छन् । अहिले मदनलाई अपमान गर्ने र बदनाम गर्ने कोसिस भएको छ । म कमरेड मदन भण्डारीप्रति सम्मान व्यक्त गर्न चाहन्छु,’ उनले भने, ‘अहिले एमाले विल्कुल अर्को लाइनमा गएर सहकारी ठगी गरेको, विवाह पनि दुई या चार वटा भएको थियो भनेर केपी ओलीले नै सार्वजनिक रुपमा भन्नु भनेको मदन भण्डारीको योभन्दा ठुलो अपमान के हुन सक्छ ?’

प्रचण्डले माओवादीसँग एकता प्रक्रियामा सहभागी नभएका रामकुमारी झाँक्री, किसन श्रेष्ठलगायत नेताहरू एमालेमै फर्किएकोमा पनि आक्रोश पोखे । एमाले दम्भ र अहंकारले ध्वस्त भएको उनको टिप्पणी थियो । भने, ‘अस्ति यही ठाउँमा घर फर्क कार्यक्रम राखिएको थियो । वास्तवमा डढेको र भत्किएको घरमा के फर्किनु । त्यो दम्भ र अहंकारले ध्वस्त भएको घरमा, फर्किने उस्तैउस्तै फर्किए होलान् ।’

ओलीले नेपाली कम्युनिस्ट पार्टीलाई वृद्धाश्रम भनिएकोमा उनले प्रतिवाद गरे । कार्यक्रममा उनले आफ्नै अभिभावकमाथि ओलीले अपमान गरेको जिकिर गरे । ‘अर्को मुख्य कुरा, जेनजी युवाहरूले भ्रष्टाचारविरुद्ध सुशासनको पक्षमा शान्तिपूर्ण आन्दोलन गर्दा निर्मम दमन र हत्या गर्नेले अहिले हामीलाई वृद्धाश्रम भन्छन्,' प्रचण्डले भने, 'जसले जेनजी युवाहरूलाई प्रवेश गराएको छ ।’

कार्यक्रम पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपालले ओलीलाई आफूले ५३ वर्षदेखि चिनेकाले भुक्तभोगी भएको स्पष्ट पारे । उनले 'मनको बह बाहिर नकह' भनी प्रचण्डलाई सम्झाए । 

नेपालले भने, ‘केपी ओलीसँग २०२९ सालदेखि ५३ वर्ष संगत हो । त्यसकारण कति चिन्छु चिन्दिनँ पछि भनौँला । म भन्छु– मनको बह कसैलाई कह । प्रचण्डसँग पनि २०४२ सालमा मेरो सङ्गत छ । कतिपयले एकता कति दिन टिक्ला भनेका छन् । धेरै उदारता नभइदिनुहोला । ल्याउन त ल्याइयो व्यवस्थापन गर्न गाह्रो छ । त्यसैले सबै चुनौतीको सामना गरेर अगाडि बढ्नुपर्छ ।’

नेता भीम रावलले ओलीको दम्भ र अहंकारका कारण अघिल्लो पटक भएको नेकपा एकता दुर्घटनामा परेको आरोप लगाए ।

‘ओली र प्रचण्डले यो जम्बो जेटलाई सुरक्षित रूपमा उडाउँछु भन्नुभएको थियो । क्याप्टेनले नै पोखराको सेतीको खोँचमा फाल्दै गर्दा अर्को सहायक चालक (प्रचण्ड) खस्नै लागेको जहाजमा आँसु खसाल्दै मैले त गल्ती पो गरेजस्तो लागेको महसुस गरे । हामी पछाडि बसेका यात्रुहरू रुन कराउन लाग्यौँ । चिच्यायौँ, करायौँ, क्रन्दन गर्यौँ । क्याप्टेन साब जहाज नडुबाउनोस् । त्यस्तै  बालुवाटारमा बैठक राख्नुभयो । माधव, झलनाथ, वामदेव र भीम रावल लगायत कसैलाई पनि बोलाउनुभएन । एक्लै ओलीले नौ सय जनाको केन्द्रीय समिति बनाउनुभएछ । वाह, कम्युनिस्ट पार्टीका नेता,’ रावलले भने ।

एमालेबाट विद्रोह गरी नेकपामा प्रवेश गरेका पूर्वकेन्द्रीय सदस्य प्रकाशबहादुर शाहले ओलीलाई तानाशाहको संज्ञा दिए ।

‘देशमा धेरै परिवर्तन भयो । केपी ओलीको अहंकार अझै बदलिएको छैन, दम्भ बदलिएको छैन । दुर्गगमा हुर्किएको भीम रावलको आवाजलाई निमोठ्ने काम गर्नुभयो । त्यहाँ मात्र सीमित भएन । उहाँ श्री ३ महाराज बन्नुभयो,’ उनले भने, ‘मैले जे बेले त्यही हुन्छ । महाधिवेशनमा कुनै छलफल हुँदैन भन्नुभयो । पुष्पलालको पार्टी बन्न सकेन, मनमोहनको र मदन भण्डारीको पार्टी बन्न सकेन एमाले ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप