एमाले नेता काशीनाथ अधिकारीले लिए सक्रिय राजनीतिबाट बिदा, को हुन् अधिकारी ?
सारांश
- एमाले नेता काशीनाथ अधिकारीले ६६ वर्षको उमेरमा सक्रिय राजनीतिबाट बिदा लिएका छन्।
- उनले ५० वर्षको राजनीतिक जीवनमा ४४ वर्ष पूर्णकालीन रूपमा राजनीति गरे, इमान्दारीपूर्वक काम गरेको दाबी गरे।
- अधिकारी नेकपा एमालेमा ३३ वर्षसम्म केन्द्रीय सदस्य रहे, उनले पदका लागि कहिल्यै हतार गरेनन्।
काठमाडौँ । नेकपा एमालेका प्रभावशाली नेता काशीनाथ अधिकारीले सक्रिय राजनीतिबाट बिदा लिएका छन्। ६६ वर्षको उमेरमा उनले पार्टीका कुनै पनि कमिटी तथा निकायमा नरहने घोषणा गर्दै साधारण सदस्यका रूपमा पार्टी, समाज र देशका हितमा काम गरिरहने बताएका छन्।
शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अधिकारीले करिब ५० वर्ष लामो राजनीतिक जीवनमध्ये ४४ वर्ष पूर्णकालीन रूपमा राजनीतिमा सक्रिय रहेको उल्लेख गरेका छन्। उनले इमान, निष्ठा र समर्पणका साथ तन, मन र धन दिएर निस्वार्थ रूपमा काम गरेको दाबी गरेका छन्।
आफ्नो कार्यशैलीबारे उल्लेख गर्दै अधिकारीले आफू ‘ल्यांगल्यांगे’ कार्यशैलीको विरोधी रहेको र जसरी पनि जिम्मेवारी पूरा गर्ने बानी रहेको बताएका छन्। नेकपा एमालेमा लगातार ३३ वर्ष केन्द्रीय सदस्य भए पनि आफू कहिल्यै नेता बन्ने होडमा नलागेको उल्लेख गर्दै उनले आफू कार्यकर्ताको पात्रता भएको राजनीतिकर्मी भएको बताएका छन्।
'पद र अवसरका लागि कहिल्यै मरिहत्ते गरिनँ,' तनहुँमा जन्मिएका अधिकारीले भनेका छन्, 'सपना असल कम्युनिस्ट बन्ने थियो, तर सबै मानक पूरा गर्न सकिनँ।'
पार्टीको ११औँ महाधिवेशनमा समेत उनले कुनै पनि पदमा उम्मेदवारी दिएका थिएनन्। यद्यपि, उनी पार्टीभित्र प्रभावशाली नेताका रूपमा चिनिन्थे। अघिल्लो कमिटीमा उनी सङ्गठन विभाग प्रमुखको जिम्मेवारीमा रहेका थिए ।
अधिकारीको राजनीतिक टाइमलाइन
- २०८० जेठदेखि नेकपा(एमाले) केन्द्रीय सङ्गठन विभागको प्रमुखको जिम्मेवारी
- २०७८ मंसिरदेखि २०८० जेठसम्म नेकपा(एमाले) बागमती प्रदेश सङ्गठन कमिटीको ईञ्चार्जको जिम्मेवारी
- २०७७ फागुनदेखि २०७८ मंसिरसम्म नेकपा(एमाले) बागमती प्रदेश सङ्गठन कमिटीको सह–ईञ्चार्जको जिम्मेवारी
- २०७८ मंसिर १० देखि १४ गतेसम्म चितवनमा आयोजित नेकपा(एमाले)को दशौं राष्ट्रिय महाधिवेशनबाट पुनः केन्द्रीय कमिटीको सदस्यमा निर्वाचित । केन्द्रीय कमिटीको दोस्रो बैठकबाट स्थायी कमिटीको सदस्यमा मनोनीत
- २०७६ श्रावणदेखि २०७७ फागुनसम्म तत्कालीन नेकपाको बागमती प्रदेश सङ्गठन कमिटीको सह–संयोजकको जिम्मेवारी
- २०७५ जेठ ३ गते नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)का बिच एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को गठन । नेकपाको केन्द्रीय सदस्यमा मनोनीत
- २०४७ साल जेठदेखि नेकपा ( माले ) नारायणी क्षेत्रीय सङ्गठन कमिटीको सचिव – २०४७ पौषसम्म
- २०७३ श्रावणदेखि २०७५ जेठसम्म तत्कालीन प्रदेश नं.३, प्रदेश सङ्गठन कमिटीको सहसंयोजकको जिम्मेवारी
- २०७१ असार १९ देखि श्रावण २ गतेसम्म काठमाण्डौमा आयोजित नेकपा(एमाले)को नवौं राष्ट्रिय महाधिवेशनबाट पुनः केन्द्रीय कमिटीको सदस्यमा निर्वाचित । केन्द्रीय कमिटी बैठकबाट पुनः पोलिटव्युरो सदस्यमा निर्वाचित
- २०७१ श्रावणदेखि २०७३ श्रावणसम्म केन्द्रीय पुस्तकालय तथा अभिलेख विभागको प्रमुखको जिम्मेवारी
- २०६६ जेष्ठमा सम्पन्न नेकपा(एमाले) केन्द्रीय कमिटीको बैठकबाट पोलिटब्यूरो सदस्यमा निर्वाचित
- २०६६ असारदेखि २०७१ असारसम्म नेकपा(एमाले)को तत्कालीन नारायणी अञ्चल समन्वय कमिटीको संयोजक
- २०६५ फागुन ५–१४ मा वुटवलमा सम्पन्न नेकपा(एमाले)द्वारा आयोजित नेकपाको आठौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीको सदस्यमा पुनः निर्वाचित
- २०६४ साल चैत्र २८ गते सम्पन्न संविधानसभा सदस्यका लागि चितवन क्षेत्र नं २ वाट उम्मेदवार । पराजित
- २०५९ माघ १८–२२ मा जनकपुरमा सम्पन्न नेकपा (एमाले)द्वारा आयोजित नेकपाको सातौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको सदस्य
- २०५९ फागुनबाट २०६६ ज्येष्ठसम्म नेकपा(एमाले)को केन्द्रीय कार्यालय–सचिवको जिम्मेवारी
- २०५४ साल माघ १४–२० मा नेपालगन्जमा सम्पन्न नेकपा(एमाले) द्वारा आयोजित नेकपाको छैटौँ राष्ट्रिय महाधिवेशनबाट पुनः निर्वाचित केन्द्रीय कमिटीको सदस्य
- २०५४ फागुनदेखि २०५९ माघसम्म नेकपा(एमाले)को तत्कालीन गण्डकी अञ्चल समन्वय कमिटीको इन्चार्जको जिम्मेवारी
- २०५३ पौषदेखि २०५४ माघसम्म नेकपा(एमाले) केन्द्रीय सङ्गठन विभागको सचिव
- २०४९ माघ १४–२० मा काठमाण्डौमा सम्पन्न नेकपा ( एमाले )द्वारा आयोजित नेकपाको पाँचौ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको सदस्य
- २०४९ माघदेखि २०५४ माघसम्म नेकपा(एमाले)को तत्कालीन नारायणी अञ्चल समन्वय कमिटीको इन्चार्जको जिम्मेवारी
- २०४७ पौषमा सम्पन्न माले र मार्क्सवादी एकीकरण । नेकपा (एमाले) गठन पश्चात् राष्ट्रिय परिषद्को सदस्यमा मनोनीत तथा नेकपा ( एमाले )को नारायणी क्षेत्रीय कमिटीको सचिवको जिम्मेवारी – २०४९ माघसम्म
- २०४६ सालको भाद्र महिनामा नेकपा(माले) द्वारा सिराहामा भूमिगतरुपमा आयोजित नेकपाको चौथो राष्ट्रिय महाधिवेशनमा चितवनबाट प्रतिनिधि
- २०४६ सालको संयुतm जनआन्दोलनमा चितवनमा नेकपा ( माले ) को आन्दोलन संयोजक
- २०४५ साल श्रावण देखि नेकपा ( माले ) चितवन जिल्ला सङ्गठन कमिटीको सचिव र नारायणी–जनकपुर क्षेत्रीय कमिटीको सदस्य – २०४७ जेठसम्म
- २०४१ बैशाख ९ गतेदेखि नेकपा ( माले ) मकवानपुर जिल्ला सङ्गठन कमिटीको सचिव तथा नेकपा ( माले ) नारायणी क्षेत्रीय सङ्गठन कमिटीको सदस्य – २०४५ श्रावणसम्म
- २०३९ साल पौषदेखि नेकपा (माले ) चितवन जिल्ला सङ्गठन कमिटीको उपसचिव
- २०३८ साल चैत्रदेखि नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी–लेनिनवादी )को पूर्णकालीन ( भूमिगत ) कार्यकर्ता
- २०३७ साल कात्तिक ७ गते सिन्धुपाल्चोकको पिस्करमा नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी– लेनिनवादी)को सदस्यता प्राप्त
- २०३७ सालदेखि २०४६ सालसम्मको भूमिगत अवधिमा दीपक, रोशन, गोविन्द, आदि टेक न्याम (छद्म नाम)बाट परिचित
- २०३६ साल बैशाख देखि नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी– लैनिनवादी) सिन्धुपाल्चोक जिल्ला अन्र्तगत सक्रिय दलको सचिव
- २०३५ सालको अन्त्यमा नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी–लेनिनवादी)मा प्रवेश
- २०३३ साल श्रावणमा पश्चिमको रातो झण्डा भनिने ‘सर्वहारावादी क्रान्तिकारी सङ्गठन नेपाल (प्रोन)‘ संगको सम्पर्क । २०३४ सालको अन्त्यमा सर्वहारावादी क्रान्तिकारी सङ्गठन नेपाल ( प्रोन )को सदस्यता प्राप्त
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुने
-
यस्तो छ आजका लागि तोकिएको कृषिउपजको थोक मूल्य (सूचीसहित)
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
-
मेक्सिको र इक्वेडरबिचको खेल सुरु, कसले मार्ला बाजी?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण