बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

सात महिना यताकै न्यूनस्तर नजिक ओर्लियो सुनको भाउ

कतिमा भइरहेछ कारोबार ?
बिहीबार, ११ असार २०८३, १७ : ३७
बिहीबार, ११ असार २०८३

सारांश

  • अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ सात महिनाकै न्यून स्तर नजिक ओर्लिएको छ ।
  • अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ (फेड)ले ब्याजदर बढाउन सक्ने अपेक्षाले सुनको मूल्यमा दबाब परेको छ ।
  • लगानीकर्ताहरूले सुनमा आधारित एक्सचेन्ज ट्रेडेड फन्ड (ईटीएफ)बाट पैसा निकालेर कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी कम्पनीहरूको सेयरमा लगानी बढाइरहेका छन् ।

न्युयोर्क । अन्तर्राष्ट्रिय बजारमा पहेँलो धातु सुनको भाउ घटेर सात महिनाकै न्यून स्तर नजिक ओर्लिएको छ । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ (फेड)ले ब्याजदर बढाउन सक्ने अपेक्षा बलियो बन्दै जाँदा सुनको मूल्य घटेको हो । 

बिहीबार न्यु योर्क मर्कन्टाइल एन्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔँस ३ हजार ९६१ डलर ९५ सेन्टसम्म झरेको थियो । यो समाचार तयार पार्दाखेरि नेपाली समयअनुसार साँझ ४ः५७ बजे सुनको भाउ प्रतिऔंश ३ हजार ९८४ डलर शून्य ५ सेन्ट कायम भएको थियो । 

यो अघिल्लो दिन बजार बन्द हुँदाको तुलनामा शून्य दशमलव १४ प्रतिशत कम हो । त्यस्तै, अगस्ट डेलिभरीको यूएस गोल्ड फ्युचर्सको भाउ पनि शून्य दशमलव ३ प्रतिशत घटेर प्रतिऔंस ४ हजार १४ डलर ९ सेन्टमा कारोबार भएको थियो ।

बजार विश्लेषकहरूका अनुसार फेडले आगामी सेप्टेम्बरमा ब्याजदर बढाउने सम्भावना बढेकाले सुनमाथि दबाब परेको हो । सीएमई फेडवाचको तथ्यांकअनुसार हाल लगानीकर्ताहरूले सेप्टेम्बरमा ब्याजदर वृद्धि हुने सम्भावना ६६ प्रतिशत रहेको अनुमान गरिरहेका छन् ।

जेफरीजको स्वामित्वमा रहेको ट्राडु डटकमका वरिष्ठ बजार विश्लेषक निकोस त्जाबोरसका अनुसार कडा मौद्रिक नीतितर्फ फेडको झुकाव नै हाल सुन कमजोर हुनुको मुख्य कारण बनेको छ ।

सातामै ६ प्रतिशतभन्दा बढीको कमी

गत साता भएको फेडको बैठकपछि सुनको मूल्य ६ प्रतिशतभन्दा बढी घटिसकेको छ । बुधबार सुनको मूल्य नोभेम्बर २०२५ यताकै पहिलो पटक ४ हजार डलरभन्दा तल झरेको थियो । यस वर्ष जनवरी २९ मा प्रतिऔंस ५ हजार ५९४ डलर ८२ सेन्टको कीर्तिमानी उच्च मूल्य छोएको सुन हाल त्यस स्तरभन्दा करिब २८ प्रतिशत तल झरेको छ ।

विश्लेषकहरूका अनुसार लगानीकर्ताहरूले सुनमा आधारित एक्सचेन्ज ट्रेडेड फन्ड (ईटीएफ)बाट पैसा निकालेर कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी कम्पनीहरूको सेयरमा लगानी बढाइरहेका छन् । यसले पनि सुनको मागमा कमी ल्याएको छ । तथापि, विज्ञहरू सुनको दीर्घकालीन आकर्षण अझै कायम रहेको बताउँछन् ।

लगानीकर्ताहरू अहिले अमेरिकी व्यक्तिगत उपभोग खर्चसम्बन्धी तथ्याङ्कको प्रतीक्षामा छन् । यो अमेरिकी केन्द्रीय बैंकले मुद्रास्फीति मापनका लागि प्राथमिकता दिने सूचक हो । यस तथ्याङ्कले आगामी मौद्रिक नीतिको दिशाबारे थप सङ्केत दिनसक्ने भएकाले बजारको ध्यान त्यसतर्फ केन्द्रित भएको छ । बिहीबार अर्को बहुमूल्य धातु चाँदीको भाउ भने शून्य दशमलव ४ प्रतिशत बढेर प्रतिऔंस ५७ डलर ६४ सेन्टमा उक्लिएको छ । 

प्लाटिनमको भाउ शून्य दशमलव ४ प्रतिशत घटेर प्रतिऔंस १ हजार ५७१ डलर ९५ सेन्टमा झर्दा प्यालेडियम भने १ दशमलव ६ प्रतिशत बढेर प्रतिऔंस १ हजार १८४ डलर ७० सेन्टमा पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप