मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

राष्ट्रिय एकता र आर्थिक समृद्धिका लागि कम्युनिस्ट घटकलाई एकीकृत गर्न अग्रसर छु : प्रचण्ड

बिहीबार, २४ पुस २०८२, १७ : ५१
बिहीबार, २४ पुस २०८२

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले कम्युनिस्ट घटकलाई एकीकृत गर्न अग्रसर रहेको बताएका छन् । 

बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै संयोजक दाहालले यस्तो बताएका हुन् । 

उनले राष्ट्रिय एकता, स्वाधीनता र आर्थिक समृद्धि सुदृढ गर्न बृहत् राष्ट्रिय एकताको आवश्यकता रहेको बताए ।

सोही आवश्यकताको आधारमा विभिन्न १७ वटा साना–ठुला कम्युनिस्ट घटकलाई समेटेर नेकपा बनाइएको उनको जिकिर छ ।

उनले पछिल्लो समय सबै प्रदेश, जिल्ला र पालिकामा युवापुस्ताको आकर्षण नेकपातर्फ बढ्दै गएको दाबी पनि गरे । जेनजी युवाहरूले आफ्ना विचार र भावनालाई सही ढङ्गले प्रतिनिधित्व गर्ने पार्टी नेकपा नै भएको भनी बुझ्न थालेको जिकिर पनि गरे । 

उनले भने, ‘यो राष्ट्रको एकतालाई र स्वाधीनतालाई सुदृढ गर्ने ऐतिहासिक जिम्मेवारी हाम्रो काँधमा छ । देशलाई आर्थिक रूपमा समृद्ध बनाउने जिम्मेवारी पनि हाम्रो काँधमा छ । त्यो एक्लैदुक्लै गरेर सकिने कुरा होइन त्यसको लागि एउटा बृहत् राष्ट्रिय एकताको आवश्यकता पर्छ । त्यही उद्देश्य बोकेर नै हामीले विभिन्न साना १७ वटा सानाठुला कम्युनिस्ट घटकहरूलाई मिलाएर नेपाली कम्युनिस्ट पार्टी स्थापना गरेर हामी अगाडि बढ्दै छौँ । र यो प्रक्रियासँगै सबै प्रदेश, जिल्ला र पालिकामा पनि युवाहरू यो पार्टीमा केन्द्रित हुने अवस्था बढ्दै गएको छ । खासगरी जेनजी युवापुस्ताहरूले हाम्रो विचार र भावनालाई सही ढङ्गले प्रतिनिधित्व गर्ने पार्टी त नेपाली कम्युनिस्ट पार्टी नै रहेछ भन्ने बुझ्दै गएको अवस्था पनि देखिएको छ । आज पार्टीमा जोडिन आउने तपाई पनि धेरैजसो युवापुस्ता नै हुनुहुँदो रहेछ । यसले आज फेरी एउटा सकारात्मक सन्देश देशभरी प्रवाहित भएको छ । त्यस अर्थमा पनि म तपाईँहरू सबैलाई धन्यावाद भन्न चाहन्छु ।’

आज पार्टी प्रवेश गरेका जेनजी युवापुस्तासहितलाई स्वागत गर्दै उनले मुलुकको बृहत्तर हितको लागि सधैँ तत्पर रहन आग्रह पनि गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप