म संसारभर नेपालीपन खोजिरहेछु
सारांश
- निर्मलकुमार थापा नेपाली साहित्य र कला संस्कृतिको उन्नयनमा सक्रिय छन्, उनले 'नेपाल सेन्टर' मार्फत काम गर्छन्।
- उनको नयाँ पुस्तक 'जेनजी-काल' प्रकाशित भएको छ, र उनी दर्शनशास्त्रदेखि वैश्विक विषयहरूमा लेख्छन्।
- थापा नेपालको संस्कृतिलाई विश्वमा पुर्याउन बेलायत लगायतका देशमा कार्यक्रम गर्छन्, तर उनलाई यसमा थकाइ लाग्दैन।
सर्जक, लेखक, संस्कृति प्रवर्धक- अझ भनौँ अध्यात्ममा गहिरो रुचि भएका र त्यस्तै जीवनशैली अपनाइरहेका निर्मलकुमार थापा पच्चीस वर्षदेखि साहित्य सृजना तथा कला संस्कृतिको उन्नयनमा सक्रिय छन् । आफ्ना सृजनासँगै नेपाली साहित्य, कला र संस्कृतिलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउन ‘नेपाल सेन्टर’ नामक संस्थामार्फत सक्रिय छन् उनी । एकान्त, एकालाप, एकादेश त्रिकथात्मक पुस्तक तथा कविताहरू: जयश्री कुबेरनाथ, क्रिस्टल भर्सेज निर्मल, ह्वीस्पर अफ डिभाइन गरी उनका एक दर्जन पुस्तक प्रकाशित छन् । भर्खरै उनको जेनजी–काल नामक नयाँ पुस्तक प्रकाशित भएको छ ।
लेखनमा दर्शनशास्त्रदेखि वैश्विक विषयहरू अटाउने उनी अहिले भने नेपालीपन झल्काउने संस्कृति बोकेर संसारभरि डुलिरहेका भेटिन्छन् । मस्तिष्कको एउटा कोठामा ओशोको ओस र अर्को कोठामा लर्ड बायरनको जीवन्त काव्यरस घोलेर घोत्लिइरहेका थापासँग संवादको सिलसिला जोडिन पुग्यो, लण्डनको ल्यान्कास्टर गेटमा । भिक्टोरिया स्टेसन नजिकैको शताब्दीऔँ पुरानो एक पबमा जीवन, दर्शन र साहित्यका विषयमा निर्भीकजंग रायमाझीले थापासँग गरेको संवादको सम्पादित अंश ।
- कविता, कथा, निबन्ध, जीवनी लेख्नुहुन्छ । गैरसरकारी, सरकारी र सामाजिक संस्थाहरूमा आबद्ध हुनुहुन्छ । वर्षको आधा समय नेपालबाहिर नै बस्नुहुन्छ ? खास निर्मलकुमार थापा को हो ?
यसको जवाफ अमूर्त आउँछ । मान्छेलाई आवश्यकताले डोहोर्याउँछ । त्यसैअनुसार कहिले कसैको जीवनी लेखेँ, कहिले पुस्तक सम्पादन गरेँ । तिनताका उसैको जीवनी लेख्छु भनेर लेखेको होइन, वा सोही विषय सर्वाधिक महत्वको भनेर रोजिएको पनि होइन । तत्कालीन समयमा जेजति साथी भेटिए वा कुनै ‘आइडिया’ मा काम गरौँ भन्ने प्रस्ताव आउँदा हुन गएका कामहरू हुन् ।
कहिलेकाहीँ विगततर्फ सम्झँदा श्याम श्वेत भिडियो चलचित्र हेरिरहेझैँ लाग्छ, सिनेमाको आवाजभन्दा घुमिरहेको रिलको आवाज कर्कश हुने तथ्यले गर्दा होला मैले तुलना गर्न छोडिदिएको छु । विगतमा मद्वारा भए गरेका सबै कर्महरू तत्क्षणको सक्रियताले भएका कर्महरू हुन् । हुन सक्छ ती पात्र र परिवेशहरू सृजनामा अटाउने सामर्थ्य राख्न सङ्कोच मान्ने अवस्था थियो होला तर ती तथ्य र कल्पनाको लेपमा उनिएका जाडोमा लगाइने मनोरम मफलरजस्ता भए । ती जाडोमा जन्मिए र अर्को ऋतुमा हराइगए ।
तर एक्लै सोचिबस्दा मलाई के लाग्छ भने, म स्वाभाविक रूपमा कवि हो । त्यसो त हरेक व्यक्ति कवि हो, चाहे त्यो कविता लेखोस् वा कविता बाँचोस् । हरेकमा म त्यो सूक्ष्मता देख्छु । म त्यस्तै सोह्र वर्षको उमेरमा उद्वेलित भइरहेको थिएँ, ‘प्रभातफेरि सन्ध्या’ कविता सङ्ग्रह प्रकाशन गरेको थिएँ । त्यो कृतिको प्रकाशनको कथा बडो रोचक छ । परिवारको काभ्रेस्थलीमा जग्गा थियो । त्यो बेचेर किताब प्रकाशन गरेको थिएँ । त्यसको क्षतिपूर्ति अहिलेसम्म भएको छैन ।
कविताका लागि भूमिदान, उर्वर यौवनको तातो निर्णय थियो त्यो । यद्यपि मलाई कुनै पश्चात्ताप छैन, जीवनमा आइलाग्ने कतिपय गणितहरू नसुल्झेकै राम्रो । छोटो समयका लागि भए पनि सम्झन र अल्झन पाइन्छ । अतीत प्रेमको मायावी लीलामा लाम लागिरहँदा आनन्दको बेग्लै झिल्को अन्तसम्म पाइन्छ । कविता लेख्नेहरू प्रियजन लाग्छन्, कविता पढ्नेहरू प्रिय लाग्छन् मलाई । त्यसैले मलाई संसारका सबै कविहरू आफ्नै परिवारका सदस्य जस्ता लाग्छन् ।
साहित्यको सबै विधामा कलम चलाउन पाउँदा खुसी लाग्छ । यद्यपि कविता बढी प्रिय छ । भन्न बाँकी कुराको रस कवितामा लुकेर बसेको हुन्छ । पाठकले सहजै, सोझै थाहा नपाउन भन्नलाई थाहा पाउने शैली बोक्न बुनिएको कविता शैली नूतनकारी हो । तीनै शब्दको लुकामारीमा हिँडिरहेको छु ।
- दशकौँदेखि बर्सेनि धेरैपल्ट बेलायत आउने–जाने गरिरहनु हुन्छ । कारण ?
सन् २०१२ तिर हाम्रो संस्था ‘रङ्ग नेपाल’ नेपालमा मात्र सीमित भयो भनेर एक अन्तर्राष्ट्रिय संस्था बनाएर अगाडि बढ्ने सोच बनायौँ । नेपाल देश लाम्चो आकारको भयो । उत्तरतिर चीन र दक्षिण तिर भारत भएकाले हाम्रो संस्कृति दुई देशको चेपमा पर्यो भन्ने निचोड निकाल्यौँ । सांस्कृतिक अतिक्रमणमा हामी ठाडै परेका थियौँ । तर यसबारेमा देशका सेवकहरू संवेदनशील हुन सकेनन् । नेताहरू निर्ममतापूर्वक घुसखोरीमा लिन् भए तर सचेत वर्गले, आफ्नै बलबुताले उध्र्वगामी क्रियाकलापहरू गरिरहेको देख्न सकिन्छ ।
हामी पनि बेग्लै धार भएका, देशको संस्कृतिलाई जोड्नुपर्छ भन्ने खेमामा थियौ । हामीसँग दलगत झोला थिएन । थियो त केवल मेचीकाली भित्रका लोपोन्पुख जनजाति, भेसभुसाका बारेमा घोत्लिरहने दिनचर्या । दक्षिणतिको संस्कृतिलाई भारतले हाम्रो भनेर प्रचार गर्न थाल्यो, उत्तरतिरको जीवनशैली तिब्बती भइहाल्यो, चीनको भीमकाय पहुँचमा नेपाल आवाजविहीन हुने नै भयो । यसरी हामी अतिक्रमित भइरह्यौ भने हाम्रो आफ्नो मूल संस्कृति हराएर जानेछ भन्ने लाग्यो र विभिन्न शीर्षकमा विदेशमा रहेका नेपाली र नेपाल प्रेमीलाई जोड्न थाल्यौँ ।
चिन र भारतीय भूमिको तुलनामा नेपाल सानो होला तर सांस्कृतिक रूपमा निकै विविधताले भरिएको छ । यति सम्पन्न देशको मूल संस्कृति किन प्रचार भएन भनेर त्यसैलाई बुझ्ने जिज्ञासा स्वरूप नेपाल सेन्टरको स्थापना गर्यौँ । पहिले विदेशीहरूले उनीहरूकै रुचि अनुरूप इतिहास र संस्कृति लेखन गरेका थिए तर आधुनिक समयमा हामीहरू सचेत हुनुपर्छ, खास कुराको अपभ्रंश हुनुहुँदैन भनेर निरन्तर रूपमा सांस्कृतिक कार्यक्रमहरू गर्न थाल्यौँ ।
नेपालको आफ्नोपनको खोजी गरेर संसारसम्म पुर्याउन सकिन्छ भनेर यो संस्था बनायौँ । त्यसैले यसमा कसैको लगानी छैन । संस्कृतिमा संवेदनशील साथीहरूकै सहयोगबाट संस्था चलिरहेको छ र विशेषगरी बेलायतमा र अन्य एघार वटा देशहरूमा गतिविधिहरू आयोजना भइरहेका छन् । त्यसैको सिलसिलामा म बेलायत आउने जाने गरिरहन्छु ।
- यी सबै गतिविधिहरूको जुलुसमा मिसिइरहँदा थकाइ लाग्दैन ?
रुचिको काम गर्दा कहिल्यै थकाइ लाग्दैन । स्वार्थरहित गर्ने हो भने थकाइ लाग्दैन नि । आम मान्छे पुरस्कार स्थापना गर्ने, कार्यक्रम गर्ने र घुम्ने आदि कामका लागि संस्था बनाउँछन् । हामी विशुद्ध स्वान्तसुखाय: कै लागि हिँडिरहेका छौँ । यसमा ‘अर्थ’ को उद्देश्य रहेन तर अर्थपूर्ण काम गर्न खोजिरहेका छौँ । यसैले हामीले टिकट कहिल्यै राख्दैनौँ । कला, संस्कृतिको कार्यक्रममा सबै जना आउन पाउनुपर्छ भन्ने मान्यता हो ।
धेरै वर्षअघि एउटा घडी पसलमा यस्तो लेखेको देखेको थिएँ– पुरानो घडी देखाउन आएको खण्डमा पाँच रुपैयाँ लाग्नेछ र यदि बनाउन आए थप शुल्क पुर्जाबमोजिम लाग्नेछ भन्ने लेखिएको थियो । भनेपछि घडी मर्मत गर्नेले आफ्नो अनुभव सुनाउन र ग्राहकले सामान्य सोधपुछ गर्न चाह्यो भनेपनि पारिश्रमिक माग्छ भने हामीले जानेको कला प्रदर्शन गर्दा पारिश्रमिक लिनुपर्ने हो तर हामी कतै अतिरिक्त शुल्क लिँदैनौँ ।
संस्कृति भन्ने कुरा हामी नेपाली भएको हुनाले नेपालको भन्ने भयो, जब विश्वका विभिन्न स्थानहरूमा कार्यक्रमहरू गर्छौ, ती सबै वैश्विक संस्कृति परिवारका सदस्य हुन जान्छन् । आउने पुस्ताले कुनै देश विशेष भन्दा पनि संस्कृतिका चाखलाई आधार मानेर ती सबैका बारेमा सोधखोज गर्नेछ ।
- नेपाली साहित्यमा पछिल्लो बिस वर्षमा अत्यधिक चहलपहल देखियो । लेखन, प्रकाशन महोत्सव । तर खड्किएको चाहिँ के लाग्छ तपाईंलाई ?
नेपाली साहित्य पछिल्ला दशकमा निकै चलायमान देखियो । कुनै समय पत्रिका प्रकाशनदेखि पुस्तक प्रकाशनको अवस्था निकै दयनीय हुन्थ्यो । कृतीहरू छापिए भने पनि तीनको प्राविधिक अवस्था नाजुक थियो । साझा वा प्रज्ञाको शरणमा सर्जकले लम्पसार हुनुपर्ने अवस्था थियो वा श्रीपेचको स्तुति अनिवार्य थियो । लेखाई, हिँडाई, बोलाई सबैतिर बेग्लै खालको सेन्सरको अवस्था थियो ।
बितेका २० वर्षमा ती सबै दृश्यहरू फेरिए । कागजमा लेख्नेहरू ल्यापटपमा लेख्न थाले, बडेमानको प्रेस यन्त्रहरू डिजिटल्ली क्यारीब्यागमा अटाउन थाले । कागजको स्तरमा छनोट हुन थाल्यो, छपाई अवधि छोटो हुन थाल्यो । ती सबैमा क्रान्ति आएकै हो । समग्रमा कुरा गर्दा किताबको त्यस्तो कुनै सेन्सर बोर्ड त छैन । तर आफैँले आफैलाई सेन्सर गर्नुपर्छ लेख्नेहरूले । स्तरियतामा समस्या छ । हामीसँग मापदण्ड छैन तर जे लेखे पनि एक तहको राम्रो लेख्नुपर्छ, नयाँ लेखिनुपर्छ, केही दिने खालको हुनुपर्छ ।
श्रीमानले लेख्ने, श्रीमतीले छाप्ने । बाबुले लेख्ने, छोराले छाप्ने । धेरै पहिले हामी पुष्पलताका सृजना सुलभताबारे चियोचर्चा गर्थ्यौँ, केही दिन पहिले काठमाडौँको पुस्तक पसलमा लोकमानसिंह कार्कीको ‘लोकगीता’ भन्ने भीमकाय किताब देखेको थिएँ । उहाँ आफैले लेख्नुभयो वा सार्नुभयो वा के गर्नुभयो मलाई थाहा छैन तर त्यसले हाम्रो मनोविज्ञानलाई प्रतिबिम्बित गर्छ ।
- संसारका धेरै देश गइरहनुहुन्छ, तपाईंलाई नेपाली साहित्यको अङ्ग्रेजीमा अनुवाद हुनुपर्छ भन्ने लाग्दैन ?
अङ्ग्रेजी साहित्य पढेकाले होला मलाई नेपाली साहित्य अङ्ग्रेजीमा आइदिए हुन्थ्यो भन्ने लागि रहन्छ । तथापि धर्तीमा पहिलोचोटि रुँदा म नेपालीमै रोएँ । पहिलो अक्षर सुनेको र लेखेको पनि नेपाली नै हो । त्यसैले जानेको भाषा नेपाली नै हुने भयो । साथीहरूसँग कुरा हुँदा भन्छु, सपना पनि नेपालीमा देखिन्छ तर बिहान उठेर अनुवाद गर्नुपर्छ । त्यसैले लेखकको मातृभाषामा आफ्नै प्रकारको कौशल हुन्छ । त्यो जरुरी पनि छ । सबैलाई अनुवाद गरेर नतिजा आउने होइन । स्तरीय साहित्यलाई अनुवाद गर्ने हो ।
त्यसैले मलाई लाग्छ अङ्ग्रेजी भाषामा अनुवाद गरेर त्यसको स्तर बढ्ने होइन, गुह्य कुरा त तपाईंको आफ्नो लेखनी हो । त्यसमा तपाईं जबरजस्त हुनुहुन्छ भने त्यसलाई विश्व साहित्यमा आउनबाट कसैले रोक्न सक्दैन । त्यसैले हाम्रो मूल ध्येय मूल लेखनीतर्फ हुनुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण