बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय
प्रतिनिधिसभा निर्वाचन-२०८२

खेल मैदानबाट राजनीतिक मैदानमा पूर्वकप्तान ज्ञानेन्द्र मल्लदेखि क्यान अध्यक्ष चन्दसम्म

बुधबार, ०७ माघ २०८२, ११ : ४५
बुधबार, ०७ माघ २०८२

सारांश

  • नेपाली खेलकुदका ज्ञानेन्द्र मल्ल, चतुरबहादुर चन्द र सचिन तिमल्सिना राजनीतिमा प्रवेश गरेका छन्।
  • ज्ञानेन्द्र मल्ल रास्वपाबाट, चतुरबहादुर चन्द कांग्रेसबाट र सचिन तिमल्सिनाले पनि चुनाव लड्ने घोषणा गरेका छन्।
  • उनीहरू क्रिकेट खेलाडी, प्रशासक र कमेन्टेटरको भूमिकाबाट राजनीतिमा आएका हुन्।

काठमाडौँ । पछिल्लो समय नेपाली खेलकुद क्षेत्रका व्यक्तित्वहरू राजनीतिक मैदानमा आकर्षित हुन थालेका छन् । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लदेखि नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द र क्रिकेट कमेन्टेटर सचिन तिमल्सिनासम्मले सक्रिय राजनीतिमा आफ्नो उपस्थिति देखाएका छन् ।

ज्ञानेन्द्र मल्ल नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानदेखि प्रशिक्षक हुँदै राजनीतिक यात्रामा होमिएका हुन् । उनी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सूचीमा समावेश छन् ।

यता नेपाली कांग्रेसका बैतडी जिल्ला सभापतिसमेत रहेका क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बैतडीबाट प्रतिनिधि सभाको उम्मेदवारी दिएका छन् ।

यता क्रिकेट कमेन्टेटर सचिन तिमिल्सिना भने नेपाली कांग्रेसको विद्यार्थी राजनीति हुँदै संसदीय राजनीतिमा प्रदेश गर्ने प्रयासमा छन् । उनले नेपाली कांग्रेसका सभापति गगन थापाको चुनावी पकड भएको काठमाडौँ क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिएका छन् ।

  • ज्ञानेन्द्र मल्लः रास्वपाबाट नयाँ राजनीतिक इनिङ

नेपाली क्रिकेटका एक सफल खेलाडी तथा पूर्वकप्तान ज्ञानेन्द्र मल्लले खेल जीवनबाट सन्न्यास लिएलगत्तै प्रशिक्षकको भूमिका निर्वाह गरे । पछिल्लो समय उनले राजनीतिक यात्रा सुरु गरेका छन् । सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा लिएका मल्ल नेपाली राष्ट्रिय ‘ए’ टोलीको मुख्य प्रशिक्षक हुँदै राष्ट्रिय टोलीका मेन्टर पनि थिए । मल्ल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मार्फत सक्रिय राजनीतिमा होमिएका छन् । आउँदो प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले उनलाई समानुपातिकतर्फको सूचीमा समावेश गरेको छ ।

एक दशकभन्दा लामो समय राष्ट्रिय टोलीका लागि महत्त्वपूर्ण ब्याट्सम्यानको भूमिका निर्वाह गरेका मल्लले कप्तानीमा पनि टोलीलाई उल्लेखनीय सफलता दिलाएका थिए । उनी हाल नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सको मुख्य प्रशिक्षकको जिम्मेवारीमा छन् ।

  • चतुरबहादुर चन्दः क्रिकेट प्रशासनदेखि संसदसम्मको दौड

नेपाल क्रिकेट संघ (क्यान)का वर्तमान अध्यक्ष चतुरबहादुर चन्द लामो समयदेखि क्रिकेट व्यवस्थापन र नेपाली कांग्रेसको राजनीतिमा एकसाथ सक्रिय छन् । लगातार दुई पटक क्यानको अध्यक्षमा निर्वाचित उनको कार्यकालमा नेपाली क्रिकेटले आईसीसीको निलम्बन फुकुवादेखि एकदिवसीय मान्यता जोगाउनेसम्मका महत्त्वपूर्ण उपलब्धि हासिल गरेको थियो ।

चन्द क्यानको नेतृत्वमा आउनु अघिदेखि नै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय थिए । उनी हाल नेपाली कांग्रेस बैतडीका जिल्ला सभापति हुन् । कांग्रेस बैतडीले चन्दलाई प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवारका लागि सर्वसम्मत सिफारिस गरेको थियो । क्रिकेट प्रशासनको लामो अनुभवलाई संघीय संसदमा उपयोग गर्ने उनको लक्ष्य छ ।

  • सचिन तिमल्सिनाः ‘फिक्सिङ’ विरुद्धको आवाजदेखि राजनीतिक यात्रा

क्रिकेट कमेन्टेटरका रूपमा परिचित सचिन तिमल्सिनाले पनि राजनीतिमा आउने आकांक्षा देखाएका छन् । उनी काठमाडौँ क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिने घोषणा गरेपछि चर्चामा आएका हुन् । यो क्षेत्र नेपाली कांग्रेसका सभापति गगन थापाले प्रतिनिधित्व गर्दै आएको क्षेत्र हो ।

sachit timalsina

तिमल्सिना नेपाल टी–२० लिगमा ‘स्पट फिक्सिङ’ भएको खुलासा गरेपछि राष्ट्रिय रूपमा चर्चामा आएका थिए । प्रतियोगिता चलिरहेकै बेला कमेन्ट्री बक्सबाट फिक्सिङविरुद्ध आवाज उठाउने उनको कदमको प्रशंसा भएको थियो । पछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धानले पनि उनको दाबीलाई पुष्टि गरेको थियो । उनी विगतमा कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा पनि सक्रिय थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप