शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

आफूलाई कुनै फिल्ममा काम दिन शाहरुखलाई ओस्कार विजेता विल स्मिथको आग्रह

मङ्गलबार, २९ पुस २०८२, १४ : ५९
मङ्गलबार, २९ पुस २०८२

सारांश

  • ओस्कार विजेता अभिनेता विल स्मिथले बलिउडमा काम गर्ने इच्छा व्यक्त गरेका छन्।
  • उनले सलमान खान र अमिताभ बच्चनसँग फिल्मको बारेमा छलफल गरेको बताए।
  • स्मिथले शाहरुख खानलाई फिल्ममा स्थान दिन आग्रह गर्दै उनलाई ठट्टा पनि गरे।

दुबई । हलिउडका चर्चित ओस्कार विजेता अभिनेता विल स्मिथले भारतीय चलचित्र उद्योग बलिउड प्रति आफ्नो विशेष लगाव रहेको खुलासा गर्दै यहाँ काम गर्ने इच्छा व्यक्त गरेका छन्। 

दुबईमा आयोजित आफ्नो नयाँ शो ‘पोल टू पोल विथ विल स्मिथ’ को प्रिमियरका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले बलिउडका दिग्गज कलाकारहरूसँगको आफ्नो सम्बन्ध र सहकार्यका प्रयासहरूबारे चर्चा गरे। स्मिथले विगत केही वर्षदेखि भारतीय चलचित्रका ठुला स्टारहरूसँग परियोजनाका विषयमा कुराकानी भइरहेको जानकारी दिए।

गल्फ न्युजसँगको कुराकानीमा स्मिथले आफूले यसअघि सलमान खान र अमिताभ बच्चनसँग फिल्मका विषयमा छलफल गरेको बताए। अमिताभ बच्चनले रमाइलो गर्दै आफूलाई ‘बिग डब्लु’ बन्न सुझाव दिएको स्मरण गर्दै स्मिथले केही विषयमा कुरा भए पनि हालसम्म कुनै पनि योजना सफल हुन नसकेको उल्लेख गरे। 

बलिउडमा शाहरुख खानको वर्चस्वलाई स्वीकार गर्दै स्मिथले शाहरुखलाई आफूलाई कुनै फिल्ममा स्थान दिन सार्वजनिक रूपमै आग्रह समेत गरे। उनले ठट्टा गर्दै शाहरुखलाई आफूलाई फिल्ममा लिन तयार भए नभएको प्रश्न समेत सोधेका छन्।

पछिल्लो समय एटलीको एक फिल्ममा सलमान खान र विल स्मिथसँगै देखिने चर्चा चलेको थियो। निर्देशक एटलीले स्मिथलाई सलमानसँग पर्दामा उतार्न चाहेको र सलमानले दुईबिच संवाद समेत गराएको बताइएको छ।

तर, बजेटको समस्या र निर्माण पक्षले दक्षिण भारतीय कलाकारलाई प्राथमिकता दिन खोजेपछि उक्त सहकार्य सम्भव हुन सकेन र अन्ततः सलमान पनि उक्त प्रोजेक्टबाट बाहिरिए। 

हाल स्मिथ आफ्नो साहसिक शोको प्रचारमा व्यस्त छन्, जसमा उनले १०० दिनसम्म विभिन्न कठिन चुनौतीहरूको सामना गरेको देख्न सकिन्छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप